बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, १ करोड एनईभी उत्पादन
काठमाडौं । बीवाईडीले ३०औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले आफ्नो १ करोड एनईभी समेत चीनको सेन्झेन-शान्वेई स्पेसल को-अपरेसन जोनमा रहेको श्याओमो प्रोडक्सन बेसमा सार्वजनिक गरेको छ । सो अवसरमा बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले सम्बोधन गर्दै ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रुपान्तरण भएको तथ्यलाई प्रस्तुत गरे । टेक्नोलोजिकल इनोभेसनमा कम्पनीको प्रतिबद्धता तथा मोबिलिटीको भविष्य निर्माणमा समेत कम्पनीले विशेष जोड दिएको कुरा उनले बताए । १ करोड न्यु इनर्जी भेइकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ । बीवाईडी ग्रुपको १ करोडौं सवारी साधनको रुपमा डेन्जा जी९ रहेको छ । सो गाडी गेम साइन्सका फाउन्डर र सीईओ तथा ब्ल्याक मिथःवुकोङ गेमका भिजनर फेङ जीलाई हस्तान्तरण गरियो । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणा समेत गरेको छ । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । शुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो। सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो । सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारी साधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।
एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो । नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गरिन् । सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत
काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो । बेरोजगारी दर ४.१ प्रतिशतमा थियो । एबिएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको संख्या ८ हजार ३ सयले बढेको जनाएको छ ।
सरोज सुब्बाको उपचारमा कुनै पनि लापरवाही तथा कमजोरी नभएको मेडिसिटी अस्पतालको स्पष्टिकरण
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले इलामका सरोज सुब्बाको उपचारमा कुनै लापरवाही तथा कमजोरी नभएकाे स्पष्टिकरण दिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै सुब्बाको ज्यान बचाउन हरसम्भव प्रयास गरिएको जनाएकाे छ । अस्पतालका अनुसार गत असोज ४ गते भर्ना भई सफल मृगौला प्रत्यारोपण गराएका सुब्बा १२ गते डिस्चार्ज भएका थिए । त्यसपश्चात ४८ दिनपछि कार्तिक ३० गते बिहान उनी जटिल अवस्थामा आकस्मिक कक्षमा आएकाे र उपचार गर्दागर्दै उनको निधन भएको थियाे । निज मृत्तकको परिवारजनलाई सम्पूर्ण सत्यतथ्य जानकारी गराउँदा परिवारजनले तथ्य बुझ्दाबुझ्दै अन्य व्यक्तिहरूले अस्पताल र चिकित्सकहरूलाई दोषारोपण तथा भम फैलाउँदै गैरकानुनी काम गर्दै आएको अस्पतालले जनाएकाे छ । उपचारको क्रममा कुनै कमीकमजोरी नभएकोले सम्बन्धित निकायहरूमार्फत छानबिन तथा अनुसन्धान गर्न पूर्ण रूपमा अस्पतालले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको जनाएकाे छ ।
सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लघुिवत्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार रुपैयाँको ६ प्रतिशतका दरले ६ करोड २६ लाख १९ हजार ९७९ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले १ करोड ४ लाख ३६ हजार ६६३.१७ रुपैयाँ नगद गरी कुल ७ प्रतिशत अर्थात् ७ करोड ३० लाख ५६ हजार ६४२ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
लघुवित्त घाटामा, राष्ट्र बैंकलाई दोष
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त संस्थाहरूको खुद नाफा १२.