विकासन्युज

एनसेलको ‘सधैं अन’मा अब ‘फ्री अनलिमिटेड नाइट डेटा’

काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् । गत बिहीबार (पुष २५)बाट सुरु भएको यो योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकले यो नाइट डेटा पनि पाउँछन् । सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९, ४९९, ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १ हजार ४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ । २८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् । एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो ।

अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभी शून्य ब्याजदरमा उपलब्ध

काठमाडौं । काईयी नेपालले अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभीमा विशेष अफर घोषणा गरेको छ । यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ । काईयी एक्स थ्री प्रोमा शक्तिशाली प्रदर्शनका लागि १२० किलोवाटको मोटर, लामो समयसम्म चल्ने र भरपर्दो ऊर्जाका लागि ५३.६ किलोवाट-घण्टा ब्याट्री, ४०१ किलोमिटरको माइलेज र यसको २८० एनएम टर्कले रोमाञ्चक ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । काईयी नेपालले थापाथली (नेपाल राष्ट्र बैंकको विपरीत) स्थित आफ्नो शोरूमा भ्रमण गर्न अनुरोध पनि गरेको छ ।

मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ६.३५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको करसमेत) वितरण गर्ने निर्णय पारित गरेको छ । सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट ३ जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सतिश गौतम गरी ४ जना जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भए । यसैगरी, वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई काठमाडौं महानगर- १० बाट ठाउँसारी गरी वडा नम्बर ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएकाे छ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही २७ वटा शाखा तथा एक बिस्तारित काउन्टरमार्फत देशभरका प्रमुख सहरमा १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ । आज नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकनपछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, ‘हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौं । यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छाैं ।’ आईएसओ २७००१ : २०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ । इन्टरसर्ट एक विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूको लागि सर्टिफिकेसन सेवा प्रदान गर्दछ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरूलाई सेतो छडी सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेस प्रदेशको सप्तरी जिल्लामा अपाङ्गता संरक्षण नेपालद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनहरूलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरूको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम,३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मनोकामना मनिचेञ्जरको इजाजत रद्द, भारतीय रूपैयाँ खरिद-बिक्रीमा बदमासी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरिदिएको छ । राष्ट्र बैंकले मनोकामना मनिचेञ्जर वीरगञ्ज प्रालिको इजाजतपत्र रद्द गरिदिएको जनाएको छ । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौंथो संशोधनसहितको विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्थाबमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको नेपाल राष्ट्रले उल्लेख गरेको छ । अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोवार नगर्न/नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकको वीरगञ्ज कार्यालयबाट भारतीय रूपैयाँ खरिद-बिक्री गर्नका लागि उक्त कम्पनीलाई इजाजतपत्र प्रदान गरेकाे जनाइएको छ ।

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । यसैगरी, सभाले जीपी राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ । साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न बैंक अगाडि बढिरहेको जानकारी गराए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापनका लागि तिम्सिना छनौट, माघ २ गतेभित्र नियुक्ति लिनुपर्ने

 काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिम्सिनालाई छनौट गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त कम्पनीको व्यवस्थापनका लागि तिम्सिनालाई छनौट गरेको हो । यस्तै, राष्ट्र बैंकले छनौट भएका तिम्सिनालाई नियुक्ति लिनका लागि माघ २ गतेभित्र राष्ट्र बैंकको वित्तिय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ । यदि माघ २ गतेभित्र नियुक्ति लिनका लागि तिम्सिना उपस्थित नभएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । तिम्सिनाका साथै राष्ट्र बैंकले अन्य २ जनाको नाम वैकल्पिकमा राखेको छ । वैकल्पिकको पहिलो नम्बरमा रामप्रताप यादव छन् भने दोस्रो नम्बरमा प्रकाश घिमिरे रहेका छन् । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका राष्ट्र बैंकले एक जना माग गर्दै मङ्सिर १२ गते दर्खास्त खुलाएको थियो। त्यसको लागि परेका आवेदनहरूमध्येबाट ४ जनाको आवेदन स्वीकृत भएको जनाइएको छ। प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताप यादव र राजेन्द्रप्रसाद तिम्सिनाको आवेदन फारम स्वीकृत भएका मध्ये कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि राष्ट्र बैंकले फाइनान्सको व्यवस्थापन तथा सञ्चालनको लागि तिम्सिनालाई छनौट गरेको हो । राष्ट्र बैंकले तिम्सिनालाई माघ २ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यदि उनले माघ २ गतेभित्र नियुक्ति लिन नगएमा राष्ट्र बैंकले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने छ। वैकल्पिक उम्मेदवारमा रामप्रताप यादव र प्रकाश घिमिरे रहेका छन् । राष्ट्र बैंकले सो पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी (सीए) पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञले आवेदन दिन सक्ने जनाएको थियो । नियुक्त भएका उम्मेदवारले करसहित १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक प्राप्त गर्नेछन्। दशैंखर्चवापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिनसम्म प्रदान गर्नेछ । छनौट भएका उम्मेदवारले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको रामशाहपथस्थित कार्यालयमा काम गर्नु पर्ने छ।