विकासन्युज

युरो र पाउण्डको मूल्य बढ्यो, यस्तो छ अन्य देशको मुद्रा भाउ

काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३८ रुपैयाँ र खरिददर १३३.८९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.८५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.२६ रुपैयाँ र बिक्रीदर ९८.७० रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४७.७७ रुपैयाँ र बिक्रीदर १४८.४३ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.८६ रुपैयाँ र बिक्रीदर ९८.३० रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६५ रुपैयाँ र बिक्रीदर ३५.८१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको थियो ।

विश्वका सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन, के भनिन् अन्तिममा ?

काठमाडौं । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो । ‘मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो, उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । ‘हामी उहाँको सम्झना सधै रहनेछ ।’ क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएका ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएका थिए । ‘मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस्। म जहाँ रहेपनि खुसी रहनेछु,’ उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा लेखेका छन् । अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका छिन् । सन् १९०८ मे २३ मा जन्मेकी टोमिको हाल ११६ वर्षकी भइन् । सन् १९१८ को फ्लू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिएको ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर उहाँ पूर्ण रूपमा निको भएको थियो ।

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गरिँदै

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएक छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दे उनले भने, ‘कृषि मन्त्रालयले पछिल्लो पाँच/सात वर्षमा अर्बौ रुपैयाँ अनुदान दिएको रहेछ । सबै विवरण सार्वजनिक गर्नुपर्छ भनिसकेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’ आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उनले दुग्ध किसानको वक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताए । मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड रुपैयाँ दूग्ध किसानको हातमा गइसकेको जानकारी दिए । डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उनले भने, ‘बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ । उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दसैँको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु ।’ मन्त्री अधिकारीले कृषि मन्त्रालय र असली किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर आफू लागि परेको बताए । फरक प्रसङ्गमा उनले राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउने गरी काम गर्नुपर्ने र गर्ने बताए । ‘राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने छ, जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिदैन,’ उनले भने । आफूबाट कुनै गल्ती गरे र भए सञ्चारमाध्यम र सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै मन्त्री अधिकारीले त्यसलाई आफूले सकारात्मक रुपमा ग्रहण गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

बाढी, पहिरोमा १९३ जनाको ज्यान गयो

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म १९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २४१ जना घाइते भएका छन् । बाढी, पहिरोका कारण काठमाडौं उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चििम प्रदेशमा ५ गरी ११४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा २, मधेस प्रदेशमा १, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४९ जना वेपत्ता भएका छन् ।’ बाढीको कारण आज दिउँसोसम्म जम्मा ३८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । विपद्मा परी ८७० वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए ।

३२४ वर्ष पुरानो ‘ग्वलस् दे फल्चा’ र ‘नरसिंह’ पाटी उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ । मंगलबार आयोजित एक समारोहका बीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा-८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गरे । त्यस अवसरमा उनले काठमाडौं महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताए । ‘काठमाडौं महानगरपालिका-८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो,’ संयोजक संगतले भने, ‘वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ । यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो ।’ उनले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनःनिर्माण गरिएको बताए । हाल वडा नं ८ मा ग्वलः दे फल्चा पुुनःनिर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ ।

बाढी, पहिरोलगायतका विपदमा परी हालसम्म १९० को मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १ सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । आज नेपाल प्रहरीले जारी गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ३८ जना घाइते भएका छन् । साथै, काठमाडौं उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् । बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । साथै विपद्मा परी आठ सय ५२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् ।

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गत साता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताए । ‘दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ’, उनले भने। मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्यामा स्तरवृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गरेका थिए । दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकाबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताए। उनले भने, ‘अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।’ पन्ध्र शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ । अस्पतालले गत वर्ष ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालका प्रमुख डा परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि एक सय शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताए । यस्तै, अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उनको भनाइ छ । यो अस्पताल विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।

बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीको चेतावनी- स्वदेशमा ‘इन्टर्नसिप’ नमिलाए आन्दोलन !

