नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने
मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ । बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे । अस्पताल भवन निर्माणका निम्ति ६ करोड ६७ लाख ९६ हजार ९३३ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए । भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । रासस
सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म
काठमाडौ‌ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ । बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसाोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र रहेर सञ्चालन हुने जानकारी दिए । चौधरीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ । साथै आगामी दिनमा सञ्चालन हुने होटल तथा रिसोर्टलाई पनि यहीँ छाताभित्र रहने उनले बताए। कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै सञ्चालनमा आउनेछ । होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्ने छ । सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डरमार्फत नेपाल आउन लागेको हो । उक्त होटलमा १७५ कोठा हुनेछन् भने रुफटपसहित विभिन्न रेष्टुरेन्टको पनि सुविधा उपलब्ध हुनेछ । होटलमा ६ वटा हल हुनेछन् भने सबैभन्दा ठूलो हल पाँच हजार वर्ग फिटको हुनेछ । विसं २०७६ वैशाखमा शिलायन्यास गरिएको यो होटल यस वर्षदेखि सञ्चालनमा आउन लागेको हो । होटलको चौथो तलादेखि रुमहरु सुरु हुनेछन् भने होटलबाट काठमाडौँ उपत्यकाको फराकिलो दृश्य अवलोकन गर्न सकिनेछ । क्राउन प्लाजा होटल आधुनिक विलासितको झल्को दिने गरी निर्माण गरिएको छ । होटलको सबैभन्दा आकर्षण रुफटप प्लाजा हो । होटलको १२ औँ तलामा रहने रुफटपबाट काठमाडौँ उपत्यकाको ३६० डिग्री भ्यु हेर्न सकिनेछ । सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो, नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भइ गत वैशाखदेखि सञ्चालनमा आएको लक्जरी रिसोर्ट भंगेरी दरबारको झल्को दिने गरी निर्माण गरिएको छ । चन्द्र शमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो । होटलमा ५१ वटा कोठा छन् । पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अत्याधुनिक सुविधा उपलब्ध गराइएको छ । रिसोर्टबाट सगरमाथालगायतका हिमाल र सूर्योदय अवलोकन गर्न सकिन्छ । साथै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका पहाडी बस्ती अवलोकन गर्न पाउनुका साथै धुलिखेल, चिसापानी, चाँगुनारायणलगायतका स्थानमा पदयात्रामार्फत पुग्न सकिन्छ । कम्पनीले सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारीलाई पनि समेटेको छ । अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा सञ्चालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ । छ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट जंगल थिममा ३२ वटा प्राइभेट भिल्ला निर्माण गरिएको छ । रिसोर्टमा वाइल्ड लाइफ गतिविधि पनि सञ्चालनमा छन् । कम्पनीका अनुसार जिप सफारी क्यानोइङ, जंगल वाक, भिलेज वाक, थारु सांस्कृतिक नृत्यलगायतका गतिविधि सञ्चालनमा छन् । कर्पोरेट इभेन्ट र डेस्टिनेसन वेडिङका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको छ । रिसोर्टका भिल्लाबाटै जंगली जनावरका गतिविधि पनि अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ललितपुरको पुलचोकमा सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु द प्लाजा पनि सिजी होटेल्स एण्ड रिसोर्टको छाता भित्र सञ्चालनमा ल्याइएको छ । द प्लाजामा कूल १२ हजार वर्गफिटको ठूलो हलमा थिएटर सेटअपमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ । यहाँ तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । द प्लाजामा मागअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअललगायतको सुविधा ब्यवस्था हुनेछ । यसैगरी काठमाडौँको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट सञ्चालनमा छ । काठमाडौँ उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिन्छ।
नेपाल आयल निगमले कमायो साढे १३ अर्ब बढी नाफा
काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । मन्त्रालयको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा निगमको कुल सञ्चालन आय ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च १ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन भएको छ । यसैगरी गत आवमा निगमको सञ्चालन संचित नाफा १६ अर्ब ८६ करोड रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ । गत फेब्रुअरी २८ देखि मध्यपूर्वमा सुरु भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएसँगै निगमले लगातार मूल्य बढाउँदै आएको छ । एकातिर उपभोक्ता मारमा परिरहेका बेला अर्कोतिर निगमको नाफा भने अर्बौं रुपैयाँ देखिएको छ । सञ्चित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा जम्मा भएर बसेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सोही अनुपातमा मूल्य वृद्धि नगर्नका लागि उक्त कोषको करिब आधा रकम प्रयोग गरिएको दाबी निगमले गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारको घाटा थेग्न भन्दै निरन्तर मूल्य बढाइरहेको आयल निगम चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा पनि सञ्चित नाफाकै अवस्थामा रहने प्रक्षेपण गरिएको छ । उपभोक्ता तहमा महँगीको मार परे पनि निगमको वित्तीय स्वास्थ्य भने मजबुत देखिएको अर्थ मन्त्रालयको समीक्षाले देखाउँछ ।
सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँ बढ्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ रुपैयाँ कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एमालेको कमान्ड लिन शीर्ष नेताहरू सक्रिय
काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी को बन्ने भन्ने विषयमा आन्तरिक बहस र तयारी सुरु भएको छ । अध्यक्ष ओलीले आगामी केही महिनाभित्र सक्रिय नेतृत्वबाट क्रमशः बिदा लिने संकेत गरेसँगै पार्टीभित्र भावी नेतृत्वको समीकरणबारे छलफल तीव्र हुन थालेको एमाले निकट स्रोतहरूले बताएका छन्। पछिल्लो समय ओलीपछिको नेतृत्व सम्हाल्ने आकांक्षासहित बहालवाला तथा पूर्वपदाधिकारीहरूले आन्तरिक लबिङ र कार्यकर्ता भेटघाट बढाएका छन् । स्रोतका अनुसार पार्टीका पाँचै उपाध्यक्षहरू आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदको दौडमा देखिएका छन् । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तलाई स्वाभाविक रूपमा भावी नेतृत्वका आकांक्षीका रूपमा हेरिएको छ । उनीहरूले संगठनभित्र आफ्नो प्रभाव विस्तार गर्ने तथा कार्यकर्तामाझ उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको स्रोतहरूको भनाइ छ । उपाध्यक्षहरूबाहेक महासचिव शंकर पोखरेलले पनि अध्यक्ष पदप्रति रुचि देखाउँदै कार्यकर्ता भेटघाट र आन्तरिक संवादलाई तीव्र बनाएको स्रोतले बताएको छ । पार्टी संगठनमा लामो अनुभव र ओली निकट नेताका रूपमा पोखरेललाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ । त्यस्तै, एमालेका दुई पूर्व पदाधिकारीको नाम पनि भावी नेतृत्वको चर्चामा आएको छ । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पनि अध्यक्षका सम्भावित दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ । यद्यपि, पार्टीले नेतृत्व हस्तान्तरणबारे कुनै औपचारिक निर्णय गरिसकेको छैन । एमालेभित्र भने आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै शक्ति सन्तुलन, गुटगत समीकरण र भावी नेतृत्वबारे आन्तरिक कसरत सुरु भइसकेको नेताहरू बताउँछन्। एमाले उच्च स्रोतका अनुसार आगामी असार २० गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पार्टीको पुनर्गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ । उक्त बैठकले नेतृत्व हस्तान्तरण गर्नेगरी पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषदको बैठक आव्हान गर्ने भन्ने निर्णय गर्ने स्रोतले जानकारी दियो ।
पोखरामा प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘रिफ्रेसमेन्ट’ कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको सहभागितामा पोखरामा आयोजित तीन दिने मनोरञ्जनात्मक तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ । जेठ १३, १४ र १५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संगीत, हाँसो र विभिन्न गतिविधिहरूको गुञ्जनले पर्यटकीय नगरी पोखरा थप उल्लासमय बनेको थियो । कार्यक्रममा फेवा ताल अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षणका रूपमा रहेका थिए । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले यस्ता कार्यक्रमले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्नुका साथै कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले सुन्दर पोखरामा आयोजित कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिरमा सम्पन्न भजन कन्सर्टले सहभागीहरूलाई नयाँ अनुभव दिलाएको उल्लेख गरे । कार्यक्रममा करिब १५० भन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको थियो । पोखरा भ्रमण, सांगीतिक साँझ, भजन कन्सर्ट लगायतका गतिविधिहरू हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायिका समिक्षा अधिकारी, गायक प्रकाश सपुत तथा हास्य कलाकार सन्दीप क्षेत्री को प्रस्तुतीले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिएको थियो । साथै स्थानीय भजन समूहले ताल बाराही मन्दिर परिसरमा भक्तिमय वातावरण सिर्जना गरेका थिए । कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने ले गीत, संगीत र हास्य प्रस्तुतिले अभिकर्ता लिडरहरुलाई उत्साहित बनाएको बताए । कम्पनीले अभिकर्ताहरुलाई लक्षित गर्दै निरन्तर रुपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
कस्तो आउँदैछ बालेन सरकारको बजेट ?
काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाई जनमत पाएर बनेको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेटलाई महत्त्वका साथ हेरिएको छ । सर्वसाधारणदेखि विज्ञहरुले यस बजेटलाई ठूलो चासो दिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थविद् भएकोले पनि यो बजेटलाई धेरैले महत्वका साथ हेरेका छन् । सरकार सुशासन, आर्थिक सुधार र सार्वजनिक खर्चको प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारीमा छ । अर्थतन्त्रमा देखिएको सुस्तता, घट्दो राजस्व संकलन, बढ्दो सार्वजनिक ऋण र विकास खर्चको कमजोर कार्यान्वयनजस्ता चुनौतीबीच आउने बजेटले निजी क्षेत्र, रोजगारी, उत्पादन वृद्धि र पूर्वाधार निर्माणलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ । राष्ट्रिय योजना आयोगले सुरुवातमा करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सीमाको सिलिङ दिए पनि सरकारले २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री वाग्लेले रास्वपाको वाचापत्र अनुसार नै बजेट आउने बताउँदै आएका छन् । रास्वपाले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ । कर प्रणालीलाई सरलीकरण गर्दै व्यक्तिगत र संस्थागत करको बोझ हटाउने वाचा पनि पार्टीले गरेको छ । निजी क्षेत्रसँग उन्नत समझदारी गर्ने तथा करिब दुई दर्जन असान्दर्भिक कानुन खारेज गर्ने रास्वपाको योजना छ । सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिबद्धता पनि पार्टीले गरेको छ । यस्तै, सूचना प्रविधिको क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै हालको १ अर्ब ५० करोड डलर निर्यातलाई १० वर्षमा ३० अर्ब डलर पुर्याउने घोषणा गरेको छ । सातै प्रदेशमा ‘डिजिटल पार्क’ निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । क्रिप्टोकरेन्सी नियमन, डाटा सेन्टर विकास, एआई कम्प्युटिङ निर्यात तथा रिमोट वर्कलाई कानुनी मान्यता दिने नीति लागू गर्ने पनि वाचा गरेको छ । यिनै कार्यक्रमहरुलाई समेटेर अर्थमन्त्री वाग्लेले बजेट ल्याउँदैछन् । अर्थमन्त्री डा. वाग्लेले पनि पार्टीको वाचापत्र अनुसार नै बजेट आउने घोषणा गरिसकेका छन् । उनले सार्वजनिक कार्यक्रममा भन्दै आएका छन्, ‘बजेट कस्तो आउँछ भन्ने विषयमा दुविधामा नपर्दा हुन्छ, पार्टीको १०० बुँदे वाचापत्र अनुसार नै आउँछ, त्यही अध्ययन गरेपछि बजेट कस्तो आउँछ भन्ने थाहा पाइहाल्नु हुन्छ ।’ रास्वपाको वाचापत्रमा सार्वजनिक सेवा लाइनमा नभई, अनलाइनमा हुने राष्ट्रिय अभिलेख र डिजिटल सुशासन सुदृढीकरण गर्न नेपालमा बसोबास गर्ने सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराई, एकीकृत राष्ट्रिय डाटाबेस निर्माण गर्ने र यसमार्फत राष्ट्रिय अभिलेख व्यवस्थालाई सुदृढ बनाउँदै सेवा प्रवाह, सामाजिक सुरक्षा र सार्वजनिक नीति कार्यान्वयनलाई तथ्यांक–आधारित बनाइ सुशासनको भरपर्दो आधार निर्माण गर्ने घोषणा गरेको थियो । यस्तै, सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्न सक्ने क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएको ‘थोरैले धेरै सेवा’ दिने आधुनिक निजामती सेवा निर्माण गर्ने प्रतिवद्धता रास्वपाको छ । केन्द्रमा अनावश्यक रूपमा थुप्रिएको जनशक्तिलाई सेवा प्रवाह हुने प्रत्यक्ष बिन्दु (सर्भिस डेलिभरी पोइन्ट) मा पुनः व्यवस्थित गर्ने, भत्ता लगायतका असङ्गत अतिरिक्त सुविधाहरूको सट्टा कर्मचारीको आधारभूत वेतनलाई उचित, नियमित