पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीबिरंगी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरूको आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ । ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए । ‘असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,’ उनले भने, ‘केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।’ सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरू आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौंका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताए । ‘शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भने, ‘थरीथरीका फूलले रंगिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।’ ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने, ‘यहाँ पाइने फूलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।’ संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन् । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ । संकलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पँगेनीले बताए । आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायतले बताए । ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ । ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड ७१ लाख २ हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए । रासस
नाडा अटो शोमा सार्वजनिक गरिँदै प्रिमियम सेडान दिपल एल०७
काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने नाडा अटो शोमा चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सेडान सार्वजनिक गर्ने भएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ सार्वजनिक गर्ने भएको हो । सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिन्छ । डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड-२०२३ प्राप्त गरेको कम्पनीले जनाएको छ । फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ । कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ ९एआर एचयूडी० रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६।८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ । लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापाबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ । साथै, क्याबीनको बीचमा १५।६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ । साथै, यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउने कम्पनीको भनाइ छ । सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहने कम्पनीले जनाएको छ ।
गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल
गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार ७ सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७.५० शुन्य प्रतिशत रोपाइँ सकिएको छ । ९३ हजार ६ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको बताए । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै १ लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । निर्देशनालयको तथ्यांकअनुसार नवलपुरमा १८ हजार ७ सय १६, कास्कीमा १६ हजार २ सय २०, लमजुङमा ११ हजार ८ सय ७५, गोरखामा १० हजार १ सय ४०, तनहुँमा ७ हजार ६ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ । यस्तै, स्याङ्जामा १४ हजार ३ सय ९०, पवर्तमा ७ हजार ५ सय २५, बागलुङमा ५ हजार ७ सय सात र म्याग्दीमा ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ । धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ । अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटेपनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले बताउँछन् । दुई वर्षअघि प्रतिहेक्टर ३.६ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर ३.७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ । समयमै वर्षात र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउविजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको उनले बताए । प्रतिकुल मौसम, मल अभाव, कमसल बिउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ । धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ । जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए । ‘सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्,’ निर्देशनालयका प्रमुख रेग्मीले भने ।
यातायात कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले सेवाग्राहीको सवारी चालक अनुमतिपत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराइदिने भन्दै २० हजार घुस लिएको अख्तियारले जनाएको छ । आरोपपत्रमा कैद सजाय र बिगोसमेत माग गरिएको छ ।
तेस्रो मुलुकका लागि पूर्वीनाका खुला गरेसँगै पर्यटक आवागमन बढ्याे
झापा । पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २ सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा १ सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् । कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए । उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए । ‘धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्,’ उनले भने, ‘आन्दोलनका कारण उहाँहरूलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।’ कोरोना महामारी समाप्तिपछि मुलुकका अरू सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो । यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बंगलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उनले बताए ।
बिजनेस विस्तारमा आक्रामक बन्यो सिटिजन लाइफ, नाफा घटे पनि हिमालयनलाई टक्कर दिँदै सन नेपाल
काठमाडौं । गत आर्थिक वर्ष २०८०/ ०८१ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा औसत १५.१८ प्रतिशतले बढेको छ । यो अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरूले ५ अर्ब ७३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आव २०७९/०८० मा यस्तो नाफा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ थियो । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन लाइफले ६३ करोेड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा सन् नेपाल लाइफले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आईएमई लाइफले ५१ करोड ४५ लाख, नेपाल लाइफले ५१ करो ४० लाख र मेट लाइफले ५० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । धेरै नाफा वृद्धि गर्ने कम्पनीको पहिलो नम्बरमा सिटिजन लाइफ छ । सिटिजनले अघिल्लो आवको तुलनामा गत आवमा २१६.४७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवमा ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा १० करोड २६ लाख रुपैयाँ थियो । राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ र आइएमई लाइफको खुद नाफा क्रमशः १९५.४४, १४६ र १४५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफको खुद नाफा १०४.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा सन नेपलाल लाइफ, मेट लाइफ र एआईसी नेपालको भने खुद नाफा घटेको छ । सन नेपालको नाफा अघिल्लो आवको तुलनामा घटे पनि नाफाको हिसाबमा भने हिमालयनलाई पछ्याइरहेको छ । हिमालयनको नाफा ६३ करोड ३८ लाख हुँदा सन नेपालले ५७ करोड ४९ लाख रुपैयाँ छ । जुन जीवन कम्पनीमा दोस्रो बढी नाफा हो । कुन कम्पनीको नाफा कति ?
घट्दो माग र भूराजनीतिक चपेटामा भारतीय अर्थतन्त्र, निर्यातभन्दा आयात दोब्बर
काठमाडौं । विश्वभरि घट्दो माग र भूराजनीतिक चुनौतीका कारण भारतमा निर्यातको गति सुस्त भएको देखिएको छ । जुलाईमा भारतबाट भएको निर्यात १.४८ प्रतिशतले घटेर ३३ अर्ब ९८ करोड अमेरिकी डलरमा झरेको छ । निर्यातको यो गति पछिल्लो आठ महिनायताकै न्यून हो । भारतीय वाणिज्य विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईमा आयात भने ७.४६ प्रतिशतले बढेर ५७ अर्ब ४८ करोड डलर पुगेको छ । यसले व्यापार घाटा २३ अर्ब ५० करोड डलर बराबर बढाएको छ । गत वर्ष जुलाईमा भारतको व्यापार घाटा १९ अर्ब डलर थियो । वाणिज्य सचिव सुनिल बर्थवालले जसलाईमा वस्तु निकासीमा ४ प्रतिशत वृद्धि भए पनि कुल निर्यात घटेको बताए । यसको मुख्य कारण कच्चा तेल आयातमा भएको वृद्धि र कमजोर मागका कारण पेट्रोलियम पदार्थको निर्यातमा आएको कमी हो । बर्थवालले भने, ‘पेट्रोलियम निर्यात घट्नुमा धेरै कारण छन्, पहिलो कारण मूल्य घट्नु र दोस्रो कारण केही उत्पादनको माग घट्नु हो । तेस्रो कारण भनेको देशभित्र पेट्रोलियम पदार्थको खपत बढ्नु हो, जसका कारण निकासीका लागि कम पेट्रोलियम पदार्थ बाँकी छ ।’ कुल निर्यातमा पेट्रोलियम पदार्थको हिस्सा १५ प्रतिशतभन्दा बढी छ । जुलाईमा पेट्रोलियम पदार्थको निर्यात २२ प्रतिशतले घटेर ५ अर्ब २३ करोड डलर र कच्चा तेल र पेट्रोलियमको आयात १७.४ प्रतिशतले बढेर १३ अर्ब ८७ करोड डलर पुगेको छ । इक्राका प्रमुख अर्थशास्त्री अदिती नायरले तेल र अन्य उत्पादनमा भएको घाटाले सन् २०२३ जुलाईको तुलनामा २०२४ जुलाईमा वस्तु व्यापार घाटा बढेको बताइन् । ‘तेल आयातमा भएको खर्चले धेरै मात्रामा तेल मगाइएको देखाउँछ, विश्वभरि यसको मूल्य बढेको छ, छुट घटिरहेको छ,’ उनले भनिन् । पेट्रोलियम र रत्नबाहेक अन्य क्षेत्रहरू निर्यात बलियो बनाउने सही सूचक मानिन्छन् । यो निर्यात जुलाईमा ५.७ प्रतिशतले बढेर २६ अर्ब ९२ करोड डलर पुगेको छ । इन्जिनियरिङ सामान ३.६६ प्रतिशत, इलेक्ट्रोनिक्स सामान ३७.३१ प्रतिशत, औषधी ९८.३६ प्रतिशत र कपडा ११.८४ प्रतिशतले बढेका छन् । कच्चा तेल र पेट्रोलियम पदार्थ बाहेक इलेक्ट्रोनिक सामान आयात ११.५४ प्रतिशत, अलौह धातु १७.४ प्रतिशत, फलाम र स्टिल ५.२२ प्रतिशत, प्लास्टिक सामग्री ६.६७ प्रतिशत र अर्गानिक तथा अजैविक रसायन ८.१ प्रतिशत धेरै रहेको छ । जुलाईमा सुन आयात १०.६५ प्रतिशतले घटेर ३ अर्ब १३ करोड डलर पुगेको छ । तर, केन्द्रीय बजेटपछि भन्सारमा कमी आउँदा आगामी केही महिनामा सुनको आयात बढ्न सक्ने नायरले बताइन् । मेदेखि जुलाईसम्म अवधिमा हरेक महिना ३ देखि ३ अर्ब ४० करोड रुपैयाँ बराबर मात्रै सुन आयात भएको थियो । कच्चा तेल, कमोडिटी तथा धातुको मूल्यमा आएको तीव्र गिरावटका साथै अन्तर्राष्ट्रिय व्यापार अवरोधका कारण निर्यात घटेको निर्यातकर्ता संगठन फिइओका अध्यक्ष अश्विनी कुमारले बताए । ‘अन्तर्राष्ट्रिय ढुवानी शुल्कमा चर्को वृद्धि हुँदा निकासीमा भएको नाफामा उल्लेख्य कमी आएकाले केही निर्यातकर्ता घरेलु बजारतिर लागेका छन्,’ उनले भने । जुलाईमा सेवा निर्यात ८.४ प्रतिशतले बढेर २८ अर्ब ४३ करोड डलर पुगेको छ भने सेवा आयात ५.९ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड डलर पुगेको छ । यसको परिणाम स्वरूप १३ अर्ब ८८ करोड डलरको अधिशेष भयो । तर, जुलाईका लागि सेवा निर्यात तथ्यांक अनुमान गरिएको छ, जुन भारतीय रिजर्भ बैंकले तथ्यांक जारी गरेपछि परिमार्जन हुनेछ । यसैबीच, उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) ले चीनलगायत धेरै देशका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नीति परिवर्तन गर्ने तयारी गरिरहेको बताइएको छ । डीपीआईआईटीले दिशानिर्देश तयार गरिरहेको र त्यसका लागि सरोकारवालाको राय पनि लिइएको सरकारी अधिकारीले बताएका छन् । एजेन्सी
यातायात व्यवसायीलाई गृहको ११ बुँदे निर्देशन
काठमाडौं । गृह मन्त्रालयले यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ । सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले ११ बुँदे निर्देशन दिएकाे हाे । यातायात व्यवसायी राष्ट्रिय महासंघलाई बुधबार पत्र लेख्दै मन्त्रालयले सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न निर्देशन दिएको छ । असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो । साेही सुझावअनुसार गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो । त्यसैगरी, लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारीसाधन प्रयोगबाट हटाउन पनि निर्देशन दिएको छ ।