हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।
विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान
काठमाडौं । आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुन सक्ने चेतावनी दिँदै मंगलबार र विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ । वित्तीय नीति सम्बन्धि पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्यांक कोभिड–१९ महामारी आउनु भन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो । विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ‘फिस्कल अफेयर्स डिपार्टमेन्ट’का उप निर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताएका हुन् । ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै उनले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गरेका छन् । त्यसैले सन्तुलन कायम गरी रिऋको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मझभुत गराउनु पर्ने समय आएको उनले बताएका छन् । आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्यांकन गर्न नयाँ ‘ऋण-मा-जोखिम’ दृष्टिकोण प्रस्तुत गरेको छ । प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ । यो तथ्यांक कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो । प्रतिवेदनले विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतार चढाव निम्त्याउँने जनाउदै ऋणको उच्च स्तरले अरूका लागि सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ । अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने ‘उपयुक्त’ समय भएको आईएमएफले जनाएको छ । विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३–४.५ प्रतिशतको बीचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ जुन विगतका समायोजनहरूको आकार भन्दा लगभग दोब्बर हो । रासस
मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी
काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी भएको छ । बैंक र आइडी नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडी नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए । उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रर्वद्धन गर्न सहयोग पुग्ने कम्पनीले बताएको छ । दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।
लघुवित्तमा बैंकहरूको डेढ खर्ब लगानी, ग्लोबल आइएमईको उच्च
काठमाडौं । बैंकहरूको लघुवित्त वित्तीय संस्थाहरूमा डेढ खर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनसम्म बैंकहरूले १ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाह गरेका हुन् । गत वर्षको साउनसम्म बैंकहरूले लघुवित्त संस्थालाई १ खर्ब ४४ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले लघुवित्तलाई दिएको कर्जा १३.८९ प्रतिशत अर्थात् २० अर्ब ९ करोड रुपैयाँ बढाएका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लघुवित्तलाई दिने कर्जा बढाएको छ । यस बैंकले गत वर्षको साउनको तुलनामा ५४.१६ प्रतिशत बढाएर १२ अर्ब ४६ करोड रुपैयाँ कर्जा लघुवित्त संस्थाहरूमा प्रवाह गरेको हो । तर, लघुवित्त वित्तीय संस्थामा सबैभन्दा धेरै कर्जा भने ग्लोबल आइएमई बैंकले गरेको देखिन्छ । ग्लोबल आइएमई बैंकले १२.९२ प्रतिशत बढाएर १६ अर्ब ४२ करोड रुपैयाँ लघुवित्तमा कर्जा लगानी गरेको छ । यस्तै नबिल बैंकले ४३.८० प्रतिशत बढाएर १२ अर्ब ५४ करोड रुपैयाँ, सानिमा बैंकले ३०.७८ प्रतिशत बढाएर ५ अर्ब ४० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.६६ प्रतिशत बढाएर ५ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले १८.५५ प्रतिशत बढाएर ११ अर्ब ९५ करोड रुपैयाँ लघुवित्तलाई कर्जा लगानी गरेका हुन् । यस्तै एनएमबी बैंकले १५.८७ प्रतिशत बढाएर ८ अर्ब ६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १३.१३ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले १२.२५ प्रतिशत बढाएर ४ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकले १०.२० प्रतिशत बढाएर ६ अर्ब रुपैयाँ लघुवित्तलाई कर्जा दिएका हुन् । लक्ष्मी सनराइज बैंकले ९.०४ प्रतिशत बढाएर ८ अर्ब ५७ करोड रुपैयाँ, प्राइम बैंकले ७.५६ प्रतिशत बढाएर ९ अर्ब ६४ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ०.०२ प्रतिशत बढाएर ६ अर्ब ३७ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् । गत वर्ष लघुवित्तमा लगानी नगरेको प्रभु बैंकले यसपटक भने १० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । तर, यस अवधिमा विभिन्न ६ वटा बैंकले भने लघुवित्तमा जाने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले ३४.६७ प्रतिशत घटाएर ६ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन्स बैंकले २५.८८ प्रतिशत घटाएर १ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले २२.६२ प्रतिशत घटाएर ३ अर्ब २४ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् । यस्तै हिमालयन बैंकले १२.१२ प्रतिशत घटाएर ९ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ११.९३ प्रतिशत घटाएर १२ अर्ब ३१ करोड रुपैयाँ र एभरेष्ट बैंकले ७.४५ प्रतिशत घटाएर ७ अर्ब ५६ करोड रुपैयाँ लघुवित्त संस्थामा लगानी गरेका हुन् ।
जटिल डेंगुले निम्त्याउन सक्ने पूर्वसंकेतहरू
बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्वजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेंगु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए । त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेंगु लागेको शंका गर्दै थिए । यसबाट हाल समुदायमा डेंगु फैलिएको देखिन्छ । डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने संकेतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ । सन् २०२२ मा अधिकांश डेंगुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेङ्गु लिएर आएका तथ्यांक देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेङ्गुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेंगु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेंगु’ का पूर्वसंकेतहरुका बारेमा थाहा पाउनु पनि आवश्यक छ । अधिकांश डेंगु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमारीहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेङ्गुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेंगु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ । ‘जटिल डेंगु’का पूर्वसंकेतहरु के के हुन् त ? तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, नाक वा गिजाबाट रगत बग्नु, बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि । माथि उल्लिखित लक्षण वा संकेतहरु घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता संकेतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप संकेतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए/नभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ । सन् २०२२ सालमा काठमाडौंमा देखिएको डेङ्गु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौंका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो । अनि नेपालको इतिहासमा नै ‘घातक डेङ्गु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेंगुको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेङ्गु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेङ्गु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ । नेपालमा डेंगु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेंगु’ का पूर्वसंकेततलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ । दसैँ अगाडि डेंगुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेंगु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरुमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरु आउने क्रम जारी छ । डेंगुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ । चाखलाग्दो कुरा के छभने अधिकांश डेङ्गु सङ्क्रमितहरु लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेंगु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेंगु’ भन्नाले डेंगु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो । चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् । अधिकांशलाई डेंगुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेंगु’ का पूर्वसंकेततहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेंगु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेंगु’ का पूर्वसंकेतलाई ध्यान दिनसक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ । हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेंगु के हो, कसरी सर्छ र यसका लक्षणहरुका बारेमा जानकारीहरु दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेंगु’ का पूर्वसंकेतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेंगुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो । (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
गलेश्वर । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउँछन् । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक दुई करोड रुपैयाँ बढी रकम भित्रिने गरेको उनी बताउँछन् । विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउँछन् । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । ‘खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।’ खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउँछन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । ‘भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ’, कृषक कार्कीले भने । स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । ‘बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,’ अर्का कृषक जगत्बहादुर घिमिरेले भने । खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम ३० हजार रुपैयाँदेखि १० लाखरुपैयाँ सम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनी बताउँछन् । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ । रासस
दशैं सकिएपछि तोलामा १४ सयले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा दशैं सकिएपछि सुनको मूल्य तोलमा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दशैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार
राँझा । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे०मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । ‘अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने गरेको छ’, उनले भने, ‘दसैँ मनाउन कोहलपुर, नेपालगञ्जलगायत गाउँघरमा आएका आफन्तजन यहाँ घुम्न आउने गर्नुभएको छ ।’ थारू र मुगाली समुदायद्वारा सञ्चालित ‘गाभर भ्याली होमस्टे’मा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । वर्षात्मा सुनसान हुन पुगेको उक्त घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीले बताए । बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए । आन्तरिक पर्यटकलाई लक्षितगरी मिनी गाभरमा भर्खरै सञ्चालनमा आएको बिसौनी ग्रिनरी रिसोर्ट पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । प्राकृतिक सुन्दरता र आकर्षक पूर्वाधारकाले दसैँको माहोलमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको महाप्रबन्धक केशव चालिसेले बताए । उनका अनुसार मिनी गाभरमा रहेका होमस्टेमा बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा पाहुना घुम्न आउने गरेका छन् । मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । ‘यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्’, बिसौनीका महाप्रबन्धक चालिसेले भने, ‘दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।’ दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ घरबासका अध्यक्ष मंगल थारूले बताए । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरबासको आनन्द लिन आफूकहाँ आउने गरेको उनले बताए । उनले भने, ‘दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरिएको छ ।’ रासस