विकासन्युज

कृषि विकास बैंकका सूचना टेलिकमले सेवा प्रदायकलाई पठाउने

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । शुक्रबारदेखि नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प आगामी मंगलबार सम्म चल्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार सो स्पेसल इभेन्टमा ग्राहकले फाइदाका साथ अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुने अवसर प्राप्त गर्नेछन् । सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र इजी फाइनान्सिङ अप्सन जस्ता फाइदा लिन सक्नेछन् । अन द स्पट कार भ्यालुएसन अन्तर्गत ग्राहकले आफ्नो अहिलेको कारको भ्यालुएसन तुरुन्तै गराउन सक्नेछन् । त्यसैगरी आफ्नो कारको सकेसम्म बढी मूल्य अर्थात बेस्ट एक्सचेन्ज रेट पाउन सकिने छ भने पुरानो कारसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्ने भएकाले एक्सचेन्ज बोनसको रुपमा थप रकम प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपालमा कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि, यसरी बच्न सकिन्छ

काठमाडौं । कारोना भाइरसको नयाँ भेरियन्ट देखिन थालेका छन् । विश्वका केही देशमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । के हो ‘केपी.१ र केपी.२’ भरियन्ट ? यो भेरियन्ट यस भन्दा अघि देखिएको ओमीक्रोनको सवभेरियन्ट हो । ओमिक्रोनको मुयुट्रेशनबाट नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ भएको चिकित्सकहरूले बताएका छन् । नेपालमा पुष्टि भएकोहरूमा ठूलो असर भने देखिएको छैन । उनीहरूमा कुनै गम्भीर लक्षण देखा परेको छैन । सामान्य रुघाखोकी लक्षण देखापरेको छ । पुष्टि भएकाहरूमा गम्भीर समस्या नदेखिएपनि दीर्घरोगी, बालबालिका गर्भवती महिलाका लागि भने जोखिम हुन सक्ने संक्रामक रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताए । उनका अनुसार कुनै भेरियन्ट कडा र कुनै सामान्य हुने भएकाले कुन भेरियन्ट कति जोखिमपूर्ण छ भनेर भन्न नमिल्ने बताउँछन् । अन्य देशमा पनि छैन असर  कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ सिंगापुर अमेरिका, चीन, भारत लगायत अफ्रिकी मुलुकमा देखिएको छ । अन्य देशमा पनि यो भेरियन्टले मृत्यु भने नगराएको पुनले बताए । डा. पुनले विकासन्युजसँग भने, ‘यो भेरियन्ट अन्य मुलकमा अलि पहिले नै देखिएको थियो । तर, मृत्यु भएको भन्ने खबर भने सुनेको छैन । ’ तथापि कतिपय व्यक्तिका लागि भने यो भेरियन्ट पनि कडा हुनसक्ने उनको चेतावनी छ । डर लाग्दो कडा नभएपनि यो भेरियन्ट तिब्र संक्रामक भने रहेको डा.पुनले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु अब नौले कुरा होइन । उनी भन्छन्, ‘अब हामीसँसँगै कोरोना रहन्छ, मात्र के हो भने यसको म्युट्रेशन हुने बित्तिकै कतै कडा भएर निस्कने त होईन भन्ने कुरामा हामी सजग रहनुपर्छ ।’ डा. पुन फेरि पनि यस्ता भेरियन्ट देख्न सकिने बताउँदै स्वास्थ्यका प्रोटोकाल अपनाउन आग्रह गर्छन् ।

सुनचाँदीको मुल्यले राख्यो रेकर्ड, सुन भण्डारण गर्ने रणनीतिको प्रभाव

काठमाडौं । यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुन भण्डारणमा लगानी बढाउने चिनको रणनीतिसँगै मुल्यमा चाप परेको विश्लेषकहरूले बताएका छन् । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार दुवै दिन मुल्यले एक पछि अर्को उचाई कायम गर्दै त्यस पछिका दिनमा भने मुल्य घटेको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन हालसम्मकै उचाईमा पुगेर प्रति १० ग्राम १ लाख २१ हजार ५ सय ७० मा नयाँ रेकर्ड राख्यो । त्यस पछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य १ लाख १७ हजार ३ सय ७० कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४ सय ३० बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय ३७ रुपैयाँ ५० पैस रहेको मुल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६ सय ६३ रुपैयाँ पुग्यो । जुन त्यस पछिका दिनमा भेन घटेर पछिल्लो दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९० रुपैयाँ कायम भयो ।

