विकासन्युज

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले बुवाका तर्फबाट गैरकानुनी रूपमा हिरासतमा राखिएको र हिरासतमुक्त हुन पर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ठूलो धनराशी लगानी गरेको भन्दै कागजपत्र सार्वजनिक गरेपछि प्रसाईं पक्राउ परेका थिए । प्रहरीले उनले कीर्ते काजपत्रलाई प्रचार गरेर भ्रम छर्न खोजेको दाबी गरेको छ । प्रसाईंभक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ परेका थिए । प्रहरीले उनीमाथि विद्युतीय कारोबार लगायतमा अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए

काठमाडौं । आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् । वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएका हुन् । पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ।

ठूलो चुनौतीसँग जुध्दै पानीजहाज उद्योग, ९० हजार प्रशिक्षित नाविकको अभाव हुने

काठमाडौं । पानीजहाज उद्योग अहिले सबैभन्दा ठूलो चुनाैतीसँग जुधिरहेको छ । नाविक (पानीजहाज चलाउने) अभावले यस उद्योगमा विभिन्न समस्या देखिएकाे सीएनबीसीले जनाएकाे छ । नाविक अभावले नक्कली सीभी, समुद्री दुर्घटना र उच्च माल ढुवानी दरजस्ता समस्याहरूलाई जन्म दिएको छ । ‘हामी लगातार नाविकहरूको अभाव देखिरहेका छौं,’ ड्रियूरीका वरिष्ठ विश्लेषक रेट ह्यारिसले सीएनबीसीलाई बताए । पछिल्ला वर्षहरूमा जहाजहरूको संख्या हजारौंले ‘अत्यधिक रूपमा’ वृद्धि भए पनि ती जहाजहरूको लागि आवश्यक जनशक्तिको वृद्धि भने सोही अनुपातमा नभएको उनको भनाइ छ । ‘कम्पनीले चाहेजति अनुभव भएका नाविकहरूलाई राख्न सकिरहेका छैनन्,’ ह्यारिसले थपे । उच्च पदका र विशेष गरी इन्जिनियरहरूको आपूर्ति डेक अफिसरहरूको तुलनामा कम रहेको उनले उल्लेख गरे । भूराजनीतिक घटनाहरूले समस्या झन् बढाए रेड समुद्रमा हुथी आक्रमण र रुस-युक्रेन द्वन्द्वले दक्ष नाविकहरूको उपलब्धतामा गम्भीर असर पारेको छ । रुस र युक्रेनले पहिले नै ठूलो संख्यामा दक्ष नाविकहरू आपूर्ति गरेका थिए । तर युद्धका कारण यी दुई देशहरूबाट जनशक्ति आपूर्ति घटेको फर्टीस्ट्रीमका ग्लोबल रिसर्च प्रमुख डेइजिन लीले जानकारी दिए । २०२१ मा अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आईसीएस) र बीआईएमसीओको रिपोर्टअनुसार फिलिपिन्स, चीन, रुस, युक्रेन र इन्डोनेसिया संसारका प्रमुख नाविक आपूर्तिकर्ता हुन् । रुसले युक्रेनमाथि आक्रमण गर्नु अघि, रुस र युक्रेनी नाविकहरूले विश्वव्यापी जहाज कार्यबलको झण्डै १५ प्रतिशत हिस्सा ओगटेका थिए। आईसीएसका अनुसार, २०२६ सम्म ९० हजार प्रशिक्षित नाविकहरूको अभाव हुने अनुमान छ । ‘नाविकहरूको अभाव सम्बोधन गर्न नीति निर्माताहरूले राष्ट्रिय रणनीतिहरू बनाउनु आवश्यक छ,’आईसीएसले भन्यो । ‘उद्योगलाई फस्टाउन आवश्यक नाविकहरूको अभाव पूर्ति गर्न हामीले विविध कार्यबललाई सक्रिय रूपमा भर्ती गर्नु महत्त्वपूर्ण छ,’ संगठनले थप्यो । समुद्री पेसाको आकर्षण घट्दै डानिका क्रुइङ स्पेसलिस्ट्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेनरिक जेन्सेनले बताएअनुसार अहिलेका