६४ प्रतिशत घटेको छ । तीन महिनाको अवधिमा लघुवित्तको नाफा घटेर ५३ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरूले ६१ करोड रुपैयाँ खुद नाफा गरेका थिए । सार्वजनिक तथ्याङ्कअनुसार धनात्मक नाफा रहेका ३१ वटा लघुवित्तमध्ये १६ वटा लघुवित्त संस्थाले मात्रै नाफा बढाउन सकेका छन् । यस अवधिमा सबैभन्दा धेरै नाफा हिमालयन लघुवित्तले बढाएको देखिन्छ । लघुवित्तको नाफा १ हजार १४३ प्रतिशत बढेर १ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । लघुवित्तका अनुसार नियामकीय व्यवस्थाका कारण नाेक्सानी बेहाेर्नु परेकाे हाे । एक ऋणीले कुनै दुई संस्थाबाट मात्र कर्जा लिन पाउने व्यवस्था र लघुवित्तविरुद्धको संघर्ष समितिका कारण प्रत्यक्ष प्रभाव लघुवित्तमा परेको उल्लेख गरेका छन् । ‘विपन्न वर्ग थोक कर्जाको ब्याजदर अपेक्षा गरिएअनुसार नघटेको हुँदा खुद ब्याज आम्दानीमा सुधार हुन नसकेको, एक ऋणीले दुई लघुवित्तबाट मात्रै ऋण लिन सक्ने व्यवस्थाका कारण लगानीमा वृद्धि हुन नसकेको, खराब कर्जाको अनुपातसमेत वृद्धि भएकाले नोक्सानी बेहोर्नु परेको हो,’ मातृभूमि लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय विश्लेषणमा उल्लेख गरेको छ । साथै, तरलता संकट, बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध विपन्न वर्ग कर्जाको ब्याजदर अपेक्षाकृत रूपमा नघट्दा र नियमनकारी निकायबाट हुने नीतिगत परिवर्तनका कारण ठूलो समस्या परेको लघुवित्तको भनाइ छ । समीक्षा अवधिमा मातृभूमिसहित १९ वटा लघुवित्त संस्थाहरूले नोक्सानी बेहोरेका छन् । जबकि गत वर्षको असोजमा १५ वटा लघुवित्त संस्थाले मात्रै खुद नोक्सानी बेहोरेका थिए । नकारात्मक तथा भ्रामक सन्देशका कारण लघुवित्त क्षेत्रमा असर परेकाे भएपनि समीक्षा अवधिमा ऋणी सदस्य संख्या, सदस्यहरूबाट प्राप्त हुने बचत तथा कर्जा लगानीमा सकारात्मक प्रभाव परेको हिमालयन लघुवित्तले जनाएको छ । बजारमा लगानीयोग्य पुँजीको सहज उपलब्धताले कोष लागतमा कमी आई आम्दानीमा सकारात्मक परिवर्तन देखिएको लघुवित्तको भनाइ छ । समीक्षा अवधिमा गुराँस लघुवित्तको नाफा ९८९ प्रतिशत बढेर १ करोड १ लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्तको ७४५ प्रतिशत बढेर २ करोड १५ लाख रुपैयाँ, कालिका लघुवित्तको २०९ प्रतिशत बढेर १ करोड ७० लाख रुपैयाँ, महिला लघुवित्तको ११४.५२ प्रतिशत बढेर २ करोड ३३ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्तको १११.४४ प्रतिशत बढेर ६ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेशनल माइकोफाइनान्सको ९०.३२ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको ८७.७५ प्रतिशत बढेर ३ करोड ६८ लाख रुपैयाँ, लक्ष्मी लघुवित्तको ७८.४९ प्रतिशत बढेर १ करोड ७० लाख रुपैयाँ, सपोर्ट लघुवित्तको ६३.०७ प्रतिशत बढेर २६ लाख रुपैयाँ, मिथिला लघुवित्तको ३५.८० प्रतिशत बढेर १ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको तथ्याङ्क छ । ग्रामीण विकास लघुवित्तको ३०.६३ प्रतिशत बढेर ८ करोड ७९ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको १९ प्रतिशत बढेर ४ करोड ४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७.३८ प्रतिशत बढेर २३ करोड ७४ लाख रुपैयाँ, साना किसान लघुवित्तको ६.७७ प्रतिशत बढेर ३२ करोड १८ लाख रुपैयाँ र उन्नति सहकार्य लघुवित्तको १.९५ प्रतिशत बढेर २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । १० लघुवित्तको नाफा घट्यो गत वर्षको तुलनामा समीक्षा अवधिमा विभिन्न १० लघुवित्तको नाफा घटेको देखिन्छ । यसअवधिमा जीवन विकास लघुवित्तको १७ं५३ प्रतिशत घटेर ९ करोड ९३ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको २२.९७ प्रतिशत घटेर ६ करोड ७९ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तको ३५.९९ प्रतिशत घटेर २ करोड ६० लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३८.६७ प्रतिशत घटेर ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यस्तै, गणपति लघुवित्तको ६४.१० प्रतिशत घटेर १० लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ७० प्रतिशत घटेर ७९ लाख रुपैयाँ, युनिक नेपाल लघुवित्तको ७४.८७ प्रतिशत घटेर ७९ लाख रुपैयाँ, सम्पदा लघुवित्तको ९६.९४ प्रतिशत घटेर २ लाख रुपैयाँ, महुली लघुवित्तको ९७.११ प्रतिशत घटेर ४ लाख ४९ हजार रुपैयाँ र एनआईसी एशिया लघुवित्तको ९९.