विकासन्युज

२० जना मजदुरको गोली हानी हत्या

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ । बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो । आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने,“राति ४० जना आक्रमणकारीहरूले राति ९स्थानिय समय १२ः३० बज० आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।” जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताउनुभयो । “आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,” उनले थने । बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा संचालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ । उग्रवादी समूह बलुच लिबरेसन आर्मी ९बीएलए० ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ । आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन् । शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ)  शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो ।

दशैँका अवसरमा टाटाको ७५१ बढी गाडी नेपाली बजारमा डेलिभरी

काठमाडौँ । दशैँका अवसरमा टाटाको ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी  दिएकाे छ । टाटाले यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको थियो । यस्तै टाटा पन्च ईभीको यो दशैँमा ३७७ युनिट डेलिभरी भएको छ । यो दशैँमा टियागो ईभीको १५६, टाटाको टिगोर ईभीको १० र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । यस्तै एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएसँगै सिप्रदीले यो दशैँमा ७५१ टाटा कारहरू डेलिभर गरेको छ ।

बीपी राजमार्गमा पहिरोले सुमो र बस पुरिए, राजमार्ग अवरुद्ध

काठमाडौँ । बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भनिए पनि सख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिएका थिए । तर, शुक्रबार राजमार्गको रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बस पुरिएका छन् । यस्तै सुख्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबीमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यलयका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ । त्यस्तै खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ । घटनामा मानवीय क्षति भने भएको छैन । असोज ११ र १२ गतेको बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो ।

इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते

बेरुत । लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् । बिहीबार मध्यरातमा कुनै चेतावनी बिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो । सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो । यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो । प्रत्यक्षदर्शीहरूले आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे । लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ । यसैबीच, चिकित्सा स्रोतहरूले गाजा पट्टीमा बिहीबार इजरायली हवाई आक्रमणमा ६३ जनाको मृत्यु भएको जनाएको छ ।

जनकपुरमा अष्टमीको दिन ३ करोडको लड्डु बिक्री

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई रु तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए । हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्तिपीठमा प्रसादका रूपमा चढाउन बजारमा फरकफरक प्रकारका लड्डुको बिक्री भएको बताए । यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उनले जानकारी दिए । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री हुने गरेको गुप्ताले बताए । जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल रहेका छन् । बजारमा बुधबार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने बिहीबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

९ महिनामा मुस्ताङमा एक लाख पर्यटक, सार्क राष्ट्रबाट धेरै

म्याग्दी ।  गएकाे ९ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए । उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए । आठ हजार तीन सय ९७ जना मनाङ हुँदै पाँच हजार चार सय मिटर अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन् । हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।

पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

कटारी । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए । “आज बिहानै पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ”, उनले भने, “स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेका छौँ ।” कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उनले बताए । सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।

