विकासन्युज

‘उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित बनाऔं, नविकरण फेलमा जरिवाना नलिऔं’

काठमाडौं । लघु घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परिमार्जनका लागि सुझाव दिन राजधानीमा आयोजना गरेको नीतिगत संवादमा बोल्ने वक्ताहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु घरेलु तथा साना उद्योगहरुलाई पनि कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने बताएका हुन् । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले औद्योगिक व्यवसाय ऐनमार्फत लघु घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गन सकेमात्र समृद्ध अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने बताए । आर्थिक समृद्धि र विकासका लागि आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उत्पादकत्व बृद्धिका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनुपर्ने उनले बताए । सार्वजनिक निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न नसकिएको भन्दै उनले व्यवसायिक रुपमा निजी क्षेत्रबाट सञ्चालन हुने भर्चुअल मार्केट प्लेसको विकासमा सघाउन आग्रह गरे । महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले उद्योग नविकरण फेल हुँदा तीन सय प्रतिशत जरिवाना लिने परिपाटी अन्त्य हुनुपर्ने भन्दै संघ, प्रदेश र पालिकाको ऐन नियम र कार्यविधि एक अर्काको पूरक बन्नुपर्ने बताए । देशमा विभिन्न खाले संकट पैदा भएको र निजी क्षेत्र पनि यो संकटबाट प्रभावित भएको भन्दै वर्तमानमा देखिएको कर्जा संकट, सहज निकासको संकट, प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेकोले औचित्य सावित गर्न चुनौति बढेको बताए । बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिँह लामाले लघु घरेलु तथा साना उद्योगहरुलाई प्रवद्र्धन र विकास गरेर ठूला उद्योगमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । उद्योगधन्दा नभई रोजगारी विस्तार नहुने भन्दै उद्योग सम्बन्धि ऐन बनाउँदा सरलीकरण गर्नुपर्ने उनको भनाई थियो । पछिल्लो समय उत्पादनमा भन्दा आयातमा केन्द्रित हुँदा साना उद्योगहरु फष्टाउन नसकेको उनले बताए । साना उद्योगलाई सरकारले सुरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अन्तराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउन मन्त्रालय सकारात्मक रहेको उनले बताए । बागमति प्रदेशकै उद्योगमन्त्री रामकृष्ण चित्रकारले संघीयता लागु भएपछि संघीयता कार्यान्वयन गर्न बनाइएका ऐनहरुले पुराना ऐनहरु भन्दा माथि हुनुपर्ने बताए । प्रादेशिक औद्योगिक नीति हालसम्म बन्न नसकेपनि अब बन्ने प्रक्रिया प्रारम्भ भएको उनले बताए । सो अवसरमा पूर्व अर्थसचिव शिशिर ढुंगाना र पूर्व उद्योग सचिव यामकुमारी खतिवडाले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनमा थप गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । महासंघ र युएस एआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगकोे संयुक्त रुपमा आयोजना रहेको कार्यक्रममा बागमति प्रदेश पर्यटन मन्त्री पुकार महर्जन, वन मन्त्री मसिना खड्का, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवद्धय गोविन्द बहादुर कार्की र जिवलाल भुसाल, उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, बागमति प्रदेश उद्योग मन्त्रालयका सचिव गोविन्द रिसाल, बागमति प्रदेश उद्योग मन्त्रालय महाशाखा प्रमुख झमनाथ कँडेल, बागमति प्रदेश उद्योग तथा वाणिज्य निर्देशनालयका निर्देशक गोविन्द सिग्देल, महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेललगायतले आफ्ना भनाई राखेका थिए ।

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने

जापान । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ । पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ । चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर) को बीच निर्धारण गरिएको छ । आपत्कालीन गर्भ निरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ । समूहका सह–अध्यक्ष असुका सोमेयाले भने, ‘फार्मेसीको छनोट अत्यन्तै कडा थियो, यो चक्की एक सय ४५ औषधि पसलमा मात्र उपलब्ध छ, यो जापानमा कूल ६० हजारमा शून्य दशमलव दुई प्रतिशत मात्र हो ।’ उनले बुबाआमाको सहमतिको आवश्यकताले नाबालिगहरूलाई ठूलो बाधा उत्पन्न गर्ने बताए । ‘यस्ता धेरै मानिस छन् जसले सम्भावित गर्भावस्थाका बारेमा आफ्ना बुबाआमासँग कुरा गर्न सक्तैनन्, उनीहरूलाई आफ्नो यौन अनुभव र गर्भावस्थाको चिन्ताका बारेमा बुबाआमासँग कुरा गर्न कठिन हुनेछ’, उनले भने, ‘हामीले फेरि पनि स्वास्थ्य मन्त्रालयसँग कुनै प्रतिबन्धबिना फार्मेसीहरूमा चक्की सम्पूर्णरूपमा र छिटो उपलब्ध गराउन अनुरोध गरेका छौँ ।’ पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुसरण गरेको छ । परामर्शमा ४६ हजार उत्तरदाताहरूमध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमितरूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । अभियानकर्ताहरूका अनुसार ९० भन्दा बढी मुलुकमा बिना प्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिएका छन् । रासस

एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत बनायो वित्तीय चेतनामूलक ५ भिडियो

काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु बनाएको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए । उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा-बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने बैंकको विश्वास छ । साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (फाइनान्सियल लिट्रेसी) कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि-२०८० (दोस्रो संम्शोधन समेत) परिच्छेद २ को ३ ९१० बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने रु २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ । अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उनको भनाइ छ । भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले रु ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ । त्रिवेणी बाहेक अन्य पालिकाबाट कुन-कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन ।

नेपाली हस्तकला : विदेशी हेर्छन्, स्वदेशीले किन्छन्

काठमाडौं । ‘विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्’, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, ‘अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।’ मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन । पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रुपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको उनको भनाइ छ । उनको अनुसार केही समयपछि उनका अधिकांश ग्राहक स्वदेशी पर्यटक हुने गरेका छन् । कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्कँदैछ । विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल मात्रै नभइ चर्चित पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्र तथा चर्चित तीर्थस्थलहरुमा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्छ । उपत्यकाका वसन्तपुर, ठमेल, पाटन दरबार क्षेत्र, भक्तपुरदरबार क्षेत्र स्वयम्भू, पशुपतिनाथलगायत तीर्थस्थलमा पनि बाक्लै सङ्ख्यामा पर्यटक पुगेका छन् । पर्यटकको पहिलो रोजाइमा पर्ने नेपाली उत्पादन अर्थात् हस्तकलाका सामग्रीको व्यापार भने सोचेजस्तो नभएको व्यवसायीको भनाइ छ । हस्तकलाका सामान खरिद बिक्रीको लागि अहिले उपयुक्त समय पनि हो । असोज, कात्तिक र मङ्सिर महिनामा बढी विदेशी आउने भएकाले उनीहरुले सामान खरिद गरेर लैजाने गरेको व्यवसायीको भनाइ छ । वसन्तपुरमा दैनिक १५ देखि २० हजार व्यापार गर्ने सिटौला अहिले मुस्किलले एउटा सामान बिक्री हुने गरेको बताए । ‘कोभिडपछि अझै बजार लिइसकेको छैन । पर्यटकीय सिजनमै व्यापार सन्तोषजनक छैन । पहिले विदेशीको रोजाइ हुन्थ्यो अहिले नेपालीले बढी किन्ने गरेका छन्’, व्यवसायी सिटौलाले भने । सिटौलाले वसन्तपुर दरबार परिसरको फुटपाथमा हस्तकलाका सामानको व्यापार गर्दै आएका छन्। उक्त स्थानमा धेरै सङ्ख्याका व्यापारीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन् । वसन्तपुर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म हस्तकलाको व्यापार हुन्छ । दैनिक मानिसको भिडभाड भइरहन्छ । विदेशी पर्यटकले विशेषगरी नेपालमा उत्पादित परम्परागत हस्तकलाका सामान लैजान्छन् । बुद्धको मूर्ति, खट, खुकुरी मालालगायत सामग्री खरिद गर्नेगरेको व्यवसायीले बताए । व्यापार सुस्त रहेको र नयाँ पुस्ताले चासो नदिएकाले पुख्र्यौली पेसाको अस्तित्वनै समाप्त हुने होकी भन्ने व्यवसायी सिटौलाको चिन्ता छ । उनले भने, ‘छोरा नातिले यो व्यवसायप्रति चासो दिँदैनन् । विदेशतिर लागिसके अब, यो पेसा नै लोप हुने होकी भन्ने चिन्ता छ ।’ सिटौलाको पसलमा रु पाँच सयदेखि १५ हजारसम्मका हस्तकलाका सामान छन् । सोही क्षेत्रमा विगत २५ वर्षदेखि व्यापार गर्दै आएका सिन्धुपाल्चोकका हरि कार्कीको अनुभवमा पनि व्यापारमा उत्साह छैन । व्यापार राम्रो भएका बेला कहिलेकाहीँ दैनिक रु १५ हजारसम्म आम्दानी हुन्छ । उनले थपे, ‘यो सिजनमा व्यापार ठीकै छ, कोरोनाकाल भन्दा त धेरै राम्रो छ । सिजनमा राम्रो व्यापार हुन्छ । अहिले सिजन हो तर, विदेशी पर्यटक बढे पनि ग्राहक भने नेपाली नै हुने गरेका छन् ।’ कार्कीको पसलमा रु पाँच सयदेखि १२ हजारसम्मका सामान छन् । विदेशीले ‘सिङ्गिङ बल’, मालालगायतका सामग्री बढी रुचाउन्छन् । प्रमुख पर्यटकीय क्षेत्रमा विदेशीले भन्दा नेपालीले समान किन्ने गरेको व्यावसायीले बताएका छन् । कोभिड पहिले दैनिक रु २० हजारसम्म कमाइ गर्ने कार्कीले अहिले पाँचदेखि १० हजार आम्दानी गरिरहेका छन् । वसन्तपुर दरबार क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामानको व्यापार हुन्छ । सबैभन्दा धेरै किनमेल वसन्तपुरमै हुन्छ । होलसेलमै सस्तो सामान पाइने भएकाले विदेशीको पहिलो रोजाइ वसन्तपुर क्षेत्र हुने गरेको व्यवसायीको भनाइ छ । झापाका किशोर दर्नाल २५ वर्षदेखि वसन्तपुर क्षेत्रमा व्यापार गर्छन् । पर्यटकीय सिजन भए पनि व्यापार उत्साहजनक नभएको उनले बताए । उनी भन्छन्, “व्यापार काम चलाउ मात्रै छ । पर्यटक आए पनि सामान किन्दैनन् । नेपालीले नै बढी किन्छन् । आशातित रुपमा सिजन मै व्यापार छैन ।’ भक्तपुरकी धनमाया तामाङको पनि व्यापार राम्रो छैन । ‘कहिले हुन्छ, कहिले हुँदैन । भएको बेला रु पाँच हजारदेखि १० हजार कमाइ हुन्छ । पर्यटक आएका छन् तर बिक्री भने खासै छैन’, उनले भने, ‘तामाङको पसलबाट उपभोक्ताले माने, मुकुण्डोलगायतका सामान बढी लैजान्छन् ।’ वसन्तपुरमा सामान खरिद गर्दै गरेकी ललितपुरकी सृष्टि श्रेष्ठले यो क्षेत्रमा सस्तो सामान पाइने भएकाले आएको बताए । ‘वसन्तपुरमा सामान किन्न रमाइलो लाग्छ’, भाउजु रेखा श्रेष्ठसँगै वसन्तपुर घुम्न आएकी श्रेष्ठले भने, ‘पाटनमा सामान पाइने भए पनि नानीबाबुसँगै घुम्न पनि पाइने र सामान पनि किनिने भएकाले यहाँ आएका हौँ ।’ वसन्तपुरका व्यवसायी मात्रै होइन प्रमुख पर्यटकीय क्षेत्र ठमेलको हस्तकलाको व्यापार पनि राम्रो छैन । विगत १५ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आएका मनाङ ह्याण्डिक्राफ्टका सञ्चाल वाङ्गेल गुरुङले सिजनमै व्यापार खासै राम्रो नभएको बताए । उनले भने, ‘कोभिडपूर्व व्यापार राम्रै थियो । अहिले भाडा तिर्नसमेत समस्या छ । पर्यटक आउँछन् सामान हेर्छन् जान्छन् । नेपालीले फाट्टफुट्ट किन्छन् ।” ठमेलमा विगत २२ वर्षदेखि व्यापार गर्दै आएका भारतका ओसिम आक्रामले पनि व्यापार राम्रो नभएको सुनाए। उहाँ ‘माउनटेन टिसर्ट ब्याग’मार्फत विदेशीलाई नेपाली उत्पादन बिक्री गर्दै आएका छन्। ठमेलमा बुद्धिष्ट माला इन्टरप्राइसका सञ्चालक इन्द्रसिंह लामाले पर्यटक घुमिरहे पनि व्यापार सन्तोषजनक नरहेको बताए । रासस

