विकासन्युज

पूर्वअर्थमन्त्री महतले अर्थमन्त्री वाग्लेलाई भने- हुनेखानेको सामाजिक सुरक्षा भत्ता कटौती गर्नूस्, यो तपाईंलाई अवसर हो

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई साहसिक निर्णय लिन सुझाव दिएका छन् ।  डा. महतले हुनेखाने वर्गलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गर्न अर्थमन्त्रीलाई आग्रह गरे । ‘सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिऊँ,’ महतले भने, ‘यो निर्णय तपाईंले गर्नसक्नुहुन्छ । तपाईंलाई ऐतिहासिक अवसर छ, आँट गर्नुस् ।’ छलफलका क्रममा पूर्वअर्थमन्त्री महतले आफ्नो कार्यकालमा गर्न नसकेका कामहरू आँट गरेर पूरा गर्न वर्तमान अर्थमन्त्रीलाई हौसला दिए। विशेष गरी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अवस्थाबारे बोल्दै उनले भने, ‘नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिनँ । गर्छु भनेको गर्न सकिन तर तपाईं गरिहाल्नुस् । नत्र यो निकै कठिन हुन्छ, अब सरकारले धान्न सक्दैन ।’ उनले खर्च बढाउने खालका अनावश्यक सरकारी संरचनाहरू तत्काल हटाउन समेत सरकारलाई सुझाव दिए । ठूला विकास निर्माणका आयोजना र ठेक्का प्रक्रियामा गम्भीर त्रुटी रहेको औंल्याउँदै डा. महतले पाँच अर्बभन्दा माथिका ठेक्कामा सिमित ठेकेदारहरूको मिलोमतो (सिन्डिकेट) देखिने गरेको दाबी गरे । यसलाई रोक्न ठूला ठेक्काहरूलाई टुक्राएर मात्रै लगाउन उनले माग गरे । त्यस्तै, पहाडी क्षेत्रमा जथाभाभी बनाइने ठूला राजमार्गमाथि प्रश्न उठाउँदै उनले भने, ‘पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्नुहोस् । यो सरकार र जनताको भन्दा पनि ठेकेदारको स्वार्थमा प्रेरित देखियो ।’ यसको सट्टा पर्यटन क्षेत्रमा बाह्रै महिना चल्ने सुरक्षित सडक बनाउनुपर्नेमा उनले जोड दिए । त्यसैगरी, उनले सरकारी उद्योग र जमिनलाई सार्वजनिक–निजी साझेदारी (एएए) मोडल वा लिजमा दिनुपर्ने, निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको संरचना बाहेक सबै सम्पत्ति सरकारकै हुने गरी सम्झौता गर्नुपर्ने, अति आवश्यक क्षेत्रमा बाहेक वैदेशिक ऋण लिने प्रक्रियालाई घटाउँदै लैजाने, उत्पादन स्पष्ट रूपमा देखाएपछि मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिने र आयातित कृषि उपजमा भ्याट लगाउने लगायतका पनि सुझाव दिएका थिए।

ढुङ्गागिट्टी बेचौं भन्दा मैले चुटाइ खाएँ, तर अब खानी उत्खनन गर्ने आँट गर्नैपर्छ :  पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले खानी विभागले पहिचान गरेका खानी उत्खनन गरेर बेच्न आँट गर्नैपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । खानी उत्खनन र ढुङ्गागिट्टी निर्यातका विषयमा उनले विगतको आफ्नो अनुभव स्मरण गर्दै भने, ‘खानी बेचौं, ढुङ्गागिट्टी बेचौं भन्दा चुरे बेच्न खोज्यो भनेर मैले चुटाई खानुपर्यो । तर खानी विभागले पहिचान गरेका खानी उत्खनन गरेर बेच्न आँट गर्नैपर्छ । बुढीगण्डकी जस्ता गेम चेन्जर परियोजना गीत गाएर मात्र नबसी काम थाल्न आवश्यक छ । पूर्वअर्थमन्त्री पौडेलले स्रोतको अनुमान नगरी खर्चको मात्र अनुमान गरेर बजेट बनाउने परम्परागत कमजोरी सच्याउन आग्रह गरे । ‘बलियो जनमतको सरकार र अर्थतन्त्र बुझेको अर्थमन्त्री हुनुहुन्छ, वाचापत्र पूर्ण परिपालन गर्ने अवसर छ,’ पौडेलले भने, ‘स्थानीय वा प्रदेश चुनावको चिन्ता नगरी रिफर्मका लागि बजेट ल्याउनुस्, मेरो पूर्ण सहयोग रहनेछ।

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीको सुझाव– राजनीतिले छक्का हान्न खोज्ला, बाउन्ड्रीमै बस्नूस्

