विकासन्युज

अब सीएफमोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं । नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ । सीएफमोटोको पेट्रोल बाइक तथा जिहोका ईभी स्कुटर खरिद गर्ने ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो । उक्त व्यवस्था अन्तर्गत आफूलाई मन पर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो चाहना अनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् । हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित शोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य शोरुमबाट समेत क्रमशः सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ । सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफरोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । फेमिली स्कुटरको रुपमा डिजाइन गरिएको एई४ मा ३१ लिटरको बुट स्पेस, फराकिलो फुट स्पेस, लिथियम आयोन ब्याट्री, एबीएस, इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल, ३ हजार वाट पिक पावर लगायतका विशेषता रहेका छन् ।

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ। कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार विसं २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

नारायणी अस्पतालमा ५ करोडको ‘क्याथ ल्याब मेसिन’ उपयोग विहीन

वीरगञ्ज । ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउदैँ हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताए । ‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’ उनले भने,‘क्याथ ल्याब मेसिन धेरै समय अघि अस्पतालमा आइसकेको छ । भवन तयार हुनेबित्तिकै जडान गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’ मेसु दासले क्याथ ल्याब जडानसँगै प्राविधिक जनशक्ति तयार पारेर यस वर्षभित्रै ल्याथ ल्याब सञ्चालन गर्ने दावी गरे ।

४० लघुवित्तमा राष्ट्र बैंकको निरीक्षण, ३ लघुवित्तमा विशेष, २ लाई हर्जाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर, कुन संस्था हुन भनेर नाम भने खुलाइएको छैन । गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो । यस्तै, राष्ट्र बैंकबाट पुनरकर्जा, व्यवसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ । यस्तै, निर्देशन विपरित कार्य गरेबापत ७ वटा लघुवित्तलाई कारवाही तथा निर्देशन दिइएको छ । साथै, २७ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ । गत असारसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति÷दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा र लगानी क्रमशः ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ र १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

तस्करी बढ्ने देखिएपछि सुनचाँदीको भन्सार दर घटाइयो

काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित भन्सार दर घटाइएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको हो । आइतबारदेखि नै नयाँ दर कार्यान्वयनमा आएको भन्सार विभागले जानकारी दिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा आउन नदिन भन्सार दर घटाउने निर्णय भएको विभागले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० प्रतिशत पु¥याएको थियो ।

नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै, छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या

काठमाडौं । पाल्पाका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए । दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा आयोजित कार्यक्रममा सहभागीले व्यवसाय सञ्चालनको क्रममा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ताभन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेका बताएका थिए । यस्तो विद्यमान अवस्थालाई परिवर्तनको आवश्यक उनीहरुको सुझाव थियो । कार्यक्रममा राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नुपर्ने रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए । उनले सङ्घले उद्योगी र व्यवसायीलाई परेको विभिन्न समस्या समाधानका लागि सङ्घले सहजिकरण गर्दै आइरहेको बताए । घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवद्र्धनका लागि प्रदेश सरकारले औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन ल्याएको जानकारी दिए । ‘ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको छ, नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरिनेछ, हामीले व्यवसायी तथा उद्योगीको हितका लागि सहज हुने गरी कार्य गर्ने प्रयत्न गरेका छौँ,’ उनले भने । पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिए । पछिल्लो समय जिल्लामा उद्योग दर्ताभन्दा धेरै खारेज गर्नेको सङ्ख्या बढेको उनले बताए । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा स्थानान्तरण हुने गरेपछि कार्यालयमा नयाँ दर्ता गर्ने व्यवसायी तथा उद्योगी कम हुँदै गएका हुन् । सङ्ख्यागत रुपमा जिल्लामा उद्योगी तथा व्यवसायी बढेका छन् भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने सङ्ख्या भने कम देखिएको छ ।

एशयिन लाइफले ३ रोपनी घर र जग्गा खरिद गर्दै

काठमाडौं । एशयिन लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा २ देखि ३ रोपनी जग्गा खरिद गर्न लागेको हो । कम्पनीकाअनुसार काठमाडौं वा ललितपुर महानगरपालिका रिङ्गरोडभित्र वा जोडिएका स्थानमा .घर तथा जग्गा आवश्यक परेको छ । उक्त स्थानमा घर तथा जग्गा बिक्री गर्न इच्छुकले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । प्रस्तावित जग्गामा कम्तिमा २० फिटको सडक हुनुपर्नेछ ।

मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि म्युचुअल फण्ड बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड–१ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री खुला गर्नेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।