सिन्धुपाल्चोकमा गयो भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आएको छैन । बाढीपहिरोको उच्च जोखिममा रहेका सिन्धुपाल्चोकबासी वर्षात्को बेलाको भूकम्पले हल्लाएपछि त्रसित बनेका छन् ।
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
झापा । कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । ‘राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ’, उनले त्यसबेलाको घटना सम्झिँदै भने, ‘हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ’, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उनले सुनाए । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ । बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो । मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताए । नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिए । साइरन जडान भएको स्थानमा कनकाई नगरपालिकाको वडा नं ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन् । खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ । इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो । साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसङ्ख्या र इलामको चार सय घरका दुई हजार जनसङ्ख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् । बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि एक सय ५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ । झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ । ‘जलसतहको विश्लेषण गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ’, साइरनबारे जानकारी दिँदै रेडक्रसकर्मी खड्काले भने, ‘पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।’ उनले करिब ३० मिनेटमा तीनपटक साइरन बजिसक्दा बस्ती छाड्नुपर्ने बताए । शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताए । उनले साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेका बताए । उनले विगतमा बाढी पसेको स्मरण गर्दै भने, ‘साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ ।’ रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिए । उनले चालु आर्थिक वर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताए । उनले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिए । एक महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको सम्पर्क व्यक्ति खड्काले बताए । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उनले बताए । रासस
भोजपुरमा तीन करोड ५७ लाखमा पक्की पुल निर्माण
भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । ‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने । राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए । रासस
सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्र र सञ्चालकमा नारायणराज नियुक्त
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंकको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । साथै, उक्त बैठकले नारायणराज अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट अन्य सञ्चालक प्रमेशराज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र सञ्चालकहरू अभिजित मुल, ज्योत्सना बोहरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको सह-लगानी छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरूले पूँजीबजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या समाधानका लागि संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरका शाखा कार्यालबाट प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
अध्यक्षको घरबाट सीईओ पदमुक्त, प्राधिकरण पुगे विजय
काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनी पनि असारे चटारोमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ सकिन करिब दुई साता बाँकी रहँदा वित्तीय संस्थाका कर्मचारी तथा व्यवस्थापन तहका कर्मचारीहरूलाई भ्याइनभ्याई छ । कम्पनीको व्यवस्थापकीय प्रमुखलाई एकातर्फ वार्षिक हिसाब किताब मिलाउन दबाब छ भने अर्कोतर्फ आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण गर्न तनाब छ । यो रस्साकस्सी र प्रतिस्पर्धा विभिन्न कम्पनीका व्यवस्थापकीय नेतृत्वमा छ । तर, यो असारे चटारोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहलाई पदमुक्त गरेर आफ्नो साहसीपन देखाएको छ । सीईओ शाहको कार्यकाल बाँकी रहँदै कम्पनीको सञ्चालक समितिले उनलाई पदमुक्त गरेको हो । असारे चटारो र कार्यकाल बाँकी रहँदै सीईओ शाहलाई पदमुक्त गरेपछि बीमा बजार, सञ्चार माध्यम र सरोकारवालाहरुले पनि यो विषयलाई गम्भीरताका साथ चासो दिएका छन् । बीमासँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी हुन सीईओ शाह केही दिनअघि अमेरिका पुगेका थिए । सञ्चालक समितिले निर्णय गरेर बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले समेत उनलाई अमेरिका जान अनुमति दिएको थियो । यो अवधिसम्म सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र अन्य सञ्चालकसँग सीईओ शाहको सम्बन्ध राम्रै थियो । तर, सीईओ शाह अमेरिका पुगेपछि माहोल परिवर्तन भयो । कम्पनी स्रोतका अनुसार अध्यक्ष श्रेष्ठसामू केही कर्मचारी र सञ्चालक समितिकै सदस्यले सीईओ शाहमाथि गम्भीर आरोप लगाएका छन् । सो कुरा सुनेपछि अध्यक्ष श्रेष्ठले तत्काल आफ्नै घरमा सञ्चालक समितिको बैठक बोलाएर उनलाई सीईओबाट पदमुक्त गर्ने निर्णय गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ र सीईओ शाह साथीजस्तै थिए । उनीहरू उमेरले पनि एउटै समूहका हुन् । बीमासँग सम्बन्धित कुनै ठूलो निर्णय वा डिल गर्नु पर्यो भने सीईओ शाह अध्यक्षको घरमै पुग्ने गरेका थिए । तर, एकाएक फेरिएको माहोलले हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीमा पनि तरङ्ग मच्चिएको छ । अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ । ‘अध्यक्ष र सीईओबीच राम्रो सम्बन्ध थियो, धेरै विषयमा सरसल्लाह गर्न घरमै बोलाउनुहुन्थ्यो, ठूल्ठूला डिल गर्न सीईओ शाह कहिले घरमा जानुहुन्थ्यो भने कहिले अध्यक्षज्यू नै कार्यालयमा आउनु हुन्थ्यो,’ कम्पनी स्रोतले भन्यो, ‘तर, सीईओ अमेरिका हुँदा उहाँका बारेमा नकारात्मक कुराहरू अध्यक्षलाई सुनाएपछि अचानक अध्यक्षज्यूले सञ्चालक समिति बैठक आफ्नै घरमा बोलाएर पदमुक्त गर्ने निर्णय गर्नुभएछ ।’ नेपाल बीमा प्राधिकरणमा परेको उजुरीका आधारमा सीईओ शाहलाई हटाइएको जवाफ सञ्चालक समितिले दिने गरेको कम्पनी स्रोतको भनाइ छ । ‘यो समय धेरै काम हुने हो, किन यस्तो भयो भन्ने प्रश्नमा प्राधिकरणमा उजुरी धेरै परेपछि सीईओलाई हटाइएको भन्ने घुमाउरो उत्तर दिइएको छ । तर, ठूलो स्क्याण्डल उजुरी प्राधिकरणमा परेको छैन,’ स्रोतले भन्यो, ‘दैनिक काम गर्दा चित्त नबुझेपछि कम्पनीका विरूद्द उजुरी परेका छन्, प्राधिकरणले सामान्य रूपमा मौखिक निर्देशन दिएर गल्ति नदोहोर्याउनु भनिरहेको हुन्छ, जबकी अन्य कम्पनीका सीईओलाई प्राधिकरणले पत्र नै काट्ने गरेको छ ।’ प्राधिकरण पुगे शाह सीईओ शाह पदमुक्त भएपछि नियामक नेपाल बीमा प्राधिकणमा पुगेका छन् । प्राधिकरण स्रोतका अनुसार सीईओ शाहले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावल र कर्मचारीहरूलाई भेटेर आफूलाई सञ्चालक समितिले गैरकानुनी रूपमा पदमुक्त गरेको भन्दै मौखिक जानकारी गराएका छन् । बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ३ मा सञ्चालक समितिले सीईओको कार्यसम्पदान सन्तोषजनक नभएमा जुनसुकै बखत पदबाट हटाउन सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनुअघि सफाइ पेस गर्ने मौका दिनुपर्ने प्रावधान छ । कम्पनी सञ्चालक समितिले सीईओ शाहको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटाइएको बताएको छ । तर, सञ्चालक समितिले सफाइको मौका नदिई आफूलाई पदबाट अचानक हटाइएको गुनासो सीईओ शाहले प्राधिकरण समक्ष गरेका छन् । सीईओ विजय बहादुर शाह । ‘कुनै पनि सफाइको मौका दिइएको छैन, एकाएक हातमा चिठ्ठी थमाएर पदमुक्त गरियो, लिखित रूपमा निवेदन नदिएपनि मौखिक जानकारी गराउनु भएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘सञ्चालक समितिले सीईओलाई गरेको नियुक्तिलाई प्राधिकरणले अनुमोदन गर्छ, सीईओलाई बीमा ऐनले चिन्छ, हटाउनुअघि सफाइको मौका दिनुपर्ने भएपनि उहाँले आफूलाई मौका नदिएको गुनासो गर्नु भएको छ ।’ सीईओ शाहले कानुनी लडाईं लड्ने र प्राधिकरणमा पनि लिखित निवेदन दिने विषय अध्यक्ष सिलवाल समक्ष राखेका छन् । स्रोतका अनुसार हालसम्म सीईओ शाह विरुद्ध प्राधिकरणमा उजुरी परेको छैन । दैनिक काम गर्दा त्रुटी भएपछि कम्पनीका विरुद्ध उजुरी पर्नु स्वाभाविक रहेको प्राधिकरण स्रोतको भनाइ छ । ‘सीईओ शाहले निवेदन दिनुभयो भने प्राधिकरणले सञ्चालक समितिलाई के कति कारणले पदमुक्त गरेको हो भनेर जवाफ माग्छ, जवाफका आधारमा हामीले निर्णय लिन्छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘कार्यसम्पादनप्रति असन्तुष्टि रहेको खण्डमा निकाल्न पाइने भनिए पनि सो व्यक्तिलाई सफाइको अवसर दिनुपर्छ, जे मनमा लाग्यो त्यही गरेर निकाल्न पाइँदैन भनेर ऐनले नै भनेको छ ।’
सुनसरी-झापा सडक दुई वर्षमा २९ किलोमिटर कालोपत्रे
झापा । वन क्षेत्रका रुखहरू हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट अभावका कारण मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डमा २९ किलोमिटर सडक मात्र कालोपत्रे भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार ठेक्का व्यवस्थापन भएको ९८.८ किलोमिटर सडकमध्येबाट दुई वर्षमा २९.५ किलोमिटर सडक कालोपत्रे भएको हो । विसं २०७९ मा सडकको ठेक्का व्यवस्थापन भई चालुरहेका ठेक्कामा सुनसरीमा सात किलोमिटर, मोरङमा सात किलोमिटर, झापामा तीन किलोमिटर र इलाममा छ किलोमिटर गरी २३ किलोमिटर सडक वन क्षेत्रका कारण निर्माणमा कठिनाइ भएको उनले बताए । उनले सुनसरीको सर्दुखोला र झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १२७ दशमलव आठ किलोमिटर लम्बाइको बन्ने सडकमध्ये ९८.८ किलोमिटर मात्र ठेक्का व्यवस्थापन भएको बताए । जिल्लाको कमल खोलादेखि इलामको सहादत्तस्थलसम्मको ३२ किलोमिटर र चतरादेखि सार्दुखोलासम्मको ६ किलोमिटर सडक व्यवस्थापन गर्न अझै बाँकी रहेको उनले बताए । ‘एकातिर सडक निर्माणका लागि पर्याप्त बजेट छैन,’ सडक निर्माणमा ढिलाइ हुने कारणबारे प्रष्ट पार्दै प्रवक्ता दत्तले भने, ‘अर्कातिर वन तथा वातावरण मन्त्रालयमा पटक–पटक रुख कटान अनुमतिका लागि पत्राचार गर्दा अनुमति पाइएको छैन ।’ उनले हालसम्म सडकको भौतिक प्रगति ५२ प्रतिशत र वित्तीय प्रगति ४८.८१ प्रतिशत रहको जानकारी दिए । उनका अनुसार ६ वटा ठेक्का सम्झौता गरिएमध्ये विभिन्न स्थानमा गरी २९ किलोमिटर सडक कालोपत्रे भएको हो ।
स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ
पर्सा । प्रहरीले स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ नगदसहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ । बिहीबार दिउँसो भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई जगरनाथपुर गाउँपालिका–५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र ५ सय दरको १ सय थान रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
जानकी । नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा ६ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताए । ‘यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिकाज्येष्ठ नागरिक हुनुहुन्छ,’ उनले भने, ‘यो पालिका बाँकेको दुर्गम पालिकाअन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।’ गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्यूरो लगायतका रोगहरूको जाँच गरिएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । उनले उक्त शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित बिरामीले गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताए । उक्त शिविरमा तीन सय ३८ महिला, दुई सय ८२ ज्येष्ठ नागरिक र ५० बालबालिकाले स्वास्थ्य जाँच गराएको गणपति श्रेष्ठले जानकारी दिए । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायकरथी रोशन शम्शेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पुर्याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरहरूलाई प्रसंशा पत्र प्रदान गरेका थिए ।