विकासन्युज

होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने

काठमाडौं । जापानी अटोमोबाइल  कम्पनी निसान मोटरका सेयर बुधबार ऐतिहासिक उचाइमा पुगेको छ । वित्तीय समस्यामा रहेको निसान मोटर होन्डा मोटरसँग मर्जरको तयारी गरेको मिडिया रिपोर्टपछि सेयर बढेको हो । यस्तो मर्जरले ठूला प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न र विद्युतीय सवारीसाधनको बढ्दो बजारमा लगानी गर्न सक्षमता प्रदान गर्ने बुझिएको छ । फ्याक्टसेटको डाटाअनुसार निसानका सेयर २३.७ प्रतिशतले वृद्धि भएको हो, जुन सन् १९८५ पछि अहिलेसम्मकै उच्च वृद्धि हो । यसैबीच, होन्डाको सेयर भने ३ प्रतिशतले घट्यो । निक्केई पत्रिकाको रिपोर्टअनुसार निसान र होन्डा एक होल्डिङ कम्पनीअन्तर्गत सञ्चालन गर्ने र मित्सुबिशी मोटर्सलाई समेत समेट्ने सोचमा छन् । मित्सुबिशीमा निसानसँग २४ प्रतिशत सेयर छ । सीएनबीसीसँग कुरा गर्दै फ्रोस्ट एण्ड सुलिभान अनुसन्धान फर्मका ग्लोबल क्लाइन्ट लिडर फर मोबिलिटी विवेक वैद्यले निसानको कमजोर वित्तीय प्रदर्शन मर्जरको प्रमुख कारण भएको बताए । गत नोभेम्बरमा निसानले आफ्नो राजस्व र सञ्चालन लक्ष्य घटाएको थियो । प्रमुख बजारहरूमा बढ्दो प्रतिस्पर्धाको कारण कम्पनीले ९ हजार जागिर कटौती गर्ने र उत्पादन क्षमतामा २० प्रतिशत कटौती गर्ने योजना पनि सार्वजनिक गरेको थियो । अटोफोरकास्ट सोल्युसन्सका अध्यक्ष तथा सीईओ जो मकेबले रेनोसँगको सम्बन्ध डगमगिएपछि निसानले नयाँ बाटो खोजेको बताए । एक विज्ञप्तिमा निसानले होन्डासँग ‘मर्जर हुने कुरा’ कम्पनीको घोषणामा आधारित नभएको बताएकाे छ । निसानले होण्डा र मित्सुबिशी मोटर्ससँग भविष्यमा सहकार्यका विभिन्न सम्भावनाहरू विचार गरिरहेको तर कुनै निर्णय ‍नभएको जनाएको छ । वैद्यले भने, ‘मर्जरले तीन अटोमेकरहरूलाई प्रविधिमा पहुँच, नवीनताका जोखिम न्यूनीकरण र लागत सुधार गर्न सहयोग गर्नेछ ।’ साथै, मर्जरले पेट्रोल इन्जिन सवारीसाधन, हाइब्रिड, विद्युतीय र हाइड्रोजन सवारीसाधनहरूमा काम गर्ने बताइएको छ । वैद्यले कार निर्माताहरूले हाल आईसीई भेहिकल र ब्याट्रीबाट चल्ने ईभी दुबैमा लगानी गरिरहेको अवस्थामा जापानको दोस्रो ठूलो कार निर्माता हुण्डाई र तेस्रो निसानबीचको मर्जरले नवप्रवर्तनबाट हुने जोखिम कम गर्ने बताए । निक्केईको रिपोर्टअनुसार संयुक्त निसान-होण्डा-मित्सुबिशी उद्यमले वार्षिक रूपमा ८० लाखभन्दा बढी सवारीसाधन बिक्री गर्नेछन् । यसले कम्पनीलाई विश्वको सबैभन्दा ठूलो कार निर्मातामध्ये एक बनाउनेछ । तर ‍‍पनि जापानी कार निर्माता टोयोटा मोटर (२०२३ मा १ करोड १२ लाख) र जर्मन कार निर्माता फक्सवागन (गत वर्ष ९२ लाख सवारीसाधन बिक्री) भन्दा कम हुनेछ । होन्डा र निसान यस वर्षको सुरुवातमा साझा अटोमोटिभ कम्पोनेन्ट र सफ्टवेयरमा आधारित रणनीतिक साझेदारीमा प्रवेश गरेपछि यो मर्जरको रिपोर्ट आएको हो । यो हालसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ उद्योगको मर्जर हुनेछ । यसअघि २०२१ को जनवरीमा फियाट क्रिस्लर र फ्रान्सको पीएसए ग्रुप मर्ज भई स्टेलान्टिस बनेको थियो । स्टेलान्टिसको मार्केट क्याप ३८.६७ बिलियन डलर रहेको छ भने निसान र होण्डाको मर्जरपश्चात् ५४ बिलियन डलरको कम्पनी बन्नेछ । यस्तो मर्जरले विद्युतीय सवारीसाधनको विकासलाई अघि बढाउन र विभिन्न चुनौतीहरूसँग सामना गर्न सघाउनेछ। वैश्विक अटो उद्योग हाल विद्युतीय सवारीसाधन (ईभी) तर्फ रूपान्तरण हुँदै गर्दा धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जसमा टेस्ला र चीनको बीवाईडीजस्ता कम्पनीहरूको प्रभुत्व छ । उदाहरणका लागि फक्सवागनले जर्मनीमा कारखाना बन्द गर्ने र हजारौं जागिर कटौती गर्ने योजना बनाएको छ भने जनरल मोटर्सले हालै आफ्नो सेल्फ-ड्राइभिङ रोबोट्याक्सी कम्पनी क्रुज बन्द गरिसकेको छ । होन्डा र निसानको लागि अर्को चुनौती भनेको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ट्यारिफ हो, जसले वैश्विक आपूर्ति श्रृंखलामा ठूलो पुनर्संरचनाको आवश्यकता पर्न सक्छ । यी पनि पढ्नूहोस् :  स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं । कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउन सक्नेछन् । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ । बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ । यो मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताएका छन् । प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

