राजमार्गको दुरावस्था : काठमाडौं पुग्न हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी
मलेखु । बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौं पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् । नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौं पुर्याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छँदैछ सुक्खा पहिराले छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकाले महँगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो । राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साबिकभन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौं पुर्याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डा. मधुकर दाहालले बताए । ‘जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौँ लैजान सुझाव दियौँ, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्त बाध्य हुनुभयो,’ डा दाहालले भने । धादिङबेँसीबाट काठमाडौं कलङ्कीसम्म पुग्न सामान्यतय लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्न सकिँदैन । एम्बुलेन्सलाई धादिङबेँसीबाट काठमाडौँ पुग्न वा काठमाडौँबाट धादिङबेँसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । बर्र्खाको बेला पानी र पहिराले सडक अवरुद्ध भयो । कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन । राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले चार घण्टाभन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाइ छ । वर्षौदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्छन्, ‘सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङवेसी–काठमाडौँ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।’ धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौं भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिँड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने गरेको छ । राजमार्गको दुरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरी यो बर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
अब तनहुँमा पनि प्याराग्लाइडिङ, परीक्षण गरेको ६ वर्षपछि व्यावसायिक उडान
दमौली । तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको ६ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । व्यास नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताए । व्यास नगरपालिका-११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताए । उनले भने, ‘मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौं ।’ उनले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । ६ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गरेका थिए । तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन–चार किमिको दूरीमा यस ठाउँ पर्छ। यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।
राति २ बजे कुमारी बैंकमा तोडफोड
बाजुरा । कुमारी बैंकको एक शाखामा गएराति तोडफोड भएको छ । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए । ‘एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । जिल्ला प्रहरी कार्यालय बाजुराले गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ । ‘बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ,’ जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रवीन्द्रसिं कार्कीको भने । गएराति नै गौमुल गाउँपालिका-६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार समेत चोरी भएको सो सहकारीका अध्यक्ष श्याम रोकायाले बताए ।
नाडा अटो शोमा ट्राइम्फका १५० बढी मोटरसाइकल बुकिङ, हंसराज हुलासचन्द एण्ड कम्पनीलाई सफलता
काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फकोे नेपाली बजारमा रहेको आफ्नो उपस्थितिलाई झल्काएको छ । नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि ले गरिरहेको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित छ । यस नाडा अटो शोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकवर्गको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको कम्पनीले जनाएको छ । ‘यस उपलब्धिले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ,’ गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले भने, ‘यो सफलताले हामीलाई हाम्रा ग्राहकहरूलाई झनै असाधारण उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको छ । ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको छ । नेपालमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तथा आफ्ना ग्राहकहरुका लागि असाधारण सवारी अनुभव प्रदान गर्न कम्पनी समर्पित रहेको छ ।
माछापुच्छ्रे बैंकका ग्राहक बिगमार्टमा जाँदा विशेष छुट, २ सय रुपैयाँसम्म क्यासब्याक सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले बिगमार्टका आउटलेटहरूबाट सामान खरिद गरे बापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा आर्कषक सुविधा पाउने बैंकले जनाएको छ । हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिने बैंकको भनाइ छ । माछापुच्छ्रे बैंकले देशभरिका ३ सयभन्दा बढी संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । सम्झौताबाट ग्राहकलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघसंस्थालाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशियाले गैरबैंकिङ सम्पत्ति बेच्न खोल्यो वेबसाइट, अनलाइनबाटै बार्गेनिङ गर्न सकिने
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार अनलाइन पोर्टलबाट बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ एवम् धितो सुरक्षण सम्पत्ति लिलाम बिक्री लगायतका सूचनाबारे जानकारी लिन सकिने छ । ग्राहकहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवम् उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकको भनाइ छ । ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
अमेरिकी डलर र युरोको भाउ घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रबार एक युरोको खरिददर १४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा कामय भएको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ नौ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको छ । आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८० पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।
ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिए । ‘निर्माण व्यवसायीले मनसुनका कारण ठेक्कामा घाटा भयो भनेर काममा ढिलासुस्ती गरेको थियो, अगस्त र सेप्टेम्बर महिनामा काम ढिला हुन्छ भनेर भन्दै थियो,’ उनले भने, ‘घाटानाफा हामी जान्दैनौँ सम्झौताअनुसार काम हुनुपर्छ, तुरुन्त काम सुरु गर्नु होइन भने हामी ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेपछि उनीहरु अहिले काममा फर्किएका छन् ।’ नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइनाको सरकारी निर्माण कम्पनी भएकाले काम चाँडो गराउन कूटनीतिक पहल गरिएको उनले बताए । ‘निर्माण व्यवसायी चाइनाको सरकारी कम्पनी हो,’ उनले भने, ‘जसरी हुन्छ नारायणगढ बुटवल सडक विस्तारको काम थप भएको समयमा सक्नका लागि हामीले डिप्लोमेटिक पहलसमेत थालेका छौं ।’ निर्माण कम्पनीको दोस्रोपटक थप गरिएको म्याद गत साउन ८ गते सकिएपछि अहिले एक वर्षका लागि तेस्रोपटक म्याद थप गरिएको ढकालले बताए। अहिले थप गरिएको म्याद नै अन्तिम म्याद भएको भन्दै ढकालले थप भएको समयका काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने बताए । निर्माण कम्पनीले असार लागेदेखि नै सडक विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः सुरु गरिएको नारायणगढ(बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिए । मनसुनअगाडि नै ‘सबबेस’ र ‘बेस’को काम सकिएको ठाउँमा कालोपत्रको काम पुनः सुरु गरिएको उनको भनाइ छ । अहिले नारायणगढ बुटवल सडकको पूर्वी खण्डमा पर्ने गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा कालोपत्र गर्ने काम भइरहेको थापा मगरको भनाइ छ । ‘मनसुन अगाडि सबबेस र बेस निर्माण गरेर राखिएको ठाउँको कालोपत्र गर्ने काम सकेपछि बाँकी रहेका ठाउँमा सबबेस र बेस निर्माण गर्ने निर्माण व्यवसायीको तयारी छ,’ उनले भने, ‘अब मनसुनले असर पुर्याएन भने काम तीव्र गतिमा हुँदैछ ।’ कालोपत्रको कामसँगै सडकका खाल्डाखुल्डी पुर्ने र सडकमा पानी छर्किने कामसमेत भइरहेको उनले बताए । नारायणगढबाट बुटवलसम्म ११४ किलोमिटर रहेको यस खण्डलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । नारायणगढबाट दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेबाट बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्ड गरी सडक विस्तारको काम भइरहेको छ । ग्लोबल टेन्टरमार्फत दुवै खण्ड निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले हात पारेको थियो । सडक विभाग आयोजना निर्देशनालय (एडिबी) ले जनाएअनुसार असार मसान्तसम्म पूर्वी खण्डमा ५२ दशमलव ५१ प्रतिशत भौतिक र ४६.०२ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस अवधिसम्म १७२ वटा कल्भर्ट निर्माण सम्पन्न, २२ वटा साना पुल निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । एकतर्फी हिसाब गर्दा एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्ने यस खण्डमा करिब ४५ किलोमिटर कालोपत्र तथा ४० किलोमिटर नाली निर्माणको काम सकिएको निर्देशनालयले निकालेको विज्ञप्तिमा जनाइएको छ । यस खण्ड विस्तारका लागि विसं २०७५ माघमा सम्झौता भएर सोही वर्षको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको बुटवलमा शिलान्यास गरेका थिए । अहिले पुनः प्रधानमन्त्रीका रूपमा केपी ओली आएपछि उनले शिलान्यास गरेको यो सडक विस्तारको काम चाँडो सम्पन्न हुनेमा जिल्लावासी आशावादी छन् ।