विकासन्युज

महानगरले भित्तामा बनाउन थाल्यो चित्र (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरु लाइ मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन सुरु गरेको छ । काठमाडौं महानगरको सस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्री हरु रङ्ग्याउन सुरु गरेको छ । सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ । सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रदशनि मार्गमा रहेको वालहरु , विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।        

कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैँया वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् । यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं । यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ ।’ कुमारी बैंक पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध रहेको देखिन्छ भने भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ ।

गहिरिँदै पानीको संकट, सुक्दै मुहान

महोत्तरी । चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीका धारा चल्न छाडेका छन् । यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन् । जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार/पाँच वर्ष नै भइसक्यो । जुडी र जोकाहाको भुलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुञ्जेल गखरक्क रहन्छन् । ‘यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बार्हैमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियो भन्दा उदेक मान्छन्’, बर्दिवास–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भन्छन्, ‘यही जुडी भुलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो ।’ यसैगरी जोकाहा भुल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन् । ‘जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो’, बाँतर विरक्तिँदै भन्छन् । यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे । कतै पानी देखिन्न । पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन् । जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिएपनि उत्तरी क्षेत्रमा नामनिसान देखिदैन । ‘पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुबस्तुलाई नुवाइधुवाइ गराउन छाडियो’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारु भन्छन्, ‘अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ ।’ यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ । ‘हेर्नोस् न, धारामा पानी झर्नै छाड्यो’ घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास–२ की गृहिणी नगिना महतो भन्छन्, ‘अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिदैन ।’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख/जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ । दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउँछन् । बर्दिवासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ । चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी धाराबाट वितरण गरिदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो । ‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ’ बर्दिबास–१४ की सुनिता साह भन्छन्, ‘पानी बढी चाहिने बिहानपख नै धारा मा पानी आउँदैन ।’ अरु आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछन् । जतिखेर पनि पानी आइरहने धारामा अब त कतिबेला पानी आउँछ भनेर ताक पर्खनु पर्ने भएको गृहिणी बताउँछन् । बर्दिवास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडाबस्ती खानेपानी धारामा आश्रित छन् । वडानम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन् । अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो । यसैगरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ का रामविलास सिंह कुशवाहा बताउँछन् । ‘मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन’, कुशवाहा भन्छन् । मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुराबासी बताउँछन् । जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलबस्तीमा अहिले खानेपानीको समस्या बढेको छ । नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शङ्कर) स्वीकार गर्छन् । यद्यपि बस्तीबस्तीमा पालो मिलाएर धारामा पानी दिदै आइएको उनको भनाइ छ । ‘पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो’, फुयाल भन्छन्, ‘हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्बनमा लागेका छौँ ।’ सामान्यतया प्रत्येक वर्षजसो वैशाख/जेठमा पानीको सङ्कट झेल्दै व्यहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको हाहाकार पर्नसक्ने यस भेगका सर्वसाधारणको चिन्ता छ । भङ्गाहा–४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला पाँच/छ वर्षदेखि कवाडी बनेका रामनगर बस्तीका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन् । ‘चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्’, ठाकुर भन्छन् । बर्दिवास नगरपालिका क्षेत्रका धेरैजसो बस्तीमा नदी, खोल्साखोल्सी र जरुवाको पानी सङ्कलन गरेर भण्डार गरिएको पानी धाराबाट सर्वसाधारणलाई वितरण गरिदै आइएको छ । यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा फागुन अन्त्यदेखि नै घरघरमा वितरण गरिएका धारामा पानी घटेको हो । ‘हाम्रो धारामा आउने पानीको स्रोतका मुहान सुक्दै गएका छन् , त्यसैले यसपालि अलि चाँडै धारामा पानी घटेको हो’ बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेन भन्छन्, ‘तर हाहाकारकै स्थिति चाहिँ बनेको हैन ।’ बर्दिवास नगर क्षेत्रका बिजलपुरा, भेडियारीटोल र मेघरोलसहितका केही बस्तीमा खानेपानीको स्रोत चापाकल, पशुपतिनगर, बिजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका केही बस्तीमा इनार प्रयोग हुँदै आएका छन् । अहिले धमाधम चापाकल सुक्दैछन् भने इनारमा पानीको सतह निकै गहिरिएको छ । त्यसैगरी भङ्गाहा र गौशाला नगरक्षेत्रका दक्षिणी भेगमा खानेपानीका स्रोत इनार र चापाकल रहँदै आएका छन् । यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला–९ भरतपुरका शिवशरण राय बताउँछन् । ‘चापाकल धमाधम सुक्दैछन्’ आफ्नो आँगनको चापाकल देखाउँदै रायले भने, ‘अब यसपालि पछिपछि पानी ओसार्न बयलगाडा जोत्नु पर्लाजस्तो छ ।’ यता पानी पाइन छाडेपछि बयलगाडा जोतेर टाढाटाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो । भङ्गाहाका दक्षिणी भेगका बस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडानम्बर–४ र ५ का १० भन्दा बढी बस्तीमा पानीको सङ्कट चुलिदै छ । वडानम्बर–४ का प्रेमनगर, रामनगर, टोका, पलार र वडानम्बर–५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुम्हालटोल र चौधरीटोलमा चापाकल कुनै कामलाग्ने स्थितिमा नरहेका धतियाटोलका सामाजिक कार्यकर्ता सुपतलाल यादव बताउँछन् । ‘अब यी बस्तीमा चापाकल फेल (असफल) भयो, अहिलेलाई इनारले बचाइ राखेको छ’ यादव भन्छन्, ‘इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ ।’ यसैगरी रामनगर, प्रेमनगर र टोकाटोलका चापाकल यसअघि नै कवाडी बनेका स्थानीय बताउँछन् । भङ्गाहा नगर क्षेत्रका ४ र ५ नम्वर वडा बस्तीहरुमा बर्सेनि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ । ‘लगभग दुई दशकअघि होला, १५/१६ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके’ भङ्गाहा–४ रामनगरका ५८ वर्षीय गङ्गाराम महतो भन्छन्, ‘अब त ६० हात नपुर्याइ पानी भेटिदैन, किन यस्तो भएको होला ?’ यसैगरी चुरे पहाडी बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन् । चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्वर वडामा ४० भन्दा बढी बस्ती छन् । पाखा बस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । ‘पहिलेपहिले यहाँका खोल्सी र जरुवा कहिल्यै सुक्दैनथे, सधैं सदाबहार पानी चल्थ्यो’ बर्दिबास–४ माइस्थान शिरका ७० वर्षीय रामबहादुर राना भन्छन्, ‘पछिल्ला केही दशकयता नदी, पाखा र बगर पर्ति जग्गामा बालु ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि अनुकूल वर्षा हुन छाडेर पानीका मुहान सुकेका जान्ने बुझ्ने बताउँछन् ।’ वन उजाडिदै जानु र अवैध उत्खनन् नियन्त्रण हुन नसक्दा पानीका मुहान सुक्ने गरेका विज्ञहरुको भनाइप्रति आफू सहमत रहेको राना बताउँछन् । त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिबास–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा भोला श्रेष्ठ बताउँछन् । यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगरमा धमाधम इनार सुक्न थालेपछि चैत सकिनअघि नै खानेपानीको सङ्कट बढेको छ । खानेपानीका स्रोतका मुहानसँगै बस्तीबस्तीका सार्वजनिक पोखरी र डबरी (साना पोखरी) सबैजसो सुकेपछि बस्तुभाउको नुवाइधुवाइ र पानीघाटको सुविधा पाइन छाडेको छ । इनारको पानीबाहेक सिचाइको अरु सुविधा नहुँदा आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको भङ्गाहा–४ रामनगर बस्तीकै किसान चन्देश्वर राय दनुवार बताउँछन् । जिल्लाका गाउँ नगर बस्तीमा अचेल २०३० सालयता पहिलेका वन मासेर रोपिएका इक्युलिप्टिस (मसला, सपेता) ले पनि पानीको मुहान सुकाउँदै लगेको सर्वसाधारणको अड्कल छ । मसला सघन रोपिएका क्षेत्रमा त्यसअघि रहेका सदाबहार भूल (जरुवा) सबै सुकेका बर्दिबास–८ हाथीलेटका शेरबहादुर तामाङ बताउँछन् । यसपालि हिउँदे वर्षा राम्ररी नभएको, यसै चैतको दोस्रो साताको क्षणिक वर्षाले पानीका मुहान रसाउन नसकेका र नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन् गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाउँदा पानीको सङ्कट बढेको हो । यसैगरी चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैत नसकिदै पानीको सङ्कट बढेको विज्ञ बताउँछन् । ‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौं’ महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, ‘नदीहरुको अनियन्त्रित दोहन रोक्न, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट झनझन बढ्दै जानेछ ।’ विसं २०७४ यता स्थानीयतहमा जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार चाँडै सुक्ने गरेका भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरेविज्ञ डा। विजयकुमार सिंह बताउँछन् । चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एबम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने डा। सिंह ठोकुवा गर्छन् । विगतमा राष्ट्रपति चुरे मधेश संरक्षण तथा विकास समितिमा आबद्ध रहेका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल गर्दै आएका छन् । पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, जङ्घा, भब्सी, रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा पानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइ स्थानीय तहले भने बेवास्ता गरेका सर्वसाधारणको गुनासो छ । यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । ‘हामी नदीनाला, नदीउकास जग्गा र अन्य प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोेगका नीति कसरी बनाउँदा राम्रो हुन्छ भन्ने सघन छलफल गरी रहेका छौँ’ भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्छन्, ‘विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना छनौट गरिदा र कार्यान्वयमा लगिदा प्राकृतिक सम्पदाहरुको संरक्षणलाई ध्यान दिएका छौँ, यस्ता विषयमा पर्याप्त गम्भीरता अपनाइएको छ ।’ स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिइएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञहरुको मत पाइन्छ । रासस

देवेन्द्ररमण खनालले पाए राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी देवेन्द्ररमण खनाललाई दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत खनालले कामु जिम्मेवारी पाएका हुन् । चैत २९ गतेदेखि लागू हुने गरी खनाललाई कामु सीईओको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।

म्यान्मारले एक वर्षमै निर्यात गर्यो नौ अर्ब डलरका सामान

याङ्गुन । म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ । यद्यपी यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२-२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२-२३ मा म्यान्मारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो । मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट तीन अर्ब ३० करोड तथा निजी क्षेत्रका उपक्रमबाट पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३-२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाई छ । म्यान्मारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यान्मारले कृषि, पशु, खनिज, वन्यजन्य समेतका वस्तुहरु चीन, थाइल्यान्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ । रासस/सिन्ह्वा

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबी प्रक्षेपण, मौद्रिक नीति लचिलो हुनुपर्ने

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो । जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ । सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ । कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ । नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ । प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको जानकारी दिए । कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको जानकारी दिए । ‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडिबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जिडिपीको तथ्यांक निकालिसकेको छ । यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ । त्यसलाई सुधार गर्न औजारहरु मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् । पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक उर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ’, उनले भने । एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ । अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।

गाडी किन्दा १० लाखसम्म छुट, सस्तो हुँदै कर्जाको ब्याज

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा देशमा विभिन्न ब्रान्डका गाडी बिक्रेता कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका छन् । सवारी साधन खरिदबिक्रीमा कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका हुन् ।कम्पनीहरूले विभिन्न गाडी खरिदमा नगद छुट, बीमा सुविधादेखि एक्सचेन्जसम्मका अफर सार्वजनिक गरेका हुन् । कुनै कम्पनीले ग्राहकलाई एक वर्षको बीमा सुविधा, १० लाखसम्म नगद छुट र अन्य सामानहरू उपहारहरू पाइने स्कीम ल्याएका छन् । यस्ता छन् अफर निसान गाडी किन्दा ६ लाखसम्म छुट नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नगद छुटमा केन्द्रित नयाँ वर्ष अफर ल्याएर यस्तो अवसर प्रदान गरेको हो । नगद छुट र एक्सचेन्ज बोनसको साथ ग्राहकले १ वर्षको इन्स्योरेन्स तथा एक वर्षकै रोड ट्याक्ससमेत निःशुल्क पाउनेछन् । उक्त अफर निसानको सबै मोडलमा लागु हुने बताइएको छ । निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् । फक्सवागेनको ७ प्रतिशतभन्दा कम ब्याज फक्सवागेनको आधिकारीक बिक्रेता पूजा इन्टरनेसनल नेपालले नयाँ वर्ष अफरे ‘नयाँ वर्ष नयाँ पन’ नामको अफर ल्याएको छ । यस अफरमा ६.