पोखरामा रोकिएन ट्याक्सीको मनोमानी, यात्रुसँग नियमविपरीत चर्को भाडा असुली
गण्डकी । गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनी विरौटाबाट ट्याक्सी चढे । नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लिएका प्रदेशसभा सदस्य अर्याललाई ट्याक्सी चालकले पाँच सय भाडा मागे । ट्याक्सीमा आवतजावत गर्नुपर्दा सधैँ चार सय रुपैयाँ तिरिरहेका उनी ट्याक्सी चालकले भनेजति भाडा दिन तयार भएनन् । प्रदेशसभा सदस्य अर्यालले आफू सधैं चार सय रुपैयाँ तिरेर विरौटाबाट आउने गरेको बताएपछि ट्याक्सी चालक त्यति नै भाडा लिन राजी भए र नदीपुरबाट फर्किए । यसरी प्रदेशसभा सदस्य अर्याल ट्याक्सी भाडामा ठगिनबाट जोगिए । प्रदेशसभाको अर्थ तथा विकास समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको प्रसङ्गमा समितिका सभापति अर्यालले आफ्नै ताजा दृष्टान्त उक्त कार्यक्रममा सुनाएका हुन् । गत भदौदेखि पोखरा उपत्यकाभित्र मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गरे पनि ट्याक्सी चालकको मनलाग्दी भाडा लिने प्रवृत्ति अझै नरोकिएको उनले बताए । ‘मिटर प्रणालीको कुरा गरेको भए ट्याक्सी चालकसँग वादविवाद हुनसक्थ्यो, उनले पाँच सय रुपैयाँ मागे पनि मैले सधैँ तिर्ने गरेको रु चार सय तिरेर हिँडे’, सभापति अर्यालले भने, ‘पोखरामा ट्याक्सी भाडाको समस्या पहिलेदेखि कै हो, यो अझै समाधान हुन सकेको छैन, ट्याक्सी व्यवसायमा एकाधिकारजस्तो अवस्था छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले यातायात व्यवस्था मन्त्रालयलाई विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको उनले बताए । समितिले अबदेखि ट्याक्सीलगायत यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले गरेका कामकारबाहीको प्रभावकारी अनुगमनसमेत गर्ने सभापति अर्यालले बताए । ‘समितिले सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशन मात्र होइन, निर्देशन कार्यान्वयनका लागि दबाव दिन्छ, अनुगमन पनि गर्छ’, उनले भने । ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताए । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार मिटर प्रणालीमा गुड्न तयार भएका ट्याक्सी व्यवसायीले सरकारसँग भएको सहमति उल्लङ्घन गर्दै आएका छन् । विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यसअघि मिटरमा नचलेका ट्याक्सी गत भदौ १ गतेदेखि मिटरमा सञ्चालन गर्ने दुईपक्षीय निर्णय भएको थियो । यातायात व्यवस्था मन्त्रालयसँगको छलफलमा ट्याक्सी व्यवसायीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धता जनाएका थिए । उक्त छलफलका क्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको तर सरकारले ट्याक्सी व्यवसायीको मर्का बुझिदिनुपर्ने बताएका थिए । ट्याक्सी व्यवसायीले बजार महँगी र इन्धनको मूल्यवृद्धिका आधारमा नयाँ भाडादर समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् । दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमिको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ । पन्ध्र किमिभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताए। उनले अनुगमनका क्रममा मिटर प्रणालीमा नचलेको पाइएका ट्याक्सी चालकलाई कारबाहीसमेत गरिएको बताए । ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिरहेको गुनासो अहिले पनि आइरहेको महाशाखा प्रमुख पौडेलको भनाइ थियो । प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको उनले बताए । प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपिएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत उल्लेख छ । यी कुनै पनि शर्त ट्याक्सी व्यवसायीले लागू गर्न सकेका छैनन् । मिटर प्रणालीमा नचल्ने ट्याक्सीको जरिवाना रकमसमेत पहिलेको तुलनामा बढाइएको यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । सुरुमा न्यूनतम रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा पछिल्लो समय न्यूनतम जरिवाना पाँच हजार रुपैयाँ पु-याउने निर्णय गरिएको छ । मिटर प्रणालीमा चलाउने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस
शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै
