लमजुङ दरबार निर्माण कार्य ठप्प, प्रधानमन्त्रीका स्वकीय सचिवलाई भन्दा पनि अघि नबढेको गुनासो
लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । ‘हामीले निर्माणकार्य नभएपछि गत दसैँपछि काठमाडौँ पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम सुरु हुनसकेको छैन’, उनले भने,’यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।’ स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनःनिर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए । वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म कामसुरु नभएको बताए । ‘दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन’, उनले भने । पुरातत्व विभागका अनुसार दरबार पुनःनिर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा एक करोड ३३ लाख रूपैयाँ बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनःनिर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि ५५ लाखमात्र बजेट रहेको बताए । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ । ‘बजेट निकासा, किस्ता किस्तामा बोलपत्रलगायत प्रक्रियाका कारण यस वर्ष यतिका महिनासम्म निर्माण कार्यले गति लिन सकेको छैन । बोलपत्र प्रक्रियामा गइसकेको र आधिकारिक रूपमा बोलपत्र परेको कम्पनीको नाम आउन बाँकी रहेकाले पनि केही समय लागको हो । अब केही समयमा बोलपत्र परेका ठेकेदारसँग सम्झौता गरेर ठेकेदारलाई ल्याएर हेर्न आउँछौँ अनि करिब एक महिनापछि काम सुरु गर्छौँ, हालको बजेटको काम सुरु गरेको करिब तीन महिनाभित्रमै काम सम्पन्न हुने हाम्रो विश्वास छ’, इ अधिकारीले भने । पुरानै शैली र स्वरूपमा दरबारको पुनःनिर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ । रासस
एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुनमा कति ?
काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा ०.२० प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७९ प्रतिशत र संस्थागततर्फ ५.७९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६.९९ प्रतिशत, संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको थियो । । बैंकले साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधारदर ८.८७ प्रतिशत रहेको छ ।
प्राइम बैंकको ब्याजदर ०.२५ प्रतिशत घट्यो
काठमाडौं । प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा ०.२५ प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४ प्रतिशत र रेमिट्यान्समा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो । । बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.९५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।
एभरेष्ट कलरले १५ प्रतिशत आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटले साधारण सेयर निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । जसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । अन्य कलर उधोगभन्दा पृथक ढंग सञ्चालनमा रहेको यस उद्योग स्वदेशी युवाहररूको लगानीमा स्थापना भएको हो । गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो । एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ । कम्पनीको सभाले संस्थापक सेयरधनीकातर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ । सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुङ्गागानालाई संस्थापक सेयरधनीकातर्फबाट संचालकमा निर्वाचित भएका हुन् । सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ । कम्पनीले बाहिरी सतहको लागी १० वर्ष वारेन्टी भएको ब्रिलिएन्ट ड्याम्प प्रुफ, ७ वर्ष वारेन्टी भएको एभरगार्ड प्रिमियम इमल्सन, एभरसाइन एक्स्टेरियर इमल्सन र र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहको लागी सफिर लग्जरी इन्टेरियर, डाइसी प्रिमियम इन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियन इन्टेरियर इमल्सन, रोयल एक्रेलिक वासेबल डिस्टेम्पर, बेल एक्रेलिक डिस्टेम्पर, प्राईमर तर्फ प्रिमियम एक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभरल्याक हाइक्लास इनामेल, जुरेली सिन्थेटिक इनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथा त्यसमा प्रयोग हुने उड प्राइमर, मेटल प्राइमर रेड अस्साइड, लगायतका आल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइड पाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्ट च्वाइसलगायत औधोगिक प्रयोजनको लागी प्रयोग हुने विभिन्न कलरहरु उत्पादन गर्दै आईरहेको छ । निकट भविष्यमा १२ वर्ष वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी भईरहेको कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय गुणस्तर ब्यवस्थापन प्रमाणिकरण प्रमाण पत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्ट कलरले कुशल ब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभाव प्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरीे अन्तराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याव टेस्ट गरी नेपाली बजारमा रंगहरु वितरण गरिरहेको छ ।
माछापुच्छ्रे बैंकले ५ महिनापछि १ प्रतिशत घटायो ब्याजदर
काठमाडौं । माछापुच्छ्रे बैंकले ५ महिनापछि मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले ४ महिनादेखि व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्समा ८ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो । बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार ८.१७ प्रतिशतबाट घटेर ७.५८ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत छ ।
लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर, आधार दर ७.९३ प्रतिशतमा झर्याे
काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार ८.१७ प्रतिशतबाट घटेर मंसिरमा ७.९३ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ४ प्रतिशत छ ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ । आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवं नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने विश्वास व्यक्त गरेको छ । आचारसंहिताविपरीतका कार्य भए÷गरेको पाइएमा वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएको पाइए कारबाही हुनेछ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने कार्यक्रम छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान
काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको । कर दिवसको अवसरमा सरकारले भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेको हो ।आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए । आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।