कर्मचारीहरू समुद्रमा काम गर्नुभन्दा तटवर्ती रोजगारी रोजिरहेका छन् । ‘अघिल्लो समयमा नाविकहरूको तलबले यो पेसा आर्थिक रूपमा आकर्षक बनाउँथ्यो । तर अहिलेका युवाहरू वर्कलाइफ ब्यालेन्सलाई प्राथमिकता दिइरहेका छन्,’ फर्टीस्ट्रीमका लीले भने । इन्टरनेट र मोबाइलमा हुर्किएको पुस्ताका लागि समुद्रमा स्थायी रूपमा कनेक्टिभिटीबिना बस्नु बाध्यता छैन । यही समस्यालाई सम्बोधन गर्न धेरै कम्पनीहरूले जहाजमा मनोरञ्जन केन्द्र, जिम र छोटो यात्रा अवधिहरू (२ देखि ४ महिना) प्रस्ताव गर्न थालेका छन् । नक्कली सीभी र दुर्घटना नाविक अभावका कारण कम्पनीहरूले सीमित जनशक्ति आकर्षित गर्न उच्च तलबको प्रस्ताव गरिरहेका छन् । तर यसले गर्दा नक्कली सीभी बुझाएर अयोग्य व्यक्ति काममा बस्ने समस्या देखिएको छ । ‘धेरै मानिसले आफ्नो सीभीलाई झुटो जानकारीले सजाएर उच्च पद र तलब पाउने प्रयास गरिरहेका छन्,’ जेन्सेनले बताए । यसले जहाजको सुरक्षा र दक्षतामा असर पारेको छ र जहाजमा रहेका व्यक्तिहरू यसको मूल्य चुकाइरहेका छन् । ‘यो ठूलो अभाव हो । यसले मलाई असर गरिरहेको छ । म मेरो चालक दलका लागि उपयुक्त व्यक्तिहरू पाउन सकिरहेको छैन,’ एक विश्वव्यापी शिपिङ कम्पनीका कप्तानले भने । ‘नाविकहरूको स्तर घट्दैछ । किनभने अहिले उनीहरूलाई कुनै पनि व्यक्ति चाहिन्छ, जससँग लाइसेन्स होस्,’ कप्तानले थपे । साथै पछिल्ला दिनहरूमा उनले दक्षतामा प्रश्न उठेका धेरै नाविकहरूलाई बर्खास्त गर्नुपरेको पनि बताए । अहिलेका नाविकहरूलाई कम जनशक्ति उपलब्ध भएकाले लामो अवधि समुद्रमा रहनुपर्ने स्थिति छ । यसले उत्पन्न हुने थकान र तनावले केही व्यक्तिहरूको मानसिक स्वास्थ्यलाई असर पुर्‍याउन सक्छ र जहाजमा दुर्घटनासमेत निम्त्याउन सक्छ । विश्व समुद्री विश्वविद्यालयको २०२४ अध्ययनका अनुसार ९३ प्रतिशत नाविकहरूले थकानलाई प्रमुख चुनौती भनेका छन् । ७८ प्रतिशतले आफ्नो सम्पूर्ण सम्झौताभरि पूर्ण रूपमा कुनै बिदा नपाएको बताए। थकानले मानसिक स्वास्थ्यलाई असर पार्न सक्छ, जसले दुर्घटनाहरू निम्त्याउन सक्छ । ‘अनुभवको कमी, उचित मर्मतको अभाव र थकानको मिश्रणले जहाज र चालक दलको सुरक्षा खतरामा पार्छ,’ ओम म्यारिटाइमका कार्यकारी निर्देशक सुभाङ्शु दत्तले भने । आर्थिक भार महासागरमार्फत् हुने समुन्द्री ढुवानी विश्व आपूर्ति श्रंखलाको अभिन्न अंग हाे । संयुक्त राष्ट्र व्यापार र विकास संगठनका अनुसार समुद्री ढुवानीले विश्व व्यापारको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ । ‘नाविकहरूको तलब जहाजको सञ्चालन खर्चको ठूलो हिस्सा हो, जसलाई कम्पनीहरूले नयाँ प्रतिभा आकर्षित गर्न र कायम राख्न तलब बढाएसँगै उच्च रहिरहने अपेक्षा गरिएको छ,’ लीले भने । उनका अनुसार तलब वृद्धिको कारणले भाडादर पनि उच्च रहने सम्भावना छ, जसले अन्ततः मुद्रास्फीति दबाब थप्न सक्छ । अन्य विज्ञहरू पनि यसमा सहमत छन् कि नाविकहरूको अभाव केही वर्षसम्म रहिरहनेछ, र यो उद्योगले सामना गर्नुपर्ने ठूला चुनौतीहरूमध्ये एक हो । ‘यो वास्तवमै उद्योगका लागि सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो,’ लीले भने ।

