गरिमा समृद्धि योजनाको एक्टिङ सीईओमा अशोक सुवेदी नियुक्त
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले गरिमा समृद्धि योजना (जीएसवाई) को प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको ९४औँ बैठकले अशोक सुवेदीलाई एक्टिङ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईसँग भएको सेवा सम्झौता साउन मसान्तमा समाप्त हुने भएकाले त्यसको नवीकरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीको निरन्तर व्यवस्थापन तथा दैनिक कारोबार सञ्चालन कायम राख्न सुवेदीलाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको हो । सुवेदी यसअघि कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनलाई भदौ १ गतेदेखि लागू हुने गरी एक्टिङ सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । गरिमा क्यापिटल गरिमा समृद्धि योजना (जीएसवाई) को योजना व्यवस्थापक (फन्ड म्यानेजर) का रूपमा कार्यरत छ । को हुन् उनी अशोक सुवेदीले चार्टर्ड एकाउन्टेन्सीमा व्यावसायिक डिग्री तथा वाणिज्यशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका छन् । उनीसँग बैंकिङ तथा पुँजी बजार क्षेत्रमा ६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । उनले चार्टर्ड एकाउन्टेन्ट संस्था देवेन्द्र के. जैन एन्ड एसोसिएट्समा ३ वर्ष इन्टर्नका रूपमा आफ्नो करियर सुरु गरेका थिए । सो अवधिमा उनले बजारको गतिशीलता तथा कार्यप्रणालीबारे महत्वपूर्ण अनुभव हासिल गरेका थिए । गरिमा क्यापिटल लिमिटेडमा आबद्ध हुनुअघि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेका छन् । उनले तत्कालीन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड) तथा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक (हाल कुमारी बैंक लिमिटेड) लगायतका संस्थामा समेत कार्य गरेका छन् ।
हर्मुज नखोल्ने इरानी अडान, अड्कियो वार्ता
काठमाडौं । इरान र अमेरिकाबीच खाडी क्षेत्रमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा सहमति जुटाउने प्रयासमा अझै पनि मतभेद कायम रहेको एक वरिष्ठ इरानी स्रोतले जनाएको छ । उनका अनुसार जुनमा भएको अन्तरिम सम्झौतालाई पुनर्जीवित गर्ने र त्यसका प्रतिबद्धता कार्यान्वयन गर्ने समयसीमा तय गर्ने विषयमा भइरहेको वार्तामा कुनै प्रगति भएको छैन । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताविरुद्ध पुनः कडा टिप्पणी गरेको समयमा आएको हो । मंगलबार यस क्षेत्रमा पानीजहाजमाथि नयाँ आक्रमण भएका थिए, जसले संकट समाधानको आशामाथि थप धक्का पुगेको छ । जुनमा भएको सम्झौताले सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको थियो । तर सम्झौता चाँडै नै संकटमा परेको थियो । ट्रम्पले जुलाई ७ मा सम्झौता ‘समाप्त भइसकेको’ बताएका थिए भने त्यसको एक सातापछि इरानको विदेश मन्त्रालयले सम्झौता ‘स्थगित’ भएको घोषणा गरेको थियो । अमेरिकाले सम्झौताअनुसार इरानले महत्त्वपूर्ण सामुद्रिक मार्ग होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै आएको छ । तर तेहरानले अमेरिकाले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको बताएको छ इरानका अनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता पूरा गरेको छैन । इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘मध्यस्थमार्फत छलफल भइरहेको विषयमध्ये एउटा अमेरिका अन्तरिम सम्झौतामा फर्किने र प्रतिबद्धता कार्यान्वयनका लागि समयसीमा तय गर्ने विषय हो। यस विषयमा बिल्कुलै प्रगति भएको छैन ।’ ट्रम्पले बुधबार अमेरिकाले होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका छन् । तर इरानले जलमार्ग व्यवस्थापनका लागि स्थापना गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले भने जलमार्ग अझै अवरुद्ध रहेको र इरानका सर्त स्वीकार नभएसम्म पुनः नखोलिने जनाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानलाई लक्षित गर्दै ‘इरान कुरा मात्रै गर्छ, काम गर्दैन’ भन्दै मध्यपूर्वको ‘दादागिरी’ अब नरहेको टिप्पणी गरेका छन्। यस द्वन्द्वका क्रममा ट्रम्पले कहिले युद्ध थप चर्किने चेतावनी दिँदै आएका छन् भने कहिले शान्ति सम्झौता नजिकै पुगेको दाबी गर्दै आएका छन् । ६० दिनको समयसीमा बढाउने विषयमा छलफल नै छैन फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि जारी द्वन्द्वमा मुख्यतः इरान र लेबनानमा हजारौं मानिसको मृत्यु भएको बताइएको छ । इरानले ओमान, जोर्डन, कुवेत, इजरायल, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत देशमा रहेका अमेरिकी सम्पत्ति तथा पूर्वाधारलाई समेत निशाना बनाएको छ । जुनमा भएको अन्तरिम युद्धविराम सम्झौतामा ६० दिनको समयसीमा तोकिएको थियो । आपसी सहमतिमा यो अवधि थप गर्न सकिने व्यवस्था थियो । यस अवधिभित्र इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकाले लगाएका प्रतिबन्ध हटाउने विषयमा अन्तिम सम्झौता गर्ने अपेक्षा गरिएको थियो । तर इरानी स्रोतले बुधबार टर्कीको अनादोलु समाचार एजेन्सीले दिएको एउटा रिपोर्टलाई अस्वीकार गरेको छ । उक्त रिपोर्टमा पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै ६० दिनको अवधि थप गर्न सहमति भएको उल्लेख गरिएको थियो । इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘समयसीमा थप गर्ने विषयमा कुनै छलफल भएको छैन, किनभने इरानको दृष्टिकोणमा सुरु भएको कुनै अवधि नै छैन, त्यसैले थप गर्ने प्रश्न पनि आउँदैन । अमेरिकाले अन्तरिम सम्झौता भएको ४८ घण्टामै त्यसको उल्लंघन गरेको थियो र केही दिनपछि सम्झौताबाट बाहिरिएको थियो ।’ हर्मुज जलडमरूमध्यमा तनाव इरान र ओमानबीच तथा पर्सियन गल्फको प्रवेशद्वारमा रहेको साँघुरो हर्मुज जलडमरूमध्य युद्धअघि विश्वको कुल कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं हिस्सा ओसारपसार हुने प्रमुख समुद्री मार्ग थियो । युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो, जुन युद्धअघिको स्तरभन्दा करिब ७५ प्रतिशत बढी हो । खाडी क्षेत्रबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता र शान्तिवार्तासम्बन्धी बदलिँदो संकेतका कारण तेल बजारमा उतारचढाव जारी छ । मंगलबार छुट्टाछुट्टै घटनामा पानीजहाजमाथि आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । घटनापछि बुधबार तेलको मूल्य सुरुमा बढे पनि पछि केही स्थिर भएको थियो । सन् २०२६ मा विश्वव्यापी तेलको मागबारे गरिएको अनुमान घटाइएपछि पनि बजारमा उतारचढाव देखिएको छ । बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८८ डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य करिब ८३ डलरको आसपास कारोबार भइरहेको थियो । (रोयटर्सबाट अनुदित तथा सम्पादित) इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासँग राख्यो चार सर्त
देशैभर एकैसाथ लन्च भयो पञ्च ईभी, ३२ लाख ९९ हजारमै पाइने
काठमाडौं । टाटाको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ नेपालमा सार्वजनिक भएको छ । काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च भएसँगै पञ्च ईभी देशभरका आधिकारिक शोरुमबाट एकसाथ सार्वजनिक गरिएको हो । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पञ्च ईभी सार्वजनिक गरेको हो । पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साह बुकिङमै देखिएको बताए । उनका अनुसार बुकिङ भएका सुरुवाती मोडलसहितका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिइनेछ । ३२ लाख ९९ हजारमै खरिद गर्न सकिने नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन् । एक्स्पो अफरअन्तर्गत बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि लागू हुनेछ ।
