सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्र शिथिलतामा गयो : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र संकट वा महासंकटमा नरहेको बताएका छन् । यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको उल्लेख गरे । राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयका दुवै सचिव, सह–सचिवहरु र विभागीय प्रमुखलाई निर्देशन दिए । उनले अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए । मन्त्री पुनले विगतमा खर्च गर्न कसिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए । ‘खर्च गर्न टाइट गरिएका कारण राजश्व संकलन पनि खुम्चियो’, मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरुले पनि खर्च बढाउँछन् ।’ पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको स्पष्ट गरे । राजश्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए । ‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ’, मन्त्री पुनले भने, ‘राज्यले पक्रिएर थुनेर मात्र हुँदैन । प्रेरित गराएर कानून कार्यान्वयन गराऔं ।’ फरक प्रसंगमा मन्त्री पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा। कृष्णहरि पुष्करलाई निर्देशन दिए । ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविही हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’
मेयर हमालकी छोरी हराइन्
काठमाडौं । कैलालीकाे धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालकी जेठी छोरी आरती हमाल सोमबार भारतकाे जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकाे मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन् । आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि खोजिदिन हमालले आग्रह गरेका छन् । ‘हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकी उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाई दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,’ मेयर हमालले फेसबुकमा लेखेका छन्। साथै, आरतीको खोजी गर्न कान्छी छोरी आर्जु र ज्वाइँ आज राति नै प्लेनमा गोवा जाने उनको भनाइ छ ।
सौराहामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले चितवनको सौराहामा २ दिवसीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । इन्स्योरेन्सले बिभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि चैत्र ९ र १० गते ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागितामा चितवन जिल्ला स्थित सौराहमा दुइ दिवशीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाइ मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम संचालन गरेको जनाएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रिय कार्यालबाट प्रशिक्षणको लागि जानु भएका प्रशिक्षकहरुले मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिएका थिए । उक्त प्रशिक्षण कायर्क्रमबाट कर्मचारिहरुमा नविन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जानाएको छ ।
पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट
भक्तपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उनले मंगलबार सो कार्यको शुभारम्भ गरेका हुन् । मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप काम नगर्दा प्रदेश सरकारलाई काम गर्न बाधा पुगेको गुनासो गरे । प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने कतिपय अधिकार सङ्घीय सरकारले आफैसँग राख्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन नसकेको उनको भनाइ थियो । उनले भने– ‘सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गरे सेवाग्राहीलाई तत्कालै लाइसेन्स उपलव्ध गराउन सकिन्छ ।’ मन्त्री लम्सालले नयाँ प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै राजस्व पनि अनलाइन मार्फतनै प्राप्त हुँदा काम छिटोछरितो हुने बताए । आगामी एक वर्षभित्रमा प्रदेश सरकारले प्रदेश यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौलाले नयाँ प्रविधिमार्फत काम हुन थालेपछि कर्मचारीको भार घटेको र बिचौलियाको प्रवेश समेत अन्त्य हुने बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोशराज पोखरेलले बागमती प्रदेशबाट सुरु भएको यो कार्य सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले अब सेवाग्राहीले जुनसुकै समयमा घरमै बसेर काम लिन सकिने भएकाले कार्यालय धाउनुपर्ने बाध्यता हटेको बताए । कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका प्रमुख हरिहर पोख्रेलले अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिन सकिने बताए । रासस
राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए । ‘आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।’ उनले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिए । ‘मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।’ उनले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए । सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।’ रासस
खादामालामै व्यस्त अर्थमन्त्री, ‘पिक आवर’मै बनाउन सकेनन् कोर टीम
