सरकारले स्वीकार्यो दुई करोड अमेरिकी डलर अनुदान सहायता
काठमाडौं । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने ६५ करोड अनुदान सहायता स्वीकार गर्ने बताएकी हुन् । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई खटाउने भएको छ । अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई काममा खटाउने अख्तियारी दिएको मन्त्री शर्माले जानकारी दिइन् । जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भएबमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताइन् । मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेय तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्जाल तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा साविक भ्रमरपुरा-५ महोत्तरी निवासी सुवोधकुमार शर्मालाई मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा साविक चोक चिसापानी गाविस-५ तनहुँ निवासी डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको छ । सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा हतुवागढी गापा-२, भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने निर्णय भएको छ भने विद्युतीय सुशासन आयोगको सदस्यमा साविक कञ्चनपुर जिल्ला निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ । रासस
सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर शुरु गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिएका थिए । साथै, उनीसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ । यसअघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । नयाँ स्वतन्त्र सञ्चालक अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ईभी बजारमा बीवाईडीको नयाँ रेकर्ड, बनायो ६० लाख न्यू इनर्जी भेहिकल
काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख उत्पादन गरेको हो । यससँगै कम्पनीले विद्युतीय सवारी उद्योगमा नयाँ रेकर्ड बनाउँदै द्रुत गतिको निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ । बीएओ ५ बीवाईडीको फ्याङ्चेङ्गबाओ उप ब्राण्ड अन्तर्गतको एसयूभी हो । बीवाईडीको विविध ब्रँड मैट्रिक्सहरुमा डाइनेष्टि र ओसियन सिरिज, फ्याङ्चेङ्गबाओ, डेन्जा र याङ्वाङ् जस्ता विभिन्न ब्राण्डहरु उपलब्ध छन् । गत अक्टोबरमा मात्रै बीवार्ईडीले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हाँसिर गरेको थियो । २०१० बाटै बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाईडीको विद्युतीय साधनहरु अब ७० भन्दा बढी देशको चार सय भन्दा बढी सहरहरुमा सञ्चालन छन् । न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ । हाल कम्पनीले ५८ देशका विभिन्न क्षेत्रमा २ लाखभन्दा बढी ग्राहकहरु बिक्री गरिसकेको छ ।
कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत, सबैभन्दा बढी गण्डकी प्रदेशमा, कम कर्णालीमा
काठमाडौं । कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैङ्गिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ । लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको तथ्याङ्कले देखाएको छ । बिहीवार ललितपुरमा कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक गरिएको तथ्याङ्क संकलन सार्वजनिक गर्दै यस्तो बताएको हो । त्यस्तै,कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क कृषि जनसख्या ३१.४ प्रतिशत रहेको छ । यस्तो तथ्याङ्क प्रदेशगत हेर्दा सबैभन्दा बढी ३४.६ प्रतिशत गण्डकी र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको राष्ट्रिय कृषिगणना २०७८ ले देखाएको छ । प्रदेशगत रुप्मा वस्यक पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबै भन्दा बढी वागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको देखिएको छ । केन्द्रिय तथ्याङ्क कार्यालयमा सह-सचिव हेमराज रेग्मीले लैङगिक विश्लेषणको देृष्टिकोणले कृषक महिला र पुरुषको संख्या कति भनेर छुट्टै तथ्याङ्क संकलन गरिएको बताए । २ सयभन्दा बढी तथ्याङ्कमध्य कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक राष्ट्रिय कृषिगणना २०७८का तथ्याङ्कहरुलाई हेरेर वितरण सार्वजनिक गरिएको बताउँदै उनले नेपालको कृषि पेशामा लाग्ने महिलाहरुमध्ये ३४.४ प्रतिशतको मात्रै स्वामित्वमा जग्गा रहेको बताए । उनले यो तथ्याङ्कले नेपालमा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानता अझै देखिएको बताए । उनले ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुषहरुको स्वामित्वमा जग्गा रहेका भए महिला पुरुषबीचमा जग्गा स्वामित्वमा समानता रहेको भन्न सकिने भएपनि करिव ३५ प्रतिशत मात्रै रहेकाले समानता नदेखिएको बताए । त्यस्तै, केन्द्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले जमिनमा महिलाको पहुँच ५० प्रतिशत पुर्याउन सक्नुपर्ने बताए । उनले विश्वका विकसित मुलुकमा पनि महिलाको जमिनमा पहुँच ५० प्रतिशत नरहेको बताए । उनले दक्षिण एशियामा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानताको विषयमा तथ्याङ्क संकलन गर्ने देशमा पहिलो पटक परेको बताए । उनले सन् २०३० सम्ममा ४० प्रतिशत महिलाको पहुँचमा जमिन पुर्याउने सरकारको लक्ष्य रहेको बताए । उनले जग्गाको स्वामित्व महिलाको नाममा गर्दा सरकारले अझ सहुलियतहरु दिँदै जाँदा स्न २०३० सम्ममा ४० प्रतिशत जमिन महिलाको पहुँचमा पुग्ने विश्वास रहेको बताए ।
कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा
काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेन्द्र कांत, र अन्य उच्च पदाअधिकारीहरूको उपस्थिति थियो । सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।
