काठमाडौंको र्याडिसन होटेलमा जियोमाण्डु सम्मेलन सुरु
काठमाडौं । भू-प्राविधिक समाज (नेपाल जियोटेक्निकल सोसाइटी)ले अन्तर्राष्ट्रिय ‘जियोमान्डु’ शृंखलाको दोस्रो संस्करण ‘जियोमान्डु-२०२४’ काठमाडौंको र्याडिसन होटेलमा सुरु भएको छ । कार्यक्रम आजभोली ‘दिगो पूर्वाधारका लागि भू-प्रविधि’ शीर्षकको विषयवस्तुका साथ आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न देशका भू-प्राविधिक, इन्जिनियर र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह मुख्य अतिथिका रूपमा उपस्थित हुँदै छन् । ‘आजको समयमा नेपालले धेरै विकास गरिरहेको छ । सडक, जलविद्युत, सिंचाई र नयाँ सहर बनाउने काममा ठूलो प्रगति भएको छ । तर यी विकास कार्यहरू गर्दा हामीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको पनि ध्यान दिनुपर्छ,’ देबेन्द्र केसीले भने । यसका लागि भू-प्राविधिक इन्जिनियरिङको भूमिका धेरै महत्वपूर्ण रहेको सहभागीहरु बताउँछन् । यस सम्मेलनले अनुसन्धानकर्ताहरू, इन्जिनियरहरू र व्यवसायीका लागि ज्ञान आदान-प्रदान गर्न, अनुसन्धान निष्कर्षहरू प्रसार गर्न र पूर्वाधार विकासको अर्को चरणलाई परिभाषित गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ। ‘जियोमान्डु’ सम्मेलन श्रृंखलाले विश्वव्यापी स्तरमा दिगो पूर्वाधार विकासमा केन्द्रित रहँदै भू-प्राविधिक इन्जिनियरिङ समुदायभित्र ज्ञान आदान-प्रदान, सहकार्य र दिगो समाधानहरूको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। यस सम्मेलनमा संसारभरका विज्ञहरूले एक अर्कामा ज्ञान अनुभव आदानप्रदान गर्ने बताइएको छ।
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइने छैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ । आगामी मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसकै टीकाकुमारी चौधरी (भुल)निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी, एउटै चित्र पाँच लाखसम्म बिक्री हुने
धरान । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख रुपैयाँ आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उजले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छज् । उनी भन्छन्, ‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ’, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ । थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उनी सुनाउँछन् । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए । उनले १० जनालाई रोजगारी पनि दिएका छन् । उनीसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए । एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजार रुपैयाँमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले चार हजारदेखि पाँच लाखसम्म रुपैयाँका थाङ्का बिक्री गर्दै आएका छन् । रासस
ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान : अन्जुला घिमिरेले जितिन् काठमाडौंमा घर
काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् । १४ महिना यता जारी यस अभियानमा रोमानिया बस्ने घिमिरेले कान्तिपुर टेलिभिजनमा भएको प्रत्यक्ष प्रसारणमा गोलाप्रथाबाट काठमाडौंमा घर जितेकी हुन् । उनले रोमानिया बाट ईसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रेमिट्यान्स् पठाएकी थिइन् । ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा घर दिने घोषणा गरेको थियो । इसेवा सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको संस्था हो । अघिल्लो वर्ष यसै अभियान अन्तर्गत पूर्णबहादूर श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका थिए ।
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
टीकापुर । किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ । सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरू आजभोलि नियमित खान थालेका छन् । टीकापुरकी पूजा चौधरी महिनावारी हुन थालेपछि कमजोर महसुस गर्न थालिन् । चौथो पटक महिनावारी भएकी पूजा एक्कासी बेहोस भइन् । अभिभावकले स्वास्थ्य संस्थामा लगेर परीक्षण गराउँदा कमजोरी र शरीरमा आइरनको कमी रहेको स्वास्थ्यकर्मीले बताए । त्यसपछि पूजाका अभिभावकले छोरीलाई पोषणयुक्त खानासँगै आइरन चक्की खुवाए । आजभोलि पूजाको स्वास्थ्य राम्रो छ । ‘म खानपानमा पोषणयुक्त खानेकुरामा जोड दिन्छु’, उनले भनिन्, ‘विद्यालयमा हरेक आइतबार आइरन चक्की खुवाइन्छ । आइरन चक्कीसँगै किशोरीको स्वास्थ्य र पोषिलो खानाबारे शिक्षकले जानकारी दिन्छन् ।’ सबै विद्यालयकासरकारको पोषण कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयकै सक्रियतामा यो अभियान सञ्चालन गरिरहेको टीकापुर नगरपालिका रामपुर सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दीपेन्द्र पनेरु बताउछन् । ‘नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य विषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलब्ध गराउने गर्दछन्’, उनले भने, ‘तीन वर्षयता शिक्षकले आफ्नो विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाउने गरेका छन् ।’ विद्यालयमा आइरन चक्की खुवाए, नखुवाएको अनुगमन र सुपरिवेक्षण स्वास्थ्य संस्थाका प्रमुखले गर्ने जिम्मेवारी छ । टीकापुर–२ स्थित जनजागृति मावि सीतापुरमा तीन सय बढी किशोरीले आइरन खान्छन् । सुरुमा खान नमानेका किशोरीहरू आजभोलि कुरा बुझेपछि सहजै खाने गरेका शिक्षक उर्मिला रावलले बताइन् । ‘सुरुमा किशोरी धेरै डराए, औषधि किन खाने, हामीलाई के रोग छ र ? भनी प्रश्न गर्थे’, उनले भनिन्, ‘नियमित कक्षाकोठामा जानकारी दिएपछि सहजै खान्छन्, किशोरीहरू स्वस्थ हुनुपर्छ भन्नेमा उनीहरू सचेत छन् ।’ यसैगरी, वीरेन्द्र विद्यामन्दिरले पनि हरेक आइतबार कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाइरहेको शिक्षक सुरेन्द्रबहादुर शाहले बताए । ‘कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाउने गरिएको छ’, उनले भने, ‘कक्षा सुरु हुनुअघि किशोरीलाई आइरन चक्की खुवाउने अनि हरेक आइतबार पोषिला खानेकुराबारे जानकारी दिने गरेका छौँ ।’ विद्यार्थीलाई पोषणबारे सिकाउन थालेपछि शिक्षक सचेत भएका छन् । उनीहरूमा पनि ज्ञान बढिरहेको शिक्षकहरू बताउँछन् । केदारेश्वर आधारभूत विद्यालयमा केही किशोरी आइरन खाने उमेरका छन् । कम नै भए पनि उनीहरूलाई बानी बसाउन केही समय लागेको प्रधानाध्यापक बद्रीप्रसाद भट्टराई बताउछन् । ‘पोषणयुक्त खानपानबारे हामीले पनि ज्ञान लिएका छौँ’, उनले भने, ‘छोरीहरूलाई किशोरावस्थाबाटै स्वस्थ बनाएमा कुपोषण अन्त्यमा सहयोग पुग्छ ।’ किशोरीलाई विद्यालयमा आइरन चक्कीसँगै समय समयमा जुकाको औषधि पनि खुवाइन्छ । जसका लागि नगरपालिकामा पालिकाले शिक्षकहरूसँग छलफल गर्ने गरेका छन् । छोरीहरूको महिनावारी हुने हुनाले पनि शरीरमा रगतको अभाव हुनसक्छ । अस्नेहरी सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव सकुन्तला रोकाया आइरन चक्की खुवाउने अभियान क्रमशः प्रभावकारी बन्दै गएको बताए । रासस
लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलले लाभांश घोषणा गरेका छन् । दुइटै कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लक्ष्य होल्डिङ्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, लक्ष्य क्यापिटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साथै, यी दुइटै कम्पनीले लाभांश पारित गर्न पुस ६ गते ललितपुर पार्टी प्यालेस सातदोबाटो बिहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीको सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ । लक्ष्य होल्डिङ्ग “१०,००० लगानीकर्ताहरुको जमघट” अभियान संचालन गरि बढीभन्दा बढी लगानीकर्ताहरुलाई लगानीका सूचनाको संजालमा राख्ने समूह हौं । पहिलो चरणको लक्ष्य अनुसार १० हजार लगानीकर्ताहरुको नामावली तयार पार्ने उदेश्य राखिएको थियो । जुन ३ महीनामै ९ हजार ६ सयभन्दा बढी लगानीकर्ताहरु आबद्ध भएको कम्पनीको भनाइ छ । १० हजार लगानीकर्ताहरुको नामावली संकलन गरि भविष्यमा आउने लगानीका अवसरहरुको सूचनाको लागि मात्र हो र यसको लागि कुनै शुल्क उठाईएको छैन । लक्ष्य होल्डिंङ्गसको १ अर्ब १५ करोड अधिकृत पूँजी र १ अर्ब चुक्ता पूँजी रहेको छ ।
आज सेयरधनी बने यी दुई लघुवित्तको लाभांश पाइने
काठमाडौं । सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर १३ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई लघुवित्तले मंसिर १४ गते बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले यी लघुवित्तको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँको १३.७७ प्रतिशतका दरले १ करोड ४८ लाख २४ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.७२ प्रतिशतका दरले ७ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १४.४० प्रतिशत अर्थात् १ करोड ५६ लाख ४ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न लघुवित्तले पुस ६ गते दुर्गा पार्टी प्यालेस इटहरी-४, सुनसरीमा १०औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा १२औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई झोलुङ्गे पुलले जोड्ने
काठमाडौं । पाल्पा अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने १७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत १ करोड ३७ लाख ६७ हजार ९२० रुपैयाँको लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताए । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब सहज हुने बताए । पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।