जनक शिक्षाले माग्यो ३७ जना कर्मचारी
smart काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्मचारीको माग गरेको छ । जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारीको माग गरेको हो । कम्पनीले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना कर्मचारी माग गरेको छ । जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनाअनुसार आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी कर्मचारीको माग गरेको हो ।
सकेजति काम गर्ने हो, बजेट कटौती गरिएको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती नगरेको बताएका हुन् । ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन,’ अर्थमन्त्री महतले भने । अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आंंकलन मात्रै गरिएको उनले बताए । सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ । बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आंंकलन गरेको थियो ।
४ दिनमै बन्द भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र ४ दिनमै बिक्री बन्द भएको छ । फागुन १ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
सोलुका किसान भन्छन् : आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८-०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९-०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०-०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्लाामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आइडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताए । उनले भने, ‘जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरु सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश ६/७ वर्ष भयो होला नयाँ प्रजातिको स्याउ भित्रिएको यसले राम्रै आम्दानी दिरहेको छ ।’ यद्यपि सुरुआतको केही वर्षमा राम्रै आम्दानी दिए पनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिरावट आउने लक्षण देखिएको कृषि विज्ञहरु बताउँछन् । विसं २०७८-०७९ मा दुई सय पाँच हेक्टर, ०७९-०८० मा दुई सय २१ र ०८०-०८१ मा दुई सय ३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो । उत्पादकत्व पनि क्रमशः बढिरहेको छ । आव ०७८-७९ मा प्रतिहेक्टर ५.८२ मेट्रिकटन, ०७९-०८० मा ५.९२ र ०८०-०८१ मा ६.३ मेट्रिकटन रहेको छ । जिल्लामा हाल दुई सय ३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यसमा सोलुदूधकुण्ड नगरपालिका-४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छभने केही मात्रामा जिल्लाबाहिर पनि निर्यात भएको छ । चिसोका कारण रङमा राम्रोसँग विकास नभएको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवा बताउछन् । जिल्लाको गोरा, टाप्टिङ, पत्तालेलगायत क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ पकेट क्षेत्र नै घोषणा गरेर काम गरिरहेको छ । पकेट क्षेत्र हुँदा उत्पादनमा केही मात्रामा वृद्धि भए पनि त्यसपश्चात् किसानले स्याउको हेरचाह गर्न नसक्ने कतिपय स्थानीय किसान बताउँछन् । पछिल्लो समय स्याउमा एक प्रकारको अैजेरु तथा बोट र फलमा कालो हुने रोग देखिएको छ । उक्त समस्याको समाधान किसानका लागि महँगो पर्ने उनीहरुको भनाइ छ । विगतमा जिल्लाको गोरा, टाप्टिङ क्षेत्रलाई स्याउको हब नै मानिन्थ्यो । सो क्षेत्रमा वार्षिक १० हजार टनभन्दा बढी स्याउ उत्पादन हुने गरेको एक वृद्ध लाक्पा शेर्पाले बताउछन् । सो समय यहाँ उत्पादित स्याउ खपत नभएर घरेलु मदिरा उत्पादन गर्नेदेखि वस्तुभाउलाई खाउने प्रयोगजनका लागि समेत प्रयोग गरिने गरेको उनको भनाइ छ । तर ती रैथाने जातका स्याउहरु पछिल्लो २० वर्षमा सबै लोप भएको शेर्पाको अनुभव छ । उनले भने, ‘पहिला त सोलुको गोरा, टाप्टिङको स्याउ भनेपछि यहाँ मात्रै हैन काठमाडौँसमेत राम्रो चर्चा थियो, यहाँबाट कोसेलीका रुपमा धेरै काठमाडौँ जान्थ्यो, तर अहिले त ती स्याउहरु कहाँ छन् र ? सबै रोगले सखाप नै पार्यो नि । रूख बुढा पनि भयो, त्यसको उपचार गर्न पनि कसैले ध्यान दिएर त्यही भएर सबै बोट मर्यो ।’ स्याउमा देखिएको रोगका कारण जिल्लाका विभिन्न क्षेत्रमा गरिएको रैथाने जातको स्याउको अस्तित्व सङ्कटमा परेको छ । रैथाने जातमा रोग देखिएपछि किसानले उन्नत जातको हाइडेन्सिटी स्याउ खेती सुरु गरेका हुन् । तामाखानीका किसान कर्मा गेलु शेर्पाले भने, ‘हामीले पहिलो त २०/२५ बोट गोल्डेन, फुजी जातको स्याउ लगाएका थियौँ, मेरो बुबाहरुले नै त्यो जातको स्याउ खेती गर्नुभएको थियो, हामीले त्योबाट राम्रै आम्दानी पनि गरेका थियौँ तर पछिल्लो समय ती स्याउहरु सबै मरेर सखाप भयो, रोगले आक्रमण गरेपछि हामीले स्याउको बोटहरु बचाउन सकेनौँ ।’ पुराना जातका स्याउहरु ऐँजेरु, बोट मर्ने, फल नदिनेजस्ता कारणहरुले मर्दै गएको हो भने कतिपय रूख बुढो भएका कारण आफैँ झर्दै गएको स्याउ किसान कर्मा शेर्पाको भनाइ छ । त्यसपछि केही वर्ष स्याउ खेतीबाट निराश बनेका किसान पछिल्लो एक दशकयता उच्च घनत्वको स्याउ खेतीले आशा जगाएको स्थानीयबासी बताउँछन् । नयाँ प्रजातिको स्याउले रोपेको छोटो समय एक वर्षमै उत्पादन दिने भएकाले किसानको रोजाइ यसतर्फ सोझिएको ज्ञान केन्द्रका सूचना अधिकारी राईले बताए । यो प्रजातिको स्याउको बोट सानो र होचो हुने तथा कम क्षेत्रफलमा धेरै बोट लगाउन सकिनाका साथै उत्पादनसमेत बढी दिने भएकाले किसान अन्य बाली मासेर भए पनि स्याउ खेतीमा अग्रसर बनेका छन् । उत्पादित स्याउलाई बजारको समेत अभाव नभएकाले किसानले खेती गर्न रुचाएका छन् । जिल्लामा उत्पादन भएको स्याउ कतिपय जिल्लामै खपत हुन्छ भने आधाभन्दा बढी जिल्लामा कार्यरत कर्मचारीले घर बिदामा जाँदा कोसेलीका रुपमा लैजाने भएकाले खपत राम्रो रहेको किसानको भनाइ छ । पत्ताले बन्दै स्याउ हब सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेका युवाले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । यस क्षेत्रका आठजना युवाले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् । आफूहरुले वर्षमा पाँचदेखि आठ लाखसम्म आम्दानी गरेको एग्रो टुरिजम डेभलपमेन्ट फार्म पत्तालेका सञ्चालक कर्मा शेर्पाले बताए। फार्ममार्फत एक सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फार्म सञ्चालक शेर्पाको भनाइ छ । इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा रु पाँच लाखभन्दा बढी आम्दानी भएको शेर्पाले बताए । पहिलोपटक उत्पादन भएको स्याउ घुम्न आउनेहरु पर्यटकले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको उनको भनाइ छ । आउँदो दिनमा स्याउबाट जुस, जामलगायत उत्पादन गर्ने उनीहरुको योजना छ । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवा मिलेर सुरुमा एक करोड रुपैयाँ लगानीमा तीन हजार स्याउको बिरुवा रोपेका थिए । अहिले बगैँचामा १८ हजार बिरुवा पुगेको उनीहरुले बताएका छन् । आलु खेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ लागेको उनीहरुको भनाइ छ । उनीहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु ५५ लाख ६२ हजार अनुदानसमेत प्राप्त गरेका थिए । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन् उत्साहित बनाएको सञ्चालक शेर्पाले बताए । उनले भने, ‘आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, युवा मिलेर जुनसुकै व्यवसाय गरे पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।’ झन्डै दुई हजार आठ सय मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिक रुपमा स्याउ खेती गरिएको थिएन । आलुका लागि प्रख्यात पर्यटकीय गाउँ पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको युवा कृषकले बताएका छन् । रासस
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प
काठमाडौं । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चार्टर्ड अकाउन्टेन्ट रहेका अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो । लघुवित्त संस्थामा लघुवित्तको सञ्चालक समितिमा भएको व्यक्ति नै अध्ययक्ष हुँदै आएका छन् । अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन् । अर्यालले नेपाल राष्ट्र बैकबाट शुक्रबार सपथ लिनेछन् । साढे २ वर्षअघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि रहेका छन् । संस्थाका अध्यक्ष विरबहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ । जाल्पा लघुवित्तलाई विषम् परिस्थितिमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ ।
आगामी वर्षका लागि १८ खर्बको बजेट सिलिङ, कार्यतालिका बनाएर काम गरिँदै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकेको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) १८ खर्ब तोकेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले १८ खर्बको बजेटको सिलिङ हुने जानकारी आफूलाई आएको बताएका छन् । ‘१८ खर्बको सिलिङ दिएको मलाई जानकारी आएको छ, आवश्यकता कति छ र सम्भावना कति छ भन्ने कोणबाट छलफल भइरहेको छ,’ उनले भने । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणमा व्यस्त भएको छ । अर्थमन्त्रालयका अनुसार बजेटको कार्यान्वयन र बढीभन्दा बढी बजेट खर्च गर्नको लागि प्रक्रियागत ढंगले बजेट निर्माणको काम भइरहेको छ । बजेट निर्माणका अर्थमन्त्रालयले कार्यतालिका बनाएर काम गरिहरेको बुझिएको छ । आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महत्वपूर्ण प्राथमिकताका क्षेत्र र परियोजनाहरु तय गरेर मात्र बजेट विनियोजन गर्ने उनको भनाई छ । मन्त्रालयका अनुसार सबैभन्दा महत्वपूर्ण तथा प्राथमिकताको क्षेत्र पुनरुत्थानका लागि हुनेछ । सरकारले आगामी वर्षमा करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दैछ । ब्याज भुक्तानीका लागि चालु खर्च र सावाँ फिर्ताका लागि वित्तीय व्यवस्थापन खर्च बढाउनु पर्नेहुन्छ ।
सिटिजन्स बैंकद्वारा वृद्धा आश्रम विराटनगरलाई सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाँउपालिका ०१, पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ । वृद्धा आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । उनले दीन दुखी वृद्धाहरुलाई सानो भएतापनि सहयोग गरेर समाज प्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।