नेपाल एसबीआई बैंकको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त
काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दनालाई मनोनयन गरिएको हो । भारतीय स्टेट बैंकले चान्दनालाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको बैंकले जनाएको छ । यसैअनुसार बैंकको सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले चान्दनालाई सञ्चालकमा नियुक्त गरेको हो । सोही बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा समेत चयन गरेको बैंकले जनाएको छ । यसअघि बैंकको सञ्चालक समितिमा भारतीय स्टेट बैंकका प्रतिनिधिका रूपमा वेंकट वंसीधर कुंचा रहेका थिए । अब उनको स्थानमा चान्दनाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
माण्डु हाइड्रोको दुई आर्थिक वर्षको लाभांश घोषणा, सेयरधनीले २२.५२ प्रतिशत पाउने
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले करसहित १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश दिनेछ । यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश विद्युत् नियमन आयोग तथा कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडमा पानीको हाहाकार
काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडको जलस्तर हालसम्मकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकी ब्युरो अफ रिक्लेमेसनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार लामो समयदेखिको खडेरीका कारण यस जलाशयको सतह सन् १९३७ मा पहिलोपटक भरिएयताकै सबैभन्दा तल्लो स्तरमा झरेको हो । ब्युरोको अभिलेखअनुसार हाल यस तालको पानीको सतह १ हजार ४० दशमलव ४० फिट (करिब ३१७ मिटर) कायम भएको छ । यसअघि सन् २०२२ को जुलाईमा जलस्तर १ हजार ४० दशमलव ५८ फिट (३१७ दशमलव १७ मिटर) रेकर्ड गरिएको थियो, जसलाई त्यसबेलासम्मकै सबैभन्दा न्यून स्तर मानिएको थियो । कोलोराडो नदी अमेरिकाका सातवटा राज्य हुँदै बग्छ र यसले करिब ४ करोड मानिसलाई पानी आपूर्ति गर्दै आएको छ । ब्युरोको तथ्याङ्कअनुसार अगस्टको सुरुवातसम्म आइपुग्दा लेक मिडको जल भण्डारण क्षमता घटेर केवल २७ प्रतिशतमा सीमित हुन पुगेको छ । नेभाडा र एरिजोना राज्यको सिमानामा कोलोराडो नदीमाथि निर्मित हुभर बाँधबाट लेक मिड जलाशय बनेको हो । यो जलाशय र बाँध नेभाडाको लास भेगासबाट करिब ४८ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ ।
एलआईसी नेपालको नाफा २८.४५ प्रतिशत बढ्यो, जीवन बीमा कोष डेढ खर्ब पुग्यो
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४५ प्रतिशत बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ६.६५ प्रतिशत बढेर २१ अर्ब १४ करोड ५४ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ८२ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीले ३३ अर्ब ४६ करोड ४६ करोड ९९ लाख १० हजार रुपैयाँ कुल आम्दानी गरेर ३० अर्ब ६८ करोड ७५ लाख ६५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३२ अर्ब ३३ करोड १२ लाख ३९ हजार रुपैयाँ कुल आम्दानी गरेर २९ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ७७ करोड ३५ लाख ५४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष गत वर्ष बढेर १ खर्ब ४६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.८७ रुपैयाँ रहेको छ ।
सानिमा रिलायन्स लाइफको ३८.३८ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । सानिमा रिलायन्स लाइफको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १.६९ प्रतिशत बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१७ प्रतिशत बढेर ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीले ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ कुल आम्दानी गरेर ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेर ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ ।