क्याम्पियन कलेजको कमाण्ड सम्हालिरहेकी अनामिका
काठमाडाैं । फरक देश, फरक भाषा, चालचलन सबै फरक । नेपाल उनका लागि नयाँ थियो । टाढाको देश नभए पनि परिवेश फरक थियो । फरक समुदाय अथवा समाजको मान्छे अर्को समाजमा जाँदा घुलमिल हुन समय लाग्छ नै । अनामिकाको हकमा पनि यस्तै भयो । उनलाई फररर नेपाली बोल्न निकै मिहिनेत गर्नुपर्यो । भाषामात्र होइन नेपालको रहनसहन र परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । नेपाली बोल्न भाषा सिक्नु पर्ने अनामिका अहिले काठमाडौंको एउटा कलेज हाँकिरहेकी छन् । आफू यो अवस्थामा पुग्न निकै संघर्ष गर्नु परेको उनी बताउँछिन् । उनै अनामिका श्रीवास्तव अहिले ललितपुरको सानेपामा रहेको क्याम्पियन कलेजको नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेकी छन् । ‘काम गर्ने इच्छा शक्ती हुँदा भाषा र परिवेशलेमात्र फरक नपार्दो रहेछ,’ उनी भन्छिन्, ‘मिहिनेत गर्नुपर्छ सबै कुरा सम्भव हुन्छ, फरक यति हो केही समय बढी लाग्न सक्छ ।’ अनामिका श्रीवास्तवको जन्म घर भारतको विहार हो । उनले यन्थ्रोपोलिजीबाट एमफिलसम्मको अध्ययन भारतमै गरिन् । भारत र नेपालबिच रोटी बेटीको सम्बन्ध छ । अनामिकाको सम्बन्ध पनि नेपालमा गाँसिन पुग्यो । ‘छोरीको भाग्यमा कहाँ कोसँग लेखिएको हुन्छ थाहा हुँदैन,’ उनी भन्छिन्, ‘न कहिले देखेको, न भेटेको नेपाली केटासँग विवाह भयो, नेपाली भइयो ।’ अनामिकाले सन् १९८९मा रौतहट गौरको केटासँग विवाह गरिन् । विवाहपछि उनी काठमाडौंमा बस्न थालिन् । उनका श्रीमान मेकानिकल इन्जिनियर । उनी नेपाल आयल निगमबाट रिटायर्ड कर्मचारी । उनका दुइटा सन्तान छन् । अनामिका शिक्षण पेशामा आवद्ध भएको २५ वर्ष भयो । विभिन्न विद्यालय कलेजमा अध्यापन गर्दै आएकी उनी विगत दुई वर्ष देखि क्याम्पियन कलेजको प्रधानाध्यापकको जिम्मेवारीमा छिन् । साढे दुई दशकदेखि शिक्षणमा अनामिका विवाह गरेर नेपाल आइसकेपछि अब के काम गर्ने भन्ने विषयले पिरोल्न थाल्यो । उनी लोकसेवा आयोगको तयारीमा लागिन् । आयोगमा धेरै साथिहरू असफल भएको देख्दा उनलाई पनि मन लागेन । एकदिन उनले नोबेल एकेडेमीमा शिक्षक चाहिएको सुचना देखिन् । आफू बस्ने नजिकैको विद्याल भएकाले उनले आवेदन दिइन् । नभन्दै उनी छनोटमा परिन् । त्यसपछि उनले त्यो पेशाबाट पछाडि फर्केर हेर्नु परेन । सुरूमा उनले नोबेलमा समाजशास्त्र पढाउन सुरू गरिन् । सुरुमा पढाउन जाँदाको आनुभव उनलाई फरक छ । ‘म अंग्रेजी बोल्थें, बच्चाहरू नेपाली खोज्थे, नेपाली आउँदैन्थ्यो, ४० मिनेट कतिखेर सकिएला जस्तो लाग्थ्यो,’ उनले आफ्नो अनुभव सुनाइन् । नेपाली बोल्न नआउँदा कतिपय विद्यार्थीले उनलाइ रिजेक्ट गर्नुपर्छ समेत भने । अनामिकाले नेपाली बोल्न मिहिनेत गरिन् । उनले नेपाली भाषा सिकिन् । पत्रिका पढ्ने, साथीभाइसँग बोल्न सिक्ने, नेपाली गीत सुन्ने बानीले नेपाली बोल्न सकेको उनी बताउँछिन् । ‘मैले यो पेसामा आउन निंकै संघर्ष गरेँ,’ उनी भन्छिन्,‘ मैले मिहिनेत गरेकै हो, पछि नेपाली पनि बोल्न सक्ने भएँ, सबैले स्वीकार्यो ।’ उनले जसरी विद्यालय जाँदा किताव अध्ययन गर्नुपथ्र्यो त्यो भन्दा धेरै मिहिनेत नेपालमा आएर अध्यापन गराउँदा गर्नुप¥यो । ‘नेपाली भाषा कसरी बोल्ने, त्यो भाषाको अर्थ के हो भन्ने विषयमा मैले सिकेँ,’ उनी भन्छिन्, पढाइ त म भारतमा सकेर आएँको थिएँ । तर, यहाँ आएपछि मेरो जीवनको अर्कै अध्याय सुरु भयो ।’ अनामिकाले अध्यापनको यात्रा काठमाडौंको नोबेल एकेडेमीबाट सुरु गरिन् । त्यसपछि उनले सेन्टजेभियर कलेजमा अध्यापन गरिन् । उनी आफ्नो जीवनमा परिवर्तन ल्याउन सेन्टजेभियर कलेजको ठूलो भूमिका रहेको बताउँछिन् । त्यसपछि उनले भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा अध्ययापन गरिन् । भीएस निकेतनमा पनि उनले प्रधानाध्यापकको भूमिकामा रहेर काम गरिन् । ‘विभिन्न विद्यालय, कलेजमा मैले पढाएँ,’ ’उनी भन्छिन्, ‘फरक–फरक जिम्मेवारीमा धेरै ठाउँ काम गरेँँ, अहिले पनि यात्रा जारी छ, यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो, जबसम्म सक्छु यही क्षेत्रमा रहन्छु ।’ प्रधानाध्यापक जिम्मेवारी पद हो । यसमा रहेपछि हरेक कुराको जिम्मा लिनुपर्छ । तर, शिक्षकको भूमिका पनि उत्तिकै हुन्छ । आज कक्षामा विद्यार्थीलाई नयाँ के दिएँ, यसको लागि मैले कस्तो तयारी गर्ने भन्ने उत्तिकै जिम्मेवार हुनुपर्छ । तर, प्रधानाध्यापकको भूमिका धेरै हुने उनी बताउँछिन् । कसरी आफ्नो संस्थाको विकास गर्ने, विद्यार्थीको आवश्यकता के छ, आवश्यकता कसरी पुरा गर्न सक्छु भन्ने विषयमा ध्यान दिनुपर्छ । विद्यार्थी, अभिभावक बच्चा तीन वटा मेजर स्टेकहोल्डरलाई कसरी सन्तुष्ट राख्न सक्छु भन्ने विषयमा जानकार हुन सकेमा सफल भइने उनी बताउँछिन् । महिलामाथि अभिभावकको विश्वास महिला नेतृत्वदायी पेसामा पुग्दाको अनुभव अनामिकासँग फरक छ । उनी महिला प्रधानाध्यापक हुँदा अभिभावकहरूले बढी विश्वास गर्ने गरेको बताउँछिन् । ‘महिला जब लिडरको भूमिकामा हुन्छ तब बढी संवेदनसिल हुन्छन,’ उनी भन्छिन्,‘ कुन काम कसरी गर्ने, के गर्दा राम्रो, के गर्दा नराम्रो यो बढी महिलाले बुझन सक्छन्, जसले सहानुभूतिपूर्ण बनाउँछ र यही कुराले महिलाको पदमाथि विश्वास गरिन्छ ।’ पुरुषले भने महिलाको भूमिकालाई स्वीकार्न नसक्ने उनी बताउँछिन् । ‘म पुरुष छु, मैले महिलाको अण्डरमा रहेर काम गर्ने, महिलाले फाइनान्समा राम्रो गर्न सक्दैन भन्ने सोच पुरुषको हुन्छ,’ उनी भन्छिन् । एउटा महिलाले नेतृत्वदायी भूमिकामा रहेर काम गर्न गाह्रो रहेको अनुभव उनको छ । तर, त्यो गाह्रोलाई अवसरको रूपमा लिएर काम गर्नु पर्ने तर्क उनको छ । ‘जब व्यक्ति हरेक काममा इमान्दार र निष्ठावान भएर काम गर्छ, तव अगाडि बढ्छ । यो समाजमा अहिले पनि महिला अगाडि बढ्न हुँदैन, उसले सक्दैन भन्ने सोच छ, यसमा धेरै परिर्वतन भइसकेको छ,’ उनी भन्छिन्, ‘अहिले नेपालका अधिकांश स्कुल कलेजको नेतृत्व महिलाले गरिरहेका छन् ।’ क्याम्पियन कलेज सिजी एजुकेशनबाट सञ्चालन भएको कलेज हो । त्यहाँ स्नातक र स्नातकोत्तर अन्तर्गत म्यानेजमेन्ट र बिएसडब्लू, बीबीएस, बीबीए संकाय पढाइ हुन्छ । समय सापेक्ष शिक्षा आवश्यक अनामिका समय सापेक्ष शिक्षा अहिलेको आवश्यकता रहेको बताउँछिन् । आजको विद्यार्थीले के खोजिरहेको छ । ‘उनीहरूले विदेशमा के पाइरहेका छन्, किन विद्यार्थी विदेश गइरका छन् भन्ने सबैले थाहा पाउनुपर्यो,’ उनी भन्छिन्, ‘धेरैले भन्छन राम्रो शिक्षा भएन । तर, राम्रो शिक्षा भनेको के हो ? विद्यार्थीले कस्तो शिक्षा खोजिरहेका छन् त्यो दिन सक्नुपर्यो ।’ विदेश जाने सबै विद्यार्थी पढ्न जाँदैनन्,उनीहरू कमाइ गर्न विदेश जान्छन् । नेपालमा त्यस्तो अवस्था छैन । चार वर्ष पढिसकेपछि मेरो भविष्य के होला ? म राम्रो जागिर पाउँछु कि पाउँदैन ? आफ्नो परिवारलाई राम्रोसँग हेरचाह गर्न सक्छु कि सक्दैन ? विद्यार्थीहरूमा यही कुराको विश्वास नहुँदा विकल्प खोज्न थालेको उनको भनाइ छ । जबसम्म विद्यार्थीमा यस्ता कुराको विश्वास हुँदैन तब सम्म यो क्रम नरोकिने उनी बताउँछिन् । उनी अभिभावक र विद्यार्थीको मानसिकतामा पनि परिवर्तन ल्याउनु पर्ने बताउँछिन् । ‘विद्यार्थीमा १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने मानसिकता र अभिभावकको मेरो छोराछोरीलाई विदेश पठाउनुपर्छ भन्ने भावनामा परिवर्तन नआउँदासम्म यस्तै चलिरहन्छ,’ उनले भनिन् । क्याम्पियन कलेजले आफ्नो कलेजमा पढेका विद्यार्थीलाई बाहिर जागिर खोज्न जानुपर्ने अवस्था नरहेको प्रधानाध्यापक अनामिकाको भनाइछ । ‘हामी शिक्षासँगै सीपमुलक विषयलाई पनि ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्छौ, ‘उनी भन्छिन्, ‘हामी वर्षमा विभिन्न ६ विधामा कार्यक्रम गर्छौ, यस्ता कार्यक्रम विद्यार्थी आफैंले गर्नुहुन्छ जसबाट उनीहरूको व्यक्तित्व विकासदेखि हरेक कुरामा सहज हुन्छ ।’ स्वरोजगार कसरी बन्ने भन्नेबारे सिकाइन्छ जसका लागि सामाजिक उद्यमशिलता बारे पढाइ हुन्छ । सामाजिक उद्यमी कसरी बन्ने भन्नेबारे तीन महिने ‘नबिल स्कुल अफ सोसल इन्टरपेनोसिप’ कोर्स सञ्चालन गरिएको छ । एउटा विद्यार्थीकले काम खोज्न जाँदा कसरी कुरा गर्ने, कस्तो व्यवहार गर्ने भन्नेबारे प्रस्नालिटी डेवलपमेन्टका कार्यक्रम पनि कलेजले गरिरहेको छ । भारतमा पढाउने शिक्षा र नेपालको शिक्षामा धेरै रहेको उनको अनुभव छ । । उनी आफुले पढ्दा रिसर्च पेपर पढ्ने, विभिन्न प्रोजेक्टको काम गर्नु परे पनि नेपालमा त्यस्तो नभएको धारणा राख्छिन् । नेपाली विद्यार्थीमा धेरै क्षमता रहेको र उनीहरूले गर्न खोज्यो भने धेरै राम्रो गर्न सक्ने उनी बताउँछिन् । तर, यसका लागि राम्रो वातावरणको आवश्यकता रहेको उनी बताउँछिन् । ‘विद्यार्थीमा केही गरौँ भन्ने छ । तर, राम्रो वातावरण नपाएर हो वा मोवाइलमा रुमलिएर हो उनीहरूले गर्न सकिरहेको छैनन्, आँट गरेर अगाडि बढ्न सक्यो भने नेपाली विद्यार्थी धेरै माथि पुग्न सक्छन् ।’
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा शिवको पूजा गर्नेहरूको घुइँचो छ । भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
यी हुन् नेपालको प्रशासन हाँक्ने आधा दर्जन महिला
काठमाडौं । अहिले नेपाल सरकारको सचिव स्तरमा ६९ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ८ जना महिला सचिव छन् । ०६२/६३ को आन्दोलनपश्चात् निजामती कर्मचारी, शिक्षक लगायत सरकारका विभिन्न अंगमा जातीय, क्षेत्रीय, लैंगिक, अल्पसंख्यक लगायतका विभिन्न आधारहरूबाट कर्मचारी छनौट गर्ने प्रक्रिया सुरु भएपछि अहिले राज्यको सेवा क्षेत्रमा समावेशिताको स्वरुप देखिएको छ । तर, विगतमा समावेशिताको अवधारणा लागू नभएको अवस्थामा खुला प्रतिस्पर्धाको आधारमा निश्चित वर्ग तथा समुदायको तर्फबाट मात्रै बढी संख्यामा राज्यको सेवा क्षेत्रमा सहभागिता हुने स्थिति रहेको थियो । कुनैबेला महिलाको शून्य सहभागिता हुने राज्यको केन्द्रीय प्रशासन तहमा अहिले ११.५९ प्रतिशत महिला रहेका छन् । केन्द्रीय प्रशासन अर्थात् नेपालको ब्यूरोक्रेसीको उच्च तहमा भएर काम गरिरहेका महिलाहरू सम्पूर्ण नेपाली किशोरी, युवा र सम्पूर्ण महिलाहरूको प्रेरणा र आत्मविश्वासको स्रोत बनेका छन् । प्रधानमन्त्री कार्यालय हाँक्ने लिलादेवी पूर्वी नेपालको तेह्रथुम जिल्लामा जन्मिएकी लिलादेवी गड्तौला एसएलसी पास गरेपछि उच्च शिक्षा गर्न काठमाडौं आइन् । कानून विषय अध्ययन गरेकी गड्तौलाले ०५२ सालमा लोकसेवा मार्फत न्याय सेवामा प्रवेश गरेकी हुन् । २ वटा बच्चाको आमा भइसकेपछि अधिकृत स्तरबाट जागिरे जीवनको सुरुवात गरेकी उनले शाखा अधिकृत, उपसचिव र सहसचिव गरी १७ वर्ष कानून मन्त्रालयमा काम गरिन् । ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्वपूर्ण निकायमामा काम गर्दै अहिले उनी प्रधानमन्त्री कार्यालयमा सचिवका रूपमा कार्यरत छिन् । पहिलो महिला परराष्ट्र सचिव लम्साल यतिबेला परराष्ट्र मन्त्रालय हाँकिरहेकी सेवा लम्साल परराष्ट्र सेवा अन्तर्गत पहिलो महिला सचिव हुन् । भोजपुर दिङ्लाकी लम्साल सन् १९९८ मा शाखा अधिकृत मार्फत निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसपछि सन् २०१० मा परराष्ट्र सेवामा उपसचिव भएकी उनी त्यसको एक वर्षमा नै सहसचिव भइन् । उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग तथा पाकिस्तानका लागि राजदूत भएर काम गर्दै पछिल्लो समयमा परराष्ट्र सेवाको सचिवको जिम्मेवारी सम्हाल्ने ठाउँमा आइपुगेकी छन् । उनी परराष्ट्र मन्त्रालयको २५औं सचिव हुन् । प्राविधिक तर्फकी पहिलो महिला सचिव नेपालको प्रशासनमा अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँकीरहेकी सचिव प्रमिलादेवी बज्राचार्य प्राविधिक तर्फकी पहिलो महिला सचिव हुन् । उनी २०५६ सालमा शाखा अधिकृत (इन्जिनियर)बाट निजामती सेवा प्रवेश गरेकी थिइन् । २०६४ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) र त्यसको चार वर्षपछि खुला प्रतिस्पर्धाबाट नै सहसचिवमा नाम निकालेकी थिइन उनले । राष्ट्रिय सतर्कता केन्द्र, रेल विभाग, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी मन्त्रालय हुँदै उनी अहिले शिक्षा मन्त्रालयमा कार्यरत छन् । उपमहालेखापरीक्षक बिन्दु सुनसरीको धरानमा जन्मेकी बिन्दु बिष्ट २०५७ सालमा प्रशासन सेवाको खरिदार पदबाट नेपालको निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसपछि २०५९ सालमा लेखापरीक्षण सेवामा शाखा अधिकृतबाट फरक सेवामा प्रवेश गरेकी उनी अहिले महालेखापरीक्षक कार्यालयको उपमहालेखापरीक्षक अर्थात नेपाल सरकारको सचिव सरहको जिम्मेवारीमा काम गर्दै आएकी छिन् । उनले २०६८ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र २०७१ फागुनमा खुला प्रतिस्पर्धाबाट सहसचिवसरह नायब महालेखापरीक्षकमा नाम निकालेकी थिइन् । बिन्दुलाई २०७९ साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उपमहालेखापरीक्षकमा बढुवा गरेको थियो । गण्डकी प्रदेश हाँकिरहेकी बस्नेत सुर्खेतमा जन्मेकी लक्ष्मीकुमारी बस्नेत ०६३ सालमा शाखा अधिकृतबाट निजामती प्रशासनमा प्रवेश गरेकी थिइन् । अधिकृत भएको साढे चार वर्ष अर्थात् ०६७ सालमा नै उनले सहसचिवमा नाम निकालेकी थिइन् । ०६७ सालदेखि ०८० असारसम्म सहसचिवको रुपमा नेपाल सरकारका विभिन्न निकायमा काम गर्दै आइन् । गत असार २६ गतेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको थियो । यतिबेला सचिव बस्नेत गण्डकी प्रदेशको मुख्य सचिवको रुपमा काम गरिरहेकी छन् । लुम्बिनी प्रदेशमा अर्याल राजधानी काठमाडौंमै जन्मेकी राधिका अर्याल विसं २०६१ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गरेकी थिइन् । उनले अहिले नेपाल सरकारको सचिव स्तरको जिम्मेवारीमा रहेर लुम्बिनी प्रदेशको मुख्यसचिवको भूमिका निर्वाह गरिरहेकी छन् । उनले जागिरे जीवनको आठ वर्षपछि २०६९ मा खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकालेकी थिइन् । सहसचिवको ११ वर्षे कार्यकालयमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिन् । गत कात्तिक १६ गते सचिवमा बढुवा भएर उनले अहिले लुम्बिनी प्रदेशको मुख्य सचिवको रुपमा काम गर्दै आएकी छन् । बिदा भइन् देवकुमारी सरकारले शनिबारबाट अवकास हुन लागेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंलाई बिहीबार नै बिदाइ गर्ने निर्णय गरेकाे छ । २०५१ सालमा प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी उनले शिक्षा सेवा, शिक्षा प्रशासन, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काम गरेकी थिइन् ।
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, भाग्यमानी २६ जनाले पाए ५१ कित्ता
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन सदर भएको छ भने१ हजार ३४२ आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी रहेको २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन् ।
१२ वर्षदेखि आईएसटी कलेज हाँकिरहेकी सम्झना
काठमाडौं । सपना अधिकांशले देख्छन् । कतिपयले आफ्नो सपनालाई साकार गरेरै छोड्छन् त कतिले बिचमै बाटो मोड्छन् । कतिपयले नसोचेकै क्षेत्रमा हात हालेर त्यही क्षेत्रमा सफल बनेर उदाहरणीय पात्र बन्छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्राचार्य सम्झना बस्न्यातलाई पनि म शिक्षा क्षेत्रमा लागेर काम गर्छु भन्ने सोचेकी थिइनन् । तर, उनको प्रवेश यही क्षेत्रमा भयो । अहिले उनी शिक्षा क्षेत्रमा नै जमेकी छन् । बरु उनलाई कर्पोरेट क्षेत्रमा काम गर्न रुची थियो । तर, बाटो अन्तै मोडियो । उनी शिक्षण पेसामा आवद्ध भइन् । उनी विगत १२ वर्षदेखि सोही कलेजको नेतृत्व गरिरहेकी छन् । ‘शिक्षक भएर शिक्षण पेसामा रम्छु भन्ने सोचेकी थिइनँ । तर, जब यो पेसामा आएँ, अन्त सोच्नै परेन,’ उनले भनिन् । उनले थपिन्, ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ आफूमा भएको ज्ञान र शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो कुरा हो, अहिले मलाई शिक्षण पेशा नै रमाइलो लागिरहेको छ, यो क्षेत्रमा २० वर्ष बित्तेको पत्तै भएन ।’ उनले पढाउन पनि यही कलेजबाट सुरु गरेकी हुन् । सम्झना शिक्षण पेसालाई डायनामिक जब रहेको अनुभव सुनाउँछिन् । ‘यो कसैको भविश्य बनाउँछु अथवा उसको जीवनमा म परिवर्तन ल्याउछु भनेर गरिने पेसा हो, शिक्षणको प्यासन नभएको मान्छेलाई यो क्षेत्रमा गाह्रो पनि छ,’ उनले भनिन् । सिंगापुरमा पढाइदेखि प्राचार्यसम्म सम्झना काठमाडौंकी रैथाने हुन् । उनी काठमाडौँको कुपण्डोलमा जन्मिइन् । अहिले काठमाडौंको विसालनगरमा बस्छिन् । उनले प्लसटुसम्म ज्ञानोदय बालबाटिकामा पढिन् । त्यसपछि पद्मकन्या क्याम्पसबाट स्नातक गरिन् । र, सिंगापुरमा गएर होटेल म्यानेजमेन्ट पढिन् । त्यहाँबाट फर्केपछि उनले काठमाडौं विश्वविद्यालयबाट मास्टर्स इन बिज्नेस एडमिस्ट्रेसन (एमबीए) गरिन् । उनका श्रीमान पूर्वबैंकर हुन् । उनी अहिले साथीहरूसँग मिलेर ट्रेनिङ इन्स्टिच्युट खोलेर आफ्नै व्यवसायमा छन् । उनका २१ वर्षका छोरा छन् । एउटा शिक्षक भएर पढाउँदा र व्यवस्थापकिय जिम्मेवारीमा रहेर काम गर्दा फरक अनुभव हुन्छ । ‘शिक्षक हुँदा कक्षामा आज के पढाउने भनेर तयारी गर्दा पुग्छ । तर, म्यानेजमेन्टमा बसिसकेपछि त्यतिले पुग्दैन,’ उनी भन्छिन्, ‘पढाउनु पनि पर्छ म्यानेज पनि गर्नुपछर्, शिक्षक र प्रिन्सिपलको रूपमा रहँदा धेरै फरक हुँदो रहेछ ।’ सम्झनाको काँधमा अहिले प्रशासन, अप्रेशन विभाग र पढाउने तीन वटा जिम्मेवारी छन् । उनी बिहान साढे ८ बजे कलेज पुगिसक्छन् । साँझ ५ बजे घर फर्किन्छिन् । ‘बिहान आउँछु, अफिसको काम गर्छु, पढाउँछु, कहिले मान्छेहरूसँग भेटघाट गर्नुपर्छ, जिन्दगी मिहिनेतका साथ चलिरहेको छ,’ मुस्कुराउँदै सम्झनाले भनिन् । आफूलाई प्रमाणि गर्नु पर्ने चुनौती नेपाली समाज अहिले पनि पितृसतात्मक छ । महिलाको काम र जिम्मेवारीलाई अहिले पनि शंकाको दृष्टिकोणले हेरिन्छ । यसले गर्न सक्छ र भन्ने भाव अझै पनि धेरैमा छ । कुनै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्दा उसले बारम्बार आफुलाई सक्छु भन्दै प्रमाणित गर्नुपर्ने बाध्यता रहेको सम्झना बताउँछिन् । पुरुषलाई सहजै स्वीकार्ने समाजले महिलालाई विश्वास नै गर्दैन,’ ‘उनी भन्छिन्, ‘हामीले जति राम्रो काम गर्दा पनि बेला बखत म सक्षम छुभनेर प्रमाणित गराउनु पर्छ ।’ ‘नेतृत्वदायी भूमिकामा पुरुषमात्र हुनुपर्छ भन्ने मान्यता अहिले पनि छ,’ उनी थप्छिन,‘ महिलाले त्यो पदमा पुग्न बेला-बेला आफू सक्षम रहेको प्रमाण देखाउनुपर्छ, म यसमा योग्य छु भनेर प्रमाणित गर्नैपर्छ । ’ कतिपय ठाउँमा प्रत्यक्ष नभने पनि पुरुषको हाउभाउले महिलालाई स्वीकार गर्न नसकेको अनुभव सम्झनासँग छ । यस्तो मानसिकताको विरुद्ध बलियो भएर काममार्फत् देखाउनु पर्ने उनी बताउँछिन् । महिला आर्थिकरूपमा पनि सक्षम हुन थालेपछि विभेदका घटना पनि कमी हुँदै गएको उनको भनाइ छ । ‘चुनौती लिन्छु भनेर जिम्मेवारीमा बसेपछि चुनौतीको सामना गर्नैपर्छ,’ उनी भन्छिन्, ‘कुनैपनि काममा सबैजना पूर्ण हुँदैनन् । तर, आफू कमजोर पनि हुनु हुँदैन, मिहिनेत गर्नैपर्छ ।’ सम्झनालाई अहिले पनि धेरैले प्रश्न गर्छन्, ‘महिला भएर पनि यहाँ पुगेको ?’ ‘मलाई कलेजमा आउँदा धेरै अभिभावक वा अरुले पनि अचम्म लागे जस्तो गर्नुहुन्छ,’ उनी थप्छिन्, कलेजको प्रिन्सिपल भन्दा धेरै पुरुष हुन्छ भन्ने भान हुँदो रहेछ, तर जब मलाई देख्नुहुन्छ ओ हो भने जस्तै व्यवहार गर्नुहुन्छ ।’ विदेशको लहरले विद्यार्थी घट्दै आईएसटी कलेज सार्ल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन प्राप्त हो । यस कलेजमा स्नातकमा होटेल र टुरिज्म म्यानेजमेन्टको पढाइ हुन्छ । यो तीन वर्षे कोर्स हो । यो तहमा ३४ जना शिक्षक अध्यापन गराउँछन् भने करिब चार सय विद्यार्थी अध्ययनरत छन् । अहिले आईएसटी कलेजमा पनि सिट संख्याअनुसार विद्यार्थीको संख्या छैन । भर्ना भएका विद्यार्थीहरू पनि बिचमा पढाइ छोडेर विदेश जाने संख्या बढ्दो छ । पहिले तीन वर्षे स्नातकमा १० जनाको हाराहारीमा ड्रप्टआउट हुन्थे भने अहिले २० पुगेको छ । कलेजमा पढेका दई हजार बढी विद्यार्थी ग्राजुएट बनेका छन । उनीहरूमध्ये कोही पनि खालि बस्नु परेको छैन । ग्राजुएट हुनुभन्दा अगाडि इन्र्टनसिपको दौरानमा नै धेरै विद्यार्थीले काम पाइसक्छन् । ग्राजुएट भएको भोलिपल्ट नै कामको लागि अफर आउँछ । उनका अनुसार स्नातकमा विद्यार्थी पाउन गाह्रो छ । यो एउटा कलेजको समस्या मात्र हैन, देशकै समस्या हो । यसले चुनौती थपेको उनी बताउँछिन् । बुझेर नबुझेर वा देखासिखी गरेर विदेश जाने क्रम बढेको छ । यो कलेज र शिक्षाको मात्र समस्या हैन देशकै समस्या हो । ‘पहिले कक्षा ८/९ मा कक्षमा पढ्ने विद्यार्थीलाई सोध्दा म साइन्स पढ्छु, ह्युम्यानिटिज पढ्छु भन्थे,’ उनी भन्छिन्, ‘तर, आजभोलि सोध्दा म जापान, अस्ट्रेलिया जान्छु भन्नेहरू धेरै छन् ।’ उनका अनसार छोराछोरीलाई विदेश पठाउने विषय अहिले सामाजिक दबाबसँग जोडिएको छ । ऋण काढेर पनि छोराछोरीलाई विदेश पठाउने अभ्यास पछिल्लो समय बढ्दै गएको छ । ‘२० लाखमा जग्गा बेचेर छोराछोरीलाई विदेश पठाउने र पछि त्यही जग्गा ५० लाख हालेर किनेको मैले देखेकी छु, यही अवस्था रहीरहने हो भने भोलि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘विदेश जाँदा १८/१९ वर्षको बच्चाको दिमागमा पढाइ भन्दा बढी ऋणको भारी हुन्छ ।’ व्यवहारिक शिक्षा भएन उनी नेपाली शैक्षिक प्रणाली व्यवहारिक नभएको धारणा राख्छिन् । समुदाय जति शिक्षित भयो त्यति धेरै देशको विकास हुने धारणा उनको छ । तर, नेपालमा शिक्षा प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘अहिले विदेश गयो भने त्यो मान्छे सफल हुन्छ भन्ने सामाजिक धारणा भयो । तर, विदेश जानेवित्तिकै सफल भइँदैन,’ उनी भन्छन्, ‘देशको शैक्षिक करिकुलममा पनि दोष छ ।’ विद्यार्थीले आत्मनिर्भरमा जोड दिनु पर्ने धारणा उनको छ । ‘छोरीलाई पढाउनुपर्छ भन्ने थाहा भए पनि करिअर बनाउनुपर्छ भन्ने तर्फ जोड दिँदैनन्, आत्मनिर्भर हुन सकियो भने अरुको अगाडि हात थाप्नु पर्दैन,’ उनले भनिन् । पछिल्लो समय देशको आर्थिक अवस्था नकरात्मक हुँदा कलेजहरूको बिजनेसमा पनि असर परेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षामा पनि जोड दिनु पर्ने भएकोले कलेजको बढी खर्च हुने उनको भनाइ छ । उनका अनुसार अब कलेजले अन्य संकाय पनि थप्ने तयारी गरेको छ ।
अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना
फुङ्लिङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ । आयोजनाको पुनःनिर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो । जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो । बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनःनिर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए । पुनःनिर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए । आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ । आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवद्र्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो । इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो । रासस
स्थापना दिवसमा सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ
काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शुक्रवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्तिस्थत सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएको टेलिकमले विज्ञप्तीमा उल्लेख गरेको छ । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसैगरी सञ्चारकर्मी पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको जानकारी दिईयो ।