एनसेलमा नयाँ सुविधा थप : भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न पाइने
काठमाडौंं । एनसेलका ग्राहकका लागि नयाँ सुविधा थपेको छ । आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लिन सकिने एनसेलले जनाएकाे छ । सधैं अनमा ग्राहकहरूले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी, बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा सधैं अनका रु ३९९, रु ४९९ र रु ५९९ का प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् । उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १ हजार २५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी, उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तरण गर्न सक्छन् । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफूलाई आवश्यक सेवाअनुसार साट्न सकिने सुविधा रहेको छ । एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्दछन् ।
ठडिँदैछ देशको पहिलो ‘फ्लाई ओभर’, गाडी गुड्ने दिन नजिकिँदै
काठमाडौं । रिङरोडको व्यस्त सडक । सयौं सवारी साधनमा हजारौं मानिसहरूको आवातजावत । तिनै हजारौं मानिसको एक नजर परिहाल्छ ‘ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर’ मा । अधिकांशको मनमा जिज्ञासा पलाउँछ होला, ‘यो फ्लाई ओभरमा फिलिली… गाडी चलाउन कहिले पाइन्छ होला ? नेपालमा नयाँ र पहिलो फ्लाई ओभर भएकोले पनि ती यात्रुहरूको मनमा त्यो जिज्ञासा, प्रश्न र कौतुहलता उब्जिनु पनि स्वाभाविक हो । तिनै हजारौं मानिसहरूको त्यो कौतुहलताको जवाफ खोज्न हामी बुधबार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर स्थलमा पुग्यौं । सवारीसाधनको व्यस्त आवागमनको बीचमा काम गर्न व्यस्त थिए पाँच दर्जन मानिसहरूको संख्या । दैनिक २२ घण्टाभन्दा बढी समय काम भइरहेको सो स्थलमा १ डोजर, २ स्काईभेटर, ३ ट्रिपर, ९ रोलर र ३ वटा क्रेन निर्माणस्थलमा परिचालन गरिएको थियो । ६५ जना काममा व्यस्त थिए । हामीले निर्माण स्थलमा खटिएका सव–इञ्जिनियर कृष्णगोपाल श्रेष्ठलाई प्रश्न गरौं, ‘फ्लाई ओभरको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? उनले जवाफमा भने, ‘हालसम्म ‘फ्लाई ओभर’ को ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब केही दिनमै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’ अहिले ‘फ्लाई ओभर’ को कोटेश्वरतर्फ माटो भर्ने काम भइरहेको छ । दुई वर्षदेखि निर्माणाधीन ‘फ्लाई ओभर’को काम २०८१ भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को ‘फ्लाई ओभर’ २०८१ सम्म सम्पन्न गर्ने समयसीमाका साथ अगाडि बढिरहेको छ । २०७८ साल फागुन महिनाको १२ गतेबाट सुरु भएको ग्वार्को ‘फ्लाई ओभर’ को काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर, तोकिएको समयमा काम सम्पन्न हुन सकेन । सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्र, चाकुपाट, ललितपुरले हालसम्म ‘फ्लाई ओभर’ को ९८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दियो । प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर प्रभातकुमार झाका अनुसार दसैं-तिहार र बेमौसमी वर्षाका कारण काम केही ढिलाजस्तो भए पनि अहिले कामलाई तीव्र रूपमा अगाडि बढाइएको छ । निर्माण कम्पनी आशीष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले २०७८ फागुन १२ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो । सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्षको थियो । जसमा काम पुरा हुन नसकेपछि म्याद थप गरेको थियो । सम्झौता अनुसार पुस ११ गते सम्ममा सम्पन्न गर्नुपर्ने भए पनि समयावधिभित्रै सम्पन्न हुन कठिन नै देखिन्छ । चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा ‘फ्लाई ओभर’ को उद्देश्यसहित चक्रपथको ग्वार्को, एकान्तकुना र सातदोबाटो चोकमा ‘फ्लाई ओभर’ बनाउने योजना अघि बढाइएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्को चोकको ‘फ्लाई ओभर’ निर्माण सुरु गरिएको थियो । नेपालको सडक सञ्जालअन्तर्गत बन्न लागेको यो पहिलो ‘फ्लाई ओभर’ पुल हो । जहाँ सरकारको ठूलो लगानीसमेत छ । कुल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लागेको ग्वार्को ‘फ्लाई ओभर’ को अहिलेसम्म वित्तीय प्रगति ४५.