नेशनल लाईफ इन्स्योरेन्स बन्यो विमस्टेक राष्ट्रकै उत्कृष्ट कम्पनी, भारतले गर्यो सम्मान

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो । उक्त संस्थाले विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी भन्दै जीवन कम्पनी नेशनल लाईफ इन्स्योरेन्स ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित गरेको हो । भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक समारोहबीच उक्त इन्स्योरेन्सलाई सम्मान गरेको हो । विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । उक्त सम्मान कम्पनीका सहायक महा प्रबन्धक प्रज्वल सायमीले ग्रहण गरेका हुन् ।

 भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, एक लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३’ को आयोजना गर्ने भएको हो । नवौं संस्करणको सो मेला नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको हो । महासंघका अनुसार मेला मंसिर १४ गतेदेखि सञ्चालन भई १८ गतेसम्म चल्ने छ । उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भैसकेको महासंघले बताएको छ । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने बताइएको छ । मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा आयोजना हुने सो मेला नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । उनका अनुसार मेलाले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि मदत पुर्याउने छ । सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं बिजनेस मार्केटिङ कार्यक्रम समेत राखिएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुने महासंघको भनाई छ । महासंघले मेला अवधिभर एक लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने बताइएको छ । आइएमइ पे फोनमा डाउनलोड गर्नेहरूका लागि प्रवेश निःशुल्क छ भने नगरी प्रवेश गर्नेहरूलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।

ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २११ रुपैयाँ थियो । यससँगै बुधबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०८.९१ रुपैयाँलाई आधार मानेर हुने छ ।