र समय सापेक्ष परिमार्जन गरि कार्यान्वयन गर्ने र नतिजामूलक प्रशासन सुनिश्चित गर्न स्पष्ट कार्यसम्पादन सूचकाङ्क, मूल्याङ्कन, पदोन्नति तथा वृत्ति विकासको व्यवस्था प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निजामती सेवा विधेयक ल्याउने उल्लेख गरेको थियो । बजेटले पनि यो कार्यक्रमका विषयमा बोल्नेछ । सरकारले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा, नीतिगत दोहनजस्ता विकृतिहरू नियन्त्रण, झन्झटिला ऐन र तजबिजी प्रक्रियाहरू श्रृंखलावद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण (डुइंग बिजनेस) सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउने बताइसकेको छ । आगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक संस्थानको विषयलाई प्राथमिकताका साथ उठाइएको बताइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार २७ वटा सार्वजनिक संस्थान नाफामा र १६ वटा घाटामा छन् । सरकारले अब सार्वजनिक संस्थानको वर्गीकरण गरी केहीलाई गाभ्ने, केही निजी-सार्वजनिक मोडलमा लाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने तयारी गरेको छ । सरकारले बजेटमार्फत बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्ने विषयमा पनि बजेटमा उल्लेख गर्नेछ । त्यसको तयारी पनि गरिसकेको बुझिएको छ। यस्तै, नेपालको आर्थिक रूपान्तरणका लागि विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति दिने कार्यक्रम पनि सरकारले घोषणा गर्दैछ । भौतिक पूर्वाधारमा डायस्पोराको पूँजी र ज्ञान आकर्षित गर्ने कार्यक्रम सरकारले घोषणा गर्दैछ । रास्वपाले वाचापत्रमा घोषणागरे अनुसार सूचना प्रविधिक्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ का रुपमा घोषणा गरेर यो क्षेत्रमा आकर्षण प्याकेज तथा सहुलियतका कार्यक्रमहरु ल्याउने तयारी पनि गरेको बुझिएको छ । हालको १.५ अर्ब डलरको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुर्याउने लक्ष्य सरकारले लिएको छ । अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रूपमा विकास गर्न दीर्घकालीन लक्ष्यसहित आगामी पाँच वर्षमा सोही अनुरूप स्रोत विनियोजन तथा सार्वजनिक–निजी लगानी अभिवृद्धि गर्ने पार्टीको योजना अनुसार सरकारले बजेट विनियोजन गर्दैछ । सरकारी तथा सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर र एप्लिकेशनहरू नेपालमै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गर्दै हुलाक सेवालाई डिजिटल नेपाल निर्माणको आधारभूत सार्वजनिक पूर्वाधारका रूपमा पुनस्र्थापित गर्ने र परम्परागत वितरण प्रणालीलाई प्रविधिमैत्री, ग्राहक–केन्द्रित र परिणाममुखी ढाँचामा रूपान्तरण गर्दै हुलाक सेवालाई सस्तो, छिटो र विश्वसनीय सेवा दिइने बहुउद्देश्यीय केन्द्रका रूपमा विस्तार गर्ने तयारी सरकारको छ । सरकारी र निजी क्षेत्रका सबै आर्थिक कारोबारहरूलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी ‘क्यासलेस’ समाजको निर्माण गरी भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रण गर्दै आईटी क्षेत्रलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य उद्योग बनाउन आईटी सेवा र सफ्टवेयर निर्यातमा स्वचालित नगद प्रोत्साहन र केही वर्षसम्म आयकरमा पूर्ण छुटको व्यवस्था सरकारले गर्ने तयारी गरेको छ । नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई बढाउँदै ट्रेकिङ-केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ स्थापनामा सरकारको ध्यान केन्द्रीत छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा लैजाने तयारी सरकारको छ भने विभिन्न अनलाइन कारोबारमा लाग्ने शुल्कको कर कम गर्ने, निर्यात प्रवर्द्धन गर्न अनावश्यक कर घटाउने तथा सरकारी कर्मचारीको तलब बढाउने तयारी सरकारले गरेको छ ।
