विकासन्युज

खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छु : मन्त्री राई

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए । ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु,’ मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

भेरीगंगा । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो । सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताए । पछिल्लो समय मुटु र मिर्गौलाका रोगी बढ्दै गएका र यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गरिएको बताए । उनले विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न उत्पादन वृद्धिका नाममा विषादीको प्रयोग बढेको भन्दै उनले यसलाई न्यूनीकरण गर्न आवश्यक भएको बताए । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रसारप्रसार कार्यक्रम, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

बेलबारी ।मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पुर्‍याउन किसानलाई सहज भएको छ । विसं २०६५ भदौमा सप्तकोशीको बाढीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भान्टाबारी नजिक फुटेपछि झण्डै ६ महिनासम्म कोशी वारिपारि गर्न छिमेकी मुलुक भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो । एउटा मात्र राजमार्ग हुँदा त्यसमा कुनै समस्या आए समग्र यातायात अवरुद्ध हुने हुँदा त्यसको विकल्पमा मदन भण्डारी राजमार्ग निर्माण गर्न थालिएको मोरङ क्षेत्र नं १ का सांसद डिगबहादुर लिम्बू बताउँछन् । मदन भण्डारी राजमार्गले मोरङको उत्तरी भेगमात्र नभएर समग्र प्रदेशकै विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । मोरङको उत्तरी भेगका मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका जोडेको यो राजमार्गमा तीनवटा पालिमा मात्रै १७ पक्की पुल निर्माण भइसकेका मोरङ क्षेत्र नं १ का पूर्वसांसद घनश्याम खतिवडाले बताए । ‘बीस वर्षअघिदेखि नै चुरे फेदीमा वैकल्पिक मार्गको आवश्यकता महसुस गरेर स्थानीय र जिल्ला विकास समितिको बजेटबाट बाटोको सामान्य ट्र्याक खोल्ने कार्य सुरु गरेका थियौँ । पछि राष्ट्रिय गौरवको योजनाका रुपमा राजमार्ग बन्ने भएपछि उत्साहित छौं,’ उनले भने । दुई लेनको मदन भण्डारी राजमार्ग मेची खोलादेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाढी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्युठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेल्धुराको रुपालसम्म पुर्‍याउने काम भइरहेको छ । सरकारको प्राथमिकतामा रहेकै कारण राजमार्गको कामले तीव्रता पाएको छ । कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई यसले छोएको छ । राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव आठ किलोमिटर सडक रु ९३ करोड ३३ लाखमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताए। यस्तै दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक रु एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्डका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद म्याद २०८१ पुससम्म थपिएको छ । यस अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५० प्रतिशत भएको प्रमुख खकुरेलले बताए । यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ । ‘सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतीमा भइरहेको छ, सोचेअनुरूप प्रगति गर्न सकिएको छैन,’ प्रमुख खकुरेलले भने । दैनिकजसो हजारौंको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स–साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउँछन् ।

प्रहरी कार्यालय कि ‘कवाड’ खाना ? (फोटो फिचर)

काठमाडौं । वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारीसाधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर, ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रूपमा हजारौं सवारीसाधन प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारीसाधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ । वर्षौँदेखि थन्किएका सवारीसाधान केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्नसक्ने अवस्थाका पनि छन् । तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारीसाधनको चाङ देखिन्छ । यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन् । तर, कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् । ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ । यसरी होल्ड भएका सवारीसाधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पु¥याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् । तर, केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ । चाङ लागेका सवारीसाधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाड खाना ? एकछिन सोच्न बाध्य बनाउँछ । आजको फोटो फिचरमा प्रहरी कार्यालयमा थन्किएका सवारीसाधनहरू । न्युज एजेन्सी नेपाल