मंसिर १६ गते सार्वजनिक बिदा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको छ । निर्वाचन आयोगको पत्रानुसार मन्त्रालयले स्थानीय तहको निर्वाचन हुने सम्बन्धित् स्थानीय तहमा यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको हो । यही मंसिर ९ गते बसेको आयोगको बैठकले स्थानीय तहको उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन, तोकिएका मतदानस्थल उपलब्ध गराउन र सहजरुपमा मतदान गर्ने वातावरण बनाउन संघीय मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आयोगले मन्त्रालयमा पत्राचार पनि गरेको थियो । आयोगको पत्राचार अनुसार मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगपत्रसहित निर्देशन दिएको हो । मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहलाई भनिएको छ । मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको छ । यही मंसिर १६ गते आइतबार ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै छ । आइतबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । बिहीबार मध्यरातिदेखि निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने, तीन अर्ब २० करोड लाग्ने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । बुधबार यहाँ आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ । डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मङ्सिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए । यसअघि निगमले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो । भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ। यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र एक सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्कर छन् । बढ्दो खपतको तुलनामा हकालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ । अहिलेको भण्डारण क्षमताले पेट्रोलको दुई दिन र डिजेलको ५ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले बताए । भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्करलाई यथेष्ट पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षा चिन्तालाई सम्बोधन गर्न तथा आधुनिक सुरक्षाका उपकरण जडान तथा विस्तार गर्न पनि नयाँ डिपो निर्माण गर्न आवश्यक छ’, भलवारी डिपो स्थानान्तरणको आवश्यकता प्रस्ट्याउँदै उपनिर्देशक यादवले भने । डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागिएको निगमले स्पष्ट परेको छ । निगमले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने उल्लेख गरेको छ। कन्सल्टेन्सी सेवा विभागका प्रमुख बरालले केयू र निगमबीच लामो समयदेखि अनुसन्धान मुलुक कार्यमा सहकार्य हुँदै आएको जानकारी दिँदै पेट्रोलियम भण्डारण गृहको डिपिआर निर्माण गर्न दिइएको जिम्मेवारी समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यसबाट सबै प्रकारका पूर्वाधार निर्माण गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि भएको उनको भनाइ छ । निगमका उपनिर्देशक यादव पेट्रोलियम पूर्वाधार निर्माणमा इन्डियन आयल कर्पोरेसनको प्राविधिक टोलीको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस र काठमाडाैं विश्वविद्यालयबीच सम्झौता भएको बताउँछन् । आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइनेछ । अब बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ । यस्तै, पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लािग पाँच सय किलोलिटरको ट्याङ्कर निर्माण हुनेछ । डिपोभित्र कम्तीमा एक सय ५० वटा ट्रक तथा ट्याङ्कर सजिलै आवातजावत गर्न सक्ने पार्किङस्थल पनि बन्नेछ । अमेरिकन पेट्रोलियम इन्स्टिच्यूट (एपिआई) मापदण्डअनुसार निर्माण हुने डिपोमा नवीन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने परियोजना प्रमुख यादवले जानकारी दिए । निगमले रोहिणी खोला किनारमा भण्डारण गृह निर्माणका लागि गत वैशाखमा जमिन सम्याउने र पर्खाल लगाउने काम सुरु गरेको थियो । निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको परियोजनाको कुल लागत रु तीन अर्ब २० करोड हुने प्रारम्भिक अनुमान छ । काठमाडौं विश्वविद्यालयको विज्ञता सो परियोजनामा प्रयोग गर्न पाउँदा निगम अत्यन्त खुसी भएको जानकारी दिँदै उनले केयूको डिपिआरअनुसार तयार हुने परियोजना दिगो र आधुनिक सुविधा सम्पन्न हुने विश्वास व्यक्त गरे । विसं २०२७ सालमा स्थापना भएको सरकारी स्वामित्वको निगमले नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमको हाल सातवटा प्रादेशिक कार्यालय, तीनवटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र दुईवटा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालनमा छन् । निगमसँग विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर छ । पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन खरिद गर्दै आइरहेको छ । रासस