किन घट्दैछ पठन संस्कृति ? व्यापारी भन्छन्- नयाँ पाठक बनेकै छैनन्

काठमाडौं । रसुवाका रितेश गुरुङ एभिड रिडर (अत्यधिक बुक पढ्ने व्यक्ति ) हुन् ।  दिनभरि जति व्यस्त भए पनि  उनी पढ्नलाई रातको समय छुट्याउँछन् । हरेक वर्ष दशैंमा ट्रेकिङमा जानुका साथै पुस्तक पढ्दै आएका उनी यो वर्ष पढेरै दशैं मनाउने योजनामा छन् । ‘अहिले बाटोघाटो राम्रो छैन, ट्रेकिङ पनि गइँदैन होला,’ विकासन्यूजसँग कुरा गर्दै उनी भन्छन्, ‘म दशैंको बिदामा मात्र पढ्छु भन्ने होइन, पुस्तक जहिले पनि पढ्छु । अझ भन्ने हो भने त दशैंमा रमाइलो गर्ने हो ।’  दशैंमा पढ्न भनी उनले दुईवटा पुस्तक पनि किनिसकेका छन् । नेपाली उपन्यासभन्दा विदेशी उपन्यास पढ्न धेरै रुचाउने रितेश एक्सपेरिमेन्टल, म्याजिकल रियालिजम खालका किताब रुचाउँछन् । उनले अमेरिकन- क्यानडियन ‍राइटर रुथ ओजेकीको ‘अ टेल फर द टाइम बिइङ’ र हंगेरियन राइटर लास्ज्लाे क्राश्जनहाेर्काइको ‘अ माउन्टेन टु द नर्थ, अ लेक टु द साउथ’ पढ्ने योजना बनाएका छन् । भन्छन्, ‘मलाई पुस्तक पढ्न आदत जस्तो भइसक्यो । एउटा सकिनेबित्तिकै अर्को पुस्तक चाहिन्छ, बरु समय लगाएर पढ्छु ।’ नेपालमा खासै एक्सपेरिमेन्टल उपन्यास नभएको र भएका किताबको पनि विषयवस्तु पनि लगभग सबै उस्तै भएकाले पढ्न खासै उत्साह नलाग्ने उनको भनाइ छ । ‘मलाई विदेशी भाषामा लेखिएका किताबको अंग्रेजी अनुवाद पढ्न लाग्छ,’ रितेश थप्छन्, ‘विदेशी पुराना लेखकले लेखेका किताब नेपालमा अहिलेका लेखकहरूले पनि लेख्न सकेका छैनन् । कसैले नयाँ गर्न खोजीहाल्यो भने पनि शैली उही परम्परागत हुन्छ ।’ उनी नेपाली लेखक अझै विधवा, द्वन्द्व, बाढीपहिरो लगायतका कथामै अड्किरहेको बताउँछन् । फुर्सदिलो समय दशैंतिहारमा मीठो मसिनो खाई आफन्तहरूसँग भेटघाट गरी मनाइन्छ । यो बेला स्कुल-कलेजको लामो समय बिदा हुन्छ । विद्यार्थी वा कर्मचारीसँग फुर्सदको समय हुन्छ । यही मौकामा धेरैले पुस्तक पनि अध्ययन गर्छन् । पढ्न मन भएका तर सधै व्यस्त रहनेहरू मिलेको यो समयको सदुपयाेग गर्छन् । नेपाली र अन्य भाषाका आफूलाई मनपर्ने कथा, जीवनीलगायतका विभिन्न पुस्तकहरू नेपाली युवाहरूको रोजाइमा हुन्छन् । पुस्तक विक्रेताका अनुसार आजभोलि प्रेरणादायी किताबहरू बढी बिक्री भइरहेका हुन्छन् । विशेषगरी अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’, सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ यस्तै उपन्यास बढी बिक्री भइरहेका छन् । पुस्तक व्यवसायीहरू भने पछिल्लो समय पुस्तक किनेर पढ्ने मान्छेमा कमी आएको बताउँछन् । आजभन्दा ९, १० वर्ष पहिले जति व्यापार हुन्थ्यो, अहिले त्यो व्यापार घटेको उनीहरू बताउँछन् । छैन व्यापार काठमाडौंको भोटाहिटीमा रहेको