तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा
काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ । २०८० असार २ गते आएको बाढीले क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो । बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले जनाएको छ । नेप्सेमा जारी सूचनामा भनिएको छ ‘अहिले आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरूको आवश्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न भएको हुँदा यसबाट विद्युत उत्पादन हुन सक्ने अवस्था निर्माण भएकोले २०८१ जेठ २२ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।’
पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्छु : कुमारमणि थपलिया
काठमाडौं । नाट्टाको अध्यक्ष पदका उम्मेद्वार कुमारमणि थपलियाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् । नाट्टा निर्वाचनको पूर्व सन्धामा उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधिन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गराउने बताएका छन् । थपलियाले विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई दुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरू लाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिने उनले बताएका छन् । हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्बन्धमा यस एशोशियसनले बिगतदेखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने उनले बताएका छन् । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइने उनको भनाइ छ । पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने थपलियाले बताएका छन् । उनले गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तराष्ट्रिय उडानलाई जोड दिने बताएका छन् । यी दुई विमानस्थललाई प्रयोगमा ल्याउने हो भने अहिले आइरहेका पर्यटनहरू संख्या वृद्धि गर्न सहयोग हुने उनले बताएका छन् । ‘पर्यटकको संख्या बढाउने हो भने गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनपर्छ त्रिभुवन विमानस्थलले मात्रै थाम्दैन,’ उनले भने । राजधानी लगायत अन्य मूख्य पर्यटकिय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिने उनको टिमको प्रतिबद्धता रहेको छ । त्यस्तै विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा इस्यू भईसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरूद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि आवश्यक पहल समेत गर्ने उनले बताएका छन् । थपलिया यही जेठ २५ गते हुन लागेको नाट्टाको अध्यक्ष पदका प्रत्यासी हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालक समेत हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल, रमाकुमारी प्याकुरेल, दिनेश मैनाली र सुदर्शन गजुरेलको उम्मेदवारी परेको छ ।
जलवायु परिवर्तनले बालबालिकामा दमको रोग बढ्दै
पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल सहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाईन्छ । ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना विरामी दमका हुने गरेको छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिंदा दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिंदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ । दमलाई औैषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दिर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ । बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुंदा ठीक संग औषधी लिएमा पछी गएर आफै हराउँन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवश्यकता रहँदैन । दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत विरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् । (बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल कार्यरत छन् )
अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने
काठमाडौं । अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक जुलाईको सुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रति घण्टा बाट बढेर २४.१० अस्ट्रेलियन डलर (१६.०५ अमेरिकी डलर) प्रति घण्टा, वा ९१५.९० अस्ट्रेलियन डलर (६०९.९९ अमेरिकी डलर) प्रति हप्ता ३ घण्टाको आधारमा बढ्नेछ । आयोगका अनुसार अस्ट्रेलियाली श्रमशक्तिको २०.७ प्रतिशत वा करिव २६ लाख मानिसलाई न्युनतम ज्याला दर दिइन्छ । प्रवाह–अन प्रभावहरूको लेखांकनपछि न्यूनतम पारिश्रमिकमा वृद्धिले सबै अस्ट्रेलियाका कर्मचारीहरूको एक चौथाईलाई असर गर्ने अनुमान गरेको छ । आयोगले न्यूनतम पारिश्रमिकलाई मुद्रास्फीति दरभन्दा धेरैले बढाउनु उपयुक्त नभएको बताएको छ । अप्रिलसम्मको १२ महिनामा मुद्रास्फीति ३.६ प्रतिशतले बढेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले मेमा जनाएको छ । ट्रेजरी प्रक्षेपणका अनुसार सन् २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति ३ प्रतिशतभन्दा तल झर्ने लक्ष्य छ ।
नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिस खडकाले हस्ताक्षर गरेका थिए ।
एनसेल र नेपाल युवा परिषद्को पहलमा ७७ जिल्लामा ७७ सय रुख रोपिने
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एकैसाथ सातहजार ७०० बिरुवा रोप्न सहकार्य गरेको छ । ‘एक युवा, एक बिरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बिरुवा रोपिने जनाइएको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरूप ुएक युवा, एक बिरुवाु अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक बिरुवा रोप्ने जनाएको छ । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ । रोपिएका हरेक बिरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारीसहितको राष्ट्रियस्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को छ । सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ । ‘आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरूको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणासँगै यस पहलको सुरुवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौँ । यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् । नेपालका युवाहरूको बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रूपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरूसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ । नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेर वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए । एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा रहेका युवाहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा समेत ऐक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान सञ्चानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ ।
एसबिआई बैंक र फोनपेबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसँँग सम्झौता गरेको हो । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब यूपीआई आबद्ध एपहरू फोन पे, भीम यूपीआई, गुगल पेको प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । नेपाल एसबिआईको फोनपे नेटवर्कसाग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै यूपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन् । सम्झौताले नगदरहित कारोवारलाई प्रबर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य लिएको छ । उक्त सम्झौता पत्र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।
गण्डकीमा एक हजार ५ सय किलोमिटर सडक स्तरोन्नति
म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९औ०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो । ‘प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ’, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, ‘सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।’ बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् । निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए । रासस