विकासन्युज

आर्थिक मन्दीले ९१ साना उद्योग बन्द

पर्वत । कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताए । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताए । रासस

अटो क्षेत्र अब एकादेशको कथा बन्ने अवस्था आउँदैछ : करण चौधरी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रको बिजनेस ७२ प्रतिशतले घटेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘विगतमा चारपांग्रे सवारीसाधन १९ हजार आयात हुन्थ्यो, अहिले ६ हजारमा सीमित भएर यो महिना १२ हजार पुग्छ कि भन्ने विश्वास छ,’ उनले भने, ‘त्यो पनि ईभीको संख्या जोडेर ।’ अध्यक्ष चौधरीले अहिले नेपालमा कमर्सियल भेइकलको काम इण्डियन मालवाहक भेइकलले गरेको पनि बताए । यस्तै उनले मान्छे डिजेल पेट्रोलका गाडीबाट ईभीमा ट्रान्सफर भए भन्ने बजार हल्ला पनि गतल भएको बताए । अध्यक्ष चौधरीले अहिलेको समयमा अटो क्षेत्रले मात्रै नभएर डिलरहरू पनि समस्यामा भएको बताए । ‘डिलरको पनि लगानी डुबिरहेको छ, अधिकांश डिलरले जग्गा लिनु भनेर भन्छन् ।’ उनले गाडीका ४० प्रतिशत पार्टस् र लुब्रिकेन्ट अवैध रूपमा भित्रिरहेको बताए । ‘यो अवस्थामा अब अटो क्षेत्रको भविष्यमाथि प्रश्न गर्ने बेला आएको छ, अब सबैका लागि एकादेशको कथा अटो क्षेत्र बन्न सक्छ,’ उनले भने ।

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् । बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रम बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक,आर्थिक नीति नियम र व्यवसायीक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको बताए । लगानी सम्मेलनअघि कानूनी अफ्ठ्यारो हटाउन ८ वटा कानून संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको जानकारी दिए । सरकारले एकल निर्णय गर्ने अधिकार भएपनि निजी क्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उनको भनाई छ । मन्त्री पुनले निजी क्षेत्रको सहभागिता बिना कानूनहरु नबनाएको बताए । औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजिकरण गर्ने बताए । सरकारको सोच लगानी र व्यवसायी मैत्री वातावरण बनाउने भएको उल्लेख गरे । उनले वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन प्रतिवद्ध रहेको बताए । स्वायत्तता निकाय राष्ट्र बैंकलाई अर्थमन्त्रीले दैनिक कार्यमा चासो दिनुपर्छ भन्ने पक्षमा आफू नभएको बताए । उनले सरकारको नीति भन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे । राष्ट्र बैंकसँग अर्थमन्त्रालय सहकार्य गरेर नीतिहरु ल्याउने काम गरिरहेको जानकारी दिए । अर्थमन्त्री पुनले नीति कार्यक्रम एकातिर लाग्ने,बजेट अर्कोतिर लाग्ने र मौद्रिक नीति तेस्रो बाटोमा लाग्ने कुराको अन्त्य गर्ने बताए । सरकारको नीति तथा कार्यक्रम निबन्ध नहोस् भनेर अर्थ मन्त्रालयले सहभागिता जनाएर काम गरिरहेको बताए । सरकारले पुँजीगत खर्च बढाउने कोशिस गरिरहेको बताए । स्रोतमा सिमितता भएकाले सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा सरकारको रहेको जानकारी दिए । ‘निजी क्षेत्रको मनाबल उच्च बनाउने सबैतिरबाट पहल गर्छ । मनोबल कमजोर बनाउने पक्षहरु प्रशासनिक,आर्थिक नीति नियम र व्यवसायीक वातावरणका विषयमा फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गर्छौं । त्यो भन्दा बाहेक ४.२ भन्दा बढी भएको छैन । हाम्रो अपेक्षा दोहोर अंकको आर्थिक वृद्धि हो । ७ प्रतिशतको आर्थिक वृद्धि हुन आवश्यक छ । वैदेशिक लगानी बढाउन र आन्तरिक लगानी पनि बढाउन सक्दा ७ प्रतिशतको आर्थिक वृद्धिदर भएर अर्थतन्त्र चलायमान हुन्छ’, उनले भने । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानी र आन्तरिक लगानीलाई प्रोत्साहन गरी आर्थिक वृद्धिदरलाई बढाउने वातावरण बनाउने गरी ल्याउने बताए । बैंक, घरजग्गा, कृषि र निर्माण क्षेत्रमा सकारात्मक नभए पनि जलविद्युत र होटल पर्यटनमा राम्रो भएको भन्दै राम्रोलाई अझ राम्रो बनाइराख्ने योजना रहेको जानकारी दिए ।

बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको छ, बैंकरको आत्मबल घट्यो : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको बताएका छन् । एनएमबी बैंकका सीईओसमेत रहेका केसीलेबिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनै बैंकको ब्याजदर घटिरहेको र एकल दरमा ब्याजदर आइरहेको बताए । ‘बैंकको नाफा घटिरहेको छ, आरओई ९ प्रतिशतको हाराहारीमा छ,’ उनले भने ५ खर्ब लगानीयोग्य रकम छ, यसले गर्दा हामी हरेक दिन नोक्सानी व्यहोरिहेका छौं, निजी क्षेत्रको आत्मबल घटेको छ, यसले बैंकिङ क्षेत्रमा असर गरेको छ ।’ उनले पूर्वाधार क्षेत्रमा निजी क्षेत्र तथा बैंक सँगसँगै हुनुपर्ने बताए । पूर्वाधार क्षेत्रमा अहिले खराबकर्जा बढिरहेको उनको भनाइ छ ।

‘ओलीलाई अँगालो हालेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा खाइसक्यो’

काठमाडौं । युवाहरुको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला अलमलमा छ । नयाँ जोश,जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीहरुले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधि सभाको २१ सिटमा जिताए पनि । नो नट अगेनको नारा बोकेर निर्वाचनमा राम्रो सिट प्राप्त गरेको रास्वपा यतिबेला त्यही नाराको भारीबाट थिचिएको छ । किनभने पार्टीकै नेताहरु पुराना राजनीतिक दलहरुलाई समर्थन गरेर सरकारमा जानु उचित नरहेको बताइरहेका छन् । पार्टीका केन्द्रिय सदस्य गणेश कार्की सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गर्नुहुन्छ । उनले पुराना पार्टीलाई अंगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको बताएका छन् । उनले पार्टीमा यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य सकिने बताए । पार्टी सभापति रवि लामिछानेको वरपर भ्रम छर्नेहरु रहेको र जसले पार्टी र सभापतिलाई सिध्यारहेको टिप्पणी गरे । यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य गणेश कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश : पार्टी कसरी चलिरहेको छ, प्रश्नहरु निरन्तर उठिरहेको छ नि ? हामीले प्रश्नहरुको जवाफ दिइरहेका छौँ । कति प्रश्नको जवाफ प्रष्ट दिएका छौं, कतिको अलिकति घुमाउन खोजिरहेका छौं