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटलाई महत्त्वाकांक्षी नबनाई यथार्थपरक राख्न सुझाव दिएका छन् ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् । ‘अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ, तर राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमै बस्नुस्,’ डा. खतिवडाले भने, ‘बजेट साढे २० खर्बको बनाए पनि खर्च १६१७ खर्ब मात्र हुने गरेकाले ठूलो राजश्व लक्ष्य नराख्नूस् । राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत मात्र राख्नूस्, १५ प्रतिशत ननघा‍उनूस् ।’ उनले आयकरको तल्लो स्ल्याब र मुअकको दर दुईवटा नबनाउन समेत सचेत गराए । त्यस्तै, डा. युवराज खतिवडाले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बचाउन दुई–चार जना मान्छे थुनेर मात्र नहुने बरु बलियो कूटनीतिक पहल चाहिने स्पष्ट पारे । उनले राष्ट्र बैंकसँग बलियो समन्वय गरेर वित्तीय क्षेत्र सुधार गरेमा मात्र देशमा ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने दाबी गरे ।

नेप्सेका पूर्वसीईओ सिंहको निधन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरमान सिंहको निधन भएको छ । सिंहको गएराति आकस्मिक हृदयघातका कारण निधन भएको हो । विसं २०६४ देखि २०६८ सम्म नेप्सेको सीईओको रूपमा नेतृत्व सम्हालेका सिंह लामो समयदेखि नेपालको पूँजी बजारको विकास र आर्थिक नीति विश्लेषणमा सक्रिय रहँदै आएका थिए । सरकारले उनलाई २०७० साल असारमा ‘विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमासमेत नियुक्त गरेको थियो ।   सेजमा रहँदा उनले नेपालमा निर्यातजन्य उद्योगहरूको प्रवर्द्धन र औद्योगिक वातावरण निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । सिंहले आर्थिक, वित्तीय र पुँजी बजारका समसामयिक विषयमा विश्लेषणात्मक लेखहरूसमेत लेखेका छन् । 

विद्युतमा कर नलगाउन पूर्वअर्थमन्त्री खनालको सुझाव

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (मुअ कर) नलगाउन सरकारलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो धारणा राखे । खनालले ऊर्जा क्षेत्रलाई प्रोत्साहन गर्न विद्युतमा करको भार कम गर्नुपर्ने बताए । उनले उच्चस्तरीय आर्थिक सुधार कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै संरचनात्मक आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, पर्याप्त तयारी नभएका खुद्रा तथा टुक्रे आयोजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ । सीमित स्रोत र साधनलाई उत्पादनमुखी तथा उच्च प्रतिफल दिने योजनामा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । खनालले आगामी बजेटलाई खर्चमुखीभन्दा परिणाममुखी बनाउनुपर्ने उल्लेख गर्दै आर्थिक अनुशासन, प्रभावकारी कार्यान्वयन र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिए ।

नासा सेक्युरिटिजले सार्वजनिक गर्‍यो ‘अपग्रेडेड नासा एक्स सेल्फ सर्भिस एप’

काठमाडौं । नासा सेक्युरिटिजले डिजिटल ट्रेडिङ प्लेटफर्मलाई थप परिष्कृत गर्दै ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ । आधुनिक लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै एपलाई अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । डिजिटल रूपान्तरण र लगानीकर्ताको सशक्तीकरणलाई प्राथमिकता दिँदै अपग्रेड गरिएको एपमा नयाँ युजर इन्टरफेस (यूआई), बायोमेट्रिक लगइन, आफ्टर मार्केट अर्डर (एएमओ), टिकट जेनेरेसन, हिटम्याप्स र मोबाइल चार्टिङजस्ता सुविधा थपिएका छन् । कम्पनीका अनुसार नयाँ यूआईमार्फत एपलाई अझ आधुनिक र प्रयोगकर्ता–मैत्री बनाइएको छ । यसले एप चलाउने अनुभवलाई सहज र छिटो बनाउनुका साथै कम चरणमै आवश्यक सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । सुरक्षालाई थप मजबुत बनाउन एपमा बायोमेट्रिक अथेन्टिकेसन सुविधा समावेश गरिएको छ । अब प्रयोगकर्ताले औँठाछाप वा अनुहारमार्फत सिधै लगइन गर्न सक्नेछन् । यसले पटक–पटक पासवर्ड प्रयोग गर्नुपर्ने झन्झट हटाउनुका साथै खाताको सुरक्षा पनि बढाउने कम्पनीको दाबी छ । एपको मुख्य आकर्षणका रूपमा रहेको ‘आफ्टर मार्केट अर्डर’ सुविधामार्फत लगानीकर्ताले बजार बन्द भएको समयमा पनि शेयर खरिद वा बिक्रीको अर्डर राख्न सक्नेछन् । कम्पनीले यो सुविधा विशेष गरी व्यस्त लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपयोगी हुने जनाएको छ । ग्राहक सेवालाई प्रभावकारी बनाउन एपमै टिकट जेनेरेसन प्रणालीसमेत राखिएको छ । प्रयोगकर्ताले खाता, कारोबार वा प्राविधिक समस्यासम्बन्धी गुनासा सिधै एपबाट दर्ता गर्न सक्नेछन् । यसबाट समस्या समाधानको अवस्थाबारे जानकारी लिन पनि सहज हुने कम्पनीको भनाइ छ । त्यसैगरी, बजारको समग्र अवस्था बुझ्न ‘हिटम्याप्स’ सुविधा थपिएको छ । यसले कुन क्षेत्रका शेयर मूल्य बढिरहेका छन् वा घटिरहेका छन् भन्ने जानकारी रङको माध्यमबाट देखाउनेछ । कम्पनीका अनुसार यसले प्राविधिक ज्ञान कम भएका लगानीकर्तालाई समेत बजारको प्रवृत्ति बुझ्न सहयोग पुर्‍याउनेछ । गहिरो विश्लेषण गर्न चाहने लगानीकर्ताका लागि एपमै अत्याधुनिक मोबाइल चार्टिङ टुल्स उपलब्ध गराइएको छ । अब कम्प्युटरबिना नै मोबाइलबाट शेयर मूल्यको उतारचढाव तथा विभिन्न सूचकको प्राविधिक विश्लेषण गर्न सकिने कम्पनीले जनाएको छ ।