इरान र अमेरिका युद्धविरामको सहमति नजिक
काठमाडौं । अमेरिका र इरानबीच युद्धविरामको अवधि बढाउन र हर्मुज जलडमरूमा लगाइएका प्रतिबन्धहरू हटाउने विषयमा बिहीबार एक सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई स्वीकृत गर्न बाँकी नै छ । यता इरानी सरकारी सञ्चारमाध्यमले यो अझै अन्तिम रूपमा सुनिश्चित भइनसकेको जनाएका छन् । यस मामिलाका जानकार चार स्रोतहरूका अनुसार यो सहमतिले युद्धविरामलाई थप ६० दिनका लागि बढाउनेछ । यसका साथै वार्ताकारहरूले इरानको आणविक कार्यक्रमजस्ता जटिल मुद्दाहरू सुल्झाउँदै गर्दा यो रणनीतिक जलमार्गमा यातायात सूचारु हुन दिने जनाएका छन् । यदि वासिङ्टन र तेहरानका नेतृत्वले यसलाई स्वीकृति दिएमा यो गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएयता शान्तितर्फको सबैभन्दा ठूलो कदम हुनेछ । सम्भावित सहमतिको यो खबर दुई देशबीच एकअर्कामाथि भएका शृङ्खलाबद्ध आक्रमणहरू पछि आएको हो । यसअघि अप्रिलको सुरुमा युद्धविराम लागू भएको थियो । ट्रम्पले हालसम्म यस सम्झौतालाई अनुमोदन नगरेको स्रोतहरूले बताएका छन् । एक्सियसले पहिलोपटक सार्वजनिक गरेको यस प्रस्तावित सम्झौताबारे इरानले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । वार्ता टोली निकट स्रोतलाई उद्धृत गर्दै इरानको तस्निम समाचार एजेन्सीले सम्झौताको मस्यौदालाई अन्तिम रूप नदिइएको वा पुष्टि नगरिएको जनाएको छ । ‘हामी अझै त्यहाँसम्म पुगिसकेका छैनौं, तर हामी निकै नजिक छौं र यसका लागि निरन्तर काम गरिरहनेछौं,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वासिङ्टनमा पत्रकारहरूलाई भने । ‘हामी त्यहाँ पुग्छौं नै भनेर म ग्यारेन्टी दिन सक्दिनँ, तर अहिलेको अवस्थामा म यसप्रति निकै सकारात्मक छु,’ उनले थपे । ट्रम्प प्रशासनले यसअघि पनि धेरै पटक लडाइँ अन्त्य गर्ने सम्झौता नजिक पुगेको दाबी गरेको थियो, तर इरानले ती दाबीहरूको खण्डन गर्ने वा तिनलाई कम आँक्ने गरेको थियो । यस सम्झौताले जलडमरू भएर हुने अनियन्त्रित ढुवानीलाई स्पष्ट पार्नेछ र अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नाकाबन्दी पनि हटाउनुपर्नेछ । अमेरिकाले इरानी तेल बिक्रीमा लगाएका केही प्रतिबन्धहरू पनि हटाउनेछ । विश्वको झन्डै पाँच भागको एक भाग तेल र तरल प्राकृतिक ग्यास आपूर्ति हुने प्रमुख पारगमन मार्ग, हर्मुज जलडमरू पुनः खुल्न सक्ने आशामा यी रिपोर्टहरूसँगै तेलको मूल्यमा गिरावट आएको छ । यसअघि अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना सेनाले पाँचवटा इरानी आक्रमणकारी ड्रोनहरू खसालेको र बन्दरगाह सहर बन्दर अब्बासमा रहेको एउटा भूमिगत नियन्त्रण केन्द्रमा प्रहार गरेको बताएको थियो, जहाँबाट छैटौं ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको थियो । त्यसपछि कुवेती सेनाले आफ्नो देशतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइललाई बीचैमा निष्क्रिय पारेको थियो । कुवेतमा ठूलो अमेरिकी सैन्य बेस (आधार शिविर) रहेको छ । एक अमेरिकी अधिकारीले इरानको बुशेहर नजिक अमेरिकी विमान खसालिएको