बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह
काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गरेका छन् । सभाको यही फागुन १४ गतेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सांसदहरूले बजेट कामकाजी हुनुपर्नेमा जोड दिँदै पारित गर्ने समयमा ह्वीप लगाएर बजेट पारित गर्ने र कार्यान्वयन गर्ने समयमा सुझाव पालना नगर्ने प्रवृत्ति सुधार गर्न आग्रह गरे । यस्तै कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइनुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षा हुनुपर्ने, तीन तहका सेवा प्रवाहको जिम्मेवारी स्पष्ट हुनुपर्ने, नेपालको विद्युत् नेपालमै खपत बढाउने योजना ल्याउनुपर्ने, पुँजीगत खर्च र राजस्व सङ्कलन बढाउनुपर्नेमा पनि जोड दिएका थिए । सांसदहरू प्रकाश पन्थ, दिलकुमारी रावल (पार्वती), डा खिमलाल देवकोटालगायतले सो छलफलमा भाग लिएका थिए । डा देवकोटाले बैठकमा सहभागी हुने भनी जानकारी गराइएका मन्त्रीहरू उपस्थित नभएकामा सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गरे । सभापति राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन कार्यक्रमको प्रतिवेदन, २०८० पनि पेस गरे ।
वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने उल्लेख छ । त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ । प्रतिवेदनको प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिए ।
राजनीतिसँगै कृषिकर्ममा जमेका पूर्वप्रमुख चौधरी भन्छन् : राजनीति पेसा होइन, सेवा हो
सिरहा । ज्यूँदै मर्याको भनि नाम छ कस्को ? उद्यमबिना बित्तछ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन् सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी । विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख हुनुभएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन् । ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ’, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहनुभएको छ । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । ‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’ उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए । ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने । राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए । चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उजकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । ‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भनिन्, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’ चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन् । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुन् । उत्पादनसँग जोडिऔँ अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए । ‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’ जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ । “जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने । राजनीति पेसा होइन, सेवा हो राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा राख्छन् । ‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’ रासस
दरबारमार्गको ‘द ब्ल्याक गोल्ड’ रेस्टुराँमा १५ प्रतिशत छुट, होम डेलिभरीको पनि सुविधा
काठमाडौं । दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँमा १५ प्रतिशत छुट हुने भएको छ । रेस्टुराँले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सो मात्राको छुट दिने भएको हो । ‘द ब्ल्याक गोल्ड’ ले आफ्नो पहिलो वार्षिकोत्सबका अवसर पारेर आगामी मार्च १९ सम्म खानाका विभिन्न परिकारहरुमा १५ प्रतिशतसम्म छुटको घोषणा गरेको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार सार्वजनिक गरेको छ । जसअनुसार यस रेस्टुराँको मेनुमा किब्बे, खास्बा चिकेन विद् राइस, ल्याम्ब ओजी, मिट् साम्बुसेक परिकार थपिएका छन् । नेपाल घुम्न आएका मलेसियन पर्यटक रवीको हातबाट ‘द ब्ल्याक गोल्ड’ मा केक काटेर पहिलो वार्षिकोत्सब मनाइएको हो । दरबारमार्गस्थित किङ्स लाउन्जको ग्राउन्ड फ्लोरमा अवस्थित यो रेस्टुराँ विदेशबाट फर्किएका नेपालीहरूले सञ्चालनमा ल्याएका हुन् । सञ्चालकमध्येका एक बालकृष्ण श्रेष्ठका अनुसार स्वदेशमा नेपालीहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्यले रेस्टुराँ सञ्चालनमा ल्याईएको हो । नेपालमा अन्य रेस्टुराँ धेरै भए पनि अरेबियन परिकार पस्किने रेस्टुराँको संख्या भने न्यून छ । ‘विशेषगरी विदेशी पर्यटकहरूलाई अरेबियन परिकारको स्वाद चखाउने लक्ष्य छ ।’ सञ्चालक श्रेष्ठले भने, ‘राजधानीमा अरेबियन स्वाद चखाउने रेस्टुराँ भेटिदैनन् । हामीले त्यो अभाव पूरा गरिरहेका छौं ।’ द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सञ्चालन गरेको यस रेस्टुराँमा करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथै इन्डियन परिकारहरु मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टी, गावा, टर्किस कफी) अरेबिक फ्लेवरको हुक्काको स्वाद पनि लिन सकिन्छ । ११ नेपाली व्यवसायीको समूहले सञ्चालन गरेको ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले होम डेलिभरीको सुविधा पनि प्रदान गर्दै आएको छ ।
शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो १९औं साधारण सभा गर्ने भएको हो । उक्त सभामा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट एक जना निर्वाचित हुँदैछन् । कम्पनीले यो वर्षको सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव लगेको छैन । त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन २७ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
पक्राउ परेका मिटरब्याजी पीडितलाई रिहा गर्न एमालेको माग
काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरे । ‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस्’, उनले भने । उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताए ।
गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत
फुङ्लिङ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए । जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा. रुइत गृहजिल्ला आएका सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए । बिहीबारदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । डा. रुइतले शल्यक्रिया गर्ने भएपछि नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले बताए । उनका अनुसार अहिले नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ । आँखाको परीक्षणका लागि आइपुगेको तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ । परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए । सङ्घले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताए । रासस
सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा कम्पनीको थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।