विकासन्युज

पनौतीको चामखरमा पर्यटकको चहलपहल

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यू प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूलढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा) । वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्किएका उनले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लागेका हुन् । स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उनले बताए । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सकेका उनले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताए । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उनको भनाइ छ । विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उनले सुनाए । करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँचजनालाई रोजगार दिएका छन् । थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाएकी मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताइन् । ‘गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,’ उनले भनिन्, ‘सुरुमा भनेजस्तो सेवासुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।’ अहिले सो रिसोर्टमा उनीसँगै अन्य चारजनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताइन् । रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्नवस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उनले बताए । पाँचवर्षे योजना बनाएर काम गरिरहेको बताउने उनले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए । उनी पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउँछन् । त्यहीँ पुगेर बस्न चाहनेका लागि चारवटा कोठा रहेका छन्भने सामूहिक रुपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उनले बताए । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् । रासस

चीनबाट ल्याइएको मल १० महिनादेखि भन्सारकै गोदाममा

चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड-अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन् ।  खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए । भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो । सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन् ।  कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिने शेर्पा बताउँछन् । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् । रासस

अब नेपालीले सजिलै भारतीय सीम कार्ड पाउने

काठमाडौं । अब नेपालका नागरिकले सजिलै भारतीय सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली नागरिकलाई सजिलै सीम कार्ड दिने व्यवस्था गरेको हो । यससँगै अब नेपालीले देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायत विभिन्न कागजातको आधारमा सीम कार्ड उपलब्ध गराउने भएको हो । पहिलो प्राविधिक कारणले पाइँदैन थियो । यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड वितरण गरिने व्यवस्था थियो । राजदुतावासले औपचारिक अनुरोध गरेको केही सातामै भारतले उक्त निर्णय गरेको नेपाली दूतावासले बताएको छ । त्यस्तै, उक्त सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने र त्यसपछि नवीकरण गर्नुपर्ने बताइएको छ ।

लगानी सम्मेलनका लागि ढकालका ५ सुझाव : प्रोजेक्ट बैंक बनाउनेदेखि कानुन संशोधनसम्म

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षिय लगानी सम्झौता गर्नुपर्ने बताएका छन् । उनले सरकारले विगतमा गरेका लगानी सम्मेलनको समिक्षा गर्न आवश्यक रहेको बताए । आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । उक्त लगानी सम्मेलन सफल बनाउनको लागि सरकारले गर्नुपर्ने पाँच सुझाव दिए । अध्यक्ष ढकालले विगतका लगानी सम्मेलनमा आएका प्रतिवद्धताको कार्यान्वयन स्थितिबारे अध्ययन गर्न आवश्यक रहेको बताए । विगतका लगानी सम्मेलनको समिक्षा गरी आवश्यक ऐन कानूनहरु सच्याउनुपर्नेमा जोड दिए । वन ऐन, जग्गाको हकबन्दी, औद्योगिक व्यवसायिक ऐनहरुलाई लगानीका लागि सहजिकरण गर्नेगरी परिमार्जन गर्न आवश्यक रहेको बताए । लगानीको लागि प्रोजेक्ट बैंकहरु तयार गर्नुपर्ने पनि बताए । अध्यक्ष ढकालले सरकारले लगानीको वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष ढकालले दिएका पाँच सुझाव : १. सरकारले वैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलन हो । सरकारले गरेको दोस्रो लगानी सम्मेलनको सममीक्षा गर्न जरुरी छ । दोस्रो लगानी सम्मेलनमा आएको प्रतिवद्धता कति कार्यान्वयन भयो कति भएन भनेर पहिला समिक्षा हुन जरुरी छ । समिक्षापछि विगतमा भए गरेका सच्याउनुपर्ने ऐन कानूनहरुलाई सच्याउनुपर्छ । आगामी हुने लगानी सम्मेलनमा कमी कमजोरी नहोस् । २. नेपालमा लगानी प्रवर्द्दन गर्ने हिसाबले लगानीसँग सम्बन्धित ऐन,नीति र नियमहरु हडल्स भइरहेको छ । त्यस्ता कानूनहरु तत्काल संशोधन गर्न आवश्यक छ । वन ऐन,जग्गाको हकबन्दी,औधोगिक व्यवसायीक ऐन जस्ता जति पनि ऐनहरु छन् त्यसलाई लगानीलाई सहजिकरण गर्न बाधा परेको छ । त्यस्ता ऐनहरुलाई राज्यले तत्काल संशोधन गर्नुपर्छ । सरकारले लगानी सम्मेलनका लागि आवश्यक परिवर्तन गर्नुपर्ने सुझावहरु सरकारलाई दिइसकेका छौँ । ऐन कानूनहरु सुधार गर्नुपर्छ । ३. लगानी सम्मेलनमार्फत विदेशी लगानी ल्याउनको लागि त्यो देशको लगानीलाई प्रोत्साहन गर्ने गरी (द्विपक्षीय लगानी सम्झौता) बिआईए प्रत्येक देशसँग सम्झौता गर्नुपर्छ । उद्योग वाणिज्य महासंघसँग विभिन्न देशका राजदुतहरुले बिआईए सम्झौता लगानी सम्मेलन भन्दा पहिला गराउनुपर्छ भन्ने हिसावले कानून बन्दैछ । कानून बनेर मन्त्रीपरिषद्मा जाने अवस्थामा छ । ४. लगानीको लागि प्रोजेक्ट बैंकहरु तयार गर्नुपर्छ । नेपाल सरकारको मातहतमा रहेको, निजी साझेदारी मोडलमा र निजी क्षेत्रसँग भएका प्रोजेक्टहरु पूर्वाधार,जलविद्युत लगायतका प्रोजेक्ट बैंक तयार हुनुपर्छ । ताकी लगानीकर्ता आउँदा सबै प्रोजेक्टहरु हेरेर तत्काल लगानीको प्रतिवद्धता गर्न सकोस् । कार्यान्वयनमा लैजान सकियोस् । ५. सरकारले लगानीको वातावरण बनाउनुपर्छ । मुलुकले निजी क्षेत्रलाई वा विदेशी तथा स्वदेशी लगानीकर्तालाई कसरी लिन्छ भन्ने हिसावले पनि लगानी अगाडि बढ्न सक्ने भएको हुनाले सरकारले लगानीको लागि वातावरण बनाउनु पर्छ ।

