नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । धितोपत्र बोर्डले विभिन्न पदमा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) प्रशासनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ गरी २ जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै बरिष्ठ सहायक (सहायक प्रथम श्रेणी) मधेसी कोटामा एक जना र सहायक (सहायक द्वितीय श्रेणी) खुला १, महिला १ र आदिवासी जनजाति १ गरी ३ जनाका लागि दरखास्त आह्वान गरेको हो । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार विभिन्न पदमा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) अनुसार दरखास्त आह्वान गरेको बोर्डले जनाएको छ । योग्यता पुगेका उम्मेदवारहरूले बोर्डको वेवसाइटमा रहेको क्यारियर ट्याबमा क्लिक गरी अनलाईन दरखास्त दिन सकिनेछ । भदौ २७ गतेसम्म सिंगल दस्तर र असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ८ संस्थापक सेयरधनीले बिक्रीमा राखे सेयर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ८ जना संस्थापकले सेयर बिक्रीमा राखेका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको डेढ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीहरूले १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाइनेछ । बैंकको उक्त सेयर खरिद गर्न ३५ दिनको समय दिइएको छ । यदि सो अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
शर्तसहित टिकटक खोल्न दिने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ नेपाल सरकार मन्त्रिपरिषद् को बिहीबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।
३० वर्षे सेवा अवधि लागू नगर्न सर्वाेच्चको आदेश, तत्काल अवकाश नपाउने
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको छ । साथै सर्वोच्चले ३० वर्षे सेवा अवधिका आधारमा यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरुलाई तत्काल अवकाश नदिन बिहीबार अन्तरिम आदेश दिएको हो । प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई भदौ १६ गते अवकाश हुने भनी गरिएको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वाेच्चले निवेदकहरु तथा निवेदक जस्तै अवस्थामा रहेका प्रहरी कर्मचारीहरुलाई भदौ १६ गते वा उक्त प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिको ३० वर्षे अवधीका आधारमा सेवाबाट अवकास हुने भनि दिइएका पत्राचारहरु हाललाई कार्यान्वयन नगर्नु नगराउनु आदेश जारी गरिएको सर्वाेच्चले जनाएको छ । त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्न नगराउनू भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । निजहरुको पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीहरुलाई लेखी पठाउनु भनी आदेशमा उल्लेख छ । साथै सर्वाेच्चले अदालतबाट भएका उल्लिखित वृहत पूर्ण इजलासका निर्देशनात्मक आदेशहरु किन कार्यान्वयन नभएको हो र यस सम्बन्धमा संविधानको धारा १२८ (४) बमोजिम कारवाही किन चलाउनु नपर्ने हो भन्ने सम्बन्धमा प्रत्यर्थी÷विपक्षीहरुबाट १५ दिन भित्र छुट्टा छुट्टै जवाफ माग गरको छ । प्रस्तुत निवेदनमा अन्तरनिहीत अदालतको आदेशको कार्यान्वयनको विषय तथा प्रहरी सेवाभित्र हुने पदसोपान समेतका विषयलाई मध्यनजर गर्दा प्रस्तुत विषय शीघ्र समाधान गर्नुपर्ने प्रकृति देखिएकाले लिखित जवाफ पेश भए वा नभएमा समेत आगामी असोज १० गते पुर्ण सुनुवाइका लागि पेस गर्न र सुनुवाइ हुने गरी पेसीमा अग्राधिकार दिइएको छ ।
अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ फेरी बढ्यो, उच्च बिन्दुमा युरो र पाउण्ड
काठमाडौं । अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ७ गतेका लागि अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ तोकेको छ । यसअघि हिजो अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ तोकेको थियो । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य उच्च बिन्दुमा पुगेको हो । आज युरोपियन युरो एकको खरिददर १४९.२७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.९४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.६३ रुपैयाँ र बिक्रीदर ९९.०८ रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४८.९१ रुपैयाँ र बिक्रीदर १४९.५८ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७४.६० रुपैयाँ र बिक्रीदर १७५.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.२९ रुपैयाँ र बिक्रीदर ९०.६९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.५० रुपैयाँ र बिक्रीदर ९८.९४ रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकिएको थियो ।
पन्च ईभीले नेपालमा टाटालाई नम्वर वान बनाइराख्न मद्दत गर्छ-सिजापति
