विकासन्युज

वर्षको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । वि.सं २०८० सालको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.५२ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बुधबार भने ३ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । सो दिन ३०८ वटा स्क्रीप्स कारोबारमा आएका थिए । जसमध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात १२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने १३.७० रुपैयाँले घटेर प्रतिकित्ता ६१०.२० रुपैयाँमा झरेको छ । घटेको बजारमा माण्डु हाइड्रोपावरको सेयर मूल्य करिब सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ रुपैयाँले बढी हो । यता सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोको १० प्रतिशतले घटेर प्रतिकित्ता १७१ रुपैयाँमा र विन नेपालको ९.९३ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ । बुधबार उत्पादनमूलक र ट्रेडिङ समूह सामान्य बढेका छन् भने बाँकी समूह घटेका छन् ।

खालि खुट्टा आएका नेताहरुको चारवटा घर काठमाडौंमा कसरी आयो : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरु र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गरेका हुन् । बहुदलपछि खालि खुट्टा आएका नेताहरुको चार, चारवटा घर काठमाडौंमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे । भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताए । ‘२०४७ सालपछिको सम्पतिको छानविन गरौँ । निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरुको घर–घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ? निश्चित रुपमा छानविन गर्नुपर्छ । तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती गर्यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानविन गर्नुपर्छ’, उनले भने । उनले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

अब्बल बन्दै प्राइम र एभरेष्ट बैंक, तेस्रो स्थानका लागि यी ६ बैंकबीच प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड ६० लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार बैंकहरूले सो नाफा गरेका हुन् । जुन माघ महिनाको तुलनामा करिब २० प्रतिशत बढी हो ।माघसम्म बैंकहरूले ३५ अर्ब बढी नाफा गरेका थिए । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले फागुनसम्म ४ अर्ब ७२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । नाफमा दोस्रो ग्लोब आइएमई बैंक देखिएको छ । ग्लोबलले फागनुसम्म कुल ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो । अन्य ६ वटा बैंकबीच भने तेस्रो हुनका लागि प्रतिस्पर्धा देखिएको छ । थोरै रकमका आधारमा अहिले प्राइम कमर्सियल बैंक नाफामा अगाडि देखिएको छ । प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । यो बैंक मर्जरबिनै अन्य बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । यस्तै, नाफा बढी गर्ने प्रतिस्पर्धामा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि रहेका छन् । यी बैंकले क्रमशः २ अर्ब ८७ करोड ७० लाख, २ अर्ब ८० करोड ४० लाख, २ अर्ब ५४ करोड २० लाख, २ अर्ब २९ करोड, ३० लाख र २ अर्ब ८ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन् । झिनो रकममा यी बैंक अगाडि/पछाडि भएपनि तेस्रो स्थानका लागि भने यी ६ वटै बैंकको प्रतिस्पर्धा देखिएको छ । एभरेष्ट बैंक पनि मर्जर बिनै ठूला बैंकसँग बिजनेसमा प्रतिस्पर्धा गरिरहेको छ । आठ महिनाको अवधिमा कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६० लाख, हिमालयनले १ अर्ब ९४ करोड ८० लाख, एनएमबिले १ अर्ब ९२ करोड ५० लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड, सिद्धार्थले १ अर्ब ६९ करोड ६० लाख, सानिमाले १ अर्ब ६६ करोड ४० लाख, प्रभुले १ अर्ब ५१ करोड ४० लाख, कुमारीले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, नेपाल बैंकले १ अर्ब २८ करोड २० लाख, सिटिन्सले १ अर्ब २२ करोड ६० लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ८० लाख रुपैयाँ नाफा गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ?

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु) मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ । हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरुपमा सुरक्षित रहेको रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले नयाँ हेडवर्क्स निर्माणका पहिचान गरिएको स्थान हाल हेडवर्क्स भएको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको बताए । उनले उक्त स्थानमा एक किलोमिटरभन्दा कम लम्बाइको सुरुङ निर्माण गरे पुग्ने देखिएकाले सार्कस्थलीमै नयाँ हेडवर्क्सका लागि उपयुक्त रहेको जिकिर गरे । ‘प्रस्तावित नयाँ स्थान हाल हेडवर्क्स रहेको स्थानभन्दा करिब एक सय मिटर उचाइमा छ । ‘फ्लसिङ’ प्रणालीबाट निर्माण गर्न सहज हुने तथा विगतमा जस्तै प्राकृतिक विपत् आएमा कम प्रभाव पर्ने अध्ययनले देखाएको छ’, उनले भने, ‘प्रस्तावित स्थानको दायाँ, बायाँ र पिँधमा समेत चट्टान अवस्थित रहेकाले दिगो हुने देखिएकाले प्रस्तावित नयाँ स्थान सुरक्षित छ ।’ उनले हरेक मनसुनको औसत बाढी र यस्तै किसिमको बाढीबाट संरचनामा कम प्रभाव पर्ने, हरेक वर्ष बर्सातको समयमा जम्मा हुनसक्ने ढुङ्गा, माटो र गेग्रानबाट पानी पथान्तरणमा प्रतिकूल असर नपर्ने देखिएको बताए । मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि प्रारम्भिक अनुमानित खर्च रु चार अर्ब ५० करोड लाग्न सक्ने भन्दै उहाँले लागत व्यवस्थापनका लागि दातृ निकायसँग पनि अनुरोध गर्ने बताए। उनका अनुसार नयाँ हेडवर्क्स निर्माणका लागि पाँच वर्ष लाग्नेछ । अन्सारीले ग्राभेल र सेडिमेन्ट हटाउने प्रणाली सुरुङभित्रै निर्माण गर्ने, बाढीको कारणले निर्मित संरचनामा कुनै असर नपर्ने, प्रस्तावित नयाँ इन्टेकसम्म पुग्नो लागि सुरुङभित्रै मार्ग निर्माण गर्ने बताए । बर्सातको समयमा पनि रेखदेख, मर्मत र सम्भारमा समस्या नपर्ने, याङ्ग्रीबाट आउने सुरुङलाई पनि हालको मेलम्ची सुरुङमा सिधै जोडिने भएकाले कुनै एक नदीमा समस्या भएमा पनि अरू दुईवटा नदीबाट निरन्तररुपमा काठमाडौँ उपत्यकामा पानी प्रवाह गर्न सकिने उनको भनाइ छ । ‘एसियाली विकास बैङ्कको प्राविधिक सहयोगमा बाढी आउनुको सम्भावित कारण र दिगो समाधानको उपायको सम्बन्धमा अध्ययन गरिएको छ’, उनले भने, ‘नयाँ हेडवर्क्सका लागि डिजाइन अवधारणा तयार गरी हेडवर्क्स निर्माणका लागि स्थान पहिचान गरिएको छ । विद्यमान हेडवर्क्सको दिगो उपयोगको सम्बन्धमा अध्ययन गर्ने र दिगो समाधानको अवधारणा अध्ययन गरी सोबारे राय दिने काम भइरहेको छ ।’ हालको हेडवर्क्स प्रयोगमा समस्या हालको हेडवर्क्स प्रयोगका लागि खोलालाई १० किलोमिटरभन्दा बढी गहिराएर साबिककै सतहमा ल्याउनुपर्ने भएकाले अहिलेको स्थानमा हेडवर्क्स प्रयोग गर्दा थप समस्या उत्पन्न हुनसक्ने अन्सारीले बताए । ‘हाल जम्मा भएको गेग्रानको करिब ७० देखि ८० प्रतिशतसम्म हटाउनुपर्ने र खोलामा जम्मा भएको गेग्रान एकपटक हटाए पनि हरेक वर्ष बर्षातको समयमा पुनः गेग्रान जम्मा हुने अवस्था आउनसक्छ’, उनले भने, ‘भूकम्प पश्चात हेडवर्क्सको विपरीत बायाँ किनारामा ठूलो पहिरो सक्रिय रहेकाले कुनै पनि समयमा हेडवर्क्समा क्षति गर्नसक्ने सम्भावना छ । साथै यस सवलीकरणका लागि ठूलो रकम आवश्यक पर्ने तर दिगो हुने सम्भावना कम छ ।’ हाइड्रोलोजी विज्ञ तथा अध्ययन कार्यदल प्रमुख प्रा डा विष्णुप्रसाद पाण्डेले पनि हालको हेडवर्क्स पानी जम्ने स्थानमा पर्ने भएकाले हेडवर्क्स सञ्चालन गर्न चुनौती देखिएकाले नयाँ स्थानमा सार्नुपर्ने बताउँछन् । ‘पुरानै स्थानमा हेडवर्क्स रहँदा फ्लसिङ सुविधाको व्यवस्था गर्नुपर्छ, निकास फ्लसिङ व्यवस्थाका लागि नदीको घुमाउरो एल प्रोफाइल परिमार्जन गर्न गाह्रो देखिने चुनौतीहरु छन्’, उनले भने, ‘बायाँ किनारमा पहिरोको स्थिरीकरणका लागि ठूलो लगानीको आवश्यकता पर्दछ, जुन लामो समयसम्म टिकाउ नहुन पनि सक्ने भएकाले अन्यत्र हेडवर्क्स सार्नु उपयुक्त हुन्छ ।’ मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाउन मध्यकालीन र दीर्घकालीन समाधानको समेत प्रस्ताव गरिएको छ । ‘दीर्घकालीन समस्या समाधानका लागि सार्कस्थलीमा नै आयोजना सार्नुको विकल्प छैन,’ पाण्डेले भने, ‘मध्यकालीन समाधानका प्रस्तावित सबै उपायहरू डिजाइन/लागू गर्न करिब साढे दुई वर्ष लाग्छ । बायाँ किनारबाट हुनसक्ने पहिरोसँग सम्बन्धित जोखिम भने कायमै रहन्छ ।’ मेलम्चीमा यसअघि नै ठूलो मात्रामा लगानी भइसकेको र टनेल पूर्वाधारमा बजेटको ठूलो हिस्सा खर्च भएकाले पुरानै संरचना प्रयोग गरी हेडवर्क्स सार्नुपर्ने उनको सुझाव छ । ‘सन् २०२१ को बाढीले हेडवर्क्समा क्षति पुर्याए पनि धेरै लागतमा निर्माण भएका टनेल तथा अन्य संरचनाहरु सुरक्षित छन् । ती संरचनालाई सदुपयोग गर्दै पहिले नै उपलब्ध पूर्वाधारको सदुपयोग गर्नु उपयुक्त हुन्छ’, उनले भने । यद्यपि हेडवर्क्स सार्ने हालको प्रस्तावित नयाँ स्थान सुरक्षित रहेको भन्ने आधार नभएको भन्दै आलोचनासमेत भइरहेको छ । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्दै बाह्रै महिना पानी ल्याउनका लागि सार्कस्थलीमा आयोजनाको हेडवर्क्स बनाउने तयारी गरिरहेका पनि उक्त स्थान पनि असुरक्षित रहेको उनको भनाइ छ । ‘सार्कस्थली कसरी सुरक्षित हुन्छ ? सुरक्षित हुन्छ भनेर त्यहाँ आयोजना सार्नु गलत छ, मुहान सार्ने निर्णय गलत हो’, उनले भने । गत साता मन्त्रालयले आयोजना गरेको दिगो व्यवस्थापनसम्बन्धी अन्तक्रियामा धारणा राख्दै अन्य सरोकारवालाहरुले पनि सार्कस्थली सुरक्षित भन्ने आधारको विषयमा प्रश्न उठाभएका थिए । तीन दशकको पखाइपछि बनाइएको आयोजना अनिश्चित बनेसँगै उपभोक्तालाई खानेपानीको समस्या फेरि पनि झेल्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ थियो । गत साउन २८ र २९ गते आएको बाढीले पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको खानेपानी आयोजनाबाट पानीको आपूर्ति बन्द गर्नुपरेको थियो । आयोजनाको अस्थायी सुधारभएपछि गत माघ १ गते उपत्यकामा खानेपानी वितरण भएको थियो । विज्ञहरुले भने कम जोखिमपूर्ण स्थानमा आयोजना निर्माण गर्न सुझाव दिएका छन् । विगतमा पनि मेलम्चीको भौगर्भिक अवस्थाबारेमा राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको उनीहरुको भनाइ छ । भूगर्भविद् डा सुबोध ढकालले आयोजना सुधार कार्य प्रारम्भ गर्नुअघि नै प्रास्तावित नयाँ स्थान जोखिमपूर्ण रहेको वा नरहेको विषयमा गहन रुपमा अध्ययन गर्न सुझाव दिएका छन् । ‘आयोजना क्षेत्रको मात्रै अध्ययन गरेर हुँदैन, तल्लो र माथिल्लो तटीय क्षेत्रको पनि अध्ययन गर्न जरुरी छ, पहिरोको सम्भावना कतिको छ रु विगतमा के भएको थियो रु कसरी विपत्मैत्री आयोजना निर्माण गर्ने विषयमा ध्यान दिनुपर्छ’, उनले भने, ‘यदि आयोजनामा फेरि पनि लापरबाही गर्न थालियो भने अब हेडवर्क्स स्थानान्तरण गर्दैमा आयोजना सुरक्षित हुने छैन ।’ उपत्यकामा जनसङ्ख्याको बढ्दो चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ । रासस

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाडौं । नयाँ वर्षमा टाटा मोटर्सले नयाँ कार योजना ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ २०८१ योजना ल्याएको हो । कम्पनीका अनुसार यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निस्शुल्क प्राप्त गर्न सक्नेछन । यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि सडक महोेत्सवको आयोजना गरिएको उनको भनाइ छ । संयोजक राजभण्डारीले चैत ३० गते शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको उपस्थितिमा ठमेल सडक महोत्सव गर्न लागिएको बताए । सोही दिन साँझ ठमेलभित्र उत्पादित सामग्री बिक्रीवितरणका साथै सांस्कृतिक कार्यक्रम हुनेछन् । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवका लागि सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई कडाइ गरिने उनको भनाइ छ । अध्यक्ष शर्माले ठमेललाई सुन्दर, आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि ठमेलभित्रको तारलाई व्यवस्थापन र सडक कालोपत्र तथा मर्मत गरिसकिएको जानकारी दिए । परिषद्ले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सिसिटिभी जडान गरिसकेको अध्यक्ष शर्माको भनाइ छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभरि कार्यक्रम हुने भएकाले मान्छेको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भन्दै बाहिरबाट यहाँ भित्रिने सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषद्ले आग्रह गरेको छ ।

काँग्रेसले सहकारी प्रकरणलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैन : मनिष झा

  काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । उनले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए । उनले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए । सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गरे । ‘सुशासन नपाएर यो देशमा समस्या भएको हो । र ती सबै चिजको समाधानका लागि गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बनेको हो ।  किनकी हाम्रो दलको सृजना र स्थापनाको आधार नै त्यही हो ।  सरकारमा हामी संलग्न भएपनि, नभएपनि यो देशमा भ्रष्टाचारीलाई, बलात्कारीलाई सजाय दिनुपर्छ । कृपया, त्यो नहटाईदिनुस भनेर सरकारलाई भन्यौं । हामीले यहाँ बोल्यौं २०४७ पछिको सबै छानविन गरौं भनेर । ल आउनुस् अब हामी एक ठाउँमा आईपुगेका छौं । २०४७ पछिको सबै फाईल खोलौं’, उनले भने । सांसद झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिए ।

८० वर्षीया नर्स टुका क्षेत्रीको कथा

काठमाडौं । उमेर थियो, पढे-लेखेकी थिइन् । कहिले सहर त कहिले विकट गाउँमा पुगेर स्वास्थ सेवा दिइन् । पाल्पा, संखुवासभा लगायतका पहाडी जिल्लादेखि काठमाडौं, बुटवल, नेपालगञ्ज सहरका घर-घरमा पुग्थिन् उनी । नागरिकले पाएका स्वास्थ्य समस्या बुझ्थिन् । सकेको उपचार आफैं गर्थिन्, नसकेको समस्या लेखेर सम्बन्धित क्षेत्रमा पुर्याउँछिन् । किनकी उनी एउटा नर्स हुन् । उनी अर्थात् टुका सेन्डुयल क्षेत्री । जीवन सधैँ एकनासको कहाँ हुन्छ र !, अहिले जवानी सकियो, बुढ्यौलीले छोयो, निधार खुम्चियो, गाला चाउरिए । न पहिले जस्तो सोच आउँछ, न त जाँगर । तर, पनि नेपालको स्वास्थ्य क्षेत्रमा केही काम गर्ने धोको भने टुकामा उस्तै छ । कर्मभूमी जहाँ भएपनि उनको जन्मभूमी भने नेपाल हो । नेपालको स्वास्थ्य क्षेत्रमा जीवनको महत्वपूर्ण तीन दशक समय व्यतित गरिन् । अहिले पनि उनलाई नेपालको स्वास्थ्य क्षेत्रप्रति उत्तिकै चिन्ता र चासो छ । विदेशी भूमिबाटै अहिले पनि उनी सकेको सहयोग गर्छिन् । बेला बखत नेपाल आएर सेवा गर्छिन् । उनले जुम्लामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा गरिरहेकी छन् । उनी अहिले ८० वर्षकाे पुगिन् । परिवार बेलायतमा छ । दुई छोराछोरी बेलायतमै चिकित्सकका रूपमा काम गरिरहेका छन् । अघिल्लो साता उनी आफ्ना दुई जना नातीलाई ल्याएर काठमाडौं आइन् । हजुरआमाले पढेको, काम गरेको ठाउँ हेर्न नातीले इच्छा देखाएपछि उनी नेपाल आइन् । नेपालका विभिन्न ठाउँ घुमाइन्, आफू जन्मेको ठाउँ, पढेको गाउँ र काम गरेको ठाउँ सबै देखाइन् । ‘उनीहरूलाई पनि म जन्मेको, हुर्के बढेको/पढेको ठाउँ देखाउन आएँ,’ उनी भन्छिन्, ‘मान्छे जुनसुकै ठाउँको होस्, उसले आफ्ना पुर्खाबारे थाहा पाइराख्नुपर्छ, मैले पनि आफ्नो बारेमा जानकारी दिन नातीलाई नेपाल ल्याएर घुमाएँ ।’ टुका जन्मेको ठाउँ लमजुङको दुराडाँडाँ हो । उनको समयमा छोरीहरू मात्र होइन छोरा पनि फाट्टफुट्ट स्कुल जान पाउँथे । छोरीहरू सात/आठ वर्षको हुँदा विवाह हुन्थ्यो । तर, टुकालाई भने विवाह गर्न न परिवारले कर गर्यो, न उनी आफैं तयार भइन् । उनका बुवा धेरै पढे लेखेका थिएनन् । तर, संस्थानी पढ्ने, चिठ्ठी लेख्न, पढ्नसम्म आउँथ्यो । तर, विद्यालय गएर पढ्ने चलन थिएन । छोराछोरी पढ्ने चलन नभए पनि टुकाका बुवाले उनलाई कखरा लेख्न सिकाउँथे । घरमै बोर्ड बनाएर माटो राख्दै सिन्काले उनलाई लेख्न सिकाउँथे । उनकी आमालाई लेखपढ गर्न आउँदैन्थ्यो । आफुलाई पैसा समेत चिन्न समस्या पर्दा उनकी आमा तिमीले पढ्नुपर्छ भनेर सल्लाह दिन्थिन् । उनका तीन जना दाजुभाई थिए । बहिनी उनी एक्लै थिइन् । उनको माइला दाई ब्रिटीस आर्मीं थिए । बेला-बेला घरमा चिठी लेखेर पठाउँथे । बा घरमा नहुँदा दाइको चिठी आउँदा पढ्ने मान्छे खोज्नु पर्थ्याे । यो समस्या उनको परिवारले धेरै भोग्नु पर्यो । यही समस्याले पनि उनलाई पढाउनुपर्छ भन्ने ध्यान उनका आमाबुवामा भयो । उनको गाउँमा त्यो बेला एकजना कांग्रेसका नेता थिए श्रीकान्त अधिकारी । उनी गाउँमा टाठाबाठा, परेको बेला सहयोग गर्थे । उनले पनि टुकालाई पढाउन बालाई सल्लाह दिन्थे । घरबाटै कखरा सिकेकी उनी गाउँमा विद्यालय खुलेपछि सिधै कक्षा तीनमा भर्ना भइन् । उनै श्रीकान्त अधिकारीले गाउँमै सर्वदा निमावि नामक सञ्चालनमा ल्याए । ‘बिहान बेलुका घरमा बुवा पढाउँथे, दिउँसो स्कुल जान्थेँ,’ उनी भन्छिन्, ‘त्यो बेलामा ७ मोहोर विद्यालय भर्ना भइन्थ्यो, किताब कापी आफैं किन्नु पर्थ्याे ।’ ८ कक्षासम्म उनी गाउँमै पढिन् । त्यसपछि भने बुवाको प्रस्तावमा काठमाडौं पढ्न आइन् । पाँच दिन लगाएर काठमाडौं टुकालाई काठमाडौं पढ्न पठाउने विषयमा घरमा कुराकानी भयो । त्यो बेला अहिले जस्तो यातायातको सुविधा थिएन । चिनजानका मान्छे पनि धेरै थिएनन् । उनी तिनै श्रीकान्त दाइको सल्लाह अनुसार काठमाडौं पढ्न आउन तयार भइन् । उनका बुबा उनलाई पुर्याउन आए । पाँच दिन, पाँच रात हिँडेर उनी बुवासँग काठमाडौं आइन् । त्यो बेला काठमाडौंलाई नेपाल भनिन्थ्यो । उनी काठमाडौं पुगेर क्षेत्रपाटीमा रहेको कन्या मिन्दरमा भर्ना भइन् । त्यही स्कुलमा माधवप्रसाद घिमिरेको छोरी कान्ति पनि पढ्थिन् । उनी एउटै जिल्लाको भएर पनि उनलाई कान्ति हुँदा सहज भएको अनुभव भयो । टुका लैनचौरमा गाउँकै दुई जना दिदीसँग डेरा लिएर बसिन् । ‘गाउँ छाडेर काठमाडौं आइसकेपछि सबै नयाँ थियो, ‘काठमाडौं आएर बस्न मलाई समस्या भयो,’ उनी भन्छिन् । नर्सिङ पढ्ने धोको उनी एकदिन विद्यालय पढ्न जाँदा बाटोमा स्कुल अफ नर्सिङ देखिन् । स्कुल जाँदा आउँदा जब स्कुल अफ नर्सिङ देख्थिन् उनलाई त्यस विषयमा झन चासो लाग्थ्यो । उनलाई त्यो देखेर मनमा उत्सुकता जाग्यो । नर्सिङ पढ्न के गर्नुपर्छ, कति खर्च लाग्छ ? कस्तो विद्यार्थीले पढ्न पाउँछन् ? उनलाई यो विषयमा बुझ्ने इच्छा जाग्यो । ‘रहर नर्सिङ पढ्ने थियोे । तर, पढ्न के गर्नुपर्छ भने थाहा थिएन,’ ‘उनले आफ्नो कथा सुनाउँदै भनिन्, ‘नर्सिङ पढ्ने भन्दा पनि मलाई त्यो युनिफर्मले बढी तान्यो, निलो चिटिक्क मनै लोभ्याउने । तर, जाने सुनेको केही थिइनँ, त्यसैले एकदिन त्यहाँ गएर आफैं कुरा गर्ने योजना बनाएँ,’ उनले विगत स्मरण गर्दै भनिन् । सो नर्सिङ स्कुलको गेटमा पाले थिए । उनले पालेसँग कुरा गरिन् । पालेले भित्र खबर गरिदियो । एकछिन् पछि उनलाई भित्र बोलायो । त्यहाँका मान्छेसँग उनले आफ्नो कौतुहलता सोधिन् । उनले नर्स पढ्न कति पढेको हुनुपर्छ योग्यता के के चाहिन्छ भन्ने कुरा सोधिन् । उनीहरूले घर कता हो भन्दै सोधपुछ गरे । उनले लमजुङ भन्ने बित्तिकै आउ भित्र बस भनेर बोलाइ हाले । उनलाई अंग्रेजीमा रहेको पत्रिलाई नेपालमा ट्रान्सलेट गर्न भनियो । उनले ट्रान्सलेट गरेर सुनाइन् । तिमी पास भयौ भनेर पछि जानकारी पाइन् । ‘त्यो बेला पहाडको केटी भनेपछि यो