आजको मौसम : कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ ।

बेनीलाई कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘कालीगण्डकीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि आनन्दबगर जोखिममा परेको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा ७० मिटर लामो र आठ मिटर अग्लो पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’ झण्डै रु ७४ लाखको लागतमा निर्माण हुन लागेको पर्खालको जगतर्फ तीन मिटर अग्लो पक्की र सतहमा चार मिटर अग्लो पर्खाल निर्माण गरिएको अध्यक्ष थापाले बताए । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायीरूपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ । सत्र परिवारको बसोबास रहेको आनन्दबगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा थियो । परियोजनाले बेनी बजार र त्यस आसपासका बस्तीमा कटान नियन्त्रणका लागि आठ ठाउँमा ५० करोडको लागतमा संरक्षणको काम गरिरहेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित उक्त आयोजना निर्माणले तिब्रता पाएको परियोजनाका इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताए । ‘गलेश्वर, राम मन्दिर, वारीबेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,’ उनले भने, ‘बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।’ बेनीलाई सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । रासस

जसको कमाण्डमा चलिरहेका छन् काठमाडौंका कलेज

काठमाडौं । चन्द्रमामा पुगि सकिन्, अरू देशका नारी हाम्रा भने पिठ्यूँमा छन्, घाँस दाउराका भारी । एक समय थियो, छोरीलाई घाँस दाउरामा सीमित राख्ने र छोरालाई विद्यालय पढाउने । छोरीहरू मेलापाखामा गएर विरहका गीतमा रमाउँथिन् भने छोरा विद्यालयमा रमाउँथे । विरहका गीतहरू गायर छोरीहरूका दन बित्थे । तर, अहिले समय बदलिएको छ । छोरीहरू चुलो–चौकामा मात्र सीमित होइन, देशको विभिन्न क्षेत्रको नेतृत्व गर्ने पदमा पुगिसकेका छन् । सामाजिक, राजनीतिक, आर्थिक लगायत हरेक क्षेत्रमा महिलाको सहभागिता छ । शिक्षा क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दै गएको छ । छोरीलाई पढाउनुपर्छ भन्ने चेत अभिभावमा छ । हेरक क्षेत्रमा कतिपय यस्ता नारीहरूछन् जसले त्यो क्षेत्रको नेतृत्व गरिरहेका छन् । इन्जिनयर, पाइलट र चिकित्सा क्षेत्रमा मात्र होइन राजनीतिकरूपमा पनि महिला अगाडि देखिन्छन् । परिवार, समाज र देशमा यस्तो परिवर्तन आउनुको कारण शिक्षा हो । शिक्षाले सही, गलत सबै छुट्याउँछ । नेपाली शिक्षा क्षेत्रमा पनि महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न निजी क्षेत्रबाट सञ्चालित कलेजमा पनि महिलाले नेतृत्व गरिरहेका छन् । कादम्बरी हाँक्ने प्रदिप्ता काठमाडौँ बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् प्रदिप्ता कादम्बरी । २४ वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी १० वर्षदेखि कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् । प्रदिप्ताको घर ललितपुर हो । उनी काठमाडौंमै हुर्किन्, पढिन् । उनले सन् १९९५ मा माइक्रोबायोलोजीबाट स्नातकोत्तर गरिन् । सन् २००० मा त्रिभुवन विश्वविद्यालयमा एमएस्सीका विद्यार्थीलाई माइक्रोबायोलोजी पढाउन सुरु गरिन् । उनी यो पेसामा लागेको २४ वर्ष भयो । उनले पढ्दै गर्दा शिक्षक हुन्छु भनेर सोचेको थिइनन् । तर, जब उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न सुरू गरिन् । तब उनलाई युवाहरूसँग इंगेज हुन रमाइलो लाग्यो । त्यसपछि उनी सन् २०१३ उनी सामाजिक कार्यतर्फ लागिन् । उनले सुत्र