कुरा अस्वीकार गरेका छन् । यसअघि इरानको सरकारी टेलिभिजनले त्यहाँ एउटा अमेरिकी विमान खसालिएको दाबी गरेको थियो, जसलाई अमेरिकी अधिकारीले खण्डन गरेका हुन् । यी घटनाहरू सीमित भए तापनि यसले तीन महिना लामो युद्ध अन्त्य गर्नका लागि जारी वार्ता कति नाजुक मोडमा छ भन्ने कुरालाई उजागर गर्दछ । यो युद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने विश्वव्यापी ऊर्जा बजारलाई अस्तव्यस्त बनाएको छ । नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले यी प्रहारहरू प्रतिरक्षामूलक र युद्धविराम कायम राख्ने उद्देश्यले गरिएका बताएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बन्दर अब्बास आक्रमणका लागि जिम्मेवार अमेरिकी बेसलाई आफूहरूले निशाना बनाएको र यस्ता घटना दोहोरिएमा ‘अझ निर्णायक जवाफ’ दिइने बताएको तस्निम समाचार एजेन्सीले रिपोर्ट गरेको छ । कुवेतले यस आक्रमणको भत्र्सना गर्दै इरानलाई यो गम्भीर तनाव तत्काल रोक्न माग गरेको छ । यो हप्ताको दोस्रो ठूलो तनावको रूपमा रहेको यो हिंसा, क्षेत्रभरि मनाइँदै गरिएको मुस्लिमहरूको चाड इद–अल–अधाको समयमा भएको हो । यस द्वन्द्वमा क्षेत्रका धेरै देशहरू प्रत्यक्ष-परोक्ष रूपमा तानिएका छन् । मध्यस्थकर्ता पाकिस्तानले आफ्ना विदेशमन्त्री इसाक डारले शुक्रबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन (मार्को रुबियो) सँग भेट गर्ने बताएको छ, यद्यपि उनको यो भ्रमणको महत्त्व भने अझै स्पष्ट भइसकेको छैन । ट्रम्पले मार्चको मध्यदेखि नै युद्धको अन्त्य नजिक रहेको पटक–पटक बताउँदै आएका छन्, यद्यपि दुवै पक्षले साझा विन्दुमा पुग्न सार्वजनिक रूपमा खासै तत्परता देखाएका छैनन् । इरानले प्रतिबन्धहरू हटाउन, विदेशी सम्पत्ति रोक्का फुकुवा गर्न र यस क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्न माग गरेको छ । वासिङ्टनले भने इरानलाई आफ्नो आणविक कार्यक्रम बन्द गर्न आग्रह गरेको छ, जसलाई तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । इरानले कुनै पनि शान्ति सम्झौताका लागि अमेरिकी सहयोगी इजरायलले लेबनानमा गरिरहेको आक्रमण पनि बन्द गर्नुपर्ने सर्त राखेको छ, तर त्यो द्वन्द्व कम हुने कुनै संकेत देखिएको छैन । इजरायलले दक्षिणी सहर टायरमा इरान समर्थित हिजबुल्लाह लडाकुहरूको पूर्वाधारलाई निशाना बनाएको र राजधानी बेरुतमा पनि हवाई आक्रमण गरेको जनाएको छ। इजरायलले हिजबुल्लाहको खोजीमा लेबनानको भित्री भागसम्म सैन्य कारबाही तीव्र पार्दा लाखौं मानिसहरू विस्थापित भएका छन् । लेबनानी सेनाले इजरायली आक्रमणमा आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकाले ओमानलाई हर्मुज जलडमरूमा शुल्क (टोल) लगाउने इरानको कुनै पनि प्रयासमा संलग्न नहुन चेतावनी दिएको छ । यी दुई देशबीच आर्थिक र सैन्य सम्बन्धको इतिहास भए तापनि ट्रम्पले बुधबार ओमानमाथि बमबारी गर्ने धम्की दिएका थिए । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले ओमानका राजदूतले आफूलाई त्यस्तो शुल्क लगाउने कुनै योजना नरहेको बताएको जानकारी दिएका छन् । ओमानले इरानसँग जलडमरूको संयुक्त नियन्त्रण गर्ने विचारबारे कुनै उल्लेख गरेको छैन, बरु उनीहरूबीच जलयात्राको स्वतन्त्रताबारे छलफल भएको बताएको छ । तेहरानले भने ‘अमेरिकी अधिकारीहरूको धम्की’ पछि ओमानप्रति ऐक्यबद्धता प्रकट गरेको छ । अन्य पठनीय सामग्रीहरू : फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति