विकासन्युज

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसाद राई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ । ‘हामी किसानको मुख्य समस्या नै बाँदर बनेको छ,’ उनले भने, ‘बाँदर प्रभावित क्षेत्रमा मल बीउभन्दा ठूलो समस्या यही हो । एक घण्टामात्र बाँदर बालीमा पस्यो भने वर्षभरि खाने अन्न सखाप पार्छ । त्यही भएर जमिन बाँझो छाड्नु हाम्रो बाध्यता बनेको छ ।’ बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको बोखिमका किसान गंगा प्रधानले बताए । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘बाँदरले खेतबारी अन्न पाक्न दिँदैन,’ उनले भने, ‘जो-कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।’ बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्ले खानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उनले जानकारी दिए । ‘बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ,’ स्थानीय तामाङले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।’ बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि  दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि हिजोआज टेर्न छाडेको भोजपुर नगरपालिका-५ का धनबहादुर थापाले बताए । ‘बाँदरमा अटेरीपना बढेको छ । बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पनि नभाग्ने अवस्था छ,’ उनले भने, ‘बाँदर हुललाई बस्तीबाट धपाउनै मुस्किल छ । वर्ष दिन खाने अन्नबाली छिनभरमा उजाड पार्छ । यही अवस्था रहे किसानले खेती गरेर खाने अवस्था छैन ।’ अधिकांश किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रणमा राज्यले उचित विकल्पको खोजी गर्नुपर्ने किसानको भनाइ छ । रासस

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हाे । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ४ हजार ६०२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो भने ११ लाख ५६ हजार ९२७ जनाको मात्रै आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गालेप्रथा विधिबाट बाँडफाँट गर्दा योग्य आवेदनहरुमध्ये २ लाख ७ हजार ५२८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी रहेको ५ कित्ता सेयर ५ जना लगानीकर्तालाई थप गरी ११ कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बताएको छ । यससँगै कम्पनीको आईपीओमा आवेदन दिएका ९ लाख ४९ हजार ३९९ जनाको हात रित्तो भएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म स्थानीय वासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगार्नीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता कर्मचारी, ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले मंसिर १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

तस्करले सुन ल्याउन थालेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो । रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन नपाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ । केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा –५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु १४ लाख ९१ हजार छ सय २८ बरावरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औठी जफत गरिएको थियो । उनीहरुलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन । रासस

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको विषयमा आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा केन्द्रित रहेर दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले हिजो सोमबार मात्रै अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । छलफलपछि सरकारले अर्थतन्त्र चलायमान बनाउनको लागि कुनै नयाँ ठोस कदम चाल्न सक्ने अनुमान गरिएको छ ।

कुमारी बैंकले जुम्लाको चन्दननाथमा खोल्यो शाखा

काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । बैंकले मंसिर ४ मा चन्दननाथ शाखा सञ्चालनमा ल्याएको हो । शाखा स्थापनाले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा प्राप्त हुने बैंकको विश्वास छ । बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ । २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सिमकोट विमानस्थल विस्तार हुने

हुम्ला । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । विमानस्थलको लम्बाइ कम रहेका कारण त्यसको लम्बाइ बढाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताए । विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । उनले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताए । जग्गा विस्तार गर्न लागिएको स्थानमा रहेका १० वटा घरसमेत विमानस्थल विस्तारका व्रmममा जाने छन् । जग्गा अधिग्रहणका लागि प्राधिकरणले करिब छ करोड रुपियाँ बजेटसमेत व्यवस्था गरेको छ । हाल ५० मिटर विमानस्थल क्षेत्रभित्रको जग्गा बाँकी रहेको र त्योसहित अब विमानस्थलको लम्बाइ दुई सय मिटर बढ्ने छ । हालको विमानस्थलको रनवे साढे छ सय मिटर लम्बाइ रहेको छ । त्यसपछि भने सिमकोट विमानस्थल साढे आठ सय मिटर लामो हुने छ । विमानस्थलको दुरी छोटो भएका कारण तारा, सीता, समिट र नेपाल एयरलाइन्सका साना जहाज मात्र सञ्चालनमा रहेका छन् । विमानस्थल विस्तारपछि ४५ सिटे जहाज अवतरण गर्न सक्ने र जसबाट यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ । सिमकोट विमानस्थल दोस्रो पटक विस्तार गर्न लागिएको हो । गाेरखापत्रबाट ।