र कतिपय प्रश्नहरुको जवाफ नदिएर तर्किरहेका छौं । यो भनेको के हो ? हामी आफ्नो अनुकुलतामा जवाफ दिइरहेका छौँ । मिल्दो प्रसंग आयो भने चर्को स्वरमा जवाफ दिइरहेका छौँ । अलिकति ग्रे जोन (अस्पष्ट अवस्था) मा भएका विषयमा घुमाएर, आज आफू जोगिएर जवाफ दिइरहेका छौं । पुरानाहरू पार्टीको छल्दै बच्दै हिँडिरहेका छौं । कतिपय मुद्दा र विषयका बारेमा अहिले नगरौँ भनेर तर्क गरेर हिँडेका छौँ । यसरी हेर्दा पार्टी ठिकठाक चलेको जस्तो देखिएन ? पार्टी छोटो समयमा ठूलो भयो । फिक्सन फिल्मको पात्र जस्तो सानोबाट एकै छिनमा ठूलो भएको । अस्वभाविक गति र रूपको बनेको जस्तो देखियो । जम्प गरेर हिँडे जस्तो हुँदा कहिले कता कहिले कता ठोक्किरहेको छ । ठोक्किएको विषयमा पार्टीभित्र समिक्षा नै हुन सकेन । यहाँ हामी चुकिरहेका छौं । पार्टी आउँदा राजनैतिक विकल्प दिनेगरी आएको, नयाँ सोचको साथ आएको भनिएको थियो, यस्तो अवस्थामा पुग्नु भनेको के ? कसरि व्याख्या गर्ने ? पार्टी भित्र गम्भीरता देखिएन । फट्याङ्ग्रा उफ्रिए जस्तो पार्टी बन्यो । संसद्मा गइयो, संसदवाट सरकारमा, सरकारवाट फिर्ता अनि फेरि सरकारमा, त्यसपछि उपनिर्वाचनमा भाग लियौं, हाम्रो उम्मेदवारको जमानत जफत भयो । सबै तिब्र गतिमा भइरहेको छ । यो गति अस्वभाविक भयो । कतै हाम्रै शक्ति हामी माथि त आइलाग्ने होइन भन्ने डर भयो । हाम्रो उफ्राइ हेर्दा जता पनि लड्नसक्ने देखियो । रास्वपाको चरित्र नबन्दै अंक गणितको खेलमा आइसकेका छौं । अहिले रोकिनु पर्ने, समिक्षा गर्नुपर्ने अवस्थामा छौँ तर त्यो हुन नसक्दा निराशा छ । यो भनेको हामी सैद्धान्तिक रुपमा प्रष्ट छैनौँ, साथै संगठनात्मक विधि पद्धतिको अभावले यो अवस्थामा पुग्यौं होइन ? हामीसँग नीति नभएको होइन । बाहिर नीति छैन, प्रष्ट छैन, भनिरहेकोले साँच्चै छैन कि क्या हो भन्ने भ्रम जस्तो देखिएको हो । पुरानो विचार सिद्धान्त मान्दिन भन्नु पनि सिद्धान्त हो नि, नीति हो नि । तर समयक्रमसँगै हामी पुराना दल जस्तै संगठन बढाउने पार्टीमा पदाधिकारी राख्ने भागबण्डामा हिस्सा खोज्न थाल्यौं । हामीले स्थायी रुपमा कुनैपनि बाद, सिद्धान्तलाई नअँगाली विषय र समयअनुसार नीति बनाउने भन्ने निर्णय लिएका थियौं । कुनै पनि बाद र नीतिलाई समय अनुसार लिन र त्याग्न स्वतन्त्र हुने भन्ने दस्तावेजमा लेखेका छौं । तर हामी अल्मलियौं । तपाइको भनाइको अर्थ रास्वपा, रास्वपा जस्तै रहेन, रंग उड्यो भन्ने हो ? रंग उडेको होइन, बदलिएको हो कि जस्तो देखियो ।  त्यसो भए पार्टीमा छलफल किन नभएको, कि हुन नसकेको ? पार्टीमा छलफल नहुने होइन, हुन्छ । हामी धेरै आ–आफ्नो क्षेत्रमा काम गरेर प्रश्न सोधिरहेका व्यक्तिहरु अहिले पार्टीमा छौँ । छलफल भएपनि विश्वासको वातावरण बन्न सकिरहेको छैन । को व्यक्ति कस्तो छ भनेर राम्रोसँग चिनेकै छैनौं । पार्टीको फड्को मार्ने गतिले छलफल हुन सकिरहेको छैन । अहिले पार्टि सरकारमा गएर आन्तरिक व्यवस्थापनमा लाग्न नै सकेन । अनि प्रश्नहरु धेरै आए । तपाईको भनाइ पार्टी सरकारमा जानु हुँदैन थियो ? हो, जानु हुँदैनथ्यो । हामीले सरकारमा जान्न भनेर नै भोट मागेको