सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन
काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए । होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्याएका थिए । पाण्डेको आजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
गौशालाको रेस्टुरेन्टमा साउन महिनाभरी लसुन र प्याज बिनाको खान पाइने
काठमाडौं । शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर लसुन र प्याज समेत नराखि मिथिला थाली खान पाइने भएको छ । सेफ सन्तोषले भने, ‘गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेस्टुरेन्ट हो, तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाहाकारीलाई लक्षित गरी प्याज र लसुन बिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो ।’ साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घण्टौ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनहरुका लागि आराम गर्न र भोक मेट्नका लागि मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ । उनका अनुसार जनकपुर, ललितपुरको झम्सिखेल र काठमाडौँको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाहाकारी रेस्टुरेन्टका रुपमा सञ्चालन गरिएको हो । शाहाकारी मिथिला थालीमा १७ प्रकारका परिकार खुवाइन्छ । जसमा तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसममी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ । रेष्टुराँमा चार सय रुपैयाँमा मिथिला थाली, पाँच सय रुपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रुपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ । हिन्दु धर्मालम्बीमा साउनको सोमबार व्रत बसी विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास छ । साउनलाई भगवान् शिवको महिना मानिन्छ । साउन महिनाभर र त्यसमाथि पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय भक्तजनको दर्शन गर्नेको ठूलो भिड लाग्छ । भक्तजनहरुको आवश्यकतालाई लक्षित गरी उनीहरुको सुविधाका लागि शुद्ध शाकाहारी भोजन तयार हुने सेफ सन्तोषले बताए ।
पहिलो त्रैमासिकमा र्यान एयरको नाफा ४६ प्रतिशत घट्यो
लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ । र्यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ । भाडा समायोजनपछि यात्रुको संख्या भने १० प्रतिशतले बढेर ५ करोड ५५ लाख पुगेको छ । औसत हवाई भाडा १५ प्रतिशतले घटेको डबलिनमा मुख्यालय रहेको र्यान एयर विमान कम्पनीले जनाएको छ । एयरलाइनले यस वर्ष इस्टरको समयले पनि प्रभावित भएको जनाएको छ । र्यान एयरका अनुसार दोस्रो त्रैमासिकमा पनि कम भाडादरको प्रभावको वातावरण कायमै रहेको छ । ‘दोस्रो त्रैमासिकको माग बलियो भए पनि मूल्य निर्धारण हामीले अपेक्षा गरेभन्दा सुलभ छ र अब हामी दोस्रो त्रैमासिकको भाडा गत ग्रीष्मऋतुको तुलनामा कम हुने अपेक्षा गर्दछौं,’ प्रमुख कार्यकारी माइकल ओ लेरीले भने । उनले थपे, ‘र्यान एयरले नयाँ बोइङ विमानहरूको आपूर्तिमा थप ढिलाइको सामना गर्नु नपरेमा बर्षभरिमा विमान सेवा प्रयोग गर्नेको संख्या ८ प्रतिशत वृद्धि भई करिब २० करोड पुग्ने अपेक्षा गरिएको छ ।’ एजेन्सी
कस्तो आउँछ मौद्रिक नीति ? यस्तो भन्छन् अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिको विषयमा धारणा राखेका छन् । उनले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने धारणा राखेका हुन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी दिए । होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए । नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो, त्यसको निरन्रता हुनुपर्दथ्यो, नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ,’ उनले भने । अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि वर्षेनी १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे । सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको जानकारी दिए । ‘हामी ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ । हामीसँग दुई वटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु’, उनले भने । अध्यक्ष साहले होटल व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन आग्रह गरे ।
सहकारी प्रकरणबारे विशेष समितिले स्थानीय तहसँग पनि गर्यो छलफल
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले स्थानीय तहसँग छलफल गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलासँग पनि छलफल गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । उनले समितिले बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव सुमन दाहाल, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र महासचिव नरुलाल चौधरी, गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मी पाण्डे र महासचिव खिम थापा मगर, नगरपालिका महासंघका कार्यकारी निर्देशक कलानिधी देवकोटा र गाउँपालिका महासंघका अधिकारी प्रतिज्ञा न्यौपाने र गाउँपालिका महासंघका सल्लाहकार लेखनाथ पोखरेलसहितलाई बोलाएर छलफल गरेको बताए । उनले देशभरिका सहकारीका बारेमा जानकारी पाउनका लागि ७५३ वटै स्थानीय तह र ७ प्रदेशकै क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीको बारेमा विवरण संकलनमार्फत पनि जानकारी लिने प्रक्रिया अघि बढाएको पनि बताए । उनले भने, ‘देशभरका सहकारीको बारेमा जानकारी पाउनका लागि ७५३ वटै स्थानीय तह र ७ प्रदेशकै क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीको बारेमा विवरण संकलनमार्फत पनि जानकारी लिने प्रक्रिया अघि बढाएका छौँ ।’ उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति सहकारीको सामान्य मूल्य, मान्यताका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारी, विषयगत सहकारीलाई जोड गर्न सुझाव दिएको पनि बताए । ‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति सहकारीको बेसिक मूल्य, मान्यताका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारी, विषयगत सहकारीलाई जोड गर्ने त्यसका निम्ति कानून बमोजिम हस्तान्तरण हुने हो भने हामी सबै नियमन, सञ्चालन व्यवस्थापन गर्न तयार छौँ भनेर उहाँहरूले धारणा राख्नुभएको छ,’ उनले भने । उनले कानुन बमोजिम सहकारी हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन व्यवस्थापन गर्न तयार रहेको बताए । ‘समस्या भएका सहकारीहरुका सन्दर्भमा बेग्लै छ, ती बचत तथा ऋण सहकारी संस्थाहरू बढी छन्, उत्पादनसँग सम्बन्धित गरेर सहकारीलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘आज त्यही बचत तथा ऋण सहकारी संस्थामा देखापरेका कतिपय बचत अपचलन दुरुपयोग र ठगीका घटनाले सिंगो सहकारी क्षेत्र बद्नाम भइरहेको छ र यो स्थितिको अन्त्य गर्नुपर्छ भन्ने कुरामा उहाँहरूले जोड दिनुभएको छ, उहाँहरूसँगको छलफल समितिका लागि महत्वपूर्ण र फलदायी भएको छ ।’ उनले स्थानीय तहसँगको छलफल महत्त्वपूर्ण र फलदायी रहेको बताए ।
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सोमबार पनि सडकबाटै काम
काठमाडौं । यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनलेलाई जानकारी दिए । उनले भने, ‘वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ । यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिएका छैनन् । समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ ।’ उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् । पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए । नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडाध्यक्ष महर्जनले बताए । काठमाडौं महानगरको प्रतिक्रिया नयाँ सडक क्षेत्रमा विस्तारका क्रममा पैदलमार्ग सुधार गरिएको कामपा सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताए । विगतमा सवारी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको उनले जानकारी दिए । ‘न्यूरोडको कालोपत्र सडकमा मोटरसाइकल, ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ आवश्यक पदैन’ राजभण्डारीले भने, ‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीलाई उपलब्ध गराउन लागिएको हो ।’ आयोगका उपाध्यक्ष डा राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरित काम नभएको दाबी गरे । मिश्रित आवासीय क्षेत्रमा १.८, मिश्रित व्यावसायिक क्षेत्रमा २.५०,बस बिसौनीमा तीन, बजार क्षेत्रमा ३.५ देखि ४.५, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा चार मिटर चौडाइको पैदलमार्ग आवश्यक पर्ने भन्दै पैदलमार्ग निर्माण भएपछि उक्त मापदण्ड पूरा हुने कामपा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए । उनले भने, ‘१३ मिटरको सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदलमार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ र बायाँ १.५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना छ । पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन ।’
पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजार रुपैयाँको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा चार अर्ब ६१ करोड २६ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो । निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन् । चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ । आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिए । काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ । यस नाकाबाट उक्त अवधिमा जम्मा ९१ करोड ५६ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्यांक अनुसार चार अर्ब, ८७ करोड ६५ लाख १५ हजार रुपैयाँको ताजा फलफूल चार अर्ब ५६ करोड २३ लाख ८० हजार रुपैयाँको ताजा तरकारी एक वर्षमा आयात भएको छ । निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै छ ।
घट्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति ?
fresh chicken meat on a wooden table काठमाडौं । कुखुराको मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले साउन ७ गतेदेखि लागु हुने गरी कुखुराको मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटाएको हो । ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ निर्धारण गरिएको छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रुपैयाँ थियो । साउन महिनामा मासुको खपत कम हुने भएकाले माग घट्ने भएको हुँदा मूल्य घटाइएको संघले जनाएको छ ।