५४ प्रतिशत पुगेको छ । भौतिक प्रगति चार साता मात्रै बाँकी रहँदा हालसम्म ८० प्रतिशत प्रगति भएको देखिएको छ । जसमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको रेलिङ, पेभमेन्ट, रंगरोगलगायतको काम बाँकी छ । त्यसैगरी एप्रोज रोडलगायतको काम पनि बाँकी छ । समानान्तर जेभीले भने निर्माण कार्य केही दिनभित्रै सकिने जानकारी दिएको छ । ‘अब कोटेश्वरतिरको सकिने प्रक्रियामा छ,’ आशीष–समानन्तर-रेलिगेर जेभीका सव इन्जिनिर कृष्णगोपाल श्रेष्ठले भने, ‘काम छिट्टै सकिने प्रक्रियामा छ ।’ कस्तो बन्दैछ ‘फ्लाई ओभर’ ? ‘फ्लाई ओभर’ को कुल लम्बाइ ४ सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सातोदोबाटो तर्फबाट १७५ मिटर लम्बाइको र्याम बनाइने छ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । ‘फ्लाई ओभर’ को उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाई ओभर’ को उचाइ ६ मिटर राखिएको हो । ‘फ्लाई ओभर’ ३० मिटर स्पानको चार लेनको पुलसहितको हुनेछ । कहिले गुड्छन् त गाडी ? निर्माणाधीन यो ‘फ्लाई ओभर’ हालसम्म कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटर जडान सम्पन्न भएको छ भने सातादोबाटोतर्फ १८० मिटर मध्ये १२० मिटर जडान सम्पन्न भएको छ । एप्रोच सडकको ५ सय मिटर काम अझै बाँकी छ भने यसबाहेक कालोपत्र हुन बाँकी छ । ग्वार्को फ्लाई ओभरअन्तर्गत ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण हुँदैछ भने यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बन्ने छ । यसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ। जसअन्तर्गत पुल निर्माणको कार्य ९८ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । त्यस्तै, पहुँच सडकलगायत अन्य निर्माण कार्यसमेत अन्तिम चरणमा रहेको बताइएको छ । यो प्रोजेक्ट सम्पन्न भएपछि ७० प्रतिशत भन्दामाथि ट्राफिक नियन्त्रणमा टेवा पुग्ने दाबी गरिएको छ । नेपालमा नयाँ प्रयोग भएको भन्दै यस्ता पूर्वाधार निर्माणले आगामी दिनमा थप कामका लागि सहयोग पुग्ने झाले जानकारी दिए । यो ‘फ्लाई ओभर’ सम्पन्न भएपछि मंगलबजारबाट ग्वार्को, लुभु–लामाटार इमाडोल जाने र ग्वार्को इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी पुलमुनिबाट चल्नेछन् । ‘फ्लाई ओभर’ बाट चक्रपथतर्फ जाने सवारीसाधन चल्नेछन् । जसका कारण धेरै हदसम्म जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । यस्तै, केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘फ्लाई ओभर’ को स्थलगत निरीक्षण गर्दै समयमा काम सक्न निर्देशन दिएका थिए । म्याद सकिनै लागे पनि निर्माणको काम भने अझै सुस्त देखिएको छ । ट्राफिक व्यवस्थापन ‘फ्लाई ओभर’ निर्माण अवधिभर उक्त चोकमा ट्राफिक व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक डाइभर्सनको व्यवस्था गरेको छ । निर्माण अवधिभर कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, माहलवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाँग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट चलाउने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई भने ग्वार्को चोकभन्दा ६ सय मिटरअगाडि र पछाडि सर्भिस लेनबाट सञ्चालन भइरहेको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने सवारीसाधनलाई सर्भिस लेनमा र साना चारपाँग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
टीभीएसको नयाँ ईभी स्कुटर: २ घण्टामै चार्ज, मूल्य ३ लाखभन्दा कम