हो । नो नट एगेन अभियान हामीले चलाएको हो । हामीले पुरानो प्रवृत्ति बिरुद्ध लड्ने भनेका थियौं । तर अहिले प्रवृत्ति पनि स्वीकारेको पुराना व्यक्ति पनि स्वीकारेको अवस्थामा पुगेका छौँ । हुँदाहुँदा सबै यस्तै त हो नि भन्नेमा पुग्यौँ । राजनीति भनेको यस्तै रहेछ भन्न थालिसक्यौँ । अब तिनै पुराना नेता अनि प्रवृत्ति बोकेर हिँडेको हो कि भन्ने शंका उब्जेको छ । इलामको उपनिर्वाचनले त झन् शंकालाई बलियो स्थान दिएको छ । यो हाम्रो गलत बाटो हो कि भन्ने छ । हामीले माग र मुद्दामा अरु पार्टीका नेता कार्यकर्तालाई समाहित गराउन सकिन्छ भन्ने विश्वास दिलाउन सकेनौँ । पार्टी परिवर्तन हैन भोट परिवर्तन गुर्नुहोला भन्ने मुद्दा जोडका साथ उठाउन सकेनौँ । हामीले ठूलो संगठन बनाउने भन्दै आत्मविश्वास गुमाएका छौँ । यस्तै कमजोरीले हाम्रो फरक चरित्र बन्न सकेन । सरकारमा जाँदा पार्टी कमजोर हुन्छ भनेर तपाइहरुले किन भन्न नसकेको, किन छलफल गर्न नसकेको ? हाम्रो पार्टी भित्र सरकारमा जान हुने र जान नहुने तर्क बोकेका व्यक्तिहरु छौँ तर विचार समूह बनेको छैन । हामीले आ–आफ्नो विचार राखेका छौँ । मत विभाजन गरेको अवस्था छैन । त्यसो भए पार्टी सरकारमा किन गएको होला तपाइको विचारमा ? यसमा विभिन्न कारणहरु छन् । पार्टी सरकारमा जानु कारण म एक एउटा कार्यकर्ता र केन्द्रिय सदस्यको हैसियतले भन्नुपर्दा पार्टी सरकारमा काम गर्नको लागि नै गएको हो । साथीहरुमा काम गर्ने हुटहुटी पनि थियो । तर पार्टी सरकारमा जानु हुँदैनथ्यो काम गर्ने देखाउने, हुटहुटी देखाउने समय यो थिएन । असल नियत र काम गर्ने हुटहुटी भएकाले मलाई फलानो मन्त्रालय नभइ हुँदैन कसरि भन्न सकेको ? हो यसमा शंका गर्ने ठाँउ छ । जसरी घटनाक्रम अगाडि बढेको छ, जसरी समाचारहरु आइरहेको छ, यसमा शंका गर्ने ठाँउ छ । त्यसो भए सरकारमा गएको विषयबारे जवाफ दिन पक्कै सजिलो भएको छैन ? हामी काम गर्न नै गएको हो । काम नभएको पनि देखिँदैन, निरन्तर भइरहेको छ, व्यस्तता बढेको छ म स्वयं शिक्षामन्त्रीलाई सघाउने जिम्वेवारीमा छु । धेरै भए जस्तो देखिन्छ । तर कामको प्रतिफल लक्षित वर्गमा पुग्यो कि पुगेन भनेर हेर्दा प्रश्न गर्ने ठाउ धैरै छ । कामको चाङ्गमा अलमलिएर ब्यस्त भएका छौं, यसले जनतासँग दूरी बढेको छ । परिणाम नै देखिएन । हुन त अहिलेका पार्टी सभापति केन्द्रमा रहेर नै यसको जन्म भएको हो, अहिले समस्याको जड नै त्यहि केन्द्र हो कि भन्ने पनि देखियो ? रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन् । अरु कोही होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन् । तर माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ । रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन् । पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ । अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ । धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ । पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ । तपाईहरुलाई सरकारसँगै सभापतिको बारेमा व्यक्तिगत रूपमा उठेका प्रश्नहरूले