नेपालमा जलविद्युत उत्पादनका लागि सहकार्य गर्न तयार छौँँ : राजदुत हेमन्दोयल डिल्लम
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मौरिससका (गैरआवासीय) राजदुत हेमन्दोयल डिल्लमबीच काठमाडौंमा भेटवार्ता भएको छ । मंगलबार इप्पानको कार्यालयमा अध्यक्ष कार्की र मौरिससका राजतदुत डिल्लमबीच नेपालको जलविद्युत उत्पादन र लगानीका विषयमा कुराकानी समेत भएको छ । भेटमा मौरिससका राजतदुत डिल्लमले नेपालसँग आफूहरुको सांस्कृतिक हिसावमा राम्रो सम्बन्ध रहेको बताए । उनले नेपाल र भारतबीच आर्थिक,सामाजिक र सांस्कृतिक हिसावले गहिरो सम्बन्ध रहेको बताए । उनले नेपालमा पर्यटकीय सम्भावना राम्रो रहेको भन्दै लुम्बीनी र पोखरामा धेरै पर्यटकीय सम्भावना रहेको बताए । राजतदुत डिल्लमले नेपाल जलविद्युतमा राम्रो सम्भावना भएको देश भएकाले जलविद्युत उत्पादनमा जोड दिँदा अन्य सम्भावना बढ्दै जाने उल्लेख गरे । उनले विद्युत उत्पादन गरी भारत लगायत अन्य देशमा बेच्नसक्ने सम्भावना रहेको बताए । उनले नेपालमा जलविद्युत नै सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले जलविद्युत उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राखे । विश्वका अन्य देशबाट समेत जलविद्युतमा लगानी ल्याउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । मौरिससका राजतदुत डिल्लमले जलविद्युत नेपालमा मात्रै नभएर विश्वमा नै धेरै महत्वपूर्ण रहेको जानकारी दिए । उनले विकसित मुलुकमा समेत सबैभन्दा ठूलो लगानी जलविद्युतमा रहेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँग नेपालको जलविद्युत उत्पादनमा लगानीका विषयमा सहकार्य अगाडि बढाइने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) नेपाललाई जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान गरिरहेको देखिएको जानकारी दिए । उनले जलविद्युत उत्पादनमा निजी,सरकारी र सार्वजनिक क्षेत्रको संयुक्त लगानी र कामले मात्रै पूर्णता पाउन सक्ने बताए । जलविद्युत उत्पादनको लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियतको आवश्यकता रहेको बताए । जलविद्युत उत्पादन र खपतको लागि जीटुजी सम्झौता वा निजी क्षेत्र निजी क्षेत्रबीचको साझेदारीमा काम गर्ने वातावरण नेपाल सरकारले वातावरण बनाउन आवश्यक रहेको जानकारी दिए । इप्पानका अध्यक्ष कार्कीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै उत्पादनको लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताए । लगानीको लागि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरिरहेको जानकारी दिए ।
गुल्मीमा निर्माण सुरु भएको ७ वर्षसम्म पनि बनेन पुल
गुल्मी । मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माण सुरु पनि भयो । तर त्यही क्रममा दुई पटकसम्म पुल भाँचियो । जसका कारण हालसम्म पनि पुल निर्माण सकिएको छैन । दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण सुरु गरिएको छ । डिजाइन परिवर्तनपछि स्टल ट्रस ब्रिज निर्माण सुरु गरिएको हो । मुसिकोटको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्यद्वार मानिन्छ। लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिस कहिले पुल निर्माण होला भनेर पर्खाइमा छन् । स्वीस सरकारको रु चार करोड १४ लाख ४४ हजार सात सय २२ को आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम ललितपुरका प्राविधिक अधिकृत धिराजा पौडेलले जानकारी दिए । आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफुहरु आशावादी भएको पौडेलले बताए । उनले सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संशोधन गर्नुपर्ने भएका कारण काममा केही ढिलाइ हुन पुगेको जानकारी दिए । अहिले पुलको फाउण्डेशन निर्माणसहित स्टीलका पार्टमा प्वाल पार्ने, जोड्ने र आकार निर्माणका काम भइरहेको छ । बडीगाढ खोलाको झेँदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६ दशमलव ३० मिटर रहेको छ । अहिले स्टील ट्रस ब्रिज निर्माण भइरहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले बताए । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यसपटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । उनले ठूलो मेहनत गरेर डिजाइन परिवर्तन गरी तीव्र रुपमा काम अगाडि बढिरहेको दाबी गरे । रासस
कृषि विकास बैंकले संचालन गर्यो विद्यार्थीसँग बैंक कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकले पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासीको अमलटारी होमस्टे, रुपन्देहीको धकधही र कपिलबस्तुको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतिय सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए । आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो । बिश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्युचर’ भन्ने नारा ग्लोबल मनी विकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।
ढोलाहिटीमा ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ
काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुरेण्टमा आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको बताए । घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ । जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको लागि अन्य ८ जना व्यक्तिहरु पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ । प्रहरीले पाँच जनालाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यलाई अनुसन्धान जारी रहेको बताएको छ ।
इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी
रोम । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एकजना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्यांकले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको छ । यो संख्या सन् २०२२ मा ५६ लाख ७० हजार र सन् २०२१ मा ५३ लाख २० हजार थियो । गत वर्ष देशको कुल जनसंख्याको ९.८ प्रतिशत निरपेक्ष गरिबीमा रहेको देखिएको छ । इन्स्टिच्युट’ले निरपेक्ष गरिबीमा बाँचिरहेका व्यक्तिलाई आफ्नो आधारभूत आवश्यकता जस्तै खाना र स्वच्छ पिउने पानी, लुगाफाटा, स्वास्थ्य हेरचाह र आश्रय पूरा गर्न स्रोतहरूको अभाव भएको व्यक्तिको रूपमा परिभाषित गरेको छ । इन्स्टिच्युट’को तथ्यांकले निरपेक्ष गरीबीको उच्चतम स्तर मुख्यतया कृषिका लागि चिनिने देशको दक्षिणी क्षेत्रहरूमा देखिएको छ भने औद्योगिक क्षेत्रका लागि चिनिने उत्तरी क्षेत्रले गरिबीको सबैभन्दा कम स्तर देखाएको छ । यसले देशको अन्य भागको तुलनामा उत्तरी क्षेत्रमा गरिबीको स्तरमा तीव्र कमी आएको उल्लेख गरेको छ । गत वर्ष १८ वर्षभन्दा कम उमेरका १४ प्रतिशत इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेका छन् भने १८ देखि ३४ वर्ष उमेर समूहका ११.९ प्रतिशत रहेका देखिएको छ । त्यसैगरी, ६५ वर्षमाथिका नागरिकमध्ये ६.२ प्रतिशत मात्र सबैभन्दा कम आर्थिक वर्गमा बाँचिरहेका छन् । इस्टिच्युुटका अनुसार निरपेक्ष गरिबीमा बाँचिरहेका इटालियाली बढ्दो प्रतिशतको मुख्य कारक मुद्रास्फीति हो, जसले विगत दुई वर्षमा आर्थिक वृद्धिलाई उछिनेको छ । गत वर्ष औसत ५.९ प्रतिशतले मूल्यवृद्धि भएको थियो भने अर्थतन्त्र ०.९ प्रतिशतले बढेको थियो । त्यसैगरी सन् २०२२ मा मुद्रास्फीति दर ८.१ प्रतिशत रहेको थियो भने अर्थतन्त्र ३.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । रासस
श्री एयरलाइन्सले थप्यो दुई जहाज, १० जहाजसहित सेवा विस्तारमा आक्रामक
काठमाडौं। श्री एयरलाइन्सले थप २ वटा नयाँ जहाज खरिद गरेको छ । यससँगै श्री एयरलाइन्सका जहाज १० वटा पुगेका छन् । कम्पनीले क्यानडाको तत्कालीन बम्बार्डियन अर्थात् हालको डी हाभिल्यान्ड अफ क्यानडामा निर्मित ८० सिटका २ जहाज खरिद गरेको हो । यससँगै कम्पनीसँग ८० सीट क्षमताकाे ६ वटा जहाज सञ्चालनमा रहेका छन् । यसअघि संयुक्त राज्य अमेरिकाको होराजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको थियो । कल साइन नाइन एन–एओके र नाइन एन–एओएल रहेका उक्त जहाज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै जहाजहरू काठमाडौं ल्याएका हुन् ।अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ । सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले अहिले पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरिसकेको छ ।
श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर नियन्त्रण
कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ । केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ । अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रिय बैङ्कले सोमबार यस्तो निर्णय गरेको हो । यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ । आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । केन्द्रिय बैंकको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । रासस
कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको छ । बैंकले यस अवसरमा विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ । बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रमहरुमा बैंकिङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवार, यसका अवसर तथा चुनौतीहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै बुटवल क्षेत्रमा आयोजना गरिएको डिजिटल वित्तीय साक्षरता कार्यक्रममा अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । र्बैकको कुन विभागमा के–कस्तो कार्यहरु हुन्छ भन्ने जिज्ञासाका लागि बैंकको केन्द्रीय कार्यालय तथा सातवटै प्रदेशमा विभिन्न शाखाले विद्यार्थीहरुलाई बैंकको भ्रमण गराइएको थियो । त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक संजाल मार्फत सुरक्षित भविष्यको लागि बजेट, बचतको महत्व, कर्जाको सदुपयोग र समयमा भुक्तानी, अज्ञात लिङ्कमा क्लिक नगरी सचेत रहन तथा ओटिपी/पिन गोप्य राख्ने गरी ग्लोबल मनी विक सफलतापूर्वक सम्पन्न गरेको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।