विकासन्युज

बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

कालीकोट । कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । बर्खायाममा हरियाली फाँटका दृश्यले भू–स्वर्ग झैँ लाग्ने त्रिवेणी पाटन हिउँदमा हिउँले ढाकिएर झनै मनै लोभ्याउने गरेको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–८ को मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारणले पनि चर्चामा रहेको छ । समुद्र सतहबाट  चार हजार दुई सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका दृष्टिले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरु त्रिवेणी पाटनका विशेषताहरु हुन् । त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि हजारौँ मानिस बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन् । यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट र २० वटा बाजुरामा पर्दछन् । त्रिवेणी पाटन क्षेत्रमा कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु पाइन्छ । ‘यो क्षेत्र प्राकृतिक हिसाबले मात्र सुन्दर नभएर यहाँ पाइने जङ्गली जनवार पनि आकर्षणका केन्द्रविन्दु पनि हो,’ अछाम रामारोशन गाउँपालिका–५ का स्थानीय डम्बर रोकाया भन्छन् । कालीकोट, बाजुरा र अछाम जिल्लाका स्थानीयवासीको अछाम रामारोशन ताल, कालीकोटको त्रिवेणी पाटन र बाजुराको बडिमालिका क्षेत्रलाई जोडेर पर्यटकीय गुरुयोजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । अछामको रामारोशन तालबाट एक दिनको दूरीमा त्रिवेणी पाटन र बडिमालिका पर्ने भएकाले विगतमा अछाम, बाजुरा र कालीकोटका स्थानीय तहका जनप्रतिनिधि बसेर पर्यटकीय गुरुयोजनाका लागि केही छलफल भएको र त्यसले मूर्त रुप लिन नसकेको अछाम रामारोशन गाउँपालिकाका पूर्वअध्यक्ष झंकर साउदले बताए । ‘विगतमा हामीले पर्यटकीय गुरुयोजना बनाउनका लागि यसको प्रचारप्रसार गर्नका लागि कालीकोट, अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि बसेर छलफल गरेका थियौँ’, उनले भने, ‘त्यसले खासै मूर्त रुप लिन सकेन । अहिले त्यसका लागि पहल गर्न आवश्यक रहेको छ ।’ बडिमालिका क्षेत्रको इलाका ठूलो रहेको छ । यसले बाजुराको क्षेत्रको बढी भू–भाग ओगटेको, यसले कालीकोट र अछाममा केही भाग पनि नजिकै पर्दछन् । कालीकोट र अछामका ती भागमा रामारोशन ताल र त्रिवेणी पाटन पनि पर्ने गरेका कारणले विगतमा यस क्षेत्रको पर्यटकीय विकासमा ध्यान दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने व्यवसायीहरुको भनाइ छ । बडिमालिका, त्रिवेणी पाटन र रामारोशन क्षेत्र घना जङ्गल भएको क्षेत्र भएकाले यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने गरेको छ । पाँचऔँले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडीबुटी पाउने क्षेत्र हो । विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भूतकेश जटामसीलगायत दर्जनौँ प्रजातिका जडीबुटी अहिले लोप हुने अवस्थामा पुगेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–८ का दलबहादुर केसीले बताए । यस क्षेत्रमा ब्रह्मकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालोलगायत एक सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् । अहिले बर्खायाममा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा, च्याङ्ग्रा र घोडाहरु वैशाखदेखि असोजसम्म यहाँ छाडा रुपमा चराउने चलन छ । ठूलो सङ्ख्या भेडा, च्याङ्ग्रा र घोडाहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविकता लोप हुने अवस्थामा रहेको देखिन्छ । बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिकामा, कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका पर्दछ । अछामको रामारोशन गाउँपालिकाको बीचमा पर्दछ । बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य, पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार हो । बडिमालिका क्षेत्रबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्लाको अवलोकन गर्न सकिन्छ । बडिमालिकामा पर्ने पाटन क्षेत्रको कूल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारिक मापन नभएकाले यो क्षेत्रफल कति पर्छ भन्ने अहिलेसम्म पनि मापन नभएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । ‘यसको क्षेत्रफल कति भन्ने अहिलेसम्म मापन हुन सकेको छैन,’ उनले भने, ‘क्षेत्रफल मापनका लागि हामीले पहल गरिरहेका छौँ ।’ कर्णाली र सुदूरपश्चिम प्रदेशले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि बर्सेनि ठूलो रकम लगानी गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना छ । धार्मिक आस्थाको केन्द्र बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । त्यस दिन सबै तीर्थालुहरु बडिमालिकाको चुचुरोमा पुगिसकेका हुन्छन् । वर्षको दुईपटक गङ्गा दशहरा र जनैपूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गङ्गा दशहराभन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीको घुइँचो बढी हुने गरेको कालीकोट नरहरिनाथ गाउँपालिकाका–१ का कटकबहादुर विष्टले बताए । मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ । बडिमालिका दर्शनका लागि तत्कालीन शाह राजाको दरबारबाट पनि पूजाआजाको सामग्री पुग्ने गरेको छ । त्रिवेणी पाटनमा हिउँमा खेलिने स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । नेपालमा कमै खेलिने स्की खेलका लागि कालीकोटको रास्कोट नगरपालिकाको छेत्तडी र सान्नी त्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटन स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । कर्णालीलाई साहसिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास र स्की खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कीसम्बन्धी गत फागुन २८ देखि चैत ४ गतेसम्म स्की खेलको तालिमको आयोजना भएको थियो । स्कीसम्बन्धी आधारभूत तालिमले कर्णालीको साहसिक खेल पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी तथा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । ‘कर्णालीका प्रायः सबै ठाउँमा स्की खेलका लागि उपयुक्त क्षेत्र नै रहेका छन्’, उनले भने, ‘त्यसका लागि सबैभन्दा उपयुक्त ठाउँ बडिमालिका क्षेत्रभित्र पर्ने कालीकोटको रास्कोटमा पर्ने छेत्तडी र सान्नी त्रिवेणीको त्रिवेणी पाटन उपयुक्त रहेका छन् ।’ कर्णालीको साहसिक पर्यटनका क्षेत्रमा स्की खेल पनि एउटा रहेको र स्की खेलका लागि आफूहरुले पहिलोपटक रास्कोट छेत्तडीमा स्की खेलको तालिम सञ्चालन गरेको स्की संघ कर्णाली प्रदेशका सचिव सह–सचिव मनराज सिम्खडाले बताए । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ । रासस

सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन निर्देशनालयमा ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायतका विषयमा ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेपछि छानबिनका लागि समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ । गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गरेर मन्त्रिपरिषद् बैठकले सीआईबी एआईजी ज्ञवालीको सरुवा गरेको थियो । ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकाशमा जाँदैछन् ।

प्राविधिक विषय पढेका विद्यार्थी पनि बेरोजगार

टीकापुर । केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नैै मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार विद्यार्थी पुगेका छैनन् । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम भरेका छन् । जम्मा ४० जना विद्यार्थीको कोटा भएकामा तीनजना सिटिइभिटीले पठाउने र अरू ३७ जना यतैबाट छान्नुपर्ने थियो तर त्योअनुसार पनि ११ जना विद्यार्थी अपुग देखिएका इन्स्टिच्युटले जनाएको छ । टीकापुर बहुप्राविधिक शिक्षालयमा पनि कोटाअनुसार विद्यार्थीले फारम भरेका छैनन् । पहिलोपटक निकालेको फाराम भर्ने सूचनाको म्याद सकिँदासम्म पशु विज्ञान विषयमा २१, बाली विज्ञानमा १०, सिभिल इन्जिनियरमा १७, फरेष्ट्रीमा ११ र एग्रो इन्जिनियरिङमा दुईजनाले मात्र फाराम भरेका छन् । सिभिल इन्जिनियर र एग्रो इन्जिनियरिङमा ४८/४८ र अन्य समुहमा ४०/४० जनाको कोटा रहेको शिक्षालयका निमित्त प्रमुख विकास रानाले जानकारी दिए । ‘विगतमा धेरै विद्यार्थीको आवेदन आएर छनौट गर्नुपर्ने हुन्थ्यो’, उनले भने, ‘यस वर्ष विद्यार्थी पाउनै मुस्किल देखियो ।’ यस वर्षको इसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनु, १२ कक्षा पढेर विद्यार्थीहरु विदेश जानुपर्छ भन्ने मानसिकताले प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घटेको अनुमान उनको छ । ‘प्राविधिक विषय पढेकाहरु पनि बेरोजगार बस्नुपर्ने अवस्था आएकाले यसमा विद्यार्थीको रुचि घटेको हुनसक्छ, अहिले अधिकांश विद्यार्थीको १२ कक्षापछिको रोजाइ विदेश छ’, उनी भन्छन्, ‘सरकारले प्राविधिक धार पढेकालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यति गरेमा प्राविधिक विषय अध्ययन रोजाइ बन्छ र नेपालमै विद्यार्थी रोक्न सकिन्छ ।’ रासस

भव्य भवनभित्रको उकुसमुकुसको कहानी

काठमाडौँ । बाहिरबाट हेर्दा हरेक चिज सुन्दर लाग्छ । तर, भित्री कहानी र कथा उसको गहिराइमा पुगेपछि थाहा हुन्छ । यस्तै, सुन्दर भवनको एउटा कथा छ । चिटिक्क परेको ठूलो भवन । सडकमा हिँड्ने जोकोही मान्छेको ध्यान त्यो भवनको सुन्दरताले तान्छ । सडकमा हिँडने अधिकांशले भन्दा हुन्, ‘आहा ! कति राम्रो ।’ काठमाडौंको रानी पोखरीको ठ्याक्कै अगाडि एउटा विशाल सेताम्य भवन छ । त्यो विशाल भवन दरवार हाइस्कुलको हो । तर, अहिले दरबार हाइस्कुलभन्दा पनि त्यहाँभित्र अर्कै विद्यालय सञ्चालनमा छन् । अर्थात् दरबार हाइस्कुलको नाम परिवर्तन भएको धेरै भयो । यो भवन जति बाहिरबाट हेर्दा सुन्दर देखिन्छ, त्यसभित्र पसेर नियाल्दा अर्कै समस्या र सकसले बाँधिएको छ । त्यहाँका कर्मचारीले न ढुक्कले काम गर्न पाएका छन्, नत विद्यार्थीले शान्त वातावरणमा अध्ययन गर्न पाएका छन् । दरबार हाइस्कुलको भवनमा अहिले दुइटा विद्यालय सञ्चालनमा छन् । एउटा भानु मावि र अर्को संस्कृत मावि । कुनै पनि विद्यालयमा विद्यार्थीले स्वतन्त्र रूपले पढ्न, खेल्न र अतिरिक्त क्रियाकलाप गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । शान्त वातावरणमा पढ्नु र पढाउनु विद्यालय र शिक्षक दुवैको चाहना पनि हुन्छ । विद्यार्थीहरू घरभन्दा बढी विद्यालयमा रमाउन चाहन्छन् । साथी भाइसँग खुलेर खेल खेल्न चाहन्छन् । मज्जाले गफिन चाहन्छन् । तर, यो सेताम्य सुन्दर भवनभित्र अध्ययन गर्ने विद्यार्थी खेल्नु त परको कुरा हो, ठूलो स्वरले बोल्न समेत पाउँदैनन् । किनकि एउटा विद्यालयको विद्यार्थीले ठूलो स्वर गर्दा अर्को विद्यालयका विद्यार्थीलाई डिस्टर्ब हुने पीर त्यहाँभित्र छ । यो सुन्दर सेताम्य भवनभित्र छिर्ने गेट पालेदेखि विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको एउटै असन्तुष्टि र गुनासो छ, ‘एउटै भवनभित्र दुई विद्यालय सञ्चालन गर्न कठिन भयो ।’ तर, त्यो गुनासो सुनिदिने अहिलेसम्म भेटिएका छैनन् । भूकम्पले पुरानो संरचना भत्किएपछि २०७७ सालमा नयाँ भवनमा सरेको भानु मावि र संस्कृत मावि दुवै विद्यालयका विद्यार्थी र शिक्षकको माग अलग–अलग भवनबाट सञ्चालन गर्न पाउनु पर्ने हो । तर, यसको सुनुवाई कुनै पनि तहबाट हुन सकेको छैन । पुरानै भवनमा हुँदा राखेको दुवै विद्यालयको माग न काठमाडौं महानगरले पुरा गर्न सकेको छ नत शिक्षा मन्त्रालयले नै । दुवै विद्यालयकोे एउटै भनाइ छ, ‘कि मर्ज गरेर एउटै विद्यालय बनाउनुप¥यो कि छुट्टाछुट्टै संरचना हुनुप¥यो ।’ तर, फरक धार र फरक उद्देश्य बोकेका यी दुई विद्यालयबीच मर्जर पनि असम्भव नै छ । इतिहास बोकेका भानु र संस्कृत विद्यालय दरबार हाइस्कुलको भवनमा रहेका भानु माध्यामिक विद्यालय र संस्कृत माध्यामिक विद्यालयको ठूलो इतिहास छ । भानु मावि नेपालको सबैभन्दा पुरानो स्कुल हो । जहाँ राणाका छोराछोरीमात्र अध्ययन गर्न पाउँथे । त्यस्तै, संस्कृत मावि पनि नेपालको सबैभन्दा पुरानो संस्कृत विद्यालय हो । जहाँ राणाका नजिक रहने, ब्राह्मण, पुरोहित अथवा गुरुका छोराछोरी पढ्थे । विसं. १९१० सालमा जंगबहादुर राणाले आफ्ना परिवारका सदस्यलाई अंग्रेजी भाषाको अध्ययन गराउन थापाथलीमा दरबार हाइस्कुल स्थापना गरेका थिए । राणाहरूले आफ्ना छोराछोरीको लागि बनाएका स्कुलमा अरुले पढ्न पाउँदैनथे । राणाहरूले आफ्नो बालबच्चाका लागि विद्यालय बनाएपछि राणासँगै नजिक रहेका पुरोहित अथवा गुरुहरूले पनि आफ्ना बालबच्चाका लागि स्कुलको माग गर्दा संस्कृत विद्यालय स्थापना गरेको इतिहास छ । विसं. १९३४ सालमा रणोद्दिप सिंह राणाले रानीपोखरीमा रानीपोखरी पाठशाला स्थापना गरेका थिए । पछि वीर शमसेरले संस्कृत पाठशालाको अर्को तला थप्दै दरबार हाइस्कुललाई संस्कृत पाठशालाको भवनमै ल्याएर राखे । यसरी १९४८ सालमा दरबार हाइस्कुल संस्कृत पाठशाला एउटै भवनबाट सञ्चालन भएका थिए । त्यसपछि आजसम्म यी दुवै स्कुल एउटै भवनमा सञ्चालन हुँदै आएका छन् । वि.