विकासन्युज

सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै नतिजामुखी काममा केन्द्रित हुने विश्वास व्यक्त गरे । ‘छलफलमा आएका सुझाव मन्त्रालयको रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रका समस्या र समाधानबारे आएको सुझावलाई मनन गर्दै आगाम दिनमा पनि यस प्रकारका छलफललाई निरन्तरता दिइनेछ ।’ पर्यटनमन्त्री पाण्डेले अहिलेको पुस्ताले मुलुक नबनाउने हो भने कसले बनाउछ भन्दै मुलुक सामु आइपरेका चुनौतीलाई समाधान गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढाउन सबै पक्षबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रका जल्दाबल्दा समस्यालाई सरोकारवालासँग छलफल र समन्वयका साथ समाधान गर्दै दिगो पर्यटन विकासका लागि मन्त्रालय लाग्ने उनको भनाइ थियो । उनले कसैसँग पनि नबहकिकन साच्चिकै मन्त्रालय र देशको हितमा लाग्न प्रमाणित गरेर देखाउने अठोटका साथअघि बढेको उल्लेख गरे । छलफलमा सहभागी सञ्चारकर्मीले पर्यटन दशक कार्यक्रम कार्यान्वयन गर्न, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवा चुस्त र प्रभावकारी बनाउन र नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय बजारीकरणमा खरो रुपमा उत्रनका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाएका थिए ।

मधेसमा कांग्रेसबाट चार मन्त्री थपिए, आजै शपथ

धनुषा । मधेस सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिस बमोजिम प्रदेश प्रमुख कार्यालयले उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेको हो । बिहीबार साँझ ७ बजेट उनीहरूको सपथ कार्यक्रम राखिएको छ। कुरा नमिलेपछि लोसपा भने सरकारमा सहभागी भएन । अब मुख्यमन्त्रीसित गृह र सञ्चार मन्त्रालय मात्र बाँकी छ ।

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार बने पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा बनेका छन् । ओलीका प्यारा पात्रका रुपमा परिचित खतिवडा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए भने उनले नेपाल राष्ट्र बैंक र योजना आयोग पनि नेतृत्व गरिसकेका छन् । यस्तै, ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।

प्रधानमन्त्री ओलीलाई लोसपाले विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । वर्तमान सरकारलाई समर्थन गरेको लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन् । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

वर्षभरि मेलम्चीको पानी वितरण गर्ने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप–आयोजना–२ बारे जानकारी लिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ, यसका लागि म प्रतिबद्ध छु ।’ मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिएका थिए । उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिए । उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गरे । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । ‘म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,’ उनले भने, ‘मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनुपर्छ ।’

एक वर्षमै सैनिक कल्याणकारी कोषमा थपियो ४ अर्ब ८५ करोड

काठमाडौं । सैनिक कल्याणकारी कोषको सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख रुपैया पुगेको जानकारी दिएको छ । २०८० असार मसान्त सम्ममा कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात थियो । कोषको ४ करोड ७७ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटको प्रक्रियामा रहेको सेनाले जनाएको छ ।

मास्टरसेफ शाहको रेसिपीमा ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ बजारमा

काठमाडौं । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरसेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो । ‘सही छ’ भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ । टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष शाह बताउँछन् । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास लिएको बताए । नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने । केही समयअघि देखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुनस् उत्पादन तथा बिक्री वितरण सुरू गरेको कम्पनीले जनाएको छ । २०५६ मा स्थापित एसियन थाई फुड्सले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो । विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिती र टु पिएम जस्ता अग्रणी ब्राण्डहरू बजारमा उपलब्ध रहेको छ । यसले टु पिएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहररु बजारमा ल्याएको छ । अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ । यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ । कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ । एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी हो । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ। चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक रुपमा समेत लाभ मिलेको जनाएको छ । ‘किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ’, कम्पनीले भनेको छ । ‘हामी मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौँ’,  कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने । मास्टरशेफ शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चाउचाउ बनाएको जाजुले बताए । ६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजु बताउँछन् । कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको छ। भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरि विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्‍याइएको उनले बताए । २७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ताहरूमा कम्पनी पर्ने उनको दाबी छ । उनका अनुसार टु पिएम चाउचाउलाई अष्ट्रेलिया, बहराइन, बेल्जियम, भूटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेशिया, माल्टा, न्यूजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, यूएई, यूके, अमेरिका, यमन जस्ता देशहरूमा उपलब्ध गराउँदै आएको छ । ‘नेपालका उत्पादनहरूलाई यति धेरै देशहरूमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्नमा योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ,’ जाजुले भने । कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुले बताए ।

सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ । साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।