९९ प्रतिशतमा एसयूभी किन्न पाइने कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन गरेको स्कीममा ग्राहकले ५ वर्षसम्मका लागि स्थीर ब्याजदरमा कर्जा सुविधा पाउने छन् । फक्सवागेनले ल्याएको स्कीममा पनि बैंक तथा वित्तिय संस्थाबाटै कर्जा लिने हो । तर, त्यसमा नपुग ब्याज कम्पनीले नै ब्योहोर्ने छ । जर्मन ब्राण्डले भारतमा उत्पादन गरेको एसयूभी टाइगुन नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको खरिदमा ग्राहकले निःशुल्क एसोसरिज, एक वर्षको वार्षिक कर, ठाँउका ठाँउ पुरानो गाडीको भ्यालूएसन र टेस्ट ड्राइभमा आकर्षक उपहार दिने जनाएको छ । टाटा मोटर्समा एक्सचेन्ज सुविधा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि नयाँ कार योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटा मोटर्सको शोरूममा भएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ । त्यस्तै, जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्ज गर्न सकिनेछ । यसका लागि एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क गरिने कम्पनीले जनाएको छ । यो योजना टाटा मोटर्सको देशभर रहेका शोरूममा लागू हुने भएको छ । जिडब्लुएमका गाडी किन्दा १० लाखसम्म छुट पाइने विश्वव्यापीरूपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत जिडब्लुएमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जिडब्लुएमका मोडेलहरूमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले विभिन्न लाभहरू पाउन सक्नेछन् । ओरा ०३ ईभीमा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित ५ लाख रुपैयाँसम्मको फाइदा पाउन सकिने कम्पनीले जनाएको छ । हालका एच् सिक्स, र जोलायनमा ८ लाख ५० हजार रुपैयाँ सम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधामार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् । सिट्रोनको एक्सचेन्ज अफर नयाँ वर्षको अवसरमा नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले पनि सिट्रोनको एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा ग्राहकले भारतमा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन ई–सी३ को खरिदमा नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनससहित २ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् । यस अफरको बारेमा व्यक्तिगत रूपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सकिनेछ । साथै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ । २० प्रतिशत डाउन पेमेन्टमा होन्डाको गाडी किन्न सकिने हेण्डाले पनि नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ । यो अफर मिति २०८०/१२/१ गते बाट लागु भइसकेको छ भने उक्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ । हुन्डाईका गाडी किन्दा ६ लाख छुट नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ अफर सावर्जनिक गरेको छ । कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत हुन्डाईका कुनै पनि मोडलका गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको छुट र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्म बोनस पाउन सकिने छ । यस योजनाअन्तर्गत गाडी खरिदमा उपलब्ध हुने स्क्रयाच कार्डको तीन गुणसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीले बीमा साथै एक वर्षसम्मको सडक कर पनि बेहोर्ने बताइएको छ ।

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । ‘पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ’, उनले भने । पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड र खानीबेँसी, माछीखोलाको एक/एक स्थानमा, खोर्लाबेँसी र मार्साका दुई/दुई स्थानमा बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको उनले बताए । पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी सूचना बोर्डमा उल्लेख गरिएको अध्यक्ष गुरुङले बताए । उनकाअनुसार समितिले यसपटक तल्लो मनास्लु पदर्मागअन्तर्गत पर्ने विभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ । केरौजाबेँसी, मार्सा, दोभानखोला, हुल्चुकस्थित कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनिहन्टिङ गर्ने ठाउँ अन्तरबेँसी, सिङ्ला, थमन भिसीगाउँ, यामगाउँ, गुम्दा, भिरकोटलगायतका ठाउँमा सूचना बोर्ड राखिने अध्यक्ष गुरुङले जानकारी दिए । ‘सूचना बोर्डमा पदर्मागअन्तर्गत पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी रहनेछन्’, उनले भने, ‘यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रा गर्न सजिलो हुनेछ ।’ समितिमार्फत यसअघि पनि पदमार्गका विभिन्न पाँच ठाउँमा सूचना बोर्ड राखिएको थियो । मनास्लु पदमार्ग घुम्न आउने पर्यटकका लागि आफू पुग्ने गन्तव्यको पूर्वजानकारी लिन प्रभावकारी भएपछि अन्य ठाउँमा पनि बोर्ड राख्न लागिएको उनले बताए । रासस