विकासन्युज

४ अर्बको लगानीमा भरतपुर विमानस्थल विस्तार गरिने, नयाँ टर्मिनल बनाउन २ अर्ब खर्च हुँदै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ । महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोध पछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो । प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उहाँकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो । यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतका उपस्थितिमा पटकपटक बैठक बसेका थिए । विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थित थियो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो । यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् । भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी हुँदैछ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न दुई अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदैछ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ । प्रमुख दाहालले भनिन्, ‘अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।’ चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् । विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसैँ घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यती लगायतका एयरलाइन्सका एटिआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए । हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ । रासस

सवा २ करोडको खर्चमा बन्यो पालिकाको प्रशासनिक भवन

खोटाङ । जन्तेढुंगा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो । तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन् । रासस

प्रहरीद्वारा एक करोडको सामान बरामद

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले दुई लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट गैरकानुनी रुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर कुखुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ । जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट १४ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए । यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताए ।

मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंको मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सट डाउनमा राखेर कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो । शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा बताइएको छ ।

श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज

काठमाडौं । श्री एयरलाइन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हामिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका विमान थपको छ । कम्पनीले शनिबार सुचना जारी गर्दै क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हामिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका विमान थपेको जानकारी दिएको हो । ‘श्रीले नेपाल भित्र्याएको उक्त जहाजको कल साइन ९एन-एओएम हो, आन्तरिक उडानमा आक्रामक सेवा विस्तार गर्दै गरेको श्री एयरलाइन्स जहाज संख्याका हिसावले सबैभन्दा ठूलो कम्पनी हो, यो वायुसेवासँग नियमित सेड्युल फ्लाइट गर्ने जहाजको संख्या ११ वटा पुगेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । श्रीले एउटा थप गरेसँगै ड्यास ८ सात वटा पुगेको छ । यो कम्पनीसँग ५० सिट क्षमताको सीआरजे २ वटा र ७० सिट क्षमताके अर्को २ वटा सीआरजे ७०० नामको जहाज रहेको कम्पनीको जनाएको छ । कम्पनीका अनुसार यो वायुसेवासँग २४ सिट क्षमताका ठूला ६ वटा र साना २ वटा हेलिकप्टर छ । श्रीले नयाँ थप गरेको जहाजलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएपछि नियमित उडानका गन्तव्यमै सेवा विस्तार गर्ने भएको छ । यो वायुसेवाले सुगम क्षेत्रमा दिने सेवाले यात्रुलाइ सहज हुने भएको छ भने प्रतिस्पर्धाका कारण यात्रुले हवाइ भाडा समेत सस्तो पर्ने श्री एयलाइन्सले बताएको छ । ‘श्रीले थप गरेको नयाँ जहाज संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाज क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित जहाज हुन् । ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावको इन्जिन जडित विमान हो’, विज्ञप्तीमा भनिएको छ । उक्त जहाज श्री एयसलाईन्सका पाइलटहरु द्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसलैण्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुदै आएको हो । यो जहाज करिब १० हजार ४०० माइलको दुरीलाइ ३३ घण्टा उडेर आएको कम्पनीले जानकारी दिएको छ । श्री एयरलाईन्सले सेवा सुरु गरिसके पछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन् । यसका जहाजले हाल काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा सञ्चालन गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पुरा गरी नयाँ विमानवाट आफ्ना आन्तरिक गन्तव्यहरुमा थप उडान गरि भरपर्दो सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ ।

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताए । ‘अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ’, उनले भने, ‘प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।’ गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो । ‘नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन’, कार्यालय प्रमुख रिजालले भने, ‘अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफै भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।’ मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभलगायत ‘राइड सेयरिङ’ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । ‘राइड सेयरिङ’ सेवाका लागि दुई पाङ्ग्रे सवारीसाधन दर्ता गर्न २५ हजार रुपैयाँ र नवीकरण शुल्क प्रतिवर्ष १२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क ५० हजार रुपैयाँ र नवीकरण शुल्क २५ हजार रुपैयाँ कायम गरिएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता अनुमतिका लागि ७० हजार रुपैयाँ र वार्षिक नवीकरण ३५ हजार रुपैयाँ तोकिएको छ । सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्यका लागि ‘राइड सेयरिङ’लाई वैधानिकता दिनुपर्ने माग हुँदै आएकाले राइड सेयरिङ एपहरुको नियन्त्रण र व्यवस्थापन जरुरी रहेको बताइएको छ । यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले राइड सेयरिङ सेवालाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । ‘जसलाई मन लाग्यो उसैले एप राखेर यात्रु बोक्न पाइँदैन, सरकारले नियमन गर्नुपर्छ’, उनले भने, ‘निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो ?’ रासस

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

औषधिजन्य जडीबुटी मेला आजदेखि, नेपालमा ५ हजार औषधि उत्पादन हुने

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडिवुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ । चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका वहुमुल्य जडीबुटी प्रर्दशनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडिवुटीबाट मिश्रित पथ्य आहार एव खानपानको जानकारी गराइने उनले बताए । कित्सालयका प्रमुख डा. नेपालले मेलामा जडिबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडिबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडिबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताए । यसैगरी प्रविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडिबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडिबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ । मेलामा औषधिजन्य जडीवुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतिको बारेमा पनि छलफल हुने छ । मेलाबाट औषधिको प्रयोग भएपनि लोपोन्मुख रहेका जडिवुटीको संरक्षण गर्न सहयोग मिल्ने छ । चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिव पाँच हजार ६०० जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताए ।