विकासन्युज

दुई दर्जन कलेजको मापदण्ड विपरीतको काम, नाम परिवर्तन गर्न नपाउने

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका अधिकांश कलेजले विश्वविद्यालय र्‍याङ्किङमा एक हजारभित्र नपरेका विश्वविद्यालयबाट सम्बन्धन लिएर मापदण्ड विपरीतको काम गरेको भेटिएको छ । विदेशी कार्यक्रम सञ्चालन गरिरहेका नेपाली शैक्षिक संस्थाले मापदण्ड विपरीत काम गरिरहेको भेटिएको हो । विदेशी विश्वविद्यालयको नाम लिएर विद्यार्थीबाट चर्को मूल्य असुलिरहेका अधिकांश कलेजहरूले मापदण्ड विपरीत काम गरेको एउटा अध्ययनले देखाएको हो । त्रिभुवन विश्वविद्यालयका डिन प्राध्यापक डा. विनिल अर्यालको संयोजकत्वमा गठित अध्ययन प्रतिवेदनले विदेशी शिक्षा कार्यक्रम सञ्चालन गर्ने अधिकांश कलेज मापदण्ड विपरीत सञ्चालन भइरहेको प्रतिवेदन सार्वजनिक गरेको हो । अहिले विदेशी संस्थाको उच्च शिक्षाका लागि अनुमतिप्राप्त कलेजहरू ५९ छन् । तीमध्ये उपत्यकामा ४४ वटा र उपत्यका बाहिर १५ वटा कलेजहरू छन् । जसमा ५६ कलेजहरूले शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् भने बाँकी ३ कलेजले कार्यक्रम सञ्चालन गरेको पाइँदैन । यी कलेजहरूले कूल २ सय १२ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने स्वीकृत पाएका छन् । सञ्चालित कलेजहरूले कुनै पनि कानुनी व्यवस्था पालना नगरेको प्रतिवेदनमा उल्लेख छ । मापदण्ड विपरीतका २६ कलेज  विश्व वरीयतामा नपरेका र गुणस्तर सुनिश्चितता पनि नभएका विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्ने कलजेको संख्या दुई दर्जन बढी रहेको छ । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, मिड भ्याली इन्टरनेशनल कलेज, एमआईटी कलेज लगायत मापदण्ड विपरीत सञ्चालन भइरहेको बुझिएको छ । यस्तै, पोखराको लिङ्कन इन्टरनेशनल कलेज, फिनिस्क कलेज अफ मेनेजमेन्ट, नेपाल बिजनेश कलेज, विराटनगर, नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स, लिङ्कन इन्टरनेशल कलेज अफ मेनेजमेन्ट एण्ड आइटी नेटवर्क, केएफए बिजनेश स्कुल एण्ड आइटी रहेका छन् । यस्तै, ग्रिन पिस लिङ्कन कलेज, इटहरी, सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेनरसीप, वाल्मिकी लिङ्कन कलेज, झापा, आईईसी कलेज अफ आर्ट एण्ड फेसन, भिरिन्ची कलेज कुमारीपाटी, ग्लोबल एकाडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन मन्टिकाटार, इन्टरनेशनल सेन्टर फर एकाडेमिक्स, हिमालयन कलेज अफ म्यानेजमेन्ट,कमलपोखेरी, सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, लैनचौर, कस्यप इन्टिच्यूट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, जनकपुर, फोर्ब्स कलेज, चितवन, एसियन इन्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, खुमलटार, काठमाडौं फरेस्ट्री कलेज, कोटेश्वर, इन्टरनेशल स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) उसका अन्य जिल्लाका शाखालगायत गरी २६ वटा कलेजले मापदण्ड नै पूरा नभएका विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ । २६ कलेजहरू निर्देशिकाले तोकेको वरीयताको मापदण्डभित्र नपरेको पाइएको हो । ९ वटा कलेजले भने विश्व वरीयताका लागि आवदेन दिएको तर नपाएको अवस्था छ । यसैगरी, २९ वटा कलेजले विश्व वरियताभित्र नपरेका अर्थात् आवेदनसमेत नदिएको पाइएको छ । यस्तै, निर्देशिकाले तोकेको र्‍याङ्किङको हजारभित्र परेका विश्वविद्यालयहरूसमेत जम्मा १८ मात्र पाइएको छ भने संस्थागत क्यूएए तथा प्रोग्राम क्यूएए प्राप्त विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेजहरू २५ रहेको छ । यस्तै, ३४ कलेजले सम्बन्धन प्रदान गर्ने विदेशी विश्वविद्यालयहरू क्यूएए प्राप्त