जस्मिन पेन्ट्सको सद्भावना दूत बने पारस खड्का

काठमाडौं । जस्मिन पेन्ट्सले आफ्नो कम्पनीको सद्भावना दूतमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नियुक्त गरेको छ । कम्पनीले खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको हो। खड्का नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत हुन् । कम्पनीले खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथसाथै हाम्रा उत्पादनलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेको छ । जस्मिन पेन्ट विगत ३१ वर्षदेखि निरन्तर नेपाली ग्राहकको सेवामा समर्पित रहँदै आएको निर्देशक साैगात अर्यालले जानकारी दिए । उनका अनुसार यो कम्पनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भइसकेको छ । खड्कालाई सद्भावना दूतमा नियुक्त गरेसँगै नेपाली क्रिकेटले थप उचाइ प्राप्त गर्ने कम्पनीको विश्वास छ ।

बोर्डले अध्यक्ष पाएपछि लगानीकर्तामा उत्साह, ९ कम्पनीको मूल्यमा सर्किट, साढे ९ अर्बको कारोबार

काठमाडौं । पुँजी बजारमा बुधबार हरियाली छाएको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएसँगै बजारमा रौनकता छाएको हो । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएर बुधबारमात्रै कार्यभार सम्हालेका हुन् । साथै, नवनियुक्त अध्यक्ष श्रेष्ठले पुँजी बजारको विकास र लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् । जसले लगानकर्तामा उत्साह छाएको देखिन्छ । बोर्डले अध्यक्ष पाएसँगै लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४२ प्रतिशत अर्थात् ३८.८१ अंक बढेर २ हजार ७५५.४७ अंकमा बन्द भएको छ । साथै, आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १९९ कम्पनीको सेयर ११९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक,, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । तर, मिथिला लघुवित्त संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको देखिन्छ । यस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँमा झरेको छ । आज जानकारी फाइनान्सको सेयर कारोबार धेरै भएको छ । यस कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३३ करोड १६ लाख ३९ हजार रुपैयाँ, पिपुल्स हाइड्रोको २४ करोड ७२ लाख ९५ हजार रुपैयाँ, नेपाल फाइनान्सको २४ करोड १७ लाख ४२ हजार रुपैयाँ र सप्तकोशीको २२ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज फाइनान्स समूहबाहेक सबै समूहमा हरिायाली छ । बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक समूह ३.१८ प्रतिशत, होटल तथा पर्यटन समूह १.३६ प्रतिशत, जवलविद्युत समूह १.४६ प्रतिशत, लगानी समूह ०.७१ प्रतिशत, जीवन बीमा समूह २.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६३ प्रतिशत, लघुवित्त समूह ०.९० प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह १.१८ प्रतिशत, अन्य समूह ०.५६ प्रतिशत, व्यापार समूह ९.२७ प्रतिशत बढेको छ । तर, फाइनान्स समूह ०.४७ प्रतिशत घटेको छ ।

कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण

काठमाडौं ।  कृषि विकास बैंकले साेमबार एक कार्यक्रमबीच इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सिसिटिभी वितरण गरेको छ । बैंकले मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिसिटिभी प्रदान गरेको हो । बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची वजारमा शान्ति सुरक्षाकायम गर्न सहज हुने बताइएकाे छ । मंसिर १० गते, मेलम्चि शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हाे । बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ । शाखा मेलम्चिले आफ्नो स्थापनाकाल २०४२ साल देखी हालसम्म निरन्तर सेवा प्रवाह गरी रहेको बैंकले जनाएकाे छ । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रवन्धक, वागमति प्रदेश निर्देशक, मेलम्चि शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतहरुको उपस्थिती रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा सिसिटिभी हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा राखे । बैंकले यस क्षेत्रमा करिव १ अर्व बराबरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे । कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेत वारी धितोको आधारमा कर्जा दिने अन्य कुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीय निकाय, प्रहरी, नागरीक समाज, राजनैतिक संघ संगठन आदिलाई अनुरोध गरे । उक्त कार्यक्रममा इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीकुमार चौलागाईले उक्त सिसिटिभी ग्रहण गर्दै बैंकलाई धन्यवाद दिएका थिए । बैंकले गरको यस प्रकारको योगदान दीर्घकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका उप–महाप्रवन्धक शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिती थियो भने कार्यक्रम बैंकका प्रवन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।