राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने, घरघरमा दीप प्रज्वलन गरिने
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ । यस्तै सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ । दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल ९रिभ्याली० बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षकर्मी सार्वजनिक तथा सामुदायिक सङ्घ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकको निर्णय छ । बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका कार्यक्रमसमेत स्वीकृत गरेको छ । विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समूचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पठाउने बैठकको निर्णय छ । बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशबासीलाई अनुरोध गरेको छ । दिवसको सन्दर्भ पारेर फागुन ६, ७ र ८ गते प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गर्ने र सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
चिराइतो मुल्य बढ्दो, प्रतिमन ४५ हजारमा ब्रिकी
फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ । फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे। उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पुर्याउथे । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो । तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड-१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् । उनले विगत ३५ मन चिराइतो बिक्री गनुहुन्थो, तर गत वर्ष सात मन मात्र बिक्री गरे । उनले प्रति मन रु ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताए। उनले भने, ‘अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् । हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ ।’ उनका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो । तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ । फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्य आर्जन गरे । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उनले प्रतिकेजी रु एक हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे। चिराइतो बिक्रीबाट किसान भट्टराईले मनग्य आम्दानी गरे । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरे। उनका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन रु ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ । गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु १५ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार आठ सय २० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो बापत रु ८७ हजार तीन सय राजस्व सङ्कलन भएको छ । गत वर्ष पाँच हजार आठ सय केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्क छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७/०७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलन भएको र यसबाट रु दुई लाख ४४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो सङ्कलक व्यापारी बताउँछन् । झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १।५ मिटरसम्म अग्लो हुने किसानहरूको भनाइ छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधीका रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ । रासस
कृषि विकास बैंकले लाभांश नदिने
काठमाडौंं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । अघिल्लो वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
घरेलु मदिरा ‘ब्रान्डिङ’ गरेर बिक्री गरिने, ब्राण्डेड बजारमा धक्का लाग्ने
कृत्रिम बौद्धिकता प्रविधिद्वारा निर्मित तस्बिर काठमाडौं । लामो समयदेखि नकारात्मक रुपमा लिएको घरेलु मदिराको विषयमा सरकारले सकारात्मक सोच निर्माण गर्ने देखिएको छ । सरकारलाई वैद्यानिक मान्यता नदिएपनि अनौपचारिक बजारमा ठूलो हिस्सा बनेको घरेलु मदिरालाई ब्राण्डिङ नै गरेर बिक्री वितरण गर्ने विषयमा सरकारको उच्च तहमा बिहीबार छलफल भयो । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा घरेलु मदिरा प्रवद्र्धन विषयक औपचारिक छलफल भएको हो । जसमा विभिन्न प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, कानून मन्त्री, उद्योग मन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने धारणा व्यक्त गरेका थिए । उनले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने समेत बताए। ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत उनले छलफलमा बताए । मन्त्री रिजालका अनुसार घरेलु मदिराको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप बिहीबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो । छलफलमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने धारणा राखेका थिए । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो । मदिराको ब्राण्डेड बजारमा प्रभाव पर्न सक्ने लामो समयदेखि विवादित बन्दै आएको घरेलु मदिरालाई सरकारले मापदण्ड निर्माण गरेर ब्राण्डिङ गरि बिक्री वितरण गर्ने नीति अख्तियार गरेमा हालसम्म बजारमा एकाधिपत्य जमाएको ब्राण्डेड मदिराको बजारलाई चुनौति सिर्जना गर्न सक्ने देखिएको छ । औपचारिक बिक्री वितरणमा प्रतिबन्ध लगाइएपनि मदिरा पिउनेहरुको रोजाइको विषय बन्दै आएको घरेलु मदिरा मापदण्ड सहित बजारमा प्रवेश गर्यो भने त्यसले ब्राण्डिङ गरेको मदिरालाई स्वभाविक रुपमा ठूलो चुनौति दिनसक्ने देखिएको छ । अहिले घरेलु मदिरा देशैभरीे परिवारको जनशक्तिमा मात्रै सीमित रहेर अनौपचारिक रुपमा उत्पादन र बिक्री वितरण हुँदै आएको छ । जसले गर्दा घरेलु मदिरा राजस्वको दायरामा समेत आउन सकेको छैन । सरकारले घरेलु मदिरालाई मापदण्ड सहित उत्पादन गर्न दिने नीति लिएमा परिवारको जनशक्तिमा सीमित रहेको घरेलु मदिराले उद्योगको आकार ग्रहण गर्नुका साथै राज्यको राजस्व आम्दानीमा समेत ठूलो योगदान पुर्याउन सक्ने देखिन्छ । सरकारले गत आर्थिक वर्षमा ब्राण्डेड मदिरामार्फत २५६ अर्ब ९२ करोड र बियरमार्फत ३२ अर्ब ६१ करोड राजस्व संकलन गरेको थियो ।
गोँगबुस्थित नयाँबसपार्कभित्र होटल सञ्चालन
काठमाडौं । रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । काठमाडौं महानगरपालिका-२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन्भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो । प्रविधिमैत्री टिकट बुकिङ काउन्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले टिकटलाई अनलाइनमार्फत काट्न मिल्ने व्यवस्थासमेत मिलाउन लागेको छ । नयाँबसपार्कमा हाल एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन ‘पार्किङ’ गर्न मिल्छ । तर हाल जम्मा तीन सयदेखि तीन सय ५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ भई सञ्चालन हुँदै आएका छन् अन्य सार्वजनिक सवारीसाधन भने नयाँ बसपार्कभन्दा बाहिर विभिन्न ठाउँमा पार्किङ गरेर सञ्चालन हुँदै आएका छन् । रासस
हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
७१ मेगावाटको नीलगिरिखोला-२ को प्रसारण लाइन परीक्षण सफल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ । नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युतगृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युतगृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो । प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ । सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताए । ‘टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ’ उनले भने, ‘माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छाैँ ।’ नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ । विद्युतगृह र छोटेपाको बाँधसहित पाँचवटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुईवटै आयोजनाको प्रवद्र्धक कम्पनी एउटै हो । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ । दुई हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । रु १३ अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् । नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताए । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । रासस
सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ । हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताए । यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिए । उनले भने, ‘सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ, खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ, गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो ।’ जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताए । देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी राईको भनाइ छ । ‘जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ, अन्य ठाउँहरुमा खासै व्यावसायिक रुपमा सुन्तलाखेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ, यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ, त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको,’ उनले भने । ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र०७९ मा एक हजार एक सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९र०८० मा एक हजार छ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ । बजारीकरणमा समस्या जिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक दुई हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ । उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान सङ्गम राईले गुनासो गरे। उनले भने, ‘सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो, बजार छैन, फलेर के गर्नु, त्यतिकै कुहिएर खेर जाने गरेको छ । यहाँको बजारमा कति नै पो बिक्छ र रु धेरै उत्पादन भए पनि खासै भाउ नै छैन, गाउँमा त सबै वस्तुभाउलाई चारो पकाएर दिने हो । त्योभन्दा अरू विकल्प नै छैन नि ।’ हाल जिल्लामा उत्पादन भएको सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ । जसका कारण बजारीकरणमा समस्या रहेको किसानको दुखेसो छ । देउसाको सुन्तला जिल्ला सदरमुकाम सल्लेरीसम्म ढुवानी गरेर किलोको रु ५० मा पनि बिक्री नहुने गरेको देउसाका किसान अम्बर राईको भनाइ छ । उनले भने, ‘बजार नपाउँदा सिजनमा फलेको सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन्, बजार सानो छ, खाने मान्छे कम छन्, त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन, रोग किरा, औँसाबाट कति दुःख गरेर जोगाउनुपर्छ, फलेपछि बजारमा भाउ छैन, किसानलाई जताबाट पनि घाटा नै घाटा, सुन्तलाखेतीबाट यसो आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो, योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि ।’ जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रुपमा अन्यत्र निर्यात गर्न सकेको छैन । थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पु¥याएर बिक्री गरे पनि पालिका क्षेत्रमै उत्पादित सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान सङ्गम राईले बताए । साथै जिल्लामा सुन्तलाबाट जुस उत्पादन गर्ने व्यवस्था नहुँदा फल यतिकै खेर जाने गरेको किसानको दुखेसो छ । स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरुबाट जुसहरु तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताए । हाल जिल्लामा उत्पादन हुने सुन्तला खानकै लागि मात्रै प्रयोग हुँदा किसानले सोचेजस्तो आम्दानी लिन नसकेको उनको भनाइ छ । यहाँ उत्पादन हुने सुन्तला ढुवानी गरी अन्य जिल्लामा समेत पु¥याउन सके बजारको चिन्ता नहुँने सल्लेरीका मिङ्मार शेर्पाले बताए । देउसामा उत्पादन हुने सुन्तला अहिले साप्ताहिक हाट नयाँ बजारको भरपर्नु परेको छ । हाट बजारमा बिक्री नभएको सुन्तला किसानले यतिकै फर्काएर लैजानुपर्दा गाडी भाडा तथा ज्यालामा समेत दोहोरो घाटा हुने किसानको दुखेसो छ । सुन्तलाबाट जुस बनाएर बाहिर निर्यात गर्ने सवालमा आफूहरु गम्भीर रहेको थुलुङ दूधकोसी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए । किसानको मेहनत र लगानीलाई खेर जान नदिन स्थानीय सरकार ठोस योजनाका साथ बढ्ने उनको भनाइ छ । ‘हामीले जुस उत्पादन गर्ने कारखाना त खोल्छाैं तर यति मात्रै सुन्तलाले पुग्दैन, त्यसैले उत्पादनलाई अझै बढाउन आवश्यक छ, फेरि यो फल याममा मात्रै उत्पादन हुने फल भएकाले यसलाई भण्डारण गर्ने उचित व्यवस्थापनका लागि पनि हामी योजना बनाएर अघि बढ्छौँ, केही ठाउँमा त हामीले भण्डारण केन्द्र पनि बनाइसकेका छौँ,’ उनले भने । रासस