धितोपत्र बोर्डको अध्यक्षका लागि बहिस्कार गरेका ३ जनालाई बोलायो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी मंसिर ९ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतिकरण हुनेछ । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो ।
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
ढोरपाटन । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए । नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उनले बताए । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा दुई करोड २६ लाख रुपैयाँ खर्च भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिए ।
उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो । उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए । ‘उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मतकार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौँ । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५ दिन लाग्न सक्छ’, उनले भने । उद्योगबाट यही असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो । उपकरण मर्मतका लागि भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले यससम्बन्धी काममा थप समय लागेको जानकारी दिँदै अध्यक्ष भण्डारीले तीव्र रूपमा मर्मतसम्भार भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताए । ‘हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन । उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ । थप कोइला खरिद प्रक्रिया अघि बढिसकेको छ, त्यसैले कोइलाको समस्या छैन’, उनको भनाइ थियो । आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उक्त उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना गरिएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । रासस
कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गरेका थिए । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै वित्तीय संस्थाले लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति बीस लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ । विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने उल्लेख छ । ‘यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ । यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ’, सम्झौताबारे निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा बंगलादेशी नागरिक पक्राउ
झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।
धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो, पूर्ण कार्य गर्ने अनुमति दुई कम्पनीलाई मात्र
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् । नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।
पेट्रोल भएनभएको थाहा पाउन ४ किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’, ७९ प्रतिशत काम सकियो
दैलेख । जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सीएनपीसी सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देशबीचको सम्झौता अनुसार सो ड्रिलिङ अघि बढाएको हो । दैलेखसहित नेपालको तराई र सिवालिक क्षेत्रमा १० वटा सम्भावित पेट्रोलियम उत्खनन गर्न सकिने ब्लक निर्धारण गरिएको छ जसको क्षेत्रफल प्रतिब्लक करिब ५ हजार वर्ग किलोमिटर रहेको विवरण आएका छन् । अध्ययनहरूले पेट्रोलियम हुनसक्ने ठाउँ ३ देखि ४ किलोमिटर भित्र हुन सक्ने देखाएका छन्। ड्रिलिङ गर्ने क्रममा त्योभन्दा केही तल वा माथि पनि त्यो फेला पर्न सक्ने अध्ययनबाट देखिएकाे छ । अहिलेको अन्तिम चरणको अन्वेषणमा ४ किलोमिटर ड्रिलिङ गर्ने लक्ष्य राखिएको छ। दैलेखमा देखिएका पेट्रोलियम पदार्थका अवशेषहरूको सन् १९६० को दशकमा प्रारम्भिक विश्लेषण गरिएको थियो भने विस्तृत जिओकेमिकल अध्ययन सन् १९९३ मा गरिएको थियो।
उपनिर्वाचन : कनकाई-६ मा उम्मेदवार चयन
झापा । आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् । उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् । विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छभने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ । यसैगरी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।