प्रधानमन्त्री ओलीले भने- २० वर्षको आसपासमा बिहे गर्नुस् र छिटो सन्तान जन्माउनुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे । उनले हाल जनसङ्ख्या वृद्धिदर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताए । सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताए ।
पारवहनको महाप्रबन्धकमा पोखरेल र खाद्य कम्पनीमा आचार्य नियुक्त, काँग्रेस र एमालेबीच भागवण्डा
काठमाडौं । सरकारले दुई महत्वपूर्ण संस्थाको नेतृत्वमा दुई जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ भने खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस गरेको थियो । जेठ २३ गते आह्वान गरेको विज्ञापनमा आवेदन दिएकामध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणबाट ३ जना छनोटमा परेका थिए । मन्त्रालयले बैतडीका कर्ण बहादुर कुँवर, काठमाडौंका गोपाल घिमिरे र इलामका प्रकाशप्रसाद पोखरेल सिफारिस गरेको थियो। ती जनामध्येबाट सरकारले पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पाेखरेल नेकपा एमाले निकट मानिन्छन् । उनी यसअघि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को प्रमुख कार्यकारी अधिकृत थिए । नेफ्स्कुनबाट बाहिरिएपछि उनले विभिन्न ठाउँमा आवेदन पनि दिएका थिए । उनले यसअघि सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि पनि आवेदन दिएक थिए । तर, उनी सर्टलिष्टबाटै बाहिरिएका थिए । यस्तै, खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका आचार्य धादिङका हुन् । उनी नेपाली काँग्रेस निकट रहेको बुझिएको छ । उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा कर्मचारी थिए । मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र
काठमाडौं । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ । विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ । विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ । अन्य विद्यालयको तुलनामा फरक र परिस्कृत शिक्षा प्रदान गर्ने अभियान भ्याली पब्लिक रहेको र त्यसकै नतिजास्वरूप आफ्ना ३ सय ८३ जना विद्यार्थीले क्याम्ब्रिजबाट शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङको भनाइ थियो । क्याब्रिजले नै बनाएको पाठ्यक्रम भएकाले यो विषय बालबालिकाका लागि निकै सजिलो, व्यावहारिक, बालबालिका निम्ति प्रयोगात्मक तथा उनीहरूको लेखाइमा, बोलाइमा, पढाइमा यस विषयले ठूलो सहयोग पुग्नुका साथै भविष्यमा यो सर्टिफिकेटको सहयोगमा विद्यार्थी विश्वभरका विश्वविद्यालयबाट छात्रवृत्ति उपलब्ध हुनुका साथै विदेश जाँदा अङ्ग्रेजी भाषा परीक्षासमेत दिनु नपर्ने अधिकारीको भनाइ छ ।
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको संघीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको प्राप्तिलाई प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील रहेको बताए। उनले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। राजदूत फेनले संक्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र संघीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताए । उनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा मोटरसाइकलको पार्टपूर्जा हराएको छ । यसअघि पटक–पटक मोटरसाइकल चोरी प्रहरीबाटै भएको तथ्य फेला परेपछि चोरी गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । गत हप्ता पुनः मोटरसाइकलको पाटपुर्जा चोरी भएको र चोरीमा प्रहरीनै संलग्न भएको स्थानीयको आरोप छ । जिल्ला सदरमुकाम मन्थलीमा पार्किड गरिराखेको मोटरसाइकलको पाटपुर्जा रातिको समयमा चोरी भएको र चोरी गर्ने प्रहरी भएको भनेर किटानी जाहेरी दिँदा प्रहरीले अनुसन्धान नगरेको स्थानीय नारायण बस्नेतले बताए । गत हप्ता भएको मोटरसाइकल चोरीमा प्रहरी संलग्न हुनसक्ने सिसीटिभीको फुटेजबाट अनुमान गरिएको स्थानीय बताउँछन् । गत असार २० गते राति मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल मन्थली बजारबाट चोरी भएकोमा हालसम्म फेला परेको छैन । यही साउनमा मात्रै मन्थली बजारको रेडक्रस लाइनमा पार्किङमा राखिएको बा७४ प ३१२ नम्बरको एफजेड मोटरसाइकलको दुई वटा पाटपुर्जा चोरी भएको थियो । पार्किङमै राखिएको बा प्रदेश-०२–०४४ प७५५० नम्बरको एफजेड भि–२ मोटरसाइकलको पनि राती पार्टपूर्जा हराएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरीले चोरीका घटना हुन नदिन मन्थली बजारमा विशेष निगरानी बढाएको बताए । उनले चोरीका घटना हुन नदिन रातको समयमा नियमित गस्ती बढाउनुको साथै मन्थली बजार क्षेत्रमा मदनआश्रित चोक क्षेत्र र बसपार्क, विमानस्थल हेर्ने गरी दुई वटा प्रहरी पोष्ट थप गरिएको जानकारी दिए । चोरी भएको मोटरसाइकल खोजी भइरहेको र फेला पार्न सिसिटिभी फुटेज हेरेर प्रयास गरिरहेको प्रहरीले जनाएको छ । गत साता मोटरसाइकलको पार्टपुर्जा चोरी भएको सम्बन्धी जाहेरी परेपछि सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेको पाइएपछि घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको पनि प्रनाउ सिंहले बताए ।
एकपछि अर्को हवाई दुर्घटना भएपछि सांसद चिन्तित, गम्भीर भएर लाग्न सरकारलाई आग्रह
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिइन् । ‘देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ । यो क्षेत्रलाई व्यवस्थित बनाउने कानुन शीघ्र तर्जुमा गरौं,’ सांसद गौतमले भनिन् । सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो,’ उनले भनिन् ।
‘गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्छ, विद्युत बक्यौता एक रुपैयाँ पनि छोडिन्नँ’
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले गिरीबन्धु टी-स्टेट, नक्कली भुटानी शरणार्थी काण्ड, बिजुली बक्यौता र सहकारी ठगीबारे अनुसन्धान गरेर कारबाही हुनुपर्ने धारणा राखे । ‘सरकार फेरियो कुरा फेरिन्छ ? फेरिन्न । यो सदनमा हामी पनि छौं । हामी सत्ता पक्ष र प्रतिपक्षमा बस्दा फरक कुरा गर्दैनौं, सत्तामा बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने ? प्रतिपक्षमा बसेपछि सबै देख्ने होइन,’ उनले भने, ‘हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो। गिरीबन्धु, भुटानी, डेडिकेटेड ट्रंक लाइन र सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नैपर्छ ।’ यस्तै, उनले बिजुलीको बक्यौता एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन् । सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ ? नउठाउन पाइन्छ ? एक रुपैयाँ पनि छोड्न पाइन्न । एक सुका पनि छोड्न पाइन्न, अरबको कुरा होइन ।’
सेयर बजारमा सामान्य करेक्सन, साढे २१ अर्बको कारोबार
काठमाडौं । लगातार दुई दिन कारोबार रकममा नयाँ रेकर्ड रखेको नेप्से परिसूचक मंगलबार ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको छ । घटेको सेयर बजारमा लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह १.५७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने अन्य समूह घटेको छ । यस दिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.२५ प्रतिशत घटेको छ । चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार कारोबारमा नयाँ रेकर्ड बनाएको सेयर कारोबार मंगलबार भने घटेको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर बारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकममा आधारमा नेपाल फाइनान्स, हिमालयन रि र शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । मातृभुमि लघुवित्त, पिपल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।