जसले माटोका भाँडा बेचेर १० लाखसम्म कमाउँछन्
धरान । इटहरी उपमहमनगरपालिका-६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्याैली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए । ‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुर्ख्याैली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो,’ उनले भने । उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले सुनाए । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए । उनले भने, ‘जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको रु १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले रु १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि रु ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।’ पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए । ‘धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्’, उनले भने, ‘पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।’ पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । आफूले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतुर्के, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उनकाे भनाइ छ । “एक/दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन, घर खर्चका लागि कमाउन त्यति धेरै गाह्रो हुन्न”, पण्डितले भने । हाल एउटा पैनि ६ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छ भने गमला ३० रुपैयाँदेखि आठ सय रूपैयाँसम्म बिक्री हुने गरेको छ । साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा २० रुपैयाँदेखि लिएर एक हजारसम्ममा बिक्री हुने गरेको उनले बताए । अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ,’ पण्डितले भने । इटहरी उपमहानगरपालिका-६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन् । उनले विगत दुई वर्षदेखि माटोको भाँडाकुँडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताए । ‘माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ,’ काफ्लेले भने । ‘इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक रु ३० हजारसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।’ रासस
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली संगठनले ५१ लाख रुपैयाँ तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा दाखिला गरेका छन् । यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।
प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो
काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको तलब तथा भत्ता वापतको खर्च १६.४४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९।०८० मा कम्पनीले कर्मचारीलाई दिने तलब तथा भत्ता वापतको खर्च १६.४४ प्रतिशतले बढेको हो । कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा २५ करोड ३४ लाख ३७ हजार ६९९ रुपैयाँ तलब तथा भत्ता वापत खर्च गरेको छ । आव २०७८।०७९ मा यस्तो खर्च २१ करोड ७६ लाख ५३ हजार ७९९ रुपैयाँ थियो । आव २०७९।०८० मा कम्पनीले तलब वापत १० करोड १३ लाख ६९ हजार ८५० रुपैयाँ खर्च गरेको छ । २०७८।०७९ मा तलब वापत ९ करोड ३६ लाख ३३ हजार रुपैयाँ खर्च गरेको थियो । यसैगरी, आव २०७९।०८० मा भत्ता वापत ४ करोड ३२ लाख ६० लाख ७४६ रुपैयाँ, चाडपर्व भत्ता वापत १ करोड २२ लाख, उपदान वापत ८२ लाख ७२ हजार, सामाजिक सूरक्षा कोष वापत ९६ लाख, लिभ इन्क्यासमेन्ट वापत १ करोड ५० लाख रुपैयाँ कम्पनीले खर्च गरेको छ । यसैगरी, मेडिकल खर्च वापत ७२ लाख २१ हजार, बीमा वापत ३ लाख ७० हजार, प्रदर्शन बोनस वापत २५ लाख ८२ हजार, फोर्स लिभ वापत ७३ लाख ६९ हजार, इन्धन र कमुनिकेसन वापत ८४ लाख ५७ हजार, रिफ्रेसमेन्टका लागि २९ लाख ९१ हजार, कर्मचारी बोनस बापत २ करोड ८२ लाख ८८ हजार र अन्य कर्मचारी खर्च वापत १६ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।
युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण
काठमाडौं । युनिलिभर नेपालले डोभमार्फत् बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर पर्सनल केयर ब्रान्ड डोभ हो । खेलाडीहरूलाई सफलताको कामना पनि गरेको छ । दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टूर्नामेन्टहरूसँग पङ्क्तिबद्ध गर्दै फुटबलसंस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने उद्देश्यका साथ,युनिलिभरले परम्परागत स्पोन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको जनाएको छ । नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहे उल्लेख गर्दै युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उल्लेख गरेको छ । ‘राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म–आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिशनलाई झल्काएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रभु बैंकबाट अन्जन श्रेष्ठसहित ९ जना बाहिरिँदै
काठमाडौं । एकैपटक ९ जना संस्थापक सेयरधनीले प्रभु बैंकको सेयर बिक्रीमा राखेका छन् । बैंकका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । ९ जना संस्थापकको स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखिएको हो । जसमध्ये नबल किशोर राजभण्डारीको नाममा रहेको ८६ हजार ४६६ कित्ता, बीरेन्द्र रावलको १ हजार ५५२ कित्ता, प्रवीन अग्रवालको १ लाख ७ हजार २२० कित्ता, कुमार पौडेलको ३२ हजार ३ सय कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै अन्जन श्रेष्ठको १६ हजार ५१९ कित्ता, दिनेश अर्यालको ३५ हजार ७२१ कित्ता, गंगाराम महर्जनको २४ हजार ७०३ कित्ता, तान्या अधिकारीको १५ हजार ९६२ कित्ता र सन्ध्या थापा क्षेत्रीको ४८ हजार ६४२ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
भगवती हाइड्रोले सिधैं बैंक खातामा पठायो लाभांश, नआए के गर्ने ?
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले पारित गरेको लाभांश सिधैँ सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको जनाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई १०.७३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा असोज २१ ग्तेदेखि आईपीएस मार्फत् जम्मा गरेको जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिएको कम्पनीले जनाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।
बैंकिङ प्रणालीमा रकम थुप्रिएपछि राष्ट्र बैंकले १ खर्ब उठाउँदै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले१ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार एक खर्ब रुपैयाँ खिच्न लागेको हाृे । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज एक खर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम बोल गर्न सकिनेछ । उक्त रकमको सावा र व्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले कात्तिक १४ गते फिर्ता दिनेछ ।
यूरोको मूल्य १४६.७० रुपैयाँमा झर्याे, ४.०६ रुपैयाँमा कारोबार हुँदै थाई भाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७० रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.५२ रुपैयाँ र बिक्रीदर १७५.३१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.४९ रुपैयाँ र बिक्रीदर १५६.१८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२८ रुपैयाँ र बिक्रीदर ९७.७२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४१ रुपैयाँ र बिक्रीदर १०२.८६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२२ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८६ रुपैयाँ र बिक्रीदर ९.९० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८७ रुपैयाँ र बिक्रीदर १२.९३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५७ रुपैयाँ र बिक्रीदर १९.६६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३८ रुपैयाँ र बिक्रीदर ४३९.३३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.६९ रुपैयाँ र बिक्रीदर ३५७.२८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।