कच्चा पदार्थभन्दा तयारी वस्तु सस्तो, फोटोकपी पेपर र चिया कपमा दोब्बर कर गर्नुपर्ने

काठमाडौं । सरकारी तथा निजी कार्यालयमा सबैभन्दा बढी प्रयोग हुने कागज हो फोटोकपी पेपर । अधिकांश कार्यालयको यो पेपरको प्रयो बढ्दै गइरहेको छ । सरकारी तथ्यांकले पनि वार्षिक १५ देखि २० हजार मेट्रिक टन फोटोकपी पेपर नेपालमा आयात हुने गरेको छ । कागज उद्योगीहरूले फोटोकपी पेपरलाई तयारी वस्तुका रूपमा परिभाषित गरे पनि सरकारले भने कच्चा पदार्थका रूपमा कर लगाएर आयात गरिरहेको उद्योगीहरू बताउँछन् । नेपाल कागज उत्पादक संघका अध्यक्ष सुनिल गोपाल श्रेष्ठ सरकारले यसलाई कच्चा पदार्थको रुपमा आयात गरिरहेको धारणा राख्छन् । उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा फोटोकपी पेपरमा ३० प्रतिशत कर लगाउनु पर्ने सुझाव सरकारलाई दिएको बताए । कर लगाउँदा फोटोकपी पेपर आयात घट्ने र स्वदेशी उद्योगबाट उत्पादन भएका पेपर प्रयोग हुने उनको भनाइ छ । ‘फोटोकपी पेपर कुनै पनि उद्योगका लागि कच्चा पदार्थ होइन, यो स्टेशनरी अन्तर्गतको तयारी वस्तु हो । तर, त्यसको भन्सार महसुल कच्चा पदार्थ कागज सरह १५ प्रतिशत छ,’ उनले भने, ‘त्यसैले कुनै पनि उद्योगले नेपालमा फोटोकपी पेपर बनाउन सकेका छैनन् । यदि फोटोकपी पेपरमा ३० प्रतिशत भन्सार लगाउने हो भने अर्काे वर्षदेखि ५० प्रतिशत कम आयात र २ वर्षभित्र २५ प्रतिशतमा सीमित हुन्छ ।’ नेपालमा वार्षिक करिब १५/२० हजार मेट्रिक टनसम्म फोटोकपी पेपर आयात हुने गरेको छ । चैतसम्मको तथ्याङ्क अनुसार ११ हजार मेट्रिक टन आयात भइसकेको छ । यस्तै, चिया पिउने पेपर कपहरू नेपालका उद्योगले बनाउँछन् । तर, त्यसको कच्चा पदार्थमा बढी भन्सार तिर्नु परेको उनले गुनासो गरे । यदि चिया पेपर कपमा कच्चा पदार्थमा भन्दा बढी भन्सार लगाइयो भने आयात घट्न गई स्वदेशी उद्योगलाई रात पुग्ने उनले बताए । ‘पेपरको चिया कप वार्षिक ८/१० हजारसम्म मेट्रिक टन खपत भइरहेको छ । यदि नेपालमै उत्पादन गर्न सकियो भने ५ हजारले रोजगारी पाउने छन्,’ उनले भने । उनका अनुसार भृकुटी कागज उद्योग बन्द भएपछि नेपालमा धेरै कागज उत्पादन उद्योगहरू स्थापना भएका छन् । तर, ती कागज उद्योगहरूले नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्याउन नसकेको उनको भनाइ छ । किनभने सरकार र कागज उद्यामीबीच सहकार्य हुन नसकेको उनले बताए । साथै, वर्षातको समयमा लोडेड ट्रकहरूले उद्योगसम्म आवात जावत गर्दा समस्या भोगिरहेकाले ग्रामीण क्षेत्रका उद्योगसम्मको सडक कालोपत्रे गर्नुपर्ने उनको माग छ ।

