एडीबीबाट करिब १५ अर्ब रुपैयाँ ऋण स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर(करिब १५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै बैठकले चालु आर्थिक वर्षका लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्यप्रति क्विन्टल रु ५ सय ८५ रुपैया कायम गर्ने निर्णय गरेको छ भने उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने एक सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले बताए । त्यस्तै मन्त्रिपरिषद्ले सोमबारबाट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन तथा भ्रमणलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिए ।
गुरु ट्राभल्स लिमिटेड र क्रेमिल इन्डस्ट्रिजबीच व्यावसायिक सहकार्य
काठमाडौं । गुरू ट्राभल्स लिमिटेड र क्रेमिल इन्डस्ट्रिजबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आइतबार आयोजित एक कार्यक्रममा क्रेमिल इन्डस्ट्रिजको प्रबन्धक निर्देशक विभूषण शर्मा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिपत्रमा उल्लेख भएबमोजिम क्रेमिल इन्डस्ट्रिजका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरूमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले आइसक्रिम र टर्किश ट्रिक खरिदमा ८०० रुपैयाँ बराबरको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । कार्यक्रममा क्रेमिल इन्डस्ट्रिजको प्रबन्धक निर्देशक विभूषण शर्माले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।
ईसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दीपेन्द्रसिंह ऐरीको निरन्तरता
काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि ईसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच ईसेवा मनी ट्रान्सफरको प्रधान कार्यालय पुलचोकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइराला र दीपेन्द्रसिंह ऐरीबीच पुन: ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रममा ब्रान्ड प्रवर्द्धक ऐरीले ईसेवा मनी ट्रान्सफरसँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे । ईसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रमुख खेलाडी ऐरीजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो । जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ ।
एनपीएलको बीमा प्रायोजक बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नेपाल प्रिमियर लिग (एनपीएल) को बीमा प्रायोजक बनेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवारले एनपीएलमा आवद्ध भइ क्रिकेटको प्रवर्द्धनमा सघाउन पाउँदा कम्पनीले गर्व महसुस गरेको बताए । कम्पनीले प्रतियोगिताका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गर्नुका साथै खेलको प्रवर्द्धनात्मक प्लेकार्ड र टिसर्ट पनि प्रदान गरेको छ । मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । एनपीएलमा आठ टिम समावेश छन् । शनिबार भएको खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले सुखद सुरुवात गरेकाे छ ।
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए, मार्चमा मात्रै एक लाख २८ हजार
काठमाडौं । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाईमार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । उक्त तथ्यांकअनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिनामात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारीमात्रै पर्यटक भित्रिने देखिन्छ । नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । ‘हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ,’ उनले भने, ‘पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।’ करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ । बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कुन महिनामा कति पर्यटक मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्याङ्कमा उल्लेख छ । नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।
सेबोन अध्यक्ष श्रेष्ठले गरे कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् । बाँकी तीन जनाको जिम्मेवारी हेरफेर भएको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नीति अनुसन्धान तथा तालिम विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी व्यवस्थापन तथा कानुन विभागमा थिए । यस्तै, अर्का कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुपरीपेक्षण विभागमा थिए । त्यस्तै, कृष्णराज पोखरेललाई सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी नीति अनुसन्धान तथा तालिम विभागमा थिए । अध्यक्ष श्रेष्ठले शुक्रबार कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ, जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, डिजिटल साक्षरता प्रवर्द्धन, र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। क्यान नुवाकोटको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले नारायणकुमार घलेलाई एक गतिशील नेतृत्वकर्ता भन्दै, स्थानीय स्तरमा आईसीटी विकास, डिजिटल साक्षरता, र युवा केन्द्रित गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिए । पद हस्तान्तरण कार्यक्रमका क्रममा क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल र निवर्तमान अध्यक्ष पवन नेपालले नवनिर्वाचित पदाधिकारीहरूलाई टिका, खादा, र प्रमाणपत्र प्रदान गरे। नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्: अध्यक्ष: नारायणकुमार घले उपाध्यक्ष: तारा रिमाल नेपाल सचिव: सुनिल श्रेष्ठ कोषाध्यक्ष: अजय नगरकोटी सहसचिव: विशाल सापकोटा सदस्यहरू: रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो । आईसीटी क्षेत्रमा संलग्न विज्ञ, जनशक्ति, र व्यवसायीहरूको छाता संगठनको रूपमा क्यानले डिजिटल परिवर्तन र प्रविधि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नयाँ कार्यसमितिले नुवाकोट जिल्लामा डिजिटल परिवर्तनलाई तीव्रता दिनका लागि विभिन्न नवीन कार्यक्रम र परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ । क्यान महासङ्घले आफ्नो उद्देश्यअनुसार आईसीटी क्षेत्रमा नयाँ आयाम थप्दै राष्ट्रिय स्तरमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
घट्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०७ बिन्दुमा पुगेको हो । आज घटेको बजारमा ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार गरेको छ । एक्सेल डेभलपमेन्टको ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, कारोबारमा विकास बैंक, होटल र व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ । विकास बैंकको उपसमूह ४.५२, होटल तथा पर्यटनको उपसमूह ०.३० र व्यापारको उपसमूह ९.० प्रतिशतले बढेको छ । यस्तै, आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, करपोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको हो । कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।