८ महिनापछि सञ्चालनमा आयो राधी साना जलविद्युत आयोजना

काठमाडौं । विगत ८ महिनादेखि बन्द रहेको राधी साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २२ गतेबाट बन्द भएको उक्त आयोजना फागुन ६ गतेबाट पुनः सञ्चालनमा आएको हो । राधी विद्युत कम्पनीद्धारा प्रवद्र्धित ४.४ मेगावाटको उक्त आयोजनामा गत असारबाट अविरल रुपमा भइरहेको वर्षाका कारणले राधी खोलामा बाढी र पहिरो आएको थियो । जसकाकारण राधी साना जलविद्युत आयोजनाको हेडवर्कस् र हेडरेस पाइपमा क्षति पुगेको र काबु बाहिरको परिस्थिति सिर्जना भएकोले उक्त आयोजना उत्पादन बन्द भएको थियो । जसको समाधान भएससँगै उक्त आयोजनाबाट फागुन ६ गते दिउँसो ४ बजेबाट पुनः उत्पादन सुरु भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । बीमा ऐन, २०७९ बमोजिम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्नेछन् । सीईओमा आवेदन दिन बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोतर वा सोसरहको उपाधि हासिल हुनुपर्नेछ । व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक तथा बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष एवं दुवै क्षेत्रमा भएमा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ । यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएक हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष पूरा नभएको हुनु पर्नेछ । दर्खास्त दिंदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनीमा पेस गर्नु पर्नेछ ।