काठमाडौं । बंगलादेशमा आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाल फर्किएका चिकित्साका विद्यार्थी इन्टर्नसिपका लागि फेरि बंगलादेश नै फर्किने कि नफर्किने भन्नेमा दोधारमा परेका छन् । बंगलादेशमा आन्दोलन साम्य नहुँदा फर्किने वातावरण सुरक्षित नभएकाले इन्टर्नसिपका लागि फेरि त्यहाँ नै फर्किन उनीहरूले असुरक्षित महसुस गरेका हुन् । बंगलादेशमा एमीबीएस र बीडीएस पढाइ सकेर इन्टर्नसिप गरिरहेका नेपाली विद्यार्थी नेपालमै इन्टर्नसिपको व्यवस्था हुनुपर्ने भन्दै माग गरिरहेका छन् । यस्तै, अन्तिम वर्षमा रहेका विद्यार्थीहरू अहिलेको अवस्थामा पढाइ छुट्न नदिन नेपालमै वैकल्पिक व्यवस्था गरिदिन भन्दै विभिन्न निकाय धाइरहेका छन् । आन्दोलनका कारण बंगलादेशमा बस्न असुरक्षित महसुस गरेर नेपाल फर्किएकामध्ये करिब चार सय चिकित्साका विद्यार्थी पढाइ सकेर एकवर्षे इन्टर्नसिप गर्नुपर्ने अवस्थाका छन् । नेपाल फर्केका ती विद्यार्थीहरू अहिले नै बंगालादेश फर्किन मानिरहेका छैनन् । यो बिचमा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलिदेखि लिएर शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, मेडिकल काउन्सिल हुँदै चिकित्सा शिक्षा आयोगलगायत विभिन्न निकाय धाए पनि समस्या समाधानको ठोस उपाय अहिलेसम्म नआएको विद्यार्थीले बताएका छन् । सरकारले विदेशमा पढेका नेपाली विद्यार्थीलाई आफ्नै देशमा भेदभाव गरिरहेको भन्दै उनीहरूले माग पूरा गर्न भनेका छन् । नेपाल फर्केदेखि विद्यार्थीको पढाइ अलपत्र परेको भन्दै विभिन्न ठाउँ धाए पनि सुनुवाइ नभएको नेप्लिज मेडिकल स्टुडेन्स एसोसिएसन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले बताए । उनले शान्तिपूर्ण माग गर्दा माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीले इन्टर्नसिप सम्बन्धि ऐन संसोधन हुनुपर्ने, अवस्था र आवश्यक्ताअनुसार बंगलादेश अथवा नेपालमा आफ्नो इच्छा अनुसार १ वर्षे इन्टर्नसिप गर्न मिल्ने व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । १० दिनसम्म सुनुवाइ भएन विद्यार्थीको मागपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समस्यामा रहेका विद्यार्थीलाई नेपालमै अध्ययन गराउने वा वैकल्पिक व्यवस्था गर्ने भन्नेबारे अध्ययन गर्न गठित कार्य समितिले १० दिन पुग्दा पनि कुनै ठाेस निर्णय गर्न सकेको छैन । चिकित्सा शिक्षा आयोगका निर्देशक प्राध्यापक डा.सुजनबाबु मरहट्ठा संयोजकत्वमा शिक्षा मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, परराष्ट मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका रजिस्टार लगायतका व्यक्ति सम्लित समिति गठन गरेको थियो । यो समितिले विद्यार्थीको इन्टर्नसिप नेपालमा नै गराउने वा वैकल्पिक व्यवस्था गर्ने भन्ने विषयमा आवश्यक अध्ययन गरी १० दिनभित्र राय सुझावसहितको प्रतिपेदन पेस गर्ने भनेको थियो, तर मंगलबार १० दिन भइसक्दा प्रतिवेदनसमेत नआएको विद्यार्थीले बताएका छन् । चिकित्सा शिक्षा नियमअनुसार विदेशमा अध्ययन गरेर नेपालमा इन्टर्नसिप गर्न कुनै विशेष वा बाध्यात्मक परिस्थिति हुनुपर्ने उल्लेख छ । यस्तो परिस्थिति भए विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृती लिएर नेपालभित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने व्यवस्था छ । यस