नामक एउटा संस्थामा काम गरिन् । ४ जना अस्ट्रेलियाली सोसलवर्करसँग ५ वर्ष नेपालमा काम गरिन् । प्रदिप्ताले सोसलसाइन्सबाट स्नातकोत्तर गरिन् । उनले इन्टरनेश्नल फ्याम्ली स्टडिजमा पनि स्नातकोत्तर पास गरेकी छन् । उनले सन् २०१५ बाट कादम्बरी मेमोरियल कलेजको प्रमुखको जिम्मेवारी सम्हालिएकी हुन् । उनलाई शिक्षण पेसा सबैभन्दा राम्रो लाग्छ् । ‘शिक्षाले कहिले पनि कमजोर गराउँदैन, मलाई यो पेसा सबैभन्दा राम्रो लाग्छ,’ उनले भनिन् । डनबस्को सम्हालिरहेकी रश्मि काठमाडौंको लाजिम्पाटमा रहेको काठमाडौं डनबस्को कलेजको नेतृत्वदायी भूमिकामा छिन रश्मि शर्मा मैनाली । उनले लामो समय देखि कलेजको प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएकी छन् । उनको पहाड घर पर्वत भएपनि उनी काठमाडौंमा जन्मिन्, हुर्किन् । उनले स्नातक तहसम्मको पढाइ भने भारतको सिलाङबाट गरिन् । भारतमा पढेर फेर्केर नेपाल आइन् । नेपाल आएर शिक्षण पेसामा लागेकी उनी पनि अहिले यही क्षेत्रमा रमाइरहेकी छिन् । २३ वर्षदेखि एपेक्सको नेतृत्वमा दुर्गा काठमाडौंको मध्ये बानेश्वरमा रहेको एपेक्स कलेजको जिम्मेवारी २३ वर्षदेखि दुर्गा रिजालले सम्हाल्दै आएकी छन् । विद्यार्थीकालमा राजनीतिमा लागेकी उनी त्यसपछिका समयमा भने नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरिन् । पञ्चायती प्रतिबन्धकाबिच विद्यार्थी राजनीतिमा संलग्न रीजाल त्यसपछि निरन्तर शिक्षा सेवामा समर्पित भइन् । अमेरिकाबाट उच्च शिक्षा हाँसिल गरेकी उनी नेपालमै रहेर शिक्षण पेशामा आवद्ध रहेर एपेक्स कलेज हाँकिरहेकी छन् । सगरमाथामा छिन् दक्षिणा ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजले स्थापनाकालदेखि नै इन्जिनियर उत्पादनमा विशेष योगदान पुर्याउँदै आएको छ । इन्जिनियरिङ शिक्षासँगै विद्यार्थीको भविष्यका लागि समेत मार्ग निर्देशन केन्द्रित रहेको कलेजको दाबी छ । त्यही कलेजको नेतृत्वमा छिन् ई.दक्षिणा श्रेष्ठ । पहिले सह-प्रचार्यको भूमिका रहेकी उनि अहिले कलेजको प्रधानाध्यापकको रूपमा काम गरिरहेकी छिन् । आाईएसटीको नेतृत्वमा सम्झना काठमाडौँको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजको नेतृत्व तहमा छिन् सम्झना बस्न्यात । २० वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी विगत १२ वर्षदेखि कलेजको प्राचार्यको रूपमा काम गरिरहेकी छन् । उनलाई शिक्षक भएर अध्यापन पेशामा रम्छु भन्ने लागेको थिएन तर, जब उनी यो पेशामा आइन् तब उनलाई अन्त सोच्नु परेन । ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ उनी भन्छिन्, ‘आफूमा भएको ज्ञान, शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो हो, अहिले मलाई शिक्षण पेसा नै रमाइलो लागिरहेको छ ।’ अनामिकाको कमाण्डमा क्याम्पियन कलेज नेपालमा विवाह गरेर आएकी अनामिका श्रीवास्तव २५ वर्षदेखि शिक्षण पेशामा आवद्ध छिन् । उपत्यकाका विभिन्न स्कुल र कलेजमा अध्यापन गराउँदै आएकी उनी अहिले ललितुरको सानेपामा रहेको क्याम्पिन कलेजको प्राचार्यकारूपमा काम गरिरहेकी छन् । भारतको बिहार घर भएकी उनी रौतहटको गौरमा बिहे गरेर आएपछि शिक्षण पेशामा आवद्ध भएकी हुन् । फरक देश, फरक भाषा, चालचलन सबै फरक समाजबाट आएकी उनलाई नेपाल आएर शिक्षण पेशामा लाग्न भने उत्तिकै चुनौती थियो । तर, उनले हार मानिनन् । भाषामात्र होइन नेपालको रहनसहन तथा परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । काठमाडौंको नोबेल एकेडेमीबाट अध्यापन यात्रा सुरु गरेकी उनले सेन्टजेभियर कलेज, भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा समेत अध्ययापन गराएकी थिइन् ।