काठमाडौं । टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो । यससँगै अब नेपालमा टिभिएस आईक्यूबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुनेछन् । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । कम्पनीका अनुसार टीभीएस आईक्यूब पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताका सिद्धान्तबाट प्रेरित छ । उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले विश्वभरि ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्यूब ब्रान्डलाई रोजेकाे जानकारी दिए । कम्पनीका अनुसार नयाँ आईक्यूब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ । आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरमा उपलब्ध भएको कम्पनीले जनाएकाे छ । बुधबार एक कार्यक्रमका बीच उक्त इलेक्ट्रिक स्कुटर लन्च गरिएको थियो । सो कार्यक्रममा टिभिएस मोटर कम्पनीका इभी इन्टरनेशनल भाइस प्रेसिडेन्ट मुधप्रकाश सिंहले नेपालमा आईक्यूबको यात्रा निकै फलदायी हुँदै आएको बताए । त्यस्तै, जगदम्ब मोटसएका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्यूब २.२ किलोवाट आवर भेरियन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा भएको परिवर्तनमा अझ गति थप्ने बताए । यस्तै उनले टीभीएसले क्यालिटिको मामलामा कम्परमाइज नगरर्ने बताए । उनले भने, ‘टीभीएसले क्यालिटिमा कम्प्रोमाइज गर्दैन । कम्पनीले धेरै रिसर्ज गरेर मात्र प्रोडक्ट बजारमा ल्याउँछ ।’ कार्यक्रममा कम्पनीले राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरुलाई सम्मान पनि गरेका थियो । के-के छन् विशेषता ? ब्याट्री क्षमता २.२ किलोवाट आवर चार्जर – ९५० वाट ५ इन्चको रंगीन टीएफटी स्क्रीन सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (०-८०%) सवारी दुर्घटना तथा टो अलर्ट टर्न-बाइ-टर्न नेभिगेशन डिस्ट्यान्स टु एम्प्टी ३० लिटरको अन्डर सीट स्टोरेज ७५ किमी प्रतिघण्टाको टप स्पिड
रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ । आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमश: विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन (कमर्सियल अपरेशन) सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए । टिमुरे (तातोपानी)स्थित विद्युतगृहबाट आयोजनालेनै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो । रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौं उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ । सुख्खायाम सुरुसँगै भोटेकोशी नदीमा पानीको वहाव घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युतगृह बाँध, सुरुङलगायतका सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनसँग ३० पुस २०७० (५ जनवरी २०१४)मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि, भारतसँग १५ साउन २०७१ (३१ जुलाइ २०१४)मा ठेक्का सम्झौता भएको थियो । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिव अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या,प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९को महामारीलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । आयोजनाबाट गत चैतसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो । तर, आयोजनाको विद्युत् जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत उत्पादन केही ढिलाइ भएको हो । प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तय गरी सोही आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो । आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रुपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संसोधित अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो । आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिकको व्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरु ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह¬)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवाबासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ । आयोजनाबाट वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।
अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप
काठमाडौं । अडानी समूहका अध्यक्ष तथा भारतका दोस्रो धनी उद्योगपति गौतम अडानी ठूलो समस्यामा परेका छन् । अडानी र अन्य सात जनामाथि अमेरिकामा अर्बौं डलरको घुसखोरी र ठगी गरेको आरोप छ । इकोनोमिक टाइम्सका अनुसार यो मुद्दा अमेरिकी अदालतमा सुनुवाइ भएको थियो । अडानी र उनका भतिजाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । यस मामिलामा नाम आएपछि अडानी समूहले अमेरिकामा रहेको ६० मिलियन डलरको ऋणपत्र (बन्ड) रद्द गरेको छ । सौर्य ऊर्जाको ठेक्का लिन अडानी समूहले भारतीय अधिकारीहरूलाई घुस दिएको आरोप लागेको इकोनोमिक टाइम्सले जनाएकाे छ । अडानीले बुधबार हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीका अध्यक्षले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको चुनावी जितको लागि बधाई दिएपछि यो घोषणा गरिएको हो । रोयटर्सको रिपोर्टमा भनिएको छ कि लगानीको घोषणा गर्दा अडानीले अमेरिकी राष्ट्रपति चुनावमा उनको चुनावी जीतको लागि डोनाल्ड ट्रम्पलाई बधाई पनि दिएका थिए । ट्रम्पले ऊर्जा कम्पनीहरूका लागि नियमहरू सरल बनाउने वाचा गरेका छन् । के हो अडानीको विषय ? अमेरिकी धितोपत्र तथा विनिमय आयोगले दायर गरेको मुद्दामा गौतम अडानीमाथि अमेरिकी लगानीकर्तालाई ठगी गरेको र अधिकारीहरूलाई घूस दिएको आरोप लगाइएको छ । अडानी र अन्यमाथि गलत र भ्रामक बयान दिएर अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम लिएको आरोप छ । अभियोगमा अडानी र अन्यले करिब २६५ मिलियन डलर घुस दिएको उल्लेख छ । यी ठेक्काबाट दुई दशकमा २ बिलियन डलर नाफा हुने उनीहरूको अनुमान थियो । अभियोजनकर्ताहरूले योजनामा संलग्न केही व्यक्तिहरूले गौतम अडानीलाई सन्दर्भ गर्न ‘न्यूमेरो यूनो’ र ‘द बिग म्यान’ जस्ता कोड नामहरू प्रयोग गरेको दाबी गर्छन् । अभियोगमा अडानी, उनका भतिजा सागर अडानी र अर्का कार्यकारी विनीत एस जैनले अडानी ग्रीन इनर्जीका लागि ३ अर्ब डलरभन्दा बढीको ऋण र बण्ड प्राप्त गर्न ऋणदाता र लगानीकर्ताहरूलाई घुस दिएको कुरा लुकाएका थिए । पक्राउ पुर्जी जारी प्रतिवेदनमा गौतम अडानी र सागर अडानीका लागि पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले दुवै व्यक्ति र अर्को व्यक्ति सिरिल क्याबनेसविरुद्ध सम्बन्धित नागरिक अभियोग दायर गरेको छ । यद्यपि, अमेरिकी सरकारले अडानी र अन्य व्यक्तिविरुद्धको विशेष आरोपहरूको बारेमा अझै पूर्ण विवरण उपलब्ध गराएको छैन । अभियोग लाग्नुभन्दा केही घण्टा अघि बन्ड बिक्री अभियोगको खबर आउनुभन्दा केही घन्टाअघि अडानी समूहको एक इकाईले अमेरिकी कर्पोरेट बण्ड बजारमा ६०० मिलियन डलरको प्रस्तावमा प्रवेश गरेको थियो । यो प्रस्ताव ३ पटकभन्दा बढीले ओभरसब्सक्राइब भएको थियो । पछि यी ऋणपत्रको बिक्री पनि रद्द गरियो । अडानीले एक महिनाअघि पनि यस्तै प्रस्ताव राखेको थियो । यद्यपि, ब्लूमबर्गको रिपोर्ट अनुसार मूल्य निर्धारणमा लगानीकर्ताको विरोधपछि त्यो प्रस्ताव स्थगित गर्नुपरेको थियो । (एजेन्सीहरूको सहयोगमा)
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
काठमाडौं । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
चितवनमा धान उत्पादन घट्यो
चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । उक्त कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ । पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ । जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।
सुनको मूल्य बढेर तोलामा १ लाख ६४ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यावसायीकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।