गाउँपालिका हाँकेका पाइजाको किबी खेती, वार्षिक ५ लाखभन्दा बढी आम्दानी
गलकोट । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर यसको खेती सुरु गरेका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । तत्कालीन समयमा प्रतिविरुवा रु एक हजार पाँच सयमा किवी खरिद गरेका उनले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बनाएका थिए । उनी यतिबेला एक सय २० रोपनीमा फलफूल खेती गरिरहेका छन् । पाइजाले गतवर्ष मात्रै चार हजार केजी किबी बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गरेको बताए । उनले हाल चार सय किबीका बिरुवाबाट व्यवसायिक खेती गरिरहेका छन् । कृषिमा रमाइरहेका पाइजा किसानको नेता हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित थिए । पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उनले फेरि गाउँमा किबी खेतीमै रमाइरहेका छन् । ‘कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किबी खेती भित्र्याउने मै हो’, पाइजाले भने, ‘कृषिबाटै जिल्लामा चिनिएको थिए, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किबी खेती विस्तार गरेँ ।’ उनले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताए । ‘गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किबीले अलि स्याहार पाएन’, पाइजाले भने ‘अहिले त फुर्सद छ दिनभर किबीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्णरुपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ ।’ उनले हाल किबीसँगै ओखर, हलुवाबेद, सुन्तला, स्याउ, पाउलिनिया, एभोकार्डो, कागती, अनार खेतीका साथै आठ घार मौरी पनि पालन गरिरहेका छन् । पाइजाको किबी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किबी खेती सुरु गरेका छन् । गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ का लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका–५ का नरबहादुर राना लगायत व्यावसायिक किबी खेतीमा रमाएका छन् । बागलुङमा झण्डै ४० हेक्टर जमिनमा व्यावसायिक किबी खेती गरिँदै आइएको सरकारी तथ्याङ्क छ । बागलुङको दुदिलाभाटीमा किबी पकेट कार्यक्रम नै सञ्चालित छ । किबी भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत मानिन्छ । किबी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसलाई नेपालमा ‘ठकी फल’ पनि भनिन्छ । रासस
सात वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन हुने, ईभीको हिस्सा ९० प्रतिशत पुग्ने
फाइल तस्बिर काठमाडौं । सरकारले सन् २०३० सम्ममा नेपालमा १५ हजार मेगावाटसम्म स्वच्छ ऊर्जाको उत्पादन हुने प्रक्षेपण गरेको छ । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले तयार गरेको ‘जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना २०८०/२०८७’ ले उक्त मात्रामा विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको हो । जसमध्ये ५/१० प्रतिशत हिस्सा लघु तथा साना जलविद्युत्, सौर्य, वायु र जैविक ऊर्जाबाट हुने प्रतिवेदनमा उल्लेख छ । १५ हजार मेगावाट विद्युत् मध्ये ५ हजार मेगावाट आन्तरिक स्रोत र बाँकी अन्तर्राष्ट्रिय समुदायको वित्तीय सहयोगमा आयोजना निर्माण गरेर उत्पादन गरिने जनाइएको छ । प्रतिवेदनअनुसार सन् २०३० सम्ममा कुल ऊर्जाको माग १५ प्रतिशत हिस्सा स्वच्छ ऊर्जा स्रोतबाट आपूर्ति हुने छ । यस्तै, सन् २०३० सम्ममा विद्युतीय सवारीको बिक्री ९० प्रतिशत सम्म पुग्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२५ सम्ममा दुईपाङग्रे तथा चार पाङग्रे निजी सवारीसाधन बिक्रीको २५ प्रतिशत हिस्सा विद्युतीय सवारीको हुनेछ । विद्युतीय सार्वजनिक सवारी साधनको बिक्री हिस्सा कुल सार्वजनिक सवारीसाधनको बिक्रीको २० प्रतिशत हुने बताइएको छ । यसै गरी सन् २०३० सम्ममा दुईपाङग्रे तथा चारपाङ्ग्रे निजी सवारीसाधन बिक्रीको ९० प्रतिशत र चारपाङ्ग्रे सवारीको बिक्रीको ६० प्रतिशत हिस्सा विद्युतीय सवारी रहने छ । सार्वजनिक सवारीसाधनमा विद्युतीय रिक्सा र विद्युतीय टेम्पो समावेश गरिएको छैन् । सन् २०३० सम्ममा सार्वजनिक यातायात र सामान ढुवानीमा सहयोग पुर्याउन दुई सय किलोमिटर विद्युतीय रेल विकास गर्ने लक्ष्य निर्धाण गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा खाना पकाउने प्रमुख इन्धनका रूपमा विद्युतीय चूलो हुने बताइएको छ । सन् २०२५ सम्म ग्रामीण भेगमा ५ लाख वटा सुधारिएको चुलो जडान गर्ने लक्ष्य समेत सरकारको छ । सन् २०२५ सम्म थप २ लाख घरधुरीमा बायो ग्यास प्लान्ट तथा संस्थागत/औद्योगिक स्तरमा ५ सय वटा ठूला बायो ग्यास प्लान्ट जडान भइसक्ने छन् । प्रतिवेदनअनुसार सन् २०३० सम्म ४५ प्रतिशत वन क्षेत्र कायम हुने र ४ प्रतिशत भन्दा कम अन्य काष्ठयुक्त वन क्षेत्रसमेत कुल क्षेत्रफलको ४५ प्रतिशत भू-भाग वन क्षेत्र कायम गर्ने सरकारको लक्ष्य छ । सन् २०२५ सम्म ३८ करोड लिटर प्रतिदिन फोहोर पानी प्रशोधन गरी विसर्जन गर्ने र ६० हजार घनमिटर प्रतिवर्षका दरले मानव मलमुत्रजन्य फोहोरलाई व्यवस्थापन गर्ने योजना सरकारको छ ।
एशियन पेन्टस् नेपालले भूकम्पपीडितलाई गर्यो ५० लाख सहयोग
काठमाडौं । एशियन पेन्टस् नेपालले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ । भूकम्प पीडितका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपैयाँ सहयोग गरेको हाे। विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो । गत कात्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सहयोग रकमको चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णले मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।