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न नयाँ मोडलहरू सार्वजिक गर्ने भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई नै लक्षित गरेर पन्च ईभी भित्र्याएकाे छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । यसबाहेक अन्य कुन-कुन मोडल उपलब्ध छन् भनेर सिजापतिसँग गरिएको संक्षिप्त कुराकानी : नाडा अटो शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन् ? नाडा अटो शोमा हामीले पन्च ईभी राखेका छौं । जुन भारतीय बजारमा एकदमै धेरैले रुचाएको र राम्रो बिक्री भइरहेको मोडल हो । त्यसैले यस वर्ष नाडामा हामीले यसलाई लन्च गर्ने तयारी गरेका छौं । यो गाडीको फिचर एकदमै राम्रो छ । हामीले यो गाडीको मूल्य भने नाडा अटो शोमा नै सार्वजनिक गर्ने तयारी गरेका छौं । ‘एक्च्युअल्ली, टाटा डट ईभी प्रेजेन्ट अ नाडा अटो-शो’ । त्यसैले पन्च ईभी हामीले शोमा लन्च गर्दैछौं । त्यसबाहेक टाटाको चर्चित मोडल टियागो पनि नाडा अटो शोमा रहन्छ । मुख्य आकर्षणमा यी दुई मोडल राख्ने सोचेका छौं । त्यसबाहेक बजारमा चलेका अन्य मोडलहरू पनि हुन्छन् । नाडा अटो शोमा अफर के हुन्छ ? अफरको हकमा हामीले हाम्रो कस्टमरहरूलाई जे अफर गरिरहेको हुन्छौं त्यो नै सबैभन्दा बेष्ट हो । सेल्स, सर्भिस र चार्जिङ नेटवर्कमा हामीले हाम्रो कस्टमरलाई कम्प्लिट प्याकेज नै अफर गर्ने हो । नाडा अटो शोमा पनि अझै यसलाई वेटर गर्ने कोशिस रहन्छ । त्यसबाहेक पन्च लन्च भइसकेपछि हामीले अन्य अफर के कति दिन सक्छौं त्यो नाडा अटो शोमा नै थाहा हुन्छ । नेपालमा ईभीको मार्केट कस्तो छ ? ईभीको मार्केट नेपालमा बढ्दो छ । पेट्रोल गाडीबाट बिस्तारै बजार सिफ्ट भएर ईभीतिर आउँदैछ । हामी विगत २ वर्षदेखि निरन्तर नेपालको नम्बर वान ब्राण्डको रूपमा स्थापित भएका छौं । र, पन्च जस्तो मास मार्केट प्रोडक्ट ल्याएपछि अझै हाम्रो पोजिसन राम्रो हुनेछ । पछिल्लो समय ईभी गाडीबारे गुनासा पनि धेरै छन् । खासगरी रिसेल भ्यालु कम भएको, सर्भिसमा समस्या भएकाे, ब्याट्रीमा समस्या हुने गरेको गुनासो सुनिन्छ । तपाईंहरूले यसलाई कसरी समधान गरिरहनुभएको छ ? तपाईंले भन्नुभएका सबै समस्याहरूलाई म स्वीकार्छु । किनकि बजारमा त्यो गुनासो धेरैको छ । म कुनै कम्पनीलाई प्रतिस्पर्धी मानेर भन्न चाहन्नँ । सिप्रदीमा जे छ त्यो मात्रै भन्छु । तपाईंले सबैभन्दा सुरुमा रिसेल भ्यालस भन्नुभयो, त्यसमा सिप्रदीको के छ भने हामीबाट तपाईंले गाडी लिनुभएको छ अथवा तपाईं हाम्रो गाडी लिन चाहानुहुन्छ भने तपाईंले लिएर आएको गाडीमा भ्यालु एड गरेर पुरानो लिएर हामी नयाँ दिन्छौं । त्यसलाई एक्सचेन्ज गर्नका लागि हामीसँग इनहाउस एक्सचेन्ज सुविधा नै उपलब्ध छ । दोस्रो कुरा सर्भिस हाे । यो चाहिँ सबै कन्जुमरहरू आफै पनि अलि प्रोएक्टिभ हुनुपर्छ । हाम्रो पूर्वदेखि पश्चिमसम्म विभिन्न स्थानमा सर्भिस सेन्टरहरू छन् । जहाँ पूर्णरूपमा हामीले दिने सेवा सुविधा दिइरहेका हुन्छौं । त्यसैले टाटामा यो समस्या पनि छैन । र, अर्को भनेको ब्याट्रीको कुरा । नेपालमा आफैले ब्याट्री डागोनोस्टिक एण्ड रिपेयर गर्ने हामी मात्रै एक हौं, जुन बागडोलमा छ । हाम्रो ब्याट्री टेक्नोलोजीलाई मर्मत गर्न र त्यसलाई नेपालभित्र नै कसरी रिपेयर एण्ड मेन्टेनेन्स गर्न सकिन्छ त्यो गर्नका लागि हामीले एक डागोनोस्टिक सेन्टर नै खोलेर राखेका छौं । टाटाको सबै ईभी गाडीको ब्याट्री मर्मत हामी त्यहीबाट गर्छौं । त्यसैले अन्य ब्राण्डहरूमा यी समस्या भए पनि टाटामा यस्ता समस्या छैनन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई पत्र
काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । उनले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गरे । सो अवसरमा अर्थ मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो । २०७२ साल चैत्र ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भएर २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । कार्यक्रममा काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा-सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो । नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे । अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गरे । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङचेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर),निदा दुन मल्ल (मेम्बरसिपचेयर), पुनित अग्रवाल (फाइनान्सचेयर),अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एन्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअपचेयर) निर्वाचित भएका हुन् । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल थिए । नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए । मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गरे । स्टार्ट–अप र युवा उद्यमीहरूलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरूलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए । व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।