काठमाडौं । वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएको आज २० दिन भयो । उनले नेतृत्व गरेको मन्त्रालय अहिले सबैभन्दा बढी व्यस्त हुने मन्त्रालय हो । आगामी जेठ १५ गते सार्वजनिक गर्नु पर्ने आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त हुनु पर्ने मन्त्रालय अहिले टिमविहीन ढंगले चलिरहेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको ‘पिक आवर’ र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको संघारमा अर्थमन्त्री बनेका वर्षमान पुन आफ्नो टीम निर्माणमा नलागेर खादा÷माला पैरिनमै व्यस्त भएका छन् । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूलाई सहयोग नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन समेत परिवर्तन गरेर आफ्ना विश्वासिला पात्र वर्षमानलाई अर्थमन्त्री बनाएका थिए । तर, वर्षमानले अर्थमन्त्रालय सम्हालेको एक महिना पुग्न लाग्दा पनि बजेट निर्माणमा कुनै वास्ता गरेका छैनन् । पुन अर्थमन्त्री भइसकेपछि नेपाल राष्ट्र बैंक, भन्सार विभाग र उद्योग विभागले पछिल्लो समयको वित्तीय अवस्थाका सूचकहरू सार्वजनिक गरिसकेका छन् । ती सूचकहरूले अर्थतन्त्रको आय व्यय कमजोर प्रदर्शन भइरहेको र आन्तरिक क्षेत्र चलायमान हुन नसकेको संकेत देखाएका छन् । सरकारले लक्ष्यअनुसारको राजस्व पनि संकलन गर्न सकिरहेको छैन । मन्त्री भएको एक साता नपुग्दै मन्त्री पुनले पुँजी बजार सुधार गर्नका लागि नियामक निकायसँग एक साताको समय सीमा राखेर सुझाव मागेका थिए । तर, त्यसपश्चात मन्त्री पुनले अर्थतन्त्रलाई चलयामान बनाउने विषयमा अन्य कुनै निर्णय गर्न सकेका छैनन् । विभिन्न दातृ निकायका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने, मन्त्रीको जिम्मेवारी पाएकोमा शुभकामना लिने लगायतका विषयमा मन्त्रीको दैनिकी बितिरहेको छ । अर्थमन्त्रीको सचिवालयमा रहेर अहिले उनका पारिवारिक निकटका पात्र सन्तोष पुन, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले अनौपचारिक रूपमा काम गरिरहेका छन् । तर, अर्थतन्त्रको नीतिगत क्षेत्रको विज्ञ तथा सल्लाहकार स्तरको कुनै व्यक्तिलाई भने मन्त्री पुनले नियुक्त गर्न सकेका छैनन् । मन्त्रीको सचिवालयमा अनौपचारिकरूपमा काम गरिरहेका गुरुङले विज्ञहरूको नियुक्तिको विषयमा आफूलाई जानकारी नभएको र आफूले समेत अनौपचारिक रूपमा काम गर्दै आएको बताएका छन् । अर्थविद् केशब आचार्यले भने मन्त्रालयकै कर्मचारीलाई विश्वासमा लिएर काम गर्न सक्ने हो भने छुट्टै सल्लाहकार वा विज्ञ नियुक्तिको आवश्यकता नपर्ने बताउँछन् । तर, यसले योे पार्टीलाई भोट दिन्छ भन्ने हिसाबले नहेरिकन काम गर्दा अर्थमन्त्रीको सबैभन्दा नजिकको सल्लाहकार भनेको अर्थसचिव भएको उनको बुझाइ छ । तर, पछिल्लो समय निवर्तमान अर्थमन्त्री डा. महतले मन्त्रालयमा निर्माण गरेको व्यूरोक्र्याट्सहरूको मुख्य टिम अर्थात् सचिवहरूदेखि महाशाखा सम्हाल्ने सचिवहरूको टिम नै सरुवा हुनसक्ने हल्ला मन्त्रालयमा फैलिएको छ । जसले गर्दा मन्त्री र कर्मचारीबीचमा यतिबेला अविश्वासको वातावरण उत्पन्न भएको छ । असन्तुष्ट कर्मचारीलाई विश्वाल दिलाउनुको सट्टा उनले त्यसलाई अवज्ञा गर्दै भेटघाट तथा शुभकामना लिले कार्यक्रमलाई मात्रै जोडि दिइरहेका छन् । अर्थमन्त्रीले व्यूरोक्रेसी बाहेक पनि सल्लाहकार राखेर काम गर्दा योजना निर्माणदेखि समस्याहरूको पहिचान र सम्बोधन गर्न सजिलो हुने आचार्य बताउँछन् । ‘अर्थतन्त्रको ज्ञान खासगरी नेपाली अर्थतन्त्र कसरी चलेको छ, समस्याहरू के छन्, सबै समस्या समाधान गर्न नसकिए पनि प्राथमिकीकरण गर्ने राम्रो सेन्स भएको मान्छे सल्लाहकारमा राख्नुपर्यो,’ आचार्यले भने । साथै राजनीतिक रूपमा सबैसँग समान व्यवहार गर्न सक्ने र अन्तर मन्त्रालय समन्वय गर्नसक्ने क्षमता भएको व्यक्ति लिएर काम गर्न सकेमा अर्थमन्त्रीलाई काम गर्न सहज हुने उनको बुझाइ छ । तर, मुख्य विषय मन्त्रीमा नै अर्थतन्त्रको विषयमा जानकार भएको र व्युरोक्रेसीलाई निर्देशन दिने क्षमता हुनु पर्ने उनी बताउँछन् । ‘सल्लाहकार राख्ने भनेर अर्थतन्त्रको ज्ञान कम भएको ‘डाइहार्ड’ माओवादी वा वाईसीएलको मान्छे राख्दिनु भयो भने त्यो सल्लाहकारले सल्लाह दिने भन्दा पनि भाँड्न सक्छ,’ उनले भने । ‘मन्त्रीलाई पनि अर्थतन्त्रको ज्ञान भएको हुनुपर्छ, भएन भने पनि मलाई व्यूरोक्रेसीले चिप्ल्यायो की चिप्ल्याएन भन्ने थाहा पाउन सक्ने क्षमता मन्त्री स्वयंमा हुनुपर्छ’, आचार्यले थपे । बजेट ल्याउन ठिक दुई महिना बाँकी रहँदा अर्थमन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा कुनै सुरसार छैन । बजेट व्यवस्थापन महाशाखाले बजेट निर्माणका लागि कुनै तालिका समेत बनाएको छैन । विगत वर्षको तुलनामा अहिले बजेट निर्माणको काममा ढिलाइ हुने संकेत देखिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । साथै राजस्व सचिवको नेतृत्वमा बनेको राजस्व परामर्श समितिको बैठक समेत बस्न सकेको छैन । निवर्तमान अर्थमन्त्री डा. महतले पनि मन्त्रीको जिम्मेवारी लिएपछिको केही समयपछि मात्रै विज्ञहरूको नियुक्ति गरेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अर्थविद डा. पोषराज पाण्डेलाई उनले सल्लाहकारमा नियुक्त गरेका थिए ।
नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, १९ सय बढी विद्यार्थी लाभान्वित
काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंक नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो । मार्च १८ देखि २४ गतेसम्म विश्वभर प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । नबिल बैंकले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ । ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ । वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएका थिए । त्यस्तै मधेश प्रदेशका २२० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएका थिए । बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि र्यालिमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए । लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन् । गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बिच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो । अन्तिम नतिजा यसै साता घोषणा गरिदैँछ । यस कार्यक्रम अन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ । नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ । युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
सेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक १०.१४ अङ्कले बढेर दुई हजार ४१.७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा वित्त समूह ०.०६, जीवन बीमा समूह ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.११ र जलविद्युत् समूह १.५८ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० बराबर रुपैयाँको कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता सेयर किनबेच भएको छ ।