विकासन्युज

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज भएको छ । रिट खारेजीसँगै दीर्घ सोडारी नेतृत्वको सरकारले वैधता पाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी नियुक्ति भएपछि गत वैशाख ९ गते रिट दायर भएको थियो । सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे । ‘निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु, तपाईंहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला, ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला,’ उनले भने । त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०/८१ को समीक्षा र आगामी आव २०८१÷८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गरेको निगमले जनाएको छ । बैठकमा निगमका कार्यकारी अध्यक्षलगायत नायब महाप्रबन्धक (प्रा), निगमका सम्पूर्ण विभागीय प्रमुख, निगमका दसवटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुख र निगममा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको थियो । बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए भने बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ ।

संसदमा धकेलाधकेलपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको छ । धकेलाधकेलपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार ११ बजेसम्मकन लागि स्थगित गरेका छन् । सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन् । कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जानबाट रोक्दै नाराबाजी गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरूले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका थिए ।

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका थिए । प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजीका कारण सभामुख देवराज घिमिरेले बैठक सहज बनाउन सकेका छैनन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो । यो बीचमा समय समयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गरे पनि टुंगोमा नपुगेको हो । ४ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।

नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट इएमबीए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञता रहेको छ ।  

डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले ६ दिनपछि आमरण अनसन तोडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन बसेका डा.केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ औं अनसन तोडेको बताएका हुन् । द्वन्द्व पीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनसन तोडाएका हुन् । अनसनरत केसीको मुटुको चालमा समस्या र रगतमा सुगरको मात्रामा कमी देखिएपछि उनलाई बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शासकहरूको नियतलाई दृष्टिगत गरी अनसन तोड्न सहमत भएको डा. केसीले बताएका छन् । हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रहेकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सम्बोधन गर्छन् भन्ने सोच्नु मुर्खता हुने भन्दै हाललाई अनसन तोडेको डा. केसीले बताएका छन् ।

दुसित प्रिन्सेसमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । दुसित प्रिन्सेस काठमाडौंमा सिटिजन्स बैंकका ग्राहकलाई छुट हुने भएको छ । बैंक र लाजिम्पाट, काठमाडौं स्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

ठमेलमा ८ कराेड लगानीकाे रियल थेरापी तथा ब्युटी प्वाइन्ट सञ्चालन

काठमाडौं । व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ । यसैबीच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ८ करोड रुपैयाँ लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी भविश्वर शर्माले अत्याधुनिक सुविधा सम्पन्न रियल थेरापी सञ्चालनमा ल्याएका हुन् । ठमेलमा विगत २२ वर्षदेखि रियल थेरापी सञ्चालन गरेका शर्माले आधुनिक संरचनासहित थप सुविधासहित रियल थेरापी सुरु गरेका हुन् । चारतले सुविधायुक्त भवनमा सञ्चालित रियल थेरापीको आज एक कार्यक्रमकाबीच कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्तरूपमा उद्घाटन गरे । अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरूले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरूको बुझाइ छ । कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गरिन् । ‘रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ,’ उनले भनिन् । शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुने कलाकार दीपकराज गिरीले बताए । ‘रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धतिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ,’ उनले भने । हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरूपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे । ‘हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो,’ उनले भने, ‘हामी पनि हास्य थेरापीमै काम गछौँ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।’ नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताइन् । रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गरे । फ्यामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै रहेको छ । अन्तर्राष्ट्रियस्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताए । स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रूपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ । रियल थेरापीमा साउना, स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ । एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिनेगरी रियल थेरापीको संरचना विस्तार गरिएको छ । रियल थेरापीलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ ।