गर्मी बढेसँगै रामेछापमा दैनिक साढे ३ लाखको जुस बिक्री
रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् । विशेष गरी काठमाडौं र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस जिल्लाका दुईवटा उद्योगबाट दैनिक ३ लाख ५० हजार रुपैयाँबराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् । जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर एक सय ५० र किवीको प्रतिलिटर २ सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुंगा, काठमाडौं, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रूपमा लैजाने गरिएको र दैनिकरुपमा दुवै कम्पनीबाट गरी ३ लाख ५० हजार रुपैयाँको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए । त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए ।
अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द
बुटवल । अत्यधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो । केही दिनयता तातो हावा चल्न थालेकाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० र २१ गतेका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार विद्यालय बन्द भए पनि जारी रहेको कक्षा १२ को परीक्षा भने यथावत् रहने छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै
वैदेशिक रोजगारीमा भएकाहरूलाई लक्षित गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी जेठ २९ गते निष्कासन हुँदैछ । उक्त बचतपत्र बिक्री खुला हुने अवधि वैशाख २२ गतेदेखि जेठ २३ गतेसम्म रहेको छ । कार्यालयले वार्षिक ९ प्रतिशत ब्याजदर रहेको १ अर्ब रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउने कार्यालयले जनाएको छ । यस बचतपत्रमा विदेशीमा रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका नागरिक, गैर आवासिय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यस बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् । तर, उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ । आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ । लगानीकर्ताले बचतपत्र खरिदका लागि १४ वाणिज्य बैंकहरू सिटिजन, नबिल, माच्छापुच्छ्रे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सिटी उक्सप्रेस मनी ट्रान्फर, आइएमई लिमिटेड, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, इसेवा र नेपाल रेमिट इन्टरनेसनल कम्पनीहरूबाट आवेदन बुझाउन सक्नेछन् । यस बचतपत्रको अवधि ५ वर्षको हुनेछ ।
काभ्रे रोशीका १५ अग्नि पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए । गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगाय सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चालम, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामासहित तरुण दलका केन्द्रीय सदस्यको टोलीले बुधबार नै पीडित प्रतिपरिवारलाई दुई बोरा चामल, नुन, तेल दाल तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खाद्यान्न सहयोग गरेका थिए । विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार ५ हजार रुपैयाँका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताइन् । साथै, क्षतिग्रस्त घर पुनःनिर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताइन् । आगलागीबाट २ करोड २६ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई दाजुभाइले एप विकासमा गरेको ‘क्रान्ति’
काठमाडौं । सामान्यतया बालबालिका आफ्नो ग्रेड र स्कुलको कामबारे चिन्तित हुन्छन् । त्यसमा केही बालबालिका असाधारण प्रतिभा भएका पनि हुन्छन् । यस्तैमध्येका दुई बालक जो कक्षा ६ र ८ मा पढ्दा भारतमा कम्पनीको सबैभन्दा कान्छो सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । त्यस्ता दुई प्रतिभाशाली भाइहरू हुन् श्रवण र सञ्जय कुमारन । उनीहरूले सबैभन्दा कान्छो एप विकासकर्ताको उपाधि हासिल गरे। दुवै ‘३० अन्डर ३०’ को सूचीमा परेका छन् । श्रवण र सञ्जयले सन् २०११ मा चेन्नईस्थित आफ्नो घरबाट गोडाइमेन्सन्स नामक कम्पनी स्थापना गरेका थिए । त्यतिबेला उनीहरू १० र १२ वर्षका थिए । सञ्जयले सीईओको रूपमा काम गरे । जबकि श्रवणले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । छोटो समयमै दुई दाजुभाइले सातवटा मोबाइल एप विकास गरे । उनीहरूले ५० भन्दा बढी देशमा लोकप्रियता प्राप्त गरे । हजारौं प्रयोगकर्ताहरूले ती एप प्रयोग गरे । बुबाका कारण प्रोग्रामिङमा रुचि बढ्यो उनीहरूको बाल्यकालमा प्रोग्रामिङमा रुचि उनका बुबा कुमारन सुरेन्द्रनका कारण परेको थियो। बुबाबाट सिकेर सानैदेखि कम्प्युटरमा काम गर्न थालेका थिए । दुवैले चार वर्षको उमेरमा पावरप्वाइन्ट प्रिजेन्टेसन (पीपीटी) बनाउन थालेका थिए । कुमारन भाइहरूले विकास गरेको पहिलो एप ‘क्याच मी कोप’ थियो । यो भारतको प्रसिद्ध बाल्यकालको खेल ‘चोर-पुलिस’बाट प्रेरित गेमिङ एप हो । भाइहरूले अन्य एपहरू पनि विकास गरेका छन् । यसमा बाल शिक्षा एप- अल्फाबेट बोर्ड र कलर प्यालेट, आपतकालीन सेवा एप- इमर्जेन्सी बुथ, द प्रेयर एप र गेमिङ एप- सुपरहिरो र कार रेसिङ समावेश छन् । यसबाहेक उनीहरूले १ सय ५० टेस्ट एप पनि बनाएका छन् । दुवै दाजुभाइ अहिले कहाँ काम गर्छन् ? पछि दुवै होनहार भाइहरूले अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयबाट कम्प्युटर विज्ञानको डिग्री हासिल गरे । दुवैको लिंक्डइन प्रोफाइल अनुसार श्रवण हाल सान फ्रान्सिस्कोको सेल्सफोर्समा सफ्टवेयर विकासकर्ताको रूपमा काम गरिरहेका छन् । उही समयमा सञ्जय माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियर इन्टर्नको रूपमा काम गर्छन् । एजेन्सी
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाइने
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामै पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८औं मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको आज सदरमुकाममा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो । सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ । धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाडौंमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिए पनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिए । दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई सम्मान गर्ने, प्रकृति पूजा गर्नेलगायत अन्य स्थानीय संस्कृतिको उजागर गर्ने गरी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष लामाको भनाइ छ । ‘सोही अवसरमा पर्वतारोहण सङ्घको झण्डा र ब्यानरसहित र्याली निकाल्ने कार्यक्रम पनि रहेको छ,’ उनले भने, ‘त्यसबाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।’ यस वर्षदेखि नियमितरूपमा स्थानीय सरकारले नै स्वामित्व लिएर दिवस मनाउन लागिएको उनको भनाइ छ । यसले गोरखाको पर्यटन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु संरक्षण क्षेत्र ट्रेकिङ टुरिजममा पहिलो गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जिल्लामै मनास्लु हिमाल आरोहण दिवस मनाउने शृङ्खलाको सुरुआत हुनु गोरखाका लागि महत्वपूर्ण हुने बताए । ‘मनास्लु हिमाल आरोहण गर्नका लागि स्वेदशी तथा विदेशी पर्यटकको आर्कषण पनि बढ्दै गएको छ,’ उनले भने, ‘यसलाई थप प्रवर्द्धन गर्दै मनास्लु हिमालको प्रचारप्रसारका लागि दिवस मनाउन लागिएको हो ।’ मनाास्लु हिमाल आरोहणका लागि जापानसहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिकलगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । गोरखाको नुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल विश्वको आठौं अग्लो हिमशृङ्खला हो ।
प्रभु इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा बिहीबार बस्दैछ । कम्पनीको सञ्चालक समितिको ४३४औं बैठकको निर्णयअनुसार सभा काठमाडौं तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र सञ्चालकसहित ७ जनाको समिति गठन गर्नेछ । त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचन पनि गरिनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।
सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ निर्धारण गरिएको छ ।