शिक्षकलाई मासिक रुपमा तलब दिन निर्देशन दिएका छौं : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छिन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताइन् । ‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो’, उनले भनिन्, ‘हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ ।’ उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताइन् । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिएको बताइन् । ‘आयोगको म्याद हामीले दुई पटक थप गर्यौँ । तर आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ’, उनले भनिन्, ‘आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ ।’

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनका तर्फबाट नारद खवासले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । निराजनको यसअघिको रिटमा पनि प्रसाईंलाई अदालतमा उपस्थित गराउने आदेश भएको थियो । उक्त रिट सर्वोच्चले खारेज गरेपछि काठमाडौं जिल्ला अदालतले प्रसाईं साइबर अपराधमा धरौटीमा रिहा हुने थुनछेक आदेश गरेको थियो । तर, प्रहरीले प्रसाईंलाई संगठित अपराधमा थुनामै राखेर पुनः पक्राउ पुर्जी लिएको थियो । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार (हिजो) निराजनका तर्फबाट पुनः बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराइएको थियो ।

घट्यो सेयर बजार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं ।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । नेप्सेकाअनुसार ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । साथै, ३१४ वटा कम्पनीको ८१ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, रिभर फल्स पावरको १२ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख, सिकलेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज उपकार लघुवित्त वित्तिय संस्था र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।साथै, ३ वटा उपसमूहमा बाहेक सबै उपसमूह राताम्मे रहेका छन् । वित्त समूह १.०७, लघुवित्त समूह ०.०९ र व्यापार समूह ०.५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३६, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०,३६, लगानी ०.३२ र जीवन बिमा समूह ०.३३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.३२, म्युचुअल फण्ड ०.२६, निर्जीवन बिमा ०.१४ र अन्य समूह ०.३७ अंकले घटेको नेप्सेले जनाएको छ ।

यूएसएआईडीको सहकार्यमा एनएमबि बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू छलफलमा सहभागी भएका थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआएको छ ।

एमजीले विन्टर एक्सचेन्ज कार्निवल- २०२४ को आयोजना गर्ने, १० लाखसम्मको एक्सचेन्ज बोनस

काठमाडौं । एमजी विन्टर एक्सचेन्ज कार्निवल- २०२४ को आयोजना हुने भएको छ । डिसेम्बर २० देखि २२ सम्म (पुस ५-७) सिल्भर ओक, बालुवाटारमा कार्निवल आयोजना हुन लागेको हो । कार्निवलले एमजी, माज्दा, म्याक्सस र वुलिङजस्ता प्रमुख लक्जरी अटोमोबाइल ब्रान्डहरू प्रदर्शन गर्ने जनाइएको छ । प्यारामाउन्ट मोटर्सले कार्निवलको आयोजना गर्न लागेको हो । कार्निवलमा विशेष एक्सचेन्ज अफर राखिने आयोजकले जनाएको छ । यसअन्तर्गत कुनै पनि लक्जरी सवारीसाधनमा अपग्रेड गर्दा १० लाखसम्मको एक्सचेन्ज बोनससहित एक्सचेन्ज मूल्य पाउन सकिने जनाइएको छ । यसैगरी, तुरुन्तै सवारीसाधन खरीदका लागि सहज र छिटो वित्तीय सेवा उपलब्ध हुनेछ । एमजी, माज्दा, म्याक्सस र वुलिङका प्रिमियम सवारीसाधनहरू चलाउने मौका पनि कार्निवलमा राखिनेछ । वातावरणलाई रोमाञ्चक बनाउन सांगीतिक कार्यक्रम र विभिन्न प्रदर्शन गरिने आयोजकले जनाएको छ । सबै सहभागीहरूका लागि स्वादिष्ट परिकारहरू पनि पस्किने जनाइएको छ । त्यस्तै, सबै उमेर समूहका लागि मनोरञ्जनात्मक गतिविधिहरू पनि कार्निवलमा हुने जनाइएको छ । साथै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलको पनि प्रत्यक्ष प्रसारण हुनेछ। थप जानकारी वा कार्निवलमा सहभागी हुन एमजी मोटर नेपालको आधिकारिक वेबसाइटमा गई बुझ्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इन्ड्राइभ आइसिटी अवार्डको ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १५ विधामा अवार्ड प्रदान हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ । फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ । प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनल लगायत स्वदेश तथा विदेशबाट करिब १ हजार विशिष्ट व्यक्तिहरूको सहभागीता रहनेछ । नवौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ३ जना विदेशी विज्ञ जुरी समिती र १२ जनाको सल्लाहकार समिति गठन गरिएको थियो । यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ८०० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ । अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् । व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन । संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ । यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । ग्राण्ड फिनाले सातै प्रदेशमा स्टार्टअप मिटअप, बुटक्याम्प, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पीड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन गरिएको थियो । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए । आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ । हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् भने एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ । शुक्रबार आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रमलाई सफल बनाउन इन्ड्राइभ, एनसेल, नेपालपे क्युआर, जेनस, जुम, स्मार्टन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, फोर्टिनेट, राष्ट्रिय वाणिज्य बैंक, हाम्रो पे, एमआईटी कलेज, नबिल बैंक, सस्तो टिकेट्स, मेन्टरल्याब, हामो पात्रो, टेक्नोरियो, सिटी एक्सप्रेस, ब्रोडवे इन्फोसिस, कान्तिपुर टिभी, रूटिन अफ नेपाल बन्द, टेकस्पायर कलेज, एम्बिसन गुरू, आकाश टेल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको  छ ।