डुम्रे । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन् । उक्त मार्ग ग्राभेल प्रकारको निर्माण गरिने पूर्वाधार कार्यालय तनहुँका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिइन् । ‘ग्राभेल किसिमको संरचनामा यो मार्ग निर्माण गरिनेछ’, उनले भनिन्, ‘यसमार्ग निर्माणपश्चात् ग्रामीण क्षेत्रलाई तराईसँग जोड्नेछ भने आवागमन पनि सहज हुँदै जानेछ ।’ निर्माण अन्तिम चरणमा पुगेको सूचना अधिकारी मिश्रले बताइन् । ‘निर्माण अन्तिम चरणमा पुगेको छ । पहिराको जोखिम रहेका केही स्थानमा निर्माण गर्न समय लाग्ने देखिएको छ’, उनले भनिन्, ‘सम्झौता सकिने बेला पनि भएकाले तीव्रगतिमा काम भइरहेको छ । पहिराको जोखिम क्षेत्रमा समस्या भए समय थप्नुपर्ने हुन्छ । नत्र सम्झौता मितिमा काम सम्पन्न हुन्छ ।’ विसं २०८१ फागुन २३ सम्ममा निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ फागुन २३ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । २५ करोड आठ लाख ७३ हजारमा सम्झौता भएको पूर्वाधार कार्यालयले जनाएको छ । यसमार्ग निर्माणले नवलपुरवासीलाई गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्न सहज र छोटो हुनेछ । पृथ्वीराजमार्गअन्तर्गत पोखरा–तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–खैरेनीटार खण्डमा भिमाद–मानपुर–फुला खण्डसँग जोडिन्छ । शालिग्राम कालीगण्डकी करिडोर मार्गमार्फत घिरिङ गाउँपालिकाको मानपुर हुँदै नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँस्थित कालीगण्डकी करिडोरमा निस्कन सकिन्छ । यो मार्ग नवलपुरका लागि विशेष महत्वका रुपमा लिइएको छ । रासस
आइजीआई प्रुडेन्सियल दियो प्रदेश र विभागीय प्रमुखलाई अनुपालन तथा एएमएल/सीएफटी तालिम
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । माघ १३ गते चन्द्रागिरी हिल्स काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च ब्यवस्थापनको रोहवरमा ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुकहरुको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो । कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले संचालक समितिका सदस्य, उच्च ब्यवस्थापन, विभागिय प्रमुख तथा प्रदेश प्रमुखहरुलाई अनुपालन तथा एएमएल सीएफटीको बारे जानकारी गराएका थिए । सो अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत युगेश्भक्त बादे श्रेष्ठले आफ्नो दैनिक काम कारबाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए । उनले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारबाही गर्दा कम्पनीका नियमक निकायहरुले दिइएको निर्देशन त्यसै गरी ऐन नियम, कानून र उच्च ब्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने बताए । सो कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्र्रमुख मार्फत सबै विभागका कर्मचारीहरु तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा रहेक कार्य गर्दा ऐन, नियम, निर्देशन तथा परिपत्रको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।
१२ महिना हिउँले ढाकिने गरेको धौलागिरिको धवल रुप धमिलिँदै
गलेश्वर । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो । धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको धवलागिरि गाउँपालिका–४ का वडासदस्यसमेत रहेका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिए । ‘धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो’, उनले भने, ‘पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ । हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ।’ एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रमा पुस लाग्ने वित्तिकै हिउँपरेको देखिनेमा विगत केही वर्षयता हिमालमा हिउँ परेको हेर्न फागुन कुर्नुपर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताए । ‘पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यसवर्ष मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेको छैन । समयमा हिउँ पर्याप्त नपर्ने, हिमालमा भएको हिउँ पग्लिएर जाँदा हिउँले ढाकिएका भू-भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्’, उनले भने । धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि सुरु हुने हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका–४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताए । ‘म जान्ने हुँदादेखि धौलागिरि वरपरका सबै डाँडाकाँडा मङ्सिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे’, उनले भने, ‘खर्क र खोल्सामा चिस्यान हुन्थ्यो । अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडा सबै काला भएका देखिन्छन् ।’ समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपक्षी र जङ्गली जनावर पनि बसाइँ सर्न थालेका स्थानीयवासीले बताएका छन् । ‘धौलागिरि वरपरका उच्च लेकाली जङ्गलमा मात्र पाइने रेडपाण्डा अहिले बस्ती छेउमा देखिन थालेका छन् । कालीज, तित्रा पनि गाउँमै भेटिन थालेका छन्’ स्थानीय पृथबहादुर विकले भने । धौलागिरि मात्रै नभइ जिल्लाको गुर्जामा रहेका गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा पनि कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिँदै बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेका उनको भनाइ थियो । हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताए । ‘पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ । दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको’, उनले भने, ‘पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो । हिउँ पग्लिन हप्तौँ लाग्थ्यो । अहिले मुस्किलले दुई/तीन फिटसम्म पर्छ । त्यो पनि एकै दिनमा पग्लिएर बग्छ ।’ हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले जानकारी दिए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उनको भनाइ थियो । पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको किसानको भनाइ छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । यस्तो छ धौलागिरि हिमालको इतिहास धौलागिरि हिमालको इतिहास भारत स्वतन्त्र हुनुभन्दा पहिला सन् १९४७ अघि भारतमा शासन गरेका अङ्ग्रेजहरुसँग जोडिएको इतिहासकारको भनाइ छ । ‘सन् १९४७ पूर्व भारतमा अङ्ग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा अङ्ग्रेजले सेतो पहाड देखे । सेता पहाड देख्दा उनीहरु लोभिएपछि खोजी गर्दै जाँदा धौलागिरि हिमाल पत्ता लगाएका हुन्’, म्याग्दीका इतिहासकार कर्णबहादुर बानियाँले भने । उनका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मेमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम शृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो । म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरि हिम शृङ्खला रहेको छ । यो हिम शङ्खला सेतो भएकाले यसलाई धवलागिरि भनिएको हो भन्ने बानियाँको भनाइ छ । ‘धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम शृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैँ टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो’, इतिहासविद् बानियाँले भने, ‘म्याग्दी हिमाल, ताल, छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यलेयुक्त भएकाले यहाँको संस्कृति पनि शृङ्गारिक र मौलिक छ ।’ बानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदा अझै पनि ओझेलमा परेका छन् । त्यसका साथै यहाँ दर्जनौँ हिमशृङ्खला, छहरा, ताल, गल्छी, झरना रहेका छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्य म्याग्दीमा विद्यमान छन् । जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ, जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो । गल्छीको उत्तर–पश्चिममा धवलागिरि हिमाल (८,१६७ मी) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी) छन् । यी दुई हिमशङ्खला बीचको दूरी करिब ३५ मिटर मात्र छ । दाना करिब १,२०० मिटरको उचाइमा अवस्थित छ । रासस
पानी जेटबोटले सहज बन्दै भोजपुरवासीको यात्रा
भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए । वर्षात्को समयमा बाहेक हतुवागढी-९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ । दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताए । भिरको बाटो तीनदेखि चार घन्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने अवस्थामा जलयात्राले सहजता भएको उनको भनाइ थियो । जलयात्राबाट चतरासम्मको करिब १९ किमी दूरी २० देखि २५ मिनेटमा पुगिने थापाले जानकारी दिए । ‘स्थानीयलाई आवागमनका लागि पानी जेटबोट सञ्चालनले धेरै सहज भएको छ’, उनले भने, ‘सडकका माध्यमबाट यात्रा गर्न नदीमा पुल छैनन् । वर्षात्को समयमा अलि कठिन भए पनि हिउँदमा जलयात्रा गरेर एक दिनमा तराईका सहरमा पुगेर फर्कनसक्ने वातावरण बनेको छ ।’ स्थानीयले १९ किमी यात्रा गरेको रू छ सय भाडा तिर्दै आएका छन् । अरुण नदीमा जेटबोट सञ्चालनले बिरामी हुँदा सहरका ठूला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीय लालबहादुर प्रधानले बताए । भोजपुर सदरमुकाम भएर लेगुवा, हिले, घनकुटा हुँदै तराई झर्न करिब दुई किमी पर्ने भन्दै दक्षिणी भेगका स्थानीयका लागि यो जेटबोटले धेरै सुगमता थपेको उनको भनाइ थियो । ‘हामीलाई भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दूरी हुन्छ’, प्रधानले भने, ‘जेटबोट सञ्चालनमा आएपछि कम समयमा यात्रा गर्न सकेका छौँ । बिरामी हुँदा चाँडो उपचार लिनसक्ने वातावरण बनेको छ । यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।’ जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । जेटबोट सञ्चालन भएसँगे हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुग्ने उनको भनाइ थियो । अध्यक्ष राईले भने, ‘दुई ठूला नदीमा पुल निर्माण गर्न ढिलाइ हुँदा सवारीसाधनको आवतजावतमा समस्या भएको थियो । जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ ।’ उनका अनुसार सवारीसाधन सञ्चालनका लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर तथा धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको छ । यी दुवै नदीमा पुल बनाउने कामको थालनी गरिएको भए पनि निर्माणमा भने ढिलाइ भइरहेको छ । यहाँका नदीमा पुल बनेपछि हतुवागढीबाट धरान, इटहरी, विराटनगरलगायत तराईका ठूला सहर करिब ६०/६५ किमीको दूरीमा मात्र रहने भएकाले पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईले बताए । उनका अनुसार हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजङ्घालगायत हिमाल र तराईका फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना छ । गर्मीयाममा तराईबाट गर्मी छल्न, चिसो हावापानीमा रमाउन, मनमोहक दृष्यको दृष्यावलोकन गर्न तथा नयाँ पर्यटकीयस्थलको भ्रमण गर्न चाहनेका लागि यो स्थान महत्वपूर्ण गन्तव्य बन्ने अध्यक्ष राईले बताए । उनका अनुसार गाउँपालिकाले गौरवको आयोजनाका रुपमा घोडेटार बजार-गढी-सङ्खामचुली जोर आहाल-दिमालुङ्ग पार्क जोड्ने पैदलमार्गको निर्माण भइरहेको छ । योसँगै विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान बिन्दुका रुपमा विकास गरी समुद्र सतहबाट एक सय ५३ मिटर उचाइ मात्र रहेको भोजपुरको सबैभन्दा होचो भूभाग माइबेनीलाई समेट्दै गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईले जानकारी दिए । रासस
नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । ‘भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो’ उनले भने पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उनले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताए । माघभित्रमा भित्तो काट्ने सबै काम सकिने उनले बताए । पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उनले बताए । काम प्रभावकारी हुँदै गएको भन्दै उनले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताए । आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उनका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् । जुगेडी–खहरी र सिमलतालका तीन पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिए । उनकाअनुसार काली र नाम्चे खोलाको पुल थप तीन महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उनले बताए । अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताए । यो राजमार्गलाई एशियाली विकास बैंक (एडिबी) को सहयोगमा एशियन मापदण्डानुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । रासस
अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त
काठमाडौं । अभियान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । माघ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ १२ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।
एलन मस्कलाई पन्छाउँदै विश्वकै नम्बर एक धनी बनेका बर्नार्ड अर्नाल्टको कति बढ्यो नेटवर्थ ?
काठमाडौं । टेस्ला, स्टारलिंक र एक्स (पहिला ट्वीटर) का मालिक एलन मस्कले विश्वको सबैभन्दा धनी व्यक्तिको ताज गुमाएका छन् । टेस्लाको सेयरमा ठूलो गिरावट आएपछि उनको सम्पत्ति पनि घटेको छ । फ्रान्सेली व्यापारी तथा लक्जरी ब्राण्ड लुइस भिटनका मालिक बर्नार्ड अर्नाल्ट अब फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्स रियल टाइम बिलिनायर्सका अनुसार बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति करिब २ खर्ब ७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । मस्कको कुल सम्पत्ति अहिले २ खर्ब ४ अर्ब ७० करोड डलरबराबर छ । मस्कलाई पछि पार्दै बर्नार्ड अर्नल्ट विश्वकै धनी व्यापारी बनेका हुन् । बर्नार्डको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर बढी छ । यो ध्यान दिन लायक छ कि शुक्रबार एलभिएमएचको मार्केट क्याप ३ खर्ब ८८ अर्ब ८ करोड डलर नाघेको थियो । टेस्लाको मार्केट क्याप हाल ५ खर्ब ८६ अर्ब १४ करोड डलर छ । यी हुन् शीर्ष १० धनी फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार बर्नार्ड अर्नाल्ट र इलन मस्कपछि अमेजन संस्थापक जेफ बेजोसको नाम तेस्रो स्थानमा छ । उनको कुल सम्पत्ति १ खर्ब ८१ अर्ब ३० करोड डलर छ। चौथो स्थानमा ल्यारी एलिसनको नाम छ । उनको कुल सम्पत्ति १ खर्ब ४२ अर्ब २० करोड डलर छ। त्यस्तै १ खर्ब ३९ अर्ब १ करोड डलर नेटवर्थसाथ मेटाका सीईओ मार्क जुकरबर्ग यस सूचीमा पाँचौं स्थानमा छन् । यसपछि वारेन बफेट, ल्यारी पेज, बिल गेट्स, सर्गेई ब्रिन र स्टिभ वाल्मरको नाम पनि विश्वका धनी व्यक्तिको सूचीमा परेको छ । फोर्ब्स रियल टाइम सूचीमा एशिया र भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी (मुकेश अम्बानी नेटवर्थ) को नाम ११औं स्थानमा छ । उनको कुल सम्पत्ति १ खर्ब ४ अर्ब ४ करोड डलर छ । जहाँ भारतका दोस्रो धनी व्यक्ति गौतम अडानी (गौतम अडानी नेटवर्थ) यस सूचीमा १६औं स्थानमा छन् । उनी कुल ७५ अर्ब ७० करोड डलरका मालिक हुन् । एजेन्सी