हिमालयनलाई सूर्यज्योतिको टक्कर, पछ्याउँदै सानिमा रिलायन्स र प्रभु महालक्ष्मी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको निर्देशन दिएपछि ९ जीवन बीमा कम्पनी मर्जर तथा एक्विजिशन भई ४ वटा जीवन बीमा कम्पनी बने । २० वटा जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनी मर्जर तथा एक्विजिशन भई १४ वटा कम्पनीमा सीमित छन् । साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई सानीमा रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ, प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाई मर्ज भई हिमालयन लाइफ र सूर्य लाइफ मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बने । यी ४ वटै जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरपश्चात् बनेका यी ४ जीवन बीमा कम्पनीहरूमध्ये अधिकांश सूचकमा हिमालयन लाइफ अग्रस्थानमा छ भने सूर्यज्योति लाइफले पच्छ्याइरहेको देखिन्छ । चुक्ता पुँजी मर्जरपश्चात् हिमालयन लाइफको पुँजी ८ अर्ब बढी पुगेको छ भने अन्य कम्पनीले पुर्याउन सकेका छैनन् । हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सानिमा लाइफको ४ अर्ब १८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब २९ करोड रुपैयाँ र सूर्यज्योति लाइफको ४ अर्ब ५४ करोड रुपैयाँ पुँजीमा सीमित छन् । सेयर प्रिमियम पुस मसान्तसम्मको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी र सूर्यज्योतिसँग मात्रै सेयर प्रिमियम रकम जम्मा छ । प्रभु महालक्ष्मीको १ करोड ९३ लाख रुपैयाँ र सूर्यज्योतिको ३ करोड ७२ लाख रुपैयाँ सेयर प्रिमियममा छ । महाविपत्ति कोष महाविपत्ति कोषका आधारमा हिमालयन लाइफ अगाडि छ । हिमालयनको ४८ करोड ११ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३३ करोड १३ लाख रुपैयाँ, सानिमा लाइफको ११ करोड ८३ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्ग रिटेन्ड अर्निङ्ग सूचकमा सूर्यज्योति लाइफ अग्रस्थानमा छ । सूर्यज्योतिको १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफको १ अर्ब ३० करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सको ९२ करोड १५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी अन्य इक्विटीमा पनि सूर्यज्योति लाइफ अगाडि छ । सूर्यज्योतिको १ अर्ब १८ करोड ६० लाख रुपैयाँ, प्रभु महालक्ष्मीको ९ करोड २६ लाख रुपैयाँ, हिमालयनको ७ करोड २२ लाख रुपैयाँ र सानिमा रिलायन्सको २ करोड ४२ लाख रुपैयाँ छ । जीवन बीमा कोष जीवन बीमा कोषमा सबैभन्दा बढी रकम हिमालयन लाइफको छ । हिमालयन लाइफको ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योतिको ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ, सानिमा लाइफको १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कुल बीमा शुल्क आर्जन बीमा शुल्क धेरै संकलन गर्नेमा हिमालयन नै अग्रस्थानमा छ । हिमालयन लाइफको ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्सको २ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्क मर्जरपश्चात् व्यवसाय वृद्धिमा हिमालयन अगाडि छ । पुस मसान्तसम्म सबैभन्धेरै खुद बीमा शुल्क आर्जन हिमालयन लाइफले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद दाबी भुक्तानी पुस मसान्तसम्म बीमितलाई सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफले ९ अर्ब २० करोड ३८ लाख रुपैयाँ, सूर्यज्योतिले ४ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९० कोड ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । अभिकर्ता कमिसन समीक्षा अवधिमा अभिकर्तालाई सबैभन्दा धेरै कमिसन दिनेमा हिमालयन लाइफ छ । हिमालयन लाइफको ६५ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३७ करोड ८५ लाख रुपैयाँ, सानीमा रिलायन्सको २८ करोड ७९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २३ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ । खुद नाफा ६ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफको ३४ करोड ६० लाख रुपैयाँ, सूर्यज्योकिो २३ करोड ६६ लाख रुपैयाँ, सानीमा रिलायन्सको २१ करोड ९७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको १७ करोड ६४ लाख रुपैयाँ नाफा गरेका छन् । कुल आम्दानी र खर्च वित्तीय विवरण अनुसार पुस मसान्तसम्म हिमालयन लाइफको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ छ भने १० अर्ब ६३ करोड रुपैयाँ कुल खर्च गरेको छ । यस्तै, सूर्यज्योति लाइफको कुल आम्दानी ५ अर्ब ८६ करोड रुपैयाँ र कुल खर्च ५ अर्ब ६२ करोड रुपैयाँ, सानिमा रिलायन्सको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ र कुल खर्च ३ अर्ब १८ करोड रुपैयाँ र प्रभु महालक्ष्मीको कुल आम्दानी २ अर्ब ६० करोड रुपैयाँ र कुल खर्च २ अर्ब ४२ करोड रुपैयाँ छ । बीमा लेख यस अवधिमा सबैभन्दा बढी बीमा लेख बिक्री गर्नेमा सूर्यज्योति लाइफ रहेको छ । यस कम्पनीले ९ लाख ८५ हजार बीमा लेख बिक्री गरेको छ । यस्तै, सानिमा लाइफले ८ लाख ६७ हजार, प्रभु महालक्ष्मीले ४ लाख ७८ हजार र हिमालयनले ३ लाख ८४ हजार बीमालेख बिक्री गरेको छ । लगानी हिमालयन लाइफले दीर्घकालिन लगानी ५१ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र छोटो अवधिको लगानी ७ अर्ब १८ करोड २५ लाख रुपैयाँ गरेको छ । सानिमा रिलायन्सको दीर्घकालिन लगानी १० अर्ब ८८ करोड ७४ लाख रुपैयाँ र छोटो अवधिको लगानी ४ अर्ब ७७ करोड रुपैयाँ गरेको छ । यस्तै, सूर्यज्योतिको दीर्घकालिन लगानी ३० अर्ब १३ करोड ४८ लाख रुपैयाँ र छोटो अवधिको लगानी ३ अर्ब ४० करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको दीर्घकालिन लगानी ११ अर्ब ३९ करोड १९ लाख रुपैयाँ र छोटो अवधिको लगानी २ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लगानी गरेका छन् ।

बिहीबारसम्म मौसममा फेरवदल भइरहने

काठमाडौं । पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जानकारी दिए । काठमाडौं उपत्यकामा बादल लाग्न थालिसकेको पनि उनले बताए । बिहीबार भने काठमाडौंमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने पनि उनले जानकारी दिए । विस्तारै मौसम बदली पश्चिमबाट पूर्व सरिहेको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ । आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ । ‘यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ । रासस