जननी बुक्स एण्ड स्टेशनरीका सञ्चालक पृथ्वीचन्द्र सुवेदी आजभोलि पुस्तक किनेर पढ्नेहरूको जमात घटेको बताउँछन् । १५ वर्ष अगाडि पोखराबाट आएर पुस्तक पसल सञ्चालन गरिरहेका उनी कोभिडपछि यो संख्या ह्वातै घटेकाे बताउँछन् । ‘शिक्षकहरू कलेजमा विद्यार्थी छैन भन्छन्, शैक्षिक संस्था नै रित्तिन थालेको बेला पुस्तक पढ्ने को आउँछ?,’ उनी भन्छन्, ‘पढ्ने जमात विदेशतिर लाग्यो, रहेकाहरू पनि इन्टरनेटमै सर्च गर्छन् पढ्छन् । अब पुस्तककै लागि भन्दै पसलमा आउनेहरूको संख्या घट्न थाल्यो ।’ उनले पुस्तक बिक्री नहुँदा व्यापार नहुने र व्यापार नहुँदा अब भाडा तिर्नै गाह्रो भएको सुनाउँछन् । भोटाहिटीमै रहेको हेरिटेज बुक्स ट्रेडर्सका सञ्चालक बाबुराम गौतम पनि किताब किनेर पढ्नेहरूको संख्या घटेको बताउँछन् । उनी कथा उपन्यास मात्र पढ्नेको संख्या नभइ विद्यालयमै पनि किताब किनेर पढ्नेहरू कम भएको बताउँछन् । भन्छन्, ‘पहिले किताब किन्ने पढ्ने ट्रेन्ड थियो, अहिले बेसिक बुक नकिनेर, टेस्ट बुक नकिनेर गेसपेपर र सोलुसन बुक मात्र किन्छन् ।’ पहिले दशैं आउँदा बजारमा नयाँ पुस्तक के आयो भन्दै खोज्न आउनेहरूको संख्या पनि घटेको उनी बताउँछन् । मोबाइल प्रविधिको विकासले गर्दा पुस्तक पसलमा आएर किताब किन्नेहरू घटेको उनकाे भनाइ छ । ‘पहिलेदेखि किन्ने बानी लागेकाहरू अहिले पनि किन्नुहुन्छ तर, लकडाउनपछि सबै जना मोबाइलतिर लागे,’ उनी भन्छन्, ‘अहिले सबै मोबाइलमा ब्यस्त भए, अहिले नयाँ पाठक बनेको छैनन् ।’ पाठककाे राेजाइमा कस्ता बुक ? पाठकहरूको ढाँचा (प्याटर्न) परिर्वतन भएपनि धेरैजसो प्रेरणा प्रदायक कथाहरू रोजाइमा परिरहेका छन् । अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’ सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ नयाँ किताब बजारमा आएका छन् । पाँच वर्षदेखि हेरिटेज बुक्स ट्रेडर्श स्टेशनरीमा काम गर्दै आएका हेमन्त विष्ट भने अहिलेका नयाँ पुस्तकभन्दा पनि पुरानै किताब पाठकको रोजाइमा परेको बताउँछन् । अहिले पनि ‘सेतो धर्ती’, ‘इजोरिया’ ,‘फिरफिरे’, ‘समरलभ’, ‘पल्पसा क्याफे’ पुस्तकहरूको खोजी बढी हुने गरेको छ । अहिलेको मदन पुरस्कार पाएको मोहन मैनालीको ‘मुकाम रणमैदान’ भने खासै पाठकले खोजी गरेका छैनन् । हेमन्त भन्छन्, ‘पहिले राम्रो जान्थ्यो, अहिले किताब पढ्नेको क्रेज घट्यो ।’ किन घट्न थाले पाठक ? पुस्तक व्यवसायीहरूले पाठकको संख्या घटेको बताइरहेका बेला रितेश भने पढ्नेहरूको संख्या घटेको नभइ पढ्ने किताबहरू फेरिएको हुनसक्ने बताउँछन् । उनी नेपाली युवाले फरक कुराहरू पढ्न खोजेको तर नेपाली लेखकले त्यो दिन नसकेका कारण पनि संख्या घटेको हुनसक्ने बताउँछन् । उनी प्रविधिको पहुँचसँगै किताब पढ्नेहरू कम भएभन्दा पनि राम्रो बुकहरू नहुँदा पढ्नेको संख्या घटेको दाबी गर्छन् । शिक्षाविद् डा. विष्णु कार्कीको मत पनि यही छ । उनी पाठक घटेको नभइ पढ्ने विषयलाई किताबमा मात्र केन्द्रित गर्दा यसको असर देखिएको बताउँछन् । ‘आजभोलि विभिन्न प्रविधिले पढ्ने मापदण्डलाई व्यापक बनाइसक्यो, हामी अझै पुस्तकमा अल्झेका छौं,’ उनी भन्छन्, ‘पुस्तक पसलेहरूले पनि पुस्तक बिक्री नहुँदा पढ्ने बानी हरायो भनिरहेका छन । यसो होइन, सामग्री र पढ्ने माध्यम फरक भएको हो ।’ यो समस्या आउँदा दिनमा अझ थप देखिने विज्ञहरू बताउँछन् । अहिले पहिलेजस्तो छैन, समय फेरिएको छ । मान्छेको पहुँच सजिलै प्रविधिसँग पुगेको छ । विद्यार्थी पनि अहिले प्रविधिबाट प्रभावित भएकाले अब लेखकहरूले पाठकलाई बुझेर लेख्नुदिनुपर्ने उनीहरू बताउँछन् । ‘पढ्ने बानी घटेको होइन, पढ्ने माध्यम फरक भएको हो, लेखकले यसलाई आत्मसाथ गर्नुपर्‍याे, यो परिवर्तन हो,’ डा. कार्की भन्छन्, ‘विद्यार्थी वा पाठकसामु कुनै कुरा पुर्‍याउनु छ भने कसरी नयाँ माध्यमबाट दिने भन्ने सोच्नुपर्‍याे । अब पुस्तक पल्टाएर कोही बस्दैनन् ।’ उसो त अब पाठकहरू नेपाली लेखकमाथि नै प्रश्न उठाउन थालेका छन् । किन यसो भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा त अंग्रेजीको प्रभाव पनि हो, अर्को लेखकले प्रस्तुत गर्ने शैली र उनीहरूले उठान गरेका विषयवस्तु पनिले हो ।’ स्वाद नै फरक पुस्तक पसलमा नेपालीभन्दा अंग्रेजी पुस्तकहरूको खोजी बढी हुन्छ । अंग्रेजी अध्ययन गरिरहेका पाठकहरू पनि विदेशी लेखकहरूको किताबमा फरक स्वाद हुने बताउँछन् । ‘म पनि कहिलेकाहीं अध्ययन गर्छु, मलाई पनि यो महसुस हुन्छ,’ डा. कार्की भन्छन्, ‘गम्भीर रूपमा अध्ययन गर्ने मान्छेले पनि विदेशी पुस्तक खोजी-खोजी पढ्छन्, जसले फरक-फरक धारका कुराहरू दिन्छन् । नेपाली उपन्यास , कथाहरू पढ्दा स्टोरी र विषयवस्तु फरक भए पनि प्रस्तुती र लेखनशैलीमा एकै किसिमको समानता पाइन्छ ।’ विदेशी लेखकले उठान गर्ने तरिका फरक हुन्छ । उनीहरूको लेखाइ र प्रस्तुतिमा पनि फरक स्वाद हुन्छ, जसका कारण आकर्षण बढेको हो । ‘अब लेखकहरूले पनि आफूलाई भर्सटायल बनाउनुपर्‍याे, नयाँ ढंगले नयाँ विषयवस्तुहरू ल्याउनुपर्‍याे,’ उनी भन्छन्, ‘त्यही गरिबी, लोककथामा आधारित रहेर लेख्ने विषयहरू, समसामयिक कुराहरू पुरानो भयो, हाम्रा कथा उपन्यास अहिले भइरहेका टेक्नोलोजीलाई समेट्दै भविष्यमा यस्तो हुन सक्छ भनेर कल्पना गर्दै लेख्नुपर्‍याे ।’ लेखकले परिवारका झगडा विभेदका कुराहरू बोकेर हिँड्ने कुरा पुरानो भएको बताउँदै डा. कार्की लेखकहरूलाई अबको ५०, सय वर्षपछि कस्तो हुन्छ, अबको परिवार, समाज कस्तो हुन्छ भन्ने विषयमा कल्पना गरेर लेख्न सुझाव दिन्छन् ।