क्षेत्रमा पढ्न मिल्ने अवसर धेरै हुन्थ्यो,’ उनी भन्छिन् । टुकाले यो खबर बुवाको कानमा पु¥याउन चिठ्ठी लेखिन्, बुवाले तिम्रो इच्छा हो जे गर्छौ गर भनेर खबर पठाए । त्यसपछि उनको पढाइ सुरू भयो । बुवाको इच्छा बैद्य बनाउने टुकाका बुवालाई छोरी कविराज (वैद्य) बनाउन मन थियो । उनलाई पढ्न हौसाला दिने श्रीकान्त दाइको भाइ कृष्णकान्त (वैद्य) थिए । उनी गोरखामा काम गर्थे । दशैं, तिहारमा बिदाको बेला घर जाँदा उनको घरमा बिरामीको भीड लाग्थ्यो । कोही औषधी उपचार गर्थे, कोही जाँच गर्न आउँथे । कृष्णकान्तको घरमा मान्छेको भीड लाग्दा टुकाका बुवालाई पनि आफ्नो छोरीलाई यस्तै (वैद्य) बनाउने मन लाग्यो । बुवाले भनेको कुरा सम्झदै उनले सुनाइन्, ‘हेर त त्यसले कति राम्रो काम गरेको, यस्तो काम गर्दा मान्छेको सेवा पनि हुन्छ, धर्म पनि हुन्छ, पैसा पनि कमाइन्छ, तिमी पनि अब यस्तै बन्नुपर्छ बुवाले मलाई भन्नुहुन्थ्यो ।’ टुकालाई कविराज बनाउने सपना देखिरहेको बुवाको हातमा छोरीले नर्सिङ पढ्न सुरु गरेको पत्र पुग्यो । उनका बुवाले तिमी जे गर्छौ राम्रो गर म सहमत छु भनेर चिठ्ठी पठाए । टुकाले नर्सिङ पढ्ने अवसर पाएपछि कन्या मन्दिरको पढाइ छोड्नि । उनी नर्सिङ पढ्दा नेपालमा नर्सिङ नेपाल सञ्चालनमा आएको ४ वर्ष भएको थियो । उनले नर्सिङ पढेर सकेपछि प्रसूति गृह क्षेत्रमा रहेर कम्युनिटी नर्सको रूपमा काम गन गरिन् । कम्युनिटी नर्स भनेको घर–घरमा गएर जाँच गर्ने, केही समस्या पर्दा उपचार गर्ने काम गर्नुपथ्र्यो । उनले काम गर्ने क्षेत्र कुपण्डोल थियो । त्यहाँ एक वर्ष काम गरिसकेपछि सरकारी जागिर खाइन् । सरकारी जागिरे भइसकेपछि उनी फेरि पढ्न लेबनान गइन् । त्यहाँ उनले फेरि १ वर्षे कम्युनिटी नर्सिङ कोर्स गरिन् । त्यो बेला पढ्छु भनेपछि सरकारले नै जान छात्रवृत्ति दिएर पठाउँथ्यो । एक वर्ष कोर्स गरेर फर्किएपछि उनको प्रमोसन भयो । उनी बुटवलको एउटा हेल्थ पोष्टमा गएर काम गर्न थालिन् । उनले बुटवलमा काम गर्दै पञ्जाव युर्निभसिर्टीमा बिएसी नर्सिङ गरिन् । उनले त्यसपछि संखुवासभा, पाल्पा, नेपालगञ्ज गएर स्वास्थ्य क्षेत्रमा काम गरिन् । यसरी जीवनको आधा उमेर नेपालको स्वास्थ्य क्षेत्रमा बिताएकी उनले विवाहपछि भने बेलायतमा गएर काम गरिन् । बिदेशीसँग विवाह उनी बुटवलमा काम गर्दै जाँदा एक जना ब्रिटिस युवासँग भेट भयो । उनको नाम थियो जोन सेन्डुयल । उनी इन्जिनियर थिए । उनीसँग चिनजान भयो । किनकी उनी काम गर्ने अस्पतालको डाक्टर पनि त्यो बेला ब्रिटिस नै थिए । जोन उनका साथी थिए । जोनसँग भेट भएको १० वर्षपछि सन् १९७९ मा उनको विवाह भयो । त्यसपछि उनी नेपालको सरकारी जागिर छोडेर बेलायत गइन् । नेपालमा स्टाफ नर्सदेखि कम्युनिटी नर्समा १५/२० वर्ष काम गरिन् । विवाह गरेर बेलायत जाँदा पनि उनले त्यहाँ आफ्नो कामलाई निरन्तरता दिइन् । सुरुमा त्यहाँ काम गर्न युकेसीसीको नर्सिङ एशोसियसनमा रजिष्टर हुनुपथ्र्यो । उनले रिजस्टेशनको लागि निवदेन दिइन् । त्यसको केही समेयपछि चिठ्ठी आयो । अब तालिम लिनु पर्ने भयो । त्यसपछि उनी स्कुल अफ नर्सिङमा गइन् । उनले आफ्नो सर्टिफिकेट देखाइन् । सर्टिफिकेट देख्ने बित्तिकै तिमी रामो नर्स हौ, काम गर्न सक्छौँ भनेपछि त्यहाँको नर्सिङ एशोसियसनमा उनको नाम दर्ता भयो । उनी बेलायतमा पहिलो दर्ता हुने नेपाली नर्स थिइन् । त्यसपछि उनले उतै काम सुरु गरिन् । संखुवासभाको त्यो कहानी सन् १९८० मा टुका स्वास्थ्य मन्त्रालयबाट ट्रेनिङको लागि संखुवासभा गइन् । उनीसँग चार/पाँच जनाको समूह थियो । त्यो जिल्लाका हेल्थ क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई बोलाएर तालिम दिने कार्यक्रम थियो । तालिम सकिनु एक दिन अगाडि एउटा पुरुषले श्रीमतीलाई डोकोमा बोकेर ल्याएको दृश्य देखिन् । उनी ७ महिनाको गर्भवती महिला थिइन् । श्रीमानले तीन दिन श्रीमतीको पिसाब रोकिएको भन्दै उपचारको लागि खादवारी ल्याएका थिए । उनको उपचार गर्न सक्ने नेपाली नर्स गाउँमा थिएनन् । सामान्य जाँचसमेत गर्न सक्ने थिए । तर, उनले छुन चाहेन । किनकी उनी सक्दैन थिइन् । त्यसपछि टुका गइन् । उनले आफूसँग भएको सामानले महिलाको उपचार गरिन् । डोको बोकेर ल्याएकी महिला त्यसपछि हिँडेर गइन् । उनलाई खुसी सँगै दुःख पनि लाग्यो । त्यो घटनाले उनको मन अहिले पनि दुःखी हुन्छ । त्यसपछि उनलाई सेवा भनेको यस्तो ठाउँमा गर्नुपर्छ भन्ने लाग्यो । विदेशी कर्मभूमी टुका विदेश गएर उतै काममा व्यस्त भइन् । बेलाबखत उनलाई नेपालको याद आउँथ्यो । नेपालका गाउँ-गाउँमा गएर काम गरेको याद आउँथ्यो । तर, कर्मभूमी उनको विदेश नै थियो । त्यसपछि उनी एनआरएनएमा आवद्ध भइन् । त्यहाँको कमिटीमा बस्दा एनआरएनएले नेपालका विभिन्न ठाउँमा कार्यक्रम गर्ने गरेको थाहा पाइन् । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा प्रोजेक्ट लिएर काम गर्ने योजना बनाइन् । यो विषयमा सबैले सहमति पनि जनाए । तर, त्यो बेला कांग्रेस नेतृ सुजता कोइराला पनि त्यहाँ गएकी थिइन् । पहिले टुकाको योजनामा जान तयार फण्डिङपछि सुजताको भागमा प¥यो । जहाँ अफ्ठ्यारो छ, त्यहाँ काम गर्ने भन्दा पनि पहुँच र सम्पर्कका आधारमा काम हुँदो रहेछ उनले त्यो बेलाको तितो अनुभव सुनाइन् । दोस्रो पटक उनले आफ्नो योजना फेरि प्रस्ताव गरिन् । त्यसपछि त्यो योजना स्वीकृत भयो । उनले श्रीमानसँग पनि यो कुरा राखिन् । उनी पनि सेवाबाट रिटायर्ड हुनेबेला थियो । उनले त्यो पैसा निकालेर एनआरएनएले दिएको प्रोजेक्टमा राखिन् र जुम्लामा उनले बर्थिङ सेन्टर खोलिन् । युकेमा रहेका नेपानी नर्सहरूले नेपालको स्वास्थ्यमा काम गर्ने कुरा गरे । त्यसपछि टुकाले फेरि साथीहरूसँग मिलेर जुम्लाको बोडेगाउँमा अर्को बर्थिङ सेन्टर खोलिन् । अहिले ती दुवै बर्थिङ सेन्टरबाट सेवा जारी छ । यो साता काठमाडौंमा भेटिएकी टुकालाई यतिमै खुसी त छैन । तर, केही सन्तुष्टी भने अवश्य नै छ । ‘नेपालको स्वास्थ्य क्षेत्रमा सके जती सहयोग गरेँ, उनी भन्छिन्, ‘अब त उमेर पनि ढल्क्यो, कति बाँचिएला जन्मभूमीका लागि सके जति देशमै रहेर वा बाहिरै बसेर सेवा गरेँ, अब अस्ताउन लागेको सूर्यजस्तै आफैं छु, के गर्न सकिएला र ?’