सं २०२४ सालपछि नाम फेरिएर दरबारहाइ स्कुलको सट्टा भानु माविमा परिणत गरिएको थियो । यसरी सँगसँगै इतिहास बोकेका विद्यालय एउटै भवनमा हुँदा न विद्यार्थीले राम्रोसँग पढ्न पाएका छन् न विद्यालयले कुनै शैक्षिक कार्यक्रम गर्न सकेका छन् । क्षमताभन्दा दोब्बर विद्यार्थी समयक्रम अनुसार विद्यालयका नाम फेरिए, संस्कृत पाठशालाको नाम संस्कृत माध्यमिक विद्यालय रह्यो, दरबार हाइस्कुलको नाम भानु माध्यामिक विद्यालय रह्यो । यी दुवै विद्यालयमा राणा परिवारभन्दा सर्वसाधारणका बालबालिका भर्ना हुँदै गए अहिले दुवै विद्यालयमा विद्यार्थीको बाक्लो चाप छ । विद्यार्थी भर्ना गर्न सक्दैनौं भन्दै अभिभावकमाझ हात जोडेर माफि माग्नु पर्ने बाध्यता शिक्षकहरुलाई छ । नाम फेरिएर विद्यार्थीको चाप बढे पनि विद्यालय भने एकै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । वि.सं २०७२ सालको भूकम्पले पहिलेको संरचना भत्काएपछि अहिले नयाँ संरचनामा विद्यालय सरेका छन् । तर, न विद्यालयमा विद्यार्थीलाई खेल्ने ठाउँ छ, न कुनै शैक्षिक क्रियाकलाप गर्ने ठाउँ छ । करिब १ हजार विद्यार्थी अट्ने क्षमता रहेको भवनमा करिब २ हजार विद्यार्थी राख्नुपर्ने बाध्यतालाई विद्यालय छ । पदम बटाला । भानु माविका सहायक प्रधानाध्यापक पदम बटाला एउटै भवनमा दुइटा विद्यालय चलाउँदा अनुशासन कायम गर्नेदेखि शैक्षिक क्रियाकलाप गर्न पनि साह्रै गाह्रो भएको बताउँछन् । ‘यी दुई स्कुललाई कि मर्ज गरेको भए हुने, नभए संस्कृतलाई महानगरले कतै सार्न सकेको भए सहज हुन्थ्यो,’ उनी भन्छन्, ‘सम्बन्धित निकायमा गएर दुई/तीन पटक कुरा पनि राखिसकेका छौं । तर, यसले ठोस रुप लिएन, हामी ठूलो समस्यामा छौं ।’ समस्यै समस्या यो समस्या अहिलेको होइन, वर्षौँदेखिको हो । तर, नयाँ भवनमा सरेपछि समस्या झन बढेको संस्कृत माविका प्राचार्य शिवराज अधिकारीले बताउँछन् । एउटै विद्यालयमा हुँदा पहिले पनि समस्या थियो । तर, त्यो समयमा विद्यार्थीको संख्या कम थियो । विगतमा संरचना पनि केही फरक थियो । पहिलेको भवनमा एकतिर चेनगेट लगाइएको थियो । यति हुँदा अर्कोतिरका विद्यार्थीलाई प्रवेश गर्न गाह्रो हुन्थ्यो अथवा एउटै भवन भएपनि भित्रको संरचना केही स्वतन्त्र खालको थियो । तर, अहिले यो भवनमा सरिसकेपछि दुवैतिर विद्यार्थीलाई जानको लागि रोकतोक छैन । प्राचार्य अधिकारीका अनुसार एउटा विद्यालयले कुनै कार्यक्रम गर्नुपर्याे भने अर्को विद्यालयलाई सिधै डिस्टर्व हुन्छ । कहिलेकाँही स-साना कुराहरूमा पनि विद्यार्थीहरूबीच मनमुटाव हुन्छ । दुइटै विद्यालयको एउटै क्यान्टिन छ । महानगरले दिवा खाजाको व्यवस्था गरेको छ । नर्सरी देखि १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था छ । खाजा खाने क्यान्टिन पनि एउटै हुँदा र खाजा वितरण पनि एकैचोटी दिँदा