राष्ट्रपतिले न्यायाधीशमा निरौला र पाण्डेयको गरे नियुक्ति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन् । राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यही कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । नेपालको संविधान धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई न्यायाधीशको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता
वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् । आज आइतबार गोविन्दपुर हुँदै हास्वा जोड्ने सडक शिलान्यास गर्ने क्रममा उनले आउँदो मन्त्रिपरिषद बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको जानकारी दिएका हुन् । पर्साको महत्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिकाको विकासका लागि आफू हरपल तयार रहेको बताउँदै मन्त्री गुप्ताले पोखरियामा विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको पनि जानकारी दिए । पोखरिया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधिलगायत विभिन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तीव्र रुपमा अगाडि बढाउन पनि मन्त्री गुप्ताले आग्रह गरेका छन् । कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान, उपप्रमुख रवि ठाकुरलगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।
राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्ति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत पदमा नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राडा ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंसिरमा पनि बैंककाे ब्याज घट्ने, अधिंकाश बैंक न्यूनतम सीमामा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मंसिरमा पनि ब्याजदर घटाउने भएका छन् । दशैं तिहारपछि बैंकहरूमा निक्षेप थुप्रिएर लगानी नभएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउने भएका हुन् । कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ औसत ६ प्रतिशत छ भने संस्थागततर्फ औसत ४.९७ प्रतिशत कायम छ । बैंकहरूले बचततर्फ ब्याजदर ३ प्रतिशतको हाराहारीमा झारिसकेका छन् । निरन्तर ओरालो लाग्दै आएको ब्याजदर बैंकहरूले कात्तिकमा पनि घटाएका थिए । पछिल्लो तथ्याङ्क अनुसार अधिकांश बैंकको ब्याजदर न्यूनतम बिन्दुमा छ । यदि अझैं घटाउन मिल्ने भए बैंकहरू ब्याजदर घटाउन तयार छन् । तर, नेपाल राष्ट्र बैंकले निक्षेपमा ब्याजदरको न्यूनमत बिन्दुको सीमा तोकेको छ । सो बिन्दुभन्दा तल ब्याजदर झार्न मिल्दैन । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र कर्जाको माग नभएकाले मंसिरमा पनि ब्याजदर घटाउने भएका हुन् । तर, बैंकहरूको ब्याजदर न्यूनतम बिन्दुमा भएकाले थोरै मात्रै घट्ने एक बैंकरले बताए । उनका अनुसार मंसिरमा बैंकको निक्षेपतर्फको ब्याजदर अझै घट्न सक्नेछ । ‘दशैं तिहारमा रेमिट्यान्स पनि ह्वात्तै बढेको छ, दशैं तिहार अवधिमा बैंकहरूमा निक्षेप बढेको नै छ, फाइनान्स कम्पनी र विकास बैंकमा राम्रो निक्षेप आएको छ, उनीहरूको पनि निक्षेप आएको देखिन्छ,’ उनले भने, कर्जा प्रवाह हुन सकेको छैन, पैसा फालाफाल नै छ, राष्ट्र बैंकले पनि तिहार लगत्तै डेढ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निक्षेप खिचेको छ, जबकी दोब्बर रकम राख्न बैंकहरू तयार छन् ।’ कन्सोर्टियम कर्जा र जलविद्युतका लागि कर्जाको माग आएपनि व्यक्तिगत कर्जाको माग नआएको ती बैंकको भनाइ छ । उनका अनुसार घरकर्जा ७/८ प्रतिशतमा दिँदा पनि बजारमा माग आएको छैन । बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७८ प्रतिशत हाराहारीमा रहेको उनले बताए । ‘मंसिरमा बैंकहरूको ब्याजदर घटेपनि धेरै घट्ने ठाउँ छैन । किनभने ३ प्रतिशतभन्दा तल झार्न मिल्दैन । मुद्दती निक्षेपमा पनि ग्याप राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब ब्याजदर घटेपनि ०.१० प्रतिशत नै हो, जसको घटाउने ठाउँ छ, उनीहरूले घटाउन सक्छन् ।’
खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ : खेलकुदमन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताए । नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताए । सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको जानकारी दिए । यस्तै, उनले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभएपनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताए । दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिए । ‘विद्यालयस्तरबाटै यहाँका विद्यार्थी विभिन्न कारणले चुरोट, बिँडी, कक्षा नौ वा १० कक्षाबाट नै खान शुरु गर्दछन् । भारतबाट वा अन्य तेस्रो मुलुकबाट ल्याएर खाने गर्दछन्, जसकारणले युवाहरु अपाङ्ग भएका छन्’, उनले भने । मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गरे ।
नेपाल बैंक र ई-कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र ई-कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ । बैंक र अनलाइन ई-कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँ बराबरको छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मङ्सिर ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
छिल्लीकोटमा दुई करोडको लगानीमा बन्यो जिपलाइन
तुलसीपुर । जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ । उनले आउँदो मङ्सिरभित्रै उक्त जिपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताए । ‘निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मत्रै पूरा भयो’, उनले भने, ‘धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु पर्यो भन्दै आउनुभएको छ, अब मङ्सिर महिनाभित्र सञ्चालनका लागि तयारी गरेका छौँ ।’ दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । तार तान्न नै एक वर्ष लागेका ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी छ । उक्त जिपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३० डिग्री एलिभेसनमा छ । करिब दुई करोड रुपैयाँ लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जिपलाइन निर्माण भएको छ । जस वापत प्रत्येक टिकट बिक्रीबाट वनलाई पाँच प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलार्ई पाँच प्रतिशत दिने सम्झौता भएको छ । बीस वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उनको भनाइ छ । जिपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने उनको भनाइ छ । छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उनले बताए । साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याइएको हो । सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरी आफूहरुले उक्त कार्य गरेको उनले बताए । जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङलगायत थप गर्ने समेत तयारी रहेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले गर्यो कर्मचारीको जिम्मेवारी हेरफेर
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दशौँ र एघारौ तहका कर्मचारकाे जिम्मेवारी हेरफेर गरेको हाे । स्वास्थ्य मन्त्रालयका अनुसार केही समय अघि स्वास्थ्य सेवा विभागबाट शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा डा.अनुप बास्तोला मन्त्रालय ल्याइएको छ । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिइने भएको छ । यस्तै स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन्। डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ । गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ । त्यहाँ कार्यरत डा विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ । डा सापकोटालाई त्यही राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व समेत सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत गर्ने निर्णय गरिएको छ।