विश्वकप क्रिकेट लिग–२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ । नेपाल २२ अङ्कका साथ विश्वकप क्रिकेट लिग–२ को पाँचौ स्थानमा छ । अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा छ । अमेरिकाविरुद्धको आजको खेलमा नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।
मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’ प्रदान
काठमाडौं । मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी वितरण गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । 'अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,' एक विद्यार्थीले भावुक हुँदै प्रतिक्रिया दिए । अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना सन्तानको भविष्यप्रति नयाँ भरोसा जागेको बताएका छन् । बैंकले शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व भएको विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताए । परियारको मञ्जुरीमा उनकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो । राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्याउने गरी सेवा सुरु गरिएको हुलाक अधिकृत सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्याउने गरी सेवा प्रदान गर्दा नागरिकलाई सुविधा पुग्ने विश्वास गरिएको छ । 'सरकारले नागरिकलाई कतिपय सेवा घरमै दिने योजना बनाएको छ, सोहीअनुसार राहदानी घरदैलोमानै पुर्याउने सेवाको सुरुआत गरेका हौँ, यसले सेवाग्राहीलाई सुविधा थप्ने विश्वास छ', हुलाक अधिकृत सापकोटाले भने । घरमै परिवारको सदस्यको राहदानी प्राप्त गर्दा खुसी लागेको विमला परियारले बताइन् । 'जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनका लागि समय व्यवस्थापन गरी पुग्नुपर्ने हुन्थ्यो, घरमै पाउँदा समयको बचत पनि भयो, त्याहाँ सम्म पुग्दा लाग्ने यातायात खर्च पनि बच्यो, धेरै सुविधा भयो', उनले भनिन् । नवलपुरमा पहाडी क्षेत्रसमेत रहेकाले उक्त क्षेत्रमा पनि यो सुविधा पुर्याइने हुलाक अधिकृत सापकोटाले बताए। ‘हामीलाई प्राप्त भएका राहदानी जुन पालिकाको भए पनि हाम्रा कार्यालय र सम्बन्धित पालिकाको कर्मचारीमार्फत घरमै पुर्याउँछौँ', उनले भने । यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिइएको छ । रासस
काउली किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) रु ७२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, मटर कोशा प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ४५, चिचिन्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ३५ र पिँडालु प्रतिकिलो रु ५० कायम गरिएको छ । स्कुस प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकिलो रु १२०, मेथीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, निगुरो प्रतिकिलो रु ८०, कुरिलो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, सजीवन प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३२५, कागती प्रतिकिलो २६०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ४५०, आँप (दसहरी) प्रतिकिलो रु २८०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३२०, तरबुजा (हरियो) प्रतिकिलो रु ३५, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिचि (भारती) रु २८०, एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।
रिलायबल समृद्धि योजना-२ को इकाई खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायबल समृद्धि योजना-२ को इकाई खरिद गर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ । वैशाख २९ गतेदेखि बिक्री खुला गरेको रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडको रिलायबल समृद्धि योजनजा-२ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । कम्पनीले कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको फण्डमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
राजमार्गमा बनेका अवैध संरचना हटाउन १५ दिनको ताकेता
काठमाडौं । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ । डिभिजन अन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरूले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घर टहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ । सडक सीमा अतिक्रमित हुँदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ । कार्यालयले जारी गरेको सूचनामा पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको-कोइलावास-लमही-घोराही सडकखण्ड, राप्ती राजमार्गको-अमेलिया-तुलसीपुर-सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको-गढवा-राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी-खलङ्गा-बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी-घोराही-तुलसीपुर-काल्चे सडकखण्ड,भालुबाङ-गनाहा-सडकखण्ड र रारा राजमार्गको-थारमारे-चौरजहारी सडकखण्डको सीमा अतिक्रमण भएको उल्लेख छ ।
कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन टुंगो लगाइँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूको कार्य विभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्न लागेको हो । अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तर पार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत मङ्सिर २७ देखि २९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्य विभाजन गरिएको थियो । यसपटकको कार्य विभाजनमा एमालेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई सङ्गठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसङ्गठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । उपाध्यक्ष तथा उप-महासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।