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट गीता अधिकारी सम्मानित

काठमाडौं । पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’बाट सम्मान गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका थिए । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्ष समेत हुन् । गीतकारसमेत रहेकि अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि बजारमा आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहेकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छिन् । सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय हुन् । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेकि अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिव पनि हुन् । यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसा–पत्र प्रदान गरिएको छ । संघका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख आतिथ्यता थिए ।

युवामा आत्महत्याका घटना बढ्न थालेको छ, सरकार गम्भिर हुन जरुरी छ : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । सरकारले निःशुल्क रुपमा दिने सुरक्षित मातृत्व सेवालाई थप व्यवस्थित र सरकारी सबै अस्पतालहरुमा लागू गर्न आवश्यक रहेको जानकारी दिइन् । पछिल्लो समय सरकारी अस्पतालहरुमा समेत निःशुल्क सेवा भएकाले भीड लाग्ने गरेको भन्दै सुरक्षित मातृत्व सेवा दिन छोडेकोप्रति सरकारका ध्यानाकर्षण गराइन् । सरकारलाई आवश्यक परे महिला समितिबाट निर्देशन दिनुपर्ने समेत बताइन् । पछिल्लो समय युवाहरुमा आत्महत्याका घटनाहरु बढ्न थालेको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको बताइन् । सुरक्षित मातृत्व सेवा दिनको लागि सरकारका विभिन्न स्वास्थ्य निकायहरुले अनुदान लिने गरे पनि व्यवस्थित रुपमा काम हुन नसकेको बताइन् । सरकारबाट अनुदान लिने तर सेवा नदिने संस्थाहरुलाई तत्काल सेवा दिन निर्देशनको आवश्यकता रहेको बताइन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको लक्ष्य हासिल गर्न सबै मिलेर काम गर्नपर्ने उल्लेख गरिन् । ‘पछिल्लो समय युवाहरु सुसाइटका घटनाहरु बढ्दै गएका छन् । अझ आर्थिक शिथिलताले थप घटनाहरु वृद्धि भएको देखिन्छ । यो घटनालाई गम्भिर रुपमा लिएर हेर्नु जरुरी छ । यस्ता घटनाले आगामी आउने पुस्तालाई नराम्रो असर बनाउने देखिएको छ । त्यसको लागि महिला तथा सामाजिक मामिला समितिले सरकारलाई निर्देशन दिनुपर्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको लक्ष्य हासिल गर्न सबै मिलेर अझै प्रयास गर्नुपर्ने देखिएको छ’, उनले भनिन् । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले सुरक्षित मातृत्व स्वास्थ्य समस्या मात्रै नभएको भन्दै मौलिक मानव अधिकारको प्रश्न भएको बताए । अहिले पनि नेपालमा धेरै महिलाहरु सुरक्षित मातृत्व सेवाबाट वञ्चित रहेको बताए । सभापति साहले सुरक्षित मातृत्व सेवा दिएर आमा र बच्चालाई सुरक्षित गर्न राज्यको दायित्व भएको जानकारी दिए । सरकारले मातृत्व र नवजात शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण कदम चालेको बताए । स्वास्थ्य सेवामा सरकारले पुहँच बढाए पनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले सिमान्तकृत महिलाहरुको मातृृत्व अधिकारमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ केन्द्रित रहेको भन्दै कार्यान्वयनको लागि सबै निकायको प्रयास आवश्यक रहेको बताए ।

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धन गर्दै भोजपुरका रञ्जित गिरी

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय छन् । ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु’, रञ्जित गिरीले भने, ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।’ करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा  ९० लाख रुपैयाँ लगानी गरेका छन । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ । विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब रु दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए । ‘अर्ग्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन’, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । उनले हाल अर्ग्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय रुपैयाँ, कालो चिया एक हजार दुई सय र सिल्भर चिया ३० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् । ‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने  पनि योजना छ ।’ हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् । बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफैं गर्दै आएका छन् । साथै उनले किसानलाई आवश्यक परामर्श पनि दिँदै आएका छन् । व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख रुपैयाँ उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । रासस