एलन मस्कको स्पेसएक्सले ल्याउँदै विश्वकै ठूलो आइपीओ

काठमाडौं । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ ।      फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाए पनि सञ्चालनतर्फ पाँच अर्ब ६० करोड डलर घाटा व्यहोरेको थियो । कम्पनीले यो वर्षको सुरुआती महिनाहरूमा पनि घाटा निरन्तर रहेको उल्लेख गरेको छ ।      कम्पनीले उठाउन चाहेको रकम औपचारिक रूपमा नखुलाए पनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले प्रस्तावको आकार ७५ अर्ब डलर वा त्योभन्दा माथि पुग्न सक्ने बताएका छन् । यदि त्यस्तो भयो भने, 'यो आइपिओले सात वर्षअघि २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोलाई सहजै उछिन्नेछ ।'      औपचारिक नाम स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन रहेको स्पेसएक्सले यस सेयर बिक्रीबाट उठ्ने रकम मानवलाई बहुग्रहीय प्रजाति बनाउने महत्त्वाकांक्षी योजनामा प्रयोग गरिने जनाएको छ । कम्पनीका अनुसार चन्द्रमा र मङ्गल ग्रहमा मानव बस्ती स्थापना गर्ने परियोजनालाई आर्थिक रूपमा बलियो बनाउन यो पूँजी प्रयोग हुनेछ । फाइलिङमा सभ्यतालाई समाप्त गर्न सक्ने अस्तित्वगत जोखिमको चर्चा गर्दै ‘मानव जातिको भाग्य डायनासोरजस्तो नहोस् भन्ने हाम्रो चाहना हो’ भनिएको छ ।      प्रोस्पेक्टसका केही अंश विज्ञान–कथाजस्ता देखिन्छन् । एउटा खण्डमा मस्कले ‘कम्तीमा १० लाख जनसङ्ख्या भएको स्थायी मानव उपनिवेश मङ्गल ग्रहमा स्थापना गर्न सफल भएमा’ मात्र विशेष क्षतिपूर्ति प्राप्त गर्ने उल्लेख गरिएको छ ।      यो आइपीओले मस्कलाई १० खर्ब डलरभन्दा बढी सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति बनाउने सम्भावना पनि बलियो बनाएको छ । फोब्र्सका अनुसार हाल मस्कको अनुमानित सम्पत्ति आठ खर्ब ३९ अर्ब डलर रहेको छ । मस्कले सन् २००२ मा स्थापना गरेको स्पेसएक्समा उनी प्रमुख स्वामित्वकर्ता रहेका छन् ।      पुनः प्रयोग गर्न मिल्ने रकेटमार्फत अन्तरिक्ष यात्रीलाई कक्षामा पुर्याउने मुख्य व्यवसायसँगै स्पेसएक्सले अन्य विविध व्यवसाय पनि सञ्चालन गरिरहेको छ । तीमध्ये सबैभन्दा सफल व्यवसायमध्ये स्टारलिङ्क एक हो ।      दस्तावेजअनुसार स्टारलिङ्कले गत वर्ष चार अर्ब ४० करोड डलर सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले न्यून पृथ्वी कक्षामा रहेका करिब १० हजार उपग्रहमार्फत १५० देश तथा क्षेत्रमा एक करोड मानिसलाई इन्टरनेट सेवा दिइरहेको जनाएको छ ।      तर कम्पनीका सबै परियोजना सफल छैनन् । हालै स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म एक्स र कृत्रिम बौद्धिकता (एआई) एक्सएआई अधिग्रहण गरेको थियो । यी दुवै कम्पनी ठूलो घाटामा रहेका कारण केही लगानीकर्ताले उक्त खरिदलाई ‘बेलआउट’ भन्दै आलोचना गरेका थिए । प्रोस्पेक्टसले एआई व्यवसायले मात्र गत वर्ष छ अर्ब ४० करोड अर्ब डलर सञ्चालन घाटा व्यहोरेको जनाएको छ ।      स्पेसएक्सको मुख्य रकेट तथा प्रक्षेपण व्यवसाय भने अमेरिकी सरकारी सम्झौतामा ठूलो मात्रामा निर्भर छ । दस्तावेजअनुसार कम्पनीको गत वर्षको कुल राजस्वमध्ये करिब पाँचौँ भाग अमेरिकी सङ्घीय सरकारबाट आएको थियो । नासा, अमेरिकी रक्षा मन्त्रालय र अन्य सरकारी निकायबाट स्पेसएक्सले पछिल्ला पाँच वर्षमा छ अर्ब डलरभन्दा बढीका सम्झौता प्राप्त गरेको युएसए स्पेन्डिङ डट जीओभीले देखाएको छ ।      यसले मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमाथि फेरि प्रश्न उठाएको छ । मस्क ट्रम्पको चुनाव अभियानका सबैभन्दा ठूलो दातामध्ये एक थिए र सरकारी खर्च कटौती अभियान डजसँग पनि उनी जोडिएका थिए ।      सरकारी नैतिकता निगरानी समूहहरूले मस्कले सरकारी ठेक्का पाउन विशेष सुविधा पाएको हो कि भन्ने प्रश्न उठाउँदै आएका छन् । ट्रम्प प्रशासन समाप्त भएपछि यस्तो लाभ कायम रहन्छ कि रहँदैन भन्नेबारे पनि बहस भइरहेको छ ।      प्रोस्पेक्टसले मस्कको पारिश्रमिक संरचना पनि खुलाएको छ । सन् २०२५ मा उनको आधारभूत वार्षिक तलब ५४ हजार ८० डलर मात्रै थियो । यो सन् २०१९ यता परिवर्तन भएको छैन । तर उनका मुख्य लाभ स्टक अनुदानसँग जोडिएका छन् । कम्पनीले करिब समान आकारका १५ वटा स्टक अनुदान प्याकेज उपलब्ध गराउने योजना बनाएको छ । यसमा प्रत्येकमा छ करोड ७० लाख सेयर रहनेछन् । ती सेयर कम्पनीले तोकेका बजार मूल्य लक्ष्य पूरा गरेपछि मात्रै हस्तान्तरण हुनेछन् ।      मस्कले पूर्ण स्टक पुरस्कार प्राप्त गर्न स्पेसएक्सको बजार मूल्य ७५ खर्ब डलरसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ । यस्तै अन्तरिक्षमा फुटबल मैदानजत्रा विशाल डाटा सेन्टर निर्माण गर्न कम्पनी सफल भएमा उनले थप स्टक पुरस्कार प्राप्त गर्ने व्यवस्था पनि राखिएको छ ।      कम्पनीको नियन्त्रण संरचनाले पनि लगानीकर्ताको ध्यान खिचेको छ । फाइलिङअनुसार मस्क र केही प्रमुख सेयरधनीले विशेष श्रेणीका सेयर पाउनेछन्, जसले प्रत्येक सेयरमा १० मताधिकार दिनेछ । यसमार्फत उनीहरूले कम्पनीको सञ्चालक समिति चयनमा निर्णायक प्रभाव राख्नेछन् ।      स्पेसएक्सले सम्भावित लगानीकर्तालाई चेतावनी दिँदै ‘यसले कर्पोरेट मामिलाहरू तथा सञ्चालकहरूको निर्वाचनमा तपाईंहरूको प्रभाव सीमित वा रोक्न सक्छ’ भनेको छ ।      वाल स्ट्रिटको प्रचलित भाषामा ‘रोड शो’ भनिने लगानीकर्ता प्रस्तुति कार्यक्रम स्पेसएक्सले प्रोस्पेक्टस सार्वजनिक गरेको १५ दिनपछि सुरु गर्न सक्नेछ । हालको समयरेखाअनुसार त्यो प्रक्रिया जुन ४ देखि सुरु हुने अपेक्षा गरिएको छ । रासस