प्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्ने भनेको छ । विद्यार्थी नवीन यादव नियममै भएको कुरा कार्यान्वयन गर्न सरकारले अलमल गरेको बताए । ‘बंगलादेशमा अझै शान्त वातावरण बनेको छैन, यस्तो अवस्थामा हामी निर्धक्क भएर फर्किनसक्ने अवस्था छैन,’ उनी भन्छन्,‘यस्तो अवस्थामा समेत सरकारले हामीलाई सुन्दैन भने सरकार भएको के अर्थ । ’ अफ्ठेरो भएको अवस्थामा कसरी सहजता गर्ने भन्ने विषय नियममै लेखिएको भएपनि सम्बिन्धत निकायले कुरा नसुनेको उनले बताए । निजी मेडिकल तयार बंगलादेशमा पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन निजी मेडिकल तथा डेन्टल कलेज संघले तयार रहेको जनाएको छ । अहिले पनि ३ सय बढी विद्यार्थीलाई इन्टर्नसिप दिन सक्ने अवस्था रहेको भन्दै संघले सरकारले निर्देशन गरे आफू मतहतका कलेज तयार रहेको जनाएको छ । नेपालमै इन्टर्नसिप गराउनुपर्ने माग गर्दै आएका विद्यार्थीसँगको भेटमा संघका अध्यक्ष ज्ञानेनन्द्रमानसिंह कार्कीले राज्य र सम्बिन्धत नियकायबाट अनुमती भए नेपालमै इन्टर्नसिप दिन तयारहेको बताएका हुन् । निजी मेडिकल तथा डेन्टल कलेज संघमा १५ वटा मेडिकल कलेज र डेण्टल कलेज छन् । हामीलाई सरकारले अनुमति दिनुपर्यो सहयोग गर्न हामी तयार छौँ, कार्कीको भनाइ उदृत गर्दै नवीनले भने,‘संघले सहयोग गर्ने भने पनि सम्बन्धित निकायबाट कुनै पहल भएन, हामीले भेट्दा सबै सकारत्मक देखिने तर हाम्रो पढाइ प्रभावित भएको यत्रो समय भइसक्दा पनि हामीलाई कसैले सुनेन, अब यस्तै हो भने आन्दोलनको विकल्प छैन ।’ विद्यार्थीलाई किन नेपालमा अभ्यास गर्न दिँइदैन ? प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) भनेको करिकुलमकै पाठ हो । चिकित्सा शिक्षामा ४ वर्ष पाठयक्रमको पढाइ र १ वर्ष प्रयोगात्मक अभ्यास गर्नुपर्छ । यो जुन देश अथवा जुन संस्था वा कलेजमा पढ्यो त्यही संस्था कलेजमा गर्नुपर्ने व्यवस्था छ । नेपालका अधिकांश विद्यार्थी चीन, बंगलादेश, भारतलगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षा अध्ययन गर्न जान्छन् । विशेष परिस्थिति बाहेक अन्य अवस्थामा जुन संस्थामा विद्यार्थीले अध्ययन गरेको हो अभ्यास पनि त्यही संस्थामा गर्नुपर्छ । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अनिलविक्रम कार्की जुन संस्थामा विद्यार्थीले अध्ययन गरेको हो त्यही संस्थामा एक वर्ष अभ्यास गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले विदेशमा पढेका विद्यार्थी नेपालमा अभ्यास गर्न नपाउने बताउँछन् । मेडिकल काउन्सिलको नियमानुसार जटिल अवस्था बाहेक अन्य अवस्थामा नेपालमा इन्टर्नसिप गर्न नपाउने बताउँदै बंगलादेशको हकमा पनि त्यहाँ अवस्था र परिस्थिति हेरेर निर्णय गर्ने बताउँछन् । यो विषमा काउन्सिल लगायत विभिन्न निकायमा कुरा उठेकाले अध्ययन समिति बनाएर यो विषयमा अध्ययन भइरहेको बताए । उनले बंगलादेशको अवस्था कस्तो छ भन्नेबारे त्यहाँको सरकार र सम्बन्धित कलेजसँग कुरा गरिसकेपछि मात्र यो विषयमा बोल्न सकिने बताउँछन् । ‘विद्यार्थीलाई समस्या हुँदा हामीले नगर्ने होइन पहिले कोभिडको बेला पनि विदेशमा पढेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गरेका हुन्,’ कार्की भन्छन्,‘हामीले विद्यार्थीलाई ल अभ्यास गर भने पनि त्यहाँको कलेजले मान्छ कि मान्दैन भन्ने अर्को प्रश्न रहन्छ ।’