विकासन्युज

भरतपुर महानगरमा अव्यवस्थित तार हटाइँदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका नगर प्रहरीहरुले गरिरहेको उनले जानकारी दिए । इन्जिनियर बोटले भने, 'महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर पोलहरुलाई सुन्दर र व्यवस्थित गर्ने काम भइरहेको छ ।'  महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्थानीय प्रशासनसहितको बैठक पछि इन्टरनेट सेवा प्रदायकहरुलाई अव्यवस्थित रहेका तारहरु हटाउन लगाइएको बताए । महानगरभित्र यस्ता तारका कारण असुरक्षित र कुरुप देखिएको भन्दै उनले आफ्नो तार व्यवस्थापन नगरेमा नगर प्रहरीले हटाउने भएकाले तत्काल काम गर्न भनिएको बताए ।       सबै सेवा प्रदायक  र महानगरका नगर प्रहरीहरूले पोलहरुमा काम गरिरहेको बताए । यही वैशाख २७ गतेदेखि निरन्तर रुपमा काम भइरहेको छ ।       

सुदन गुरुङको सम्पत्तिमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै शाहले पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको दाबी गर्दै त्यसबारे तत्काल उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको बताएका हुन् । उनले संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई जोगाउन र चोख्याउन आयोग नै सक्रिय भएको भन्ने विषयमा जनस्तरमा व्यापक आशंका र चर्चा रहेको उल्लेख गरे । कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन, शाहले भने, आयोगले कुनै दबाब वा प्रभावमा परेर कसैलाई चोख्याउने काम गर्नु हुँदैन । शाहले प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र भएकाले सदनमार्फत सरकारलाई आयोगका गतिविधिमाथि निगरानी राख्न आग्रह गरे । साथै, उनले पूर्व गृहमन्त्री गुरुङको सम्पत्तिको पारदर्शी, निष्पक्ष र उच्चस्तरीय छानबिन सुनिश्चित गर्न सरकारसँग माग गरे ।

सर्वोच्च प्रशासनमाथि गम्भीर प्रश्न, रिट दर्ता रोकिएको भन्दै कामु प्रधानन्यायाधीशको हस्तक्षेप

काठमाडौं । सर्वोच्च अदालतमा दायर हुन आएका रिट निवेदन तथा दरपीठविरुद्धका निवेदनहरू दर्ता नगरी रोकेको विषयमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गम्भीर चासो व्यक्त गर्दै तत्काल दर्ता गर्न आदेश दिएकी छन् । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाललगायतले दायर गरेको रिट निवेदन तथा अधिवक्ता गीता थापाको दरपीठ आदेशविरुद्ध परेको निवेदनसमेत सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध गरेको गुनासो आएपछि मल्लले हस्तक्षेप गरेकी हुन् । उनले सोमबार जारी गरेको आदेशमा अदालतमा दर्ता हुन आएका निवेदनहरू होल्डमा राख्ने अधिकार सर्वोच्च अदालत प्रशासनलाई नरहेको उल्लेख गर्दै इजलासले निर्णय गर्ने विषयसमेत प्रशासनिक तहबाट रोकिएको पाइएको बताएकी छन् । आदेशमा दरपीठविरुद्धका निवेदनसमेत इजलाससमक्ष प्रस्तुत नगरी राखिएको उल्लेख छ । आदेशमा नेपालको संविधानले प्रत्येक नागरिकलाई अदालतको ढोका ढकढक्याउने जन्मसिद्ध अधिकार दिएको उल्लेख गर्दै अदालतमा आएका दाबी, उजुरी वा निवेदन कानूनबमोजिम दर्ता गरी न्यायिक प्रक्रिया अगाडि बढाउनु अदालतको दायित्व भएको स्पष्ट पारिएको छ । कामु प्रधानन्यायाधीश मल्लले निवेदन दर्ता नगरी रोक्नु न्यायप्राप्तिको बाटोमा अवरोध भएको टिप्पणी गरेकी छन् । उनले यस्तो कार्यले न्यायपालिकाप्रतिको जनआस्था कमजोर बनाउने समेत उल्लेख गरेकी छन् । आदेशमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले प्रधानन्यायाधीशमा सिफारिस माननीय न्यायाधीशकै निर्देशनका कारण दर्ता नगरिएको जानकारी गराएको उल्लेख छ । त्यसपछि संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ प्रयोग गर्दै उनले हस्तक्षेप गरेको जनाइएको छ । मल्लले वैशाख २३ र २५ लगायतका दिनमा दर्ता हुन आएका सबै रिट निवेदन तथा दरपीठविरुद्धका निवेदन सोमबार दिउँसो १ बजाभित्र दर्ता गर्न र मंगलबारको पेसीमा चढाउन मुख्य रजिष्ट्रारलाई निर्देशन दिएकी छन् । साथै सोको जानकारी आफूलाई दिनसमेत आदेश दिइएको छ । सर्वोच्च अदालत प्रशासनभित्रै रिट दर्ता प्रक्रियालाई लिएर उत्पन्न विवादले न्यायपालिकाको पारदर्शिता, निष्पक्षता र स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।   

सरकारले मानव तस्करीमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छ : खुश्वु ओली

काठमाडौं । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।  सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरुले १० देखि १२ लाखमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।  प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदारहरूलाई पठाउने कुरा प्रतिबन्ध लगाएपनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराए ।  उनले भने,‘शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो सभामुख महोदय । यस्ता अरु हजारौ घटनाहरु छन् ।’ प्रमुख सचेतक ओलीले सरकारले वैदेशिक रोजगारीका कारण पीडा सहन बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाई गर्न नहुने पनि बताए ।    

सुनको मूल्य तोलामा २ लाख ९४ हजार ८०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ ।      आइतबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।      यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला  पाँच हजार ४० रुपैयाँ निर्धारण गरिएको छ ।   

नाडेप लघुवित्तले लाभांश नदिने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सोही बैठकमार्फत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णयसमेत गरेको जनाएको छ । लघुवित्तले यस वर्ष लाभांश नदिने निर्णय गर्नुको कारण भने खुलाइएको छैन ।   

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।      राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।    

गुल्मीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो ।  दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । उनीहरु दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गए राति मृत्यु भएको प्रहरी जनाएको छ ।  दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पुर्याइएको प्रहरीले जनाएको छ ।