पूर्वसभामुख ढुङ्गानाको निधन
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा. रुद्र शर्माले जानकारी दिए । ढुङ्गानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएकाे हाे । उनी क्यान्सर रोगबाट पीडित थिए । २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका ढुङ्गानाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ढुङ्गानाको एक छोरा र एक छोरी छन् । पारिवारिक स्रोतका अनुसार उनकाे अन्त्येष्टि सोमबार गरिनेछ।
लक्ष्मी सनराइज बैंकले गर्यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्वपि, बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो । एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो । प्रतियोगिताको हाइलाईट विजेता : आत्माराम सिम्खडा (४३ अंक) उपविजेता : आशिष लाल श्रेष्ठ (४२ अंक) उत्कृष्ट ग्रस : टाशी छिरिङ (३८ अंक) वरिष्ठ श्रेणी विजेता : तुलसी भट्ट (४० अंक) महिला विजेता : तारा कार्की चित्रकार (३५ अंक) महिला उपविजेता : सुमित्रा खड्का (३० अंक) सबैभन्दा लामो ड्राइभ : नोर्बु छिरिङ शेर्पा पिनको नजिक : अनिल कुमार सिन्हा विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
सोनम ग्यात्सोले किने सानिमाको सेयर, बाहिरियो जय गणेश इन्भेष्टमेन्ट
काठमाडौं । सानिमा बैंकबाट एक संस्थापक सेयरधनी बाहिरिएको छ भने नयाँ सेयरधनी थपिएका छन् । बैंकबाट जय गणेश इन्भेष्टमेन्ट प्रालि बाहिरिएको हो भने सोनम ग्यात्सो नयाँ सेयरधनीका रूपमा थपिएका हुन् । आर्थिक वर्ष २०७९/८० मा जय गणेश इन्भेष्टमेन्ट ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता सेयर स्वामित्वसहित बैंकको ठूला सेयरधनीभित्र पर्दथ्यो । तर, गत आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको स्वामित्व ठूला सेयरधनीको सूचीमा समावेश छैन । सोनम ग्यात्सोको ०.९२ प्रतिशत अर्थात् १२ लाख ४६ हजार ५०७ कित्ता सेयर खरिद गरेसँगै ठूला सेयरधनीमा समावेश भएको छ । गत असारसम्म बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको रहेको छ । ओझाको बैंकमा ७.९४ प्रतिशत अर्थात् १ करोड ७ लाख ८१ हजार ५४२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, टेक राज निरौलाको ६.३९ प्रतिशत अर्थात् ८६ लाख ७४ हजार ५७० कित्ता, जिवनाथ लामिछानेको ५.४४ प्रतिशत अर्थात् ७३ लाख ८४ हजार ३४२ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ६१ लाख १४ हजार ९ सय कित्ता, विनय कुमार श्रेष्ठको ४.२७ प्रतिशत अर्थात् ५८ लाख ५ हजार ७०५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५८ लाख १४ हजार १६ कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ५३ लाख ९२ हजार ५८२ कित्ता, खेम राज लामिछानेको ३.४७ प्रतिशत अर्थात् ४७ लाख १९ हजार ४५६ कित्ता, घनश्याम थापाको ३.४६ प्रतिशत अर्थात् ४६ लाख ९५ हजार ४२४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३३ लाख ७९ हजार ९०१ कित्ता, दिलीप श्रेष्ठको ०.७५ प्रतिशत अर्थात् १० लाख २२ हजार २१३ कित्ता, शाम्बा लामाको ०.७३ प्रतिशत अर्थात् ९ लाख ९२ हजार १०२ कित्ता, गीता श्रेत्रीको ०.६१ प्रतिशत अर्थात् ८ लाख २३ हजार ५७९ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार कूल सेयरको १७.९६ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ भने सर्वसाधारणको ८२.०२ प्रतिशत सेयर स्वामित्व छ ।
रास्वपाले कीर्तिपुरमा मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुग्यो
काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुगेको छ । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार बढेर १ अर्ब पुगेको हो । खुल्लामुखी सामूहिक लगानी कोष योजना रहेको उक्त फण्ड २० करोड रुपैयाँबाट सुरु भएको थियाे । कम्पनीले विसं २०७८ असार १६ गते उक्त फण्ड जारी गरेको थियो । यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरू आवद्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत असोजसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) ११.३० रुपैयाँ रहेको छ । व्यवस्थित लगानी योजनामा लाभांश पुनःलगानी हुने, सजिलै खरिद/बिक्री हुने, इकाईको खरिद तथा बिक्री खुद सम्पत्ति मूल्यमा हुने जस्ता विशेषताहरू रहेका छन् । लगानीकर्ताहरूले क्यापिटलका सम्पर्क कार्यालय विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा र नेपालगञ्ज, सिद्धार्थ बैंकका शाखा कार्यालय र अनलाइनबाट पनि खरिद बिक्री गर्न सक्नेछन् ।
टेलिकमको अवरुद्ध सेवा सञ्चालन
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आइतबार बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । ‘बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो । अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन् । खास गरी पोष्टपेड र प्रिपेड मोबाइलको फोन गर्दा समस्या देखिएको थियो’, उनले भने । प्रवक्ता ढकालले के कारणले कति समय मोबाइल सेवा अवरुद्ध भएको थियो भन्नेबारे प्राविधिक प्रतिवेदन आइसकेपछि थप स्पष्ट हुने बताए। बिहान १०ः४५ को समयमा टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।
घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक बजारमा ल्याइएको उद्योगले जनाएको छ । योसँगै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा उद्योगको छ । गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको जनाएको छ । ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तीमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको उद्योगले जनाएको छ ।
विकासन्यूजको सम्पादकमा रोकाया नियुक्त
काठमाडौं । विकास मिडियाप्रालि द्वारा सञ्चालित विकासन्यूज डटकमको सम्पादकमा सन्तोष रोकाया नियुक्त भएका छन् । विकास मिडिया प्रालिको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सम्पादकमा नियुक्त गरेको हो । एक दशकदेखि पत्रकारिता गर्दै आएका रोकाया ६ वर्षदेखि विकासन्यूजमा कार्यरत छन् । पछिल्लो समय उनी सह-सम्पादकको भूमिकामा थिए । रोकाया त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एफफिल-पीएचडी अध्ययनरत छन् । नवनियुक्त सम्पादक रोकायालाई प्रधान सम्पादक रामकृष्ण पौडेलले स्वागत गरे । उनले रोकाया नेतृत्वको टीमले विकासन्यूजलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । सम्पादक रोकायाले विकासन्यूज टिमलाई रचनात्मक ढंगबाट अगाडि बढाएर संस्थाको गरिमालाई थप ओजिलो बनाउने प्रयास रहने धारणा राखे । कैलालीको धनगढीबाट सञ्चालित फूलबारी खबरबाट पत्रकारिता सुरु गरेका रोकायाले यसअघि माउन्टेन टेलिभिजन, बिजनेस प्लस टेलिभिजन, रेडियो केएमसी र आजको न्यूज डटकमलगायत आधा दर्जन सञ्चारमाध्यममा काम गरिसकेका छन् ।