क्यन्टिनले व्यवस्थापन गर्न सकिरहेको छैन । पटक-पटक गर्दा पनि एउटा विद्याथीको टोली खाँदै गर्दा अर्को विद्यार्थीको पठनपाठन हुँदै गर्दा उनीहरूको ध्यान क्यान्टिनमा हुने गरेको शिक्षकहरू बताउँछन् । विद्यालयमा खेल्न पाउनु विद्याथीको नैसर्गिक अधिकार हो । विद्यार्थीले विद्यालयमा नाच्न, गाउन, खेल्न उफ्रन पाउनुपर्छ । तर, यसो गर्दा अर्को विद्यार्थीलाई डिस्टर्व भइरहेको हुन्छ । यही कारणले दई विद्याल एकै ठाउँ हुँदा गाह्रो भएको छ । पहिले भानु मावि नर्सरी देखि १० सम्म थियो भने संस्कृत मावि कक्षा ६ देखि १० सम्म थियो । अहिले दुवैले कक्षा १२ सम्म कक्षा सञ्चालन गरिरहेका छन् । सम्पत्ति नै असुरक्षित दुवै विद्यालयले कक्षा ११ र १२ का कक्षाहरू बिहान सञ्चालन गरिरहेका छन् । कहिलेकाहीँ बिहानका विद्यार्थीलाई अबेरसम्म बस्नुपर्दा दिउँसोका विद्यार्थीलाई समस्या पर्ने गरेको छ । एक विद्यालयलाई समस्या पर्दा अर्को विद्यालयको कक्षाकोठा समेत प्रयोग गर्नु पर्ने बाध्यता छ । ‘हामीलाई कक्षा कोठाकै अभाव छ, कहिले भानुको कक्षा कोठा हामीले प्रयोग गर्नुपर्छ कहिले हाम्रो कक्षा कोठा भानुले प्रयोग गर्छ’ उनी भन्छन्, ‘यस्तो हुँदा दुवै विद्यालयको सम्पत्ति सुरक्षित हुँदैन, अहिले राखेका बोर्डहरू निकै महँगा छन् अर्काका विद्यार्थी भइसकेपछि हाम्रो सम्पत्ति होइन भन्ने भाव विद्यार्थीमा पनि जान्छ उनीहरूले सामान अनावश्यक चलाइदिने, डेस्क बेन्च भाँचियो भनेपनि एउटाले प्रयोग गरिरहेको हुन्छ अर्कोको सम्पतीको नाश भइरहेको हुन्छ ।’ कतिपय सामानहरू एउटा विद्यालयको अर्को विद्यालयको कक्षा कोठामा पुगिरहेको हुने उनीहरु बताउँछन् । आफ्नो सम्पत्ति व्यवस्थापन र सुरक्षित राख्न ठूलो चुनौती रहेको उनीहरू बताउँछन् । भवनको भागबण्डा एउटै भवनमा सञ्चालनमा रहेका यी दुवै विद्यालयको हिसाबकिताब छुट्टै छ । तर, स्वतन्त्र रुपमा दुवै विद्यालय चल्न सकेका छैनन् । भएको भवनको पनि भागबण्डा गर्नु परेको छ । पहिलेको भवनमा संस्कृत मावि भुइँतलामा थियो । अहिलेको भागबण्डामा पहिलो, दोस्रो र तेस्रो तलाको भ¥याङदेखि उत्तर खण्ड र चौथो तला संस्कृत माविले प्रयोग गरिरहेको छ । यस्तै, पहिलो, दोस्रो र तेस्रो तलाको भ¥याङदेखि दक्षिण खण्ड भानु माविले प्रयोग गरिरहेको छ । विद्यालयको भागबण्डा सम्झौता नै गरेको उनीहरु बताउँछन् । त्यो सम्झौताले पनि कतिपय कुरा मिलेको छैन । आवश्यकताका आधारमा एक अर्काको कक्षा प्रयोग गर्ने भइरहेका छन् । शिवराज अधिकारी । ‘यताको नपुग्दा उताकोले चलाउने उताको नपुग्दा यताकोले सामान प्रयोग गर्ने काम भइरहेको छ । तर, यसले समस्या सिर्जना गरिरहेको छ, बत्ति पानीकै कुरामा पनि समास्या छ, बिल एउटै आउँछ, कसले कति खर्च गरेको छ, त्यसको हिसाब नै हुँदैन, बिलको पैसा तिर्दा पनि समस्या नै हुने गरेको छ,’ अधिकारीले भने । विद्यालयले अतिरिक्त क्रियाकलाप गर्दा ठूलो समस्या हुने गरेको उनी बताउँछन् । विद्यालयका आन्तरिक समारोह, अभिभावक भेला यही कारणले गर्न नसकेको उनी बताउँछन् । ‘समस्याको सम्बोधन भएन’ दुवै विद्यालयले समस्या भोगिरहेको भन्दै विभिन्नन समयमा सम्बन्धित ठाउँमा नगएका होइनन् । शिक्षामन्त्रालयदेखि संघ, प्रदेश र स्थानीय तहमा पनि धाए । तर, समाधान यो समस्याको समाधान हुन सकेको छैन । यो विषयमा सम्बन्धित निकायको एउटै जवाफ छ, ‘जग्गा नै छैन ।’ काठमाडौंमा यति ठूलो विद्यालय चलाउन जग्गाको अभाव भएकोले समस्या समाधान हुन सकेको छैन । संस्कृत माविका प्राचार्य अधिकारी अब नेपाल सरकार मन्पिरिषदले यो समस्याधो सम्बोधन गर्नका लागि उचित कदम चाल्नु पर्ने उनी बताउँछन् । काठमाडौं महानगरबाट दुइटै विद्यालयलाई मर्जर गराउने विषयमा पनि छलफल नगरको होइन । तर, यी दुइटै विद्यालयको उद्देश्य र प्राथमिकता फरक भएकोले त्यो विषय सम्भव नभएको बताइएको छ ।

सरकारले स्रष्टाको सम्मान गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरुको सम्मान गर्ने बताएका छन् । एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनतामा जागरण ल्याउनका लागि स्रष्टाहरुले दिएको योगदान सदा स्मरणीय रहिरहने बताए । स्रष्टाहरुसँगको भेटघाट सर्वदा मिठो हुने टिप्पणी समेत गरे । जनवादी कलाकारहरु रामेश, रायन लगायतले जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अतुलनीय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले भने, ‘म पुराना साथीहरुको योगदानहरुको सम्मान गर्न चाहन्छु, स्मरण गर्न चाहन्छु । अरु साथीहरुको मैले नाम उल्लेख गरिन होइन, अब कसको नाम उल्लेख गर्ने, कसको नगर्ने ? शुम्भ राईको उल्लेख गर्दा बमबहादुरको छुट्ला भन्ने डर ।’ एमालेले पछिल्लो केही वर्ष यतादेखि साउन १५ गते खिर खाने दिनको अवसर पारेर स्रष्टाहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सो कार्यक्रमले स्रष्टाहरुले देश र जनताका लागि दिएको योगदानको स्मरण गराउने जानकारी दिए ।

हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ । साउन १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको कार्यकारी (प्रबन्धक सञ्चालक) अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले १६ गतेबाट लागु हुने गरी आगामी चार वर्षको लागि उनको कार्यकाल रहने निर्णय गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साउन २९ गतेबाट उक्त सेयरको लकइन अवधि सकिने भएको जनाएको हो । साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको सेयर हाल लकइनमा रहेको छ । कम्पनीका संस्थापकसँग रहेको १ करोड ४० लाख कित्ता र कर्मचारीसँग रहेको ३ लाख कित्ता सेयरको लकइन अवधि सकिने भएको हो । कम्पनीको सेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ । लकइन खुलेपछि यी दुवै समूहको सेयर कारोबारमा आउनेछ ।

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका पहलमान र भुवन स्वदेश फर्किए

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसुङगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरूले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान मगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे । बिहान त्रिभुवन विमानस्थलमा ओर्लंदै पहलमानले आफूहरूले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सी पिएको भए पनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् ।