नगरेको पाइएको छ । नियम विपरीत गृहकार्य कानुनअनुसार निजी विद्यालय वा कलेजले कलेजमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई पूर्ण निःशुल्क हुने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । तर, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले छात्रवृति नै उपलब्ध नगराएको भेटिएको छ । उसो त नेपालको परिचय दिने सामाजिक शिक्षा विषय प्रत्येक तहमा अध्ययन गराइनुपर्ने हुन्छ, ती कलेजहरूमा यो विषय पनि पढाएको नपाएको प्रतिवेदनमा उल्लेख छ । सम्बन्धन दिने संस्थाले प्रभावकारी शिक्षण सिकाइका लागि कम्तीमा वर्षको एक पटक कलेजको सुपरीवेक्षणको व्यवस्था र उक्त सुपरीवेक्षण कार्य सम्पन्न भएपछि सुपरीवेक्षण प्रतिवेदन मन्त्रालयमा पेस गर्नुपर्ने कानुन छ । यी कलेजले यो कार्य पनि नगरेको पाइएको छ । यस्तै, वार्षिक परीक्षाको समय तालिका मन्त्रालयलाई उपलब्ध नगराएको, एक तिहाई कलेजहरूमा मापदण्ड नपुगेका शिक्षकहरूले पनि अध्यापन कार्य गरेको, लगभग १५ प्रतिशत कलेजले जग्गाको क्षेत्रफलसम्बन्धी मापदण्ड पूरा नगरेको पाइएको छ । प्रतिवेदनमा अधिकांश कलेजको आफ्नो स्वामित्वमा जग्गा नभएको, केही कलेजहरूको भौतिक अवस्थाजस्तै भवन, खेल मैदान, प्रयोगशाला, फर्निचर, पुस्तकालय, शौचालय, प्राथमिक उपचार बाकसजस्ता न्यूनतम सुविधा कमजोर अवस्थामा रहेको पाइएको छ । कलेजहरूमा भर्ना भएका विद्यार्थी संख्यालाई मध्येनजर गर्दा करिब २५ प्रतिशत कलेजहरूको अवस्था दयनीय पाइएको छ । २००४ देखि खुलेको बाटो नेपालमा सन् २००४ विदेशी शिक्षण संस्थाबाट सञ्चालित शैक्षिक कार्यक्रमहरू अनुमति लिई नेपालको उच्च शिक्षाको क्षेत्रमा सञ्चालन हुन थालेको पाइन्छ । त्योभन्दा अगाडि नेपाली शिक्षण संस्थाले विदेशी शिक्षण संस्थाको सम्बन्धन लिने चलन थिएन । प्राप्त दस्तावेजअनुसार २०५६ असोज ६ गते शिक्षा मन्त्रालयमा बसेको बैठकले पहिलो पटक विदेशी शिक्षण संस्थाहरूबाट सम्बन्धन प्राप्त गरी नेपाल भित्र खुलेका शिक्षण संस्थाहरूलाई नियमन गर्नुपर्ने निर्णय गरेको थियो । अहिले नेपालमा ५९ कलेजले विदेशी कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । यी शिक्षण संस्थाहरूले विभिन्न ८ देशका ३७ वटा विश्वविद्यालयहरूबाट सम्बन्धन लिएका छन् । नेपाली कलेजले सबैभन्दा मलेसियाका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका छन् । के गर्न पाउँदैनन् ? अध्ययन समितिले अन्तर्राष्ट्रिय विश्व विद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालनमा रही आएका कलेजले अब आफ्नो नाम परिवर्तन गर्न नपाउने जनाएको छ । कलेजको नाम परिवर्तन गर्न नपाइने र सञ्चालन स्थान परिवर्तन गर्दा सम्बन्धित जिल्लाबाहेक अन्यन्त्र गर्न नपाइने भएको हो । यस्तै, समितिले एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरेका कलेजलाई एक वर्षभित्र अलग-अलग स्थानमा कार्यक्रम सञ्चालन गर्न लगाउने बताएको छ । यसो नगरेमा अनुमति खारेजीको प्रक्रियामा जाने पनि समितिले उल्लेख गरेको छ । दुई वा त्योभन्दा बढी विदेशी संस्था वा विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालन भएका कलेजलाई एकमात्र संस्था वा विश्वविद्यालयको सम्बन्धन रोज्न लगाउने र नरोजेको विश्वविद्यालयका कार्यक्रममा भर्ना बन्द गर्ने, विद्यमान निर्देशिकामा विदेशी संस्था वा विश्वविद्यालय भनिएकोमा नयाँ बन्ने ऐन वा निर्देशिकामा विदेशी विश्वविद्यालयमात्र उल्लेख गर्ने र विश्व विद्यालयबाहेकका अन्य संस्थाबाट सम्बन्धन वा अनुमति लिई सञ्चालनरत कलेजलाई एक वर्षभित्र विश्वविद्यालयको सम्बन्धनमा जानु पर्ने अनिवार्यता कायम गर्ने निर्णय पनि प्रतिवेदन अध्ययन समितिले गरेको छ ।

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गरेका थिए । अस्पतालका निर्देशक डा चालिसेले भने, ‘सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक गत २ गतेदेखि यो सेवा सुरु गरेका छौँ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ ।’ अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यासर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताए । उनले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको बताए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो । नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ । नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताइएको छ । क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो ।

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए । कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कानुसार १३ करोड चार लाख रुपैयाँबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० टन कफी आयात भएको थियो । आव २०८०/८१ मा १४ करोड ९२ लाख रुपैयाँबराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँबराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ । आव २०८०/८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छभने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । चार हजार तीन सय नौ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ ।

इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित, मासिक एक लाख बचत

कैलाली । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौंबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन् । आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित भएका हुन् । उनले २०६८ सालबाट टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन् । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबका बीच सफल व्यवसायी बनेका थापा आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताउँछन् । काठमाडौं पढ्दै गर्दा बुबासँग विवाद भयो । उनलाई ५० हजारसम्म कमाउने जागिर खान सुझाव दिए । उनी भन्छन्, ‘त्यो बेला ५० हजारको जागिर खान सकिने स्थिति थिएन । म बुबाले सञ्चालन गरेको तर बन्द अवस्थामा रहेको ब्लक उद्योग सञ्चालन गरेर सफल बन्ने चुनौती दिएर व्यवसायमा लागेँ ।’ हरेस नखाएर काम गरेपछि नतिजा राम्रो आउँछ भन्ने अठोटले थापालाई उद्योगमा सफलता मिल्दै गयो । त्यसले परिवारमा पनि एकताको वातावरण सृजना भयो । उनले बर्सेनि बजार विस्तारसँगै ब्लक उत्पादन बढाउँदै लगे। एक वर्षमा २२ हजारसम्म ब्लक उत्पादन गरेका थियौँ । त्यो समयमा १७ जनाले उद्योगमा रोजगारी पाएका थिए । उनी भन्छन्, ‘सबै खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी मैले बचत गर्थे’, निरन्तर उकालो लागेको थापाको ब्लक उद्योग कोरोना सङ्क्रमणको समयमा सुस्त भए पनि विस्तारै उद्योगले पुरानै लय समात्न लागेको थापाले बताए । विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी हुनेमा थापा विश्वस्त छन् । विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा व्यवसायले झन् खुसी थप्ने काम गरेको थापाले बताए । उसो त जागिर खान पनि थापालाई समस्या थिएन । लोकसेवा लेडेर जागिर खानसक्ने क्षमता थापामा थियो । उता राजनीतिक कुल घरानामा जन्मिएका उनलाई राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खानसक्ने स्थिति थियो । किनभने बुबा रतनबहादुर थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसकेका थिए । उनी नेकपा (एमाले)को कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष हुन् । थापाकी आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीको जिम्मेवारीसमेत पूरा गरिसकेकी छन् । ‘म सानैदेखि आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हुँ । त्यसकारण पनि म बुबाआमासँग नजिक भइनँ । आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिएँ’, थापा भन्छन्, ‘उहाँहरूको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो । सबैले आआफ्नो गरेर खाएका छौँ, कसैले कोहीप्रति निर्भर हुनुपरेको छैन, यही खुसीको कुरा हो ।’ आफ्नो व्यवसायबाट अन्य आठ–दश जना अन्यको परिवार पालिएको भन्दै त्यसमा आफूलाई गर्व लाग्ने थापाको भनाइ छ । सामाजिक क्षेत्रमा प्रत्यक्ष जोडिएका थापा अरुको सिको गरेर अगाडि बढ्न नहुने धारणा व्यक्त गर्नुहुन्छ । ‘मैले कसैलाई सहयोग गर्दा त्यो दुनियाँलाई भनिरहनुपर्दैन । मैले निःस्वार्थ गरेको सेवा उसैले थाहा पाए पुग्छ’, उनले भने, ‘यहाँ गलत राजनीतिक संस्कार भएर पनि हुनसक्छ मैले राजनीतिक क्षेत्रमा चासो दिएको छैन । तर कुनै दलको सिद्धान्तभन्दा बाहिर रहेर निःस्वार्थ समाजसेवामा लाग्ने रहर भने छ ।’ उनीबाटै सिकेर कैयौँले ब्लक उद्योगसमेत सञ्चालन गरेका छन् । रासस

नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कोशी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओ क्लब सदस्यता वितरण गरेका थिए । यस्तै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेस प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरुबिच सम्मान कार्यक्रम सम्पन्न भईसकेको बताए । कोशी प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिएको बताउँदै उनले अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए । समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

वायुसेवाको जहाज सि-चेकपश्चात् काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन-यएलजेड जहाज सि-चेकपश्चात् सोमबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी नाइन-य एलजेड (मकालु) को जहाज नियमित सि-चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र संघीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल संगठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताए । उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

घट्यो अमेरिकी डलरको मूल्य, यूरो र पाउण्डको भाउमा निरन्तर गिरावट

काठमाडौं । निरन्तर उच्च बिन्दुमा स्थिर रहेको अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७६ रुपैयाँ र बिक्रीदर १५२.४४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५७ रुपैयाँ र बिक्रीदर ९६.०० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८९ रुपैयाँ र बिक्रीदर ३६.०५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९४ रुपैयाँ र बिक्रीदर ३७.१० रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.०७ रुपैयाँ र बिक्रीदर ३०.२० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२३ रुपैयाँ र बिक्रीदर १२.२९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.८६ रुपैयाँ र बिक्रीदर ४३९.८१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४० रुपैयाँ र बिक्रीदर ३५८.९९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

मन्दीमा अलैँची प्रशोधन उद्योग सञ्चालन, निर्यातमा योगदान पुर्याउने

काठमाडौं । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्डबाट विश्वबजारमा पुर्याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्याउने बताए । उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्वबजारमा उच्च माग रहेको भए तापनि यसअघि आफ्नै ब्राण्ड नहुँदा अर्कै मुलुक र अर्कैको ब्राण्डबाट बजार पुगिरहेको चर्चा गरे । उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले नेपाली अलैँचीलाई प्रशोधन गरी निर्यात गर्दा विदेशी मुद्राको आर्जनका साथै स्वदेशमा थप रोजगारीको सृजना हुने बताए । विश्वबजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासी व्यापारमा अलैँचीको योगदान उच्च रहेको जनाउँदै यसका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरणका लागि सहजीकरण गर्न केन्द्र तयार रहेको बताए । युएसआइडीको ट्रेड एण्ड कम्पेटीटिभनेसले उद्योगलाई मेसिनरी सहयोग गरेको जनाइएको छ । उक्त दातृ संस्थाका प्रवक्ता जेसन सुकले विश्वबजारमा आर्थिक मन्दी छाइरहेको अवस्थामा स्थापित अलैँची प्रशोधन उद्योगले स्वदेशमा रोजगारी र निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त रहेको बताए । उद्योगले ‘एभरेष्ट शान’ ब्राण्डमा अलैँची चिया मसला, अलैँची मिश्रित गरम मसला, माउथ फ्रेसनर र अलैँची तेल उत्पादन गरेर तेस्रो मुलुकमा बिक्री गर्न थालिसकेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए । उनले खाडी मुलुकमा अलैँचीको ठूलो बजार रहेका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए । खाडी मुलुकको युएई, कतार, साउदी अरबलगायत अष्ट्रेलिया, युरोप र अमेरिकामा नेपाली अलैँची र यसका प्रशोधित उत्पादन खपत हुने गरेको उनले बताए ।