८४ प्रतिशत घटेर ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ‘संस्थाको कुल मौज्दात र आम्दानीमा वृद्धि हासिल गर्न निरन्तर प्रयासरत गरेको भएपनि कर्जा तथा सापटीमा बढ्दो ब्याजदर तथा लघुवित्तको कर्जामा लगाइएको सीमा, सामाजिक रूपमा लघुवित्तविरुद्ध गतिविधि गर्ने, समाजमा विकृति तथा विसंगति फैलाएकाले यथोचित व्यवसाय वृद्धि गर्न सकस भयो र कर्जा असुलीलाई उचित व्यवस्थापन गर्न चुनौति रह्यो,’ एनआईसी एशिया लघुवित्तले व्यवस्थापकीय विश्लेषणमा उल्लेख गरेको छ । कर्जाको दोहोरोपनले ग्राहकको क्षमताभन्दा बढी कर्जा लगानी र यसको सदुपयोगिता कारणले संस्थालाई असर पर्ने लघुवित्तको भनाइ छ । कर्जाको दाहोरोपनलाई निरुत्साहित गरी गुणस्तरमा अभिवृद्धि गर्न सबै पक्षसँग सहकार्य गरिरहेको लघुवित्तले जनाएको छ । ५ लघुवित्त धनात्मक, ९ ऋणात्मक गत वर्ष नोक्सानीमा रहेका विभिन्न ५ लघुवित्त समीक्षा अवधिमा भने धनात्मक रहेका छन् । यसअवधिमा फरवार्ड लघुवित्तले ४ करोड १६ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तले ३६ लाख ५० हजार रुपैयाँ, एनएमबि लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ, श्रृजनशील लघुवित्तले २ करोड ३९ लाख रुपैयाँ र उपकार लघुवित्तले २७ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको असोजमा यी संस्थाको खुद नाफा ऋणात्मक थियो । यस्तै, गत वर्ष नाफा धनात्मक रहेका विभिन्न ९ लघुवित्तले समीक्षा अवधिमा भने घाटा खानु परेको छ । नाडेप लघुवित्तले ४ करोड ९७ लाख रुपैयाँ, मानुषी लघुवित्तले ५६ लाख १६ हजार रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले २६ करोड ११ लाख रुपैयाँ, विजय लघुवित्तले ३ करोड ४५ लाख रुपैयाँ, सिवाईसी नेपाल लघुवित्तले ७९ लाख ८१ हजार रुपैयाँ, आत्मनिर्भर लघुवित्तले ४३ लाख ५३ हजार रुपैयाँ, समाज लघुवित्तले ४२ लाख १२ हजार रुपैयाँ, सूर्योदय वोमी लघुवित्तले ४ करोड ७१ लाख ८३ हजार रुपैयाँ र इन्फिनीटी लघुवित्तले ७ करोड १० लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । जबकि गत वर्षको असोजमा यी लघुवित्तको नाफा धनात्मक थियो ।
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यावसायीकाअनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले घटेर चाँदी तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सफलतापूर्वक सम्पन्न
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित साझा पावर कम्पनी लिमिटेड मार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तरगत पहिलो व्लाष्टिङ सफलता पूर्वक सम्पन्न भएको छ । मुख्य सुरुङको आउटलेट तर्फको सुरुङमा पहिलो व्याष्टिङ भएको हो । तल्लो बलेफी खोला जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित रहेको छ । यो जलविद्युत आयोजना काठमाडौंबाट ७२ किलोमिटर दुरीमा रहेको छ । यस जलविद्युत आयोजनाको बाँधस्थल बलेफिको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ । यस आयोजनामा ५.५ किलोमिट लम्बाई र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ । उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ । त्यसै गरी अडिटतर्फ देवकोटा निर्माण सेवा प्राइभेट लिमिटेडले निर्माण कार्य गरिरहेको छ भने आउटलेटतर्फ त्रिवेणी व्रम्हायणी जेभिले गरिरहेको छ । आयोजनाको हेड बक्सको काम बन्दना भगवती पोखरेली जेभिले काम गरिरहेको छ भने विद्युत गृह निर्माण तर्फको काम ककनी देवी निर्माण सेवा प्राइभेट लिमिटेडले गरिरहेको छ । यो आयोजना निर्माण गर्न ४४५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये २९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वःलगानीबाट जुटाइने प्रबन्ध मिलाइएको छ । यस आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संयुक्त लगानी रहेको छ । यो आयोजना २०८२ मशान्त भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ, स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य शेयरधनहिरुको १५ प्रतिशत सेयर लगानी रहेको छ । रिडी पावर कम्पनी लिमिटेडले सेयर लगानी गर्न हकप्रद सेयरबाट रकम जम्मा गरी सो लगानी जुटाइ सकेको छ । कम्पनीले आयोजना गरेको पहिलो वष्टिङ समारोहमा सेनाको वाहीनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, संचालकहरु लगायत कर्मचारीहरु, ठेकेदार कम्पनीका प्रतिनिधिहरु, स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।