पनि समस्यामा पारेको छ होइन ? मेरो विचारमा विपक्षीले संसद रोकेर संसदीय छानविन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर यहाँ समस्या देखियो, यो दुःखद् छ । मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको बिरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो । सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन् । रवि लामिछाने बिरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त ? विल्कुलै बोक्दैन । बोक्नु पनि हुँदैन । यहाँ हाम्रो गल्ती भएको छ । हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अफ्ठयारो मानिरहेका छौँ । व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो । जे जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो । रविजीले पार्टी बैठकमा के भन्नुहुन्छ ? होइन नै भन्नुहुन्छ । यसमा अर्को कुरा पनि छ । हामीसँग भएका कानून कडा र जटिल छन् । व्यवहारमा ढाल्न वा कार्यान्वयन गर्न नसक्ने खालका छन् । यसमा सुधारको आवश्यकता छ । तर कानूनी र व्यवहारिक पाटो फरक हो । कहिलेकाही यसमा व्यक्ति फस्न सक्छ । यसरी फसेको व्यक्ति आफू जोगिन जे पनि गर्छु भन्नु गलत हुन्छ । समस्याको गाँठो झन कसिलो हुन्छ । बरु आफ्ना कुरा प्रष्ट रुपमा भनेको भए द्विविधा हुँदैनथ्यो । हामीले पार्टी सभापतिलाई जोगाउनु छ नैतिक रुपमा बलियो बनाउनु छ । साथै रवि लामिछाने र पार्टी सभापति एकै होइन भन्नुछ । एकैठाउमा मिसाएर सिंगो पार्टी, पार्टीको अभियान, देशभरको उत्साह तोड्न पाइँदैन । रविजी माथि उठेको प्रश्नको जवाफ दिनुपर्छ, उहाले दिइरहनुभएको छ । तर प्रश्नहरू निरन्तर उठिरहेको छ । जवाफ दिइरहनु पनि भएको छ । यसलाई हेर्दा कतै जवाफ दिने तरिका बदल्ने हो कि । यहाँ त प्रश्नको चक्र जस्तो देखिएको छ एकपछि अर्को गरेर । रवी लामिछानेमाथि संसदीय छानविन समिति बनाउदा फरक पर्दैन भन्ने तपाईंको भनाइ हो ? हो, छानविन समिति बनाउन सकिन्छ । म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेच्छा राख्दछु । हामीले छानविन समिति माग गर्ने सबैलाई बिरोधीको नजरले हेर्न हुँदैन । छानविन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरुको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ । संसदको गतिरोध अन्त्य गर्न तपाईंहरूको पनि भुमिका हुन्छ कि हुँदैन ? संसद एक दिन पनि बन्द हुनुहुँदैन । संसद खुला राख्नुपर्छ भनेर हामीले अभियान नै चलाएका हौँ । समिति बन्न वा बनाउन नसकेर संसद अवरोध हुने कुरामा मलाई दुःख लाग्छ । २८ गतेबाट शुरु हुने भनिएको अधिवेशन नै रोकिनसक्ने देखियो, बस्न नै नसक्ने अवस्था देखियो नि ? हो, हाम्रो कारणले संसद अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं । संसदीय छानवीन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ । संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ । पार्टीको मिसन ०८४ बाटोमा नै अलमलियो होइन ? हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो । तर अर्कैको मिसन ८४ को लागि पुग्यौं । हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो । हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुशी दिएको छैन । सरकारमा गएका साथीहरूले काम गरेर देखाउने अवसर छ । यो अवसर पनि गुमायौं भने ठूलो युवा पंक्तिमा निराशा छाउने देखिन्छ । अब पनि सरकारमा वस्ने सम्भावना कत्तिको छ ? यो सरकारको भर छैन । अहिले हामी बोलिरहेको छौं यही बेला बाहिर सरकार ढलिसकेको पनि हुनसक्छ । यो पूर्णकार्यकाल टिक्न पनि सक्छ । सरकारमा रहेकाको सिद्धान्त र चरित्र नै स्पष्ट छैन । सरकार रणनीतिको रुपमा सञ्चालन भइरहेको छ तर के गरिरहेको के भइरहेको स्पष्ट छैन काम पनि पारदर्शी छैन । अलिकति इलामको कुरा गरौँ, इलाममा किन हारियो ? हामी सरकारमा गएर नै गलत भएको हो । सरकारमा गएर निकम्माहरुसँग संगत गर्न थालेपछि हारियो । जनताले पुराना र नयाँको फरक नै छुट्याउन सकेनन् । इलाम निर्वाचनमा जानु अगाडी पार्टीले आफ्नो चरित्र नै बिगारीसकेको थियो सरकारमा गएर । उम्मेद्वार त गौण कुरा भयो । हाम्रो हार हाम्रो पराजय सरकारमा गएकै कारणले हो । तपाइको निष्कर्ष सरकारमा जति बसिन्छ त्यति पार्टी कमजोर हुँदै जान्छ भन्ने हो ? यसबारे मेरो प्रष्ट धारणा छ । सरकारमा जानु हुँदैनथ्यो । पार्टीका राम्रा साथी सरकारमा जानुभयो । साथीहरु नर्क जाने बाटो पिच (कालोपत्र) गर्दै हुनुहुन्छ । बाटो जति राम्रो बनाए पनि पुगिने गलतमा नै हो । यसले स्थापित गर्ने सत्य नयाँले पनि पुरानालाई नै बोक्ने भन्ने हो । यो सत्य जति समय आफूसँग रहन्छ निरन्तर क्षति हुन्छ । सरकारबाट निस्किए राम्रो । पछिल्लो राजनीतिलाई (जसपा फुटको) कसरी हेर्नुभएको छ तपाइको पार्टी त्यहाँ त पुग्दैन नि ? रास्वपा फुट्दैन । किन फुट्दैन भने, रास्वपाभित्र समूह (विचार समूह) बनेको छैन । हाम्रो पार्टी भित्र एक अर्कामा राम्रोसँग परिचय नै भएको छैन । पार्टीमा पूर्णकालिन सदस्य नै छैनन् । पार्टी भित्र, राजनीतिमा रहिन भने के हुन्छ भन्ने खालका साथीहरु हुनुहुन्न । बरु पार्टीको चरित्र सकिएर अनुपयुक्त हुने अवस्था आउन सक्छ ।

सरकारले तलब खुबाउन डिवेन्चर जारी गर्नुपर्ने अवस्था छ, राष्ट्र बैंक सबै ठीकठाक छ भन्छ : मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले सरकारले तलब खुबाउन डिवेन्चर जारी गर्नुपर्ने अवस्था छ तर राष्ट्र बैंकले सबै ठिकठाक छ भन्ने गरेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्र विषयसँग सम्बन्धित छलफलमा सहजकर्ताको रूपमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘देशमा युवा पलायन बढ्दै गइरहेको छ, जताततै नैराश्यता छ, व्यापारिक सटर बन्द हुँदै गएका छन्,’ उनले भने, तर, राष्ट्र बैंक र अर्थमन्त्रालय सब ठिकठाक भएको तथ्यांक निकाल्छ ।’ उनले अहिलेको अवस्थामा बैंकको पफर्मेन्स पनि कमजोर रहेको बताए । उनले भने, ‘मैले बैंकमा २०र२२ वर्ष काम गरेको छु, यो बैंकिङ क्षेत्रको लागि दुःखद खबर हो, मेरै बैंकमा १६ देखि १७ सय अकाउन्ट बन्द भइसकेका